• HOME
  • About Me
  • Articles
  • Story
  • Essays
  • Poem
  • Songs
  • Spiritual Manna
  • Videos
  • Photos
  • Contact
Essays » जिन्दगी ! (रोचक र मार्मिक निबन्ध)
जिन्दगी ! (रोचक र मार्मिक निबन्ध)

-लालु पौडेल । 
जिन्दगी ! यसो सोच बिचार गर्दा जिन्दगी सारै न अचम्म र रोचक छ । जानेर पनि जान्न नसकिने, बुझेर पनि बुझ्न नसकिने । सिकेर पनि सिक्न नसकिने, पढेर पनि पढि नसकिने । लेखेर पनि लेखि नसकिने, हेरेर पनि हेरि नभ्याइने । हिडेर पनि हिँडि नभ्याइने, सुनेर पनि सुन्न बाँकी रहे जस्तो केही चिज छ भने त्यो जिन्दगी हो भनेर जाने हुन्छ । केही पुगेर पनि नपुगे जस्तो या सबै भोगेर पनि भोग्नै नपाए जस्तो के हो ? भनेर कसैले सोध्यो भने, त्यो पनि जिन्दगी नै हो । 

अब हेर्नोस् न, दया, माया, ममता, प्रेम, प्यार, कृपा, अनुग्रह पनि जिन्दगी । मिलन, खुशी, हाँसो, मजाक, ठट्टा, रमाइलो, रसरङ, दिल्लगी पनि जिन्दगी । चिन्ता, बोझ, दुख, कष्ट, आँसु, रोदन, पीडा, छटपट, हुरी, बतास, घामपानी, चोट, जलन, संताप, बियोग, हण्डर, ठक्कर र अनेक बवण्डर पनि जिन्दगी । संयोग, भाग्य, सौभाग्य, दान, बरदान, करदान, हरदान, मान, इज्जत, गौरब, राज, रजाइ, काज, कजाइ, हाइहाइ, छाँइछाँइ र थाँइथाँई पनि जिन्दगी । 

यती मात्र हो र ? सौदागिरी, दादागिरी, मातागिरी, छातागिरी, चम्चागिरी, मकुण्डोगिरी र भकुण्डोगिरी, बन्दुकगिरी, सन्दूकगिरी पनि जिन्दगी । सर्वकारी, सर्बहारी, ब्रमचारी, चर्मकारी, सदाचारी, व्यभिचारी, शिकारी, भिकारी, बिकारी, लडारी, भँडारी, चडारी पनि जिन्दगी । भोज भतेर, मोज मतेर, जन्ती, सन्ती, बसन्ती पनि जिन्दगी । हूल, मूल, कूल, शूल, फूल, तुलबुल, बुलबुल, चुलबुल, चलमल, अलमल, खलबल, झलझल, मलमल, सलबल पनि जिन्दगी । हिँडाई, दौडाई, बसाई, उठाई, उफ्राई, खुवाई, निलाई, ओकलाई जे गरे पनि जिन्दगी, जसो गरे पनि जिन्दगी । 

अनि फेरि जस्तो मन गरे पनि जिन्दगी । जस्तो ढङ् गरे पनि जिन्दगी । यस्तै भएर त होला नि मानिसले जिन्दगी बिचित्र भनेका ? मित्र अब त तपाईको मुटुभित्र केहि खुल्यो कि चित्र ? या त तपाई हैन हो यो नाँथे बजियाले के यो फत्तुर कुरा गर्दैछ भनेर नाक खुम्च्याएर कान तिरै पुर्याउदै हुनुहुन्छ ? बल्ल त जिन्दगीको बोक्रा ताछ्न लागेको छु । केस्रा केस्रा छुट्याएर दही, चिनी र बेसार मोलेर जिब्रो फड्कार्दै खान त बाँकी नै छ नी । एकछिन पख्नोस हैत । कि यति भन्दाभन्दै तपाईको जिब्रो रसाईहालेको त छैन फेरि ?

कोही भन्छन जिन्दगी दुई दिनको घामछाँया हो । कोही भन्छन जिन्दगी माया नै माया हो । कसैले भन्छन जिन्दगी भूल हो । कसैले भन्दछन फुलै फूल हो । कसैले भन्छन जिन्दगी धोका हो । कसैले भन्छन पानीको फोका हो । कसैले भन्छन जिन्दगी आदि कथा हो, त कसैले भन्छन जिन्दगी पाजी गधा हो । फेरि कतिले भन्छन जिन्दगी सुखचैन हो, कतिले भन्छन जिन्दगी बलेको मैन हो । 

एउटा मतवालाले भन्छ जिन्दगी भरेको बोतल जस्तै छ । पिउदा पिउदै कतिखेर रित्तिन्छ थाहा हुदैन । कविहरुले भन्ने गर्छन जिन्दगी एउटा कविता नै हो । एकछिन भाका हालेर रसस्वादन गर्दा गर्दै टुगिंहाल्छ । कथाकारले भन्छन जिन्दगी एउटा कथा मात्र हो । एक दुई घण्टाको थकाई मार्ने सामयमा नै पढेर सकिन्छ । फेरी नाटककारले भन्छ जिन्दगी नाटक जस्तो छ । जो केही समयको लागि मात्र रगंमञ्चमा मञ्चन र प्रदर्शन गरिन्छ । 

हुन पनि हो, साच्चै पनि हो, यो जिन्दगी छोटो र अस्थिर जस्तै छ । अधेरिमा घुप्लुक्क निदाएको बेलामा बास माग्न आएको एउटा परदेशी जस्तै टुप्लुक्क देखापर्छ जिन्दगी । अनि कताबाट आएको हो र कहा जाने हो ? भनेर पेट्भरी कुरा गर्न नपाउदै गैहाल्छ पनि । 

मानिसका यस्ता सबै तर्क बितर्क, बिचार र परिभाषाहरुलाई कतैबाट यसो हेर्दा ठिकै देखिएलान् । तर जिन्दगीलाई खोतल्दै जादाखेरि भने जिन्दगीभित्र अझ अर्को पनि जिन्दगी हुन्छ भन्ने कुराको हेक्का भने थोरैलाई मात्र होला । अब यत्ती कुराको पनि हेक्का नराख्ने जेन्टलम्यान भनाउदो जिन्दगी जिउनेहरुलाई संझाउने ठेक्का कसले लिने ? जिन्दगीबारे फुकाउनु पर्ने गाँठी समस्या त याँहा पो छ । जिन्दगीको पेटारोमा अचम्मै अचम्मका अन्नहरु भरिएका छन । अनेक तर्क बितर्क, बाद बिवाद, भाषा परिभाषाले गर्दा त झन यसको भेउ पाउन नसकेर कति मान्छेहरुको कन्सिरी रन्केको छ । कतिकोचाहि दिमाख टन्केको छ ।

कठीन परिस्थिति, बाध्यता, बिवशता, दुख, कष्ट र अनेक झन्झटहरुको आँधी बेहेरीमा रुमलिदै अनेकौ अक्करपूर्ण बाटाहरुमा ठक्कर खाँदैखाँदै घनचक्कर लगाएपछि मात्र जिन्दगीलाई बुझ्दै जाने विवेकरुपी प्रकासका बिर्काहरु खुल्दै जान्छन भन्ने प्राय जसो मानिसहरुको धारणा रहेको भएता पनि धेरै जसो त ज्ञानरुपी तिर्खा र तिर्षनाले पनि जिन्दगीलाई बुझ्न सघाउँने चाँहि पक्कै हो । अपितु जिन्दगीको लमाइ, चौढाइ, उचाइ र गहिराईको योगफल या आयतन यति नै हो भनेर चाँहि कुनै पनि मानिसले भन्न सकेको छैन । किनभने जिन्दगीलाई जोड, घटाउ, गुणन र भाग गर्ने मानिसै पिच्छेका सुत्रहरु छन । जिन्दगीलाई हेर्ने आँखा र बुझने मन अनि हिसाव गर्ने सुत्र फरक फरक भएको हुनाले नै जिन्दगीलाइ हेर्ने र बुझने तरिका र हिसाब किताव फरक भएको होला । 

तर जिन्दगीलाई हेर्ने र हिसाब किताव गर्ने सर्वोत्तम सुत्र चाही परमेश्वरले दिनुभएको सुत्र नै हो । किनभने मानिसले बनाएका सुत्र चाही आखिरमा कत न कतै फेल खाईहाल्छन ।अब किन जिन्दगीलाई बुझ्न परमेश्वरकै सुत्र चाहियो त ? यो प्रश्नको उत्तर बुझ्नलाई जिन्दगीको सुरुवात कसरी भयो होला भन्ने कुराको अक्कल राख्नुपर्छ । अब एकछिन त्यतातिर अर्थात सृष्टिको सुरुतिर जाऔ न त, उत् १ः१, २ः७ । 

सुरुमा आकास पृथ्वी स्वर्ग केही पनि थिएन तर परमेश्वर चाँहि हुनुहुन्थ्यो । अनि परमेश्वरले यी कुराहरु सबै होऊन भनेर भन्नुभएपछि आकास पृथ्वी स्वर्ग सबै सृष्टि भए । तर अज्ञात समयसम्म पृथ्वी आकारहिन थियो अथवा प्राणीजातिको लागि योग्य थिएन । पछि परमेश्वरले यसलाई आकार दिनुभयो । यसको जमिन र पानीको भाग गर्नुभयो । सूर्य र ताराहरु अथात प्रकास र सौर्य प्रणालीको व्यवस्था गरी दिन र रात छुट्याउन भयो । अनि यसमाथि सबै जीवित जिवात र जलचर स्थलचर नभचर सबैलाई बनाउनुभयो । 

यसप्रकार पृथ्वी एउटा सुन्दर बगैचा जस्तै हुन आयो । अनि त्यसपछि मात्र परमेश्वरले यहि बगैचाको माली हुन यसका सबै सुन्दरताहरुको उपयोग गर्न अनि परमेश्वरको सगसँगै रहन वा उहाँकै साथी हुन मानिसलाइ पुरष र स्त्री गरी बनाउनुभयो । यस प्रकार मानिसले जिन्दगी पाएको हो भनेर बाइबल भनिने धर्मशाश्त्रले हामीलाई ज्ञान दिएको छ । 

इतिहास, धर्मगत इतिहास, बैज्ञानिकहरुले पनि काट्न नसकेको अनि मानिसको विवेक र तर्कहरुद्धारा पनि खण्डन गर्न नसकिने सत्यताको सांरास यही नै हो । त्यस समयमा सृष्टि भएको मानिस कहिल्यै नमर्ने अर्थात अमर रुपमा बनिएको थियो । तर कालान्तरमा मानिसमा पापले प्रवेस ग¥यो र त्यो पापले मृत्यु ल्यायो । मृत्युले मानिस जिन्दगी बिहान उदाएर बेलुका अस्ताउने घाम जस्तै बनाइदियो । बदलिएर केही दिन मात्र देखिने जून जस्तै बनाईदियो । 

बाइबलले बर्णन गरे अनुसार आज पृथ्वीमा भएका लगभग सात अरव जिन्दगी आदिम् नर र नारीबाटै बृद्धि भएर आएका हुन । जिन्दगीको सबै नियतीको सामाधान केवल बाइबलले मात्र सिकाएको छ । त्यसकारण हामीले पनि बाइबलिय दृष्टिकोणबाट जिन्दगीलाई चियायौ भने सहि दृष्टिबाट देख्न सकिन्छ । नत्र भने ता अन्धाले हात्ती छामेर ए हात्ती त नाङ्ला जस्तो, खम्बाजस्तो या यस्तो या त्यस्तो हुदोरहेछ भनेर भनेजस्तो मात्र हुनेछ । बाइबल बिना जिन्दगीबारे खोतल खातल पारेर हेरिएका सबै कुराहरु अन्धाले हात्ती छामेको भन्दा बढ्ता बिषयको कुरा हुन आउने छैन । 

जिन्दगीलाई बुझने सबैभन्दा असल र योग्य तरिका यही हो कि यो त परमेश्वरद्धारा दिइएको उत्तम उपहार हो । फेरी यो त छोटो समयको लागि दिइएको ऋण जस्तो पनि देखिन्छ । ऋण तिर्न नसक्नेहरु त काँहा फेरि परमेश्वरसाग सधैभरि जिउन पाउलान र ? उनीहरुको लागि त जिन्दगी धराप हो । किनभने यो कुन बेला गिर्छ थाहा हुदैन । दिइन त दिइएको छ तर कुन बेला लगिने हो थाहा छैन, अयुव १ः२१ । 

जिन्दगी अदेख र अथोक कुरा हो । जिन्दगी भावानात्मक कुरा पनि हो । आज हुन्छ भोलि हुदैन । बस घामछाँया भने जस्तै । जिन्दगीको अवधी छोटो छ, भजन ९०ः१० । यसको घमण्ड त दुख र मेहनत मात्र हुन । यसको दिन ज्यालामा काम गर्नेको जस्तो छ । काम गरिसकेपछि काम अनुसारको ज्याला उसले पाउछ । त्यो ज्याला वा न्याय परमेश्वरले दिनुहुन्छ । आफनो ज्यालाको हिस्सा नतिरी को पो उम्कन सक्ला र ? 

एकजना गुरुले आफना चेलाहरुलाई एकपटक भनेछन मर्नुभन्दा एकदिन अघि नै मृत्युको लागि तयार होउ । तर चेलाहरुले भनेछन कि गुरुज्यू हामी त भोलि नै मर्न पनि त सक्छौ । हो जिन्दगीको अवधी कसले जान्दछ र ? यो सापटी दिए जस्तै हो । परमेश्वर जसले जिन्दगीलाई सापटी दिन्छ र पछि फिर्ता माग्छ ।

परमेश्वरको सुत्र अथात बाइबल अनुसार खासमा त जिन्दगी शरीर प्राण र आत्माको मिलन पनि हो । शारीरिक जिन्दगी आँखाले देखिन्छ तर आत्मा र प्राणको जिन्दगी आखाँले देखिदैन । कतिले प्राण र आत्मा एउटै हो पनि भन्छन तर त्यसो होइन । प्राणभित्र मन, इच्छा, चाहाना, भावना आदि हुन्छन । आत्माभित्र प्रकास, सत्यता वा विवेक हुन्छ । अन्तरज्ञान हुन्छ । 

शरीरको रचना गरिसकेपछि जीवन, श्वास या आत्मा परमेश्वरले नै मानिसमा दिनुभयो । यसमा परमेश्वरको गुण छ अर्थात सत्यता छ । आत्मामा नै परमेश्वरको अजम्वरी गुण छ । त्यसकारण आत्मा मर्दैन । तर शरीर र प्राण चाँहि मर्छ । आत्माले नै ठीक र बेठीक छुट्याउनु सक्छ । यसकारण कुनै मानिसको प्राणका भागहरु बलिया छन भने उसले यो कुरा बेठीक छ भन्ने कुराको हेक्का आत्माले थाहा दिएपनि उसले बेठीक काम गर्छ तर यदि कुनै मानिससगँ आत्माका भागहरु बलिया छन भने खराब छ भनेर थाहा पाएको कुरामा हातै हाल्दैन । 

यसरी हामी आत्मिक या परमेश्वरीय चाल अनुसार हिड्ने र नहिड्ने मानिसको भेद थाहा पाउन सक्छौ । तव हामी निश्चयको साथका भन्न सक्छौ कि परमेश्वरले दिएको आत्मिक ज्ञान अनुसार नचल्नेहरु नै एकदिन कष्ट दिने र पिल्स्याउने आगो अर्थात नरकमा जानुपर्छ । तर आत्मिक ज्ञान वा परमेश्वरको सुत्र अनुसार जिन्दगी जिउनेहरु भने परमेश्वरको घर अर्थात स्वर्ग, कहिल्यै कष्ट पाउन नपर्ने ठाउँमा जान्छन । जिन्दगीभित्र भएको जिन्दगीको खास रहस्य यही नै हो । 

भित्री जिन्दगी बारे बुझन आत्माको बारेमा अझ गहिरोसँग बुझनुपर्छ । कसैका मूढे बुद्धि र खोक्रा तर्कका सुत्रहरुले उसको भित्री जिन्दगीलाई बचाउन सक्दैन । परमेश्वरको सुत्रलाई आत्मिक मेशिनमा प्रयोग गर्यो भने मात्र जिन्दगीले ठीक काम गर्न सक्छ । जिन्दगी जिउने आत्मिक सुत्र बाइबल मात्रै हो भन्ने कुरा यसका बैज्ञानिक अध्यताहरुले पनि बताएका छन । किनभने यसमा कसैले पनि काट्नै नसक्ने सत्यताहरु छन जुन सत्यता यथार्थ त परमेश्वरले नै मानिसलाई प्रकासित गरिदिनुभएको हो । यसकारण यसले मात्र जिन्दगीको ठीक ठीक उत्तर निकाल्छ । 

तर बाइबलको सही सुत्र अध्यन र प्रयोग नगरी आफ्नै तरिकाको आत्मिक जिन्दगी जिउन खोज्नेहरुलाई भने यो कुरा पचाउन फलामकै चिउरा चपाएजस्तो हुन्छ । हिँडेरै चन्द्रमा पुग्नुपर्ने जस्तो हुन्छ । किनभने तिनिहरुको आत्मिक जिन्दगी पनि फलामकै ह्यामरले ठोके जस्तो हुन्छ । सत्यको आत्मिक प्रकासलाई अन्धकारको बिशाल आकाशले थिचेको हुन्छ । 

भन्छन नि, जिन्दगी सपना जस्तो छ । यो कति लामो हुन्छ र ? हेर्दाहेर्दै कसैले आएर झस्काएर बिउँझाइदियो भने भताभुङ्ँग भइहाल्दैन त ? भजन ७३ः२० । अनि मान्छेको जिन्दगी त पृथ्वीमा प्रबासी मात्र हो । प्रवासमा को धेरै बेर वस्दछ र ? प्रवासको समय सिद्धिएपछि सधैभरिको लागि तयार भएको आफ्नै घर स्वर्गमा गैहान्छ, १ पत्रुस १ : १७ । 

उपदेशक सल्लाह दिदै भन्छन्, दिन छदै सिर्जनहारको याद गर । किनकि यसका इच्छा र चाहानाहरुलाई त टिप्न खोज्दा 
खोज्दै छाँया जस्तै हराइहाल्छन्, उप ६ः१२ । शितका थोपा झै बिलाइहाल्छन । खै यात्रा भन्ने कि मात्रा भन्ने त जिन्दगीलाइ ? क्रोकोदेखि आर्यघाट सम्म पनि यात्रा जिन्दगीको । आत्मिक जन्म पाएदेखि अनन्तसम्म पनि यात्रा जिन्दगीको । कसैको लागि छोटो कसैको लागि लामो कहिल्यै नसकिने छ  जिन्दगी, उत् ४७ः९ । फेरि जिन्दगी भूवा जस्तो पनि छ, सानो हावाको झोकाले पनि फुस्स उडाइदिन्छ । जिन्दगी धुवाँ जस्तो पनि छ । माथि उठ्यो कि आकासमा बिलाहाल्छ । यो त बाफ जस्तै छ एकछिन उडेको देखिन्छ फेरि एकैछिन पछि हराइहाल्छ, देखिदैन याक ४ः४ । 

पानी भए पिउन हुने, बरफ भए चुस्न हुने तर बाफ रे जिन्दगी । जिन्दगी एकछिनको व्यथा जस्तो छ । एकछिनको कथा जस्तो छ, भज ९०ः९ । एकै सुस्केरा हालेर सुस्ताउन नपाउदै बिट मार्ने बेला आइहाल्छ । लोहोटामा ढलेको पानी जस्तो, मनसुनमा बैस आएको खहरे रानी जस्तो छ जिन्दगी, २ सामु १४ः१४ । शरदमा एकछिन फुलेर बास्ना दिन खोज्ने सयपत्री जस्तो छ, अयु १४ः१,२ । बर्षापछि टुसाएर पोटाएर पत्र फैलाउन नपाउदै हिँउद आउँदा सुकिहाल्छ अनि गर्मीको डडेलो आइएर निलिहाल्छ।

तर पनि मान्छेले भन्ने गर्छन जिन्दगीमा कि सिंहको जस्तो रवाफ होस्, कि भालुको जस्तो आँट होस् । कि बादशाहको जस्तो शान होस् कि चौतारीयाको जस्तो मानसम्मान होस् । तर म भन्छु जिन्दगीमा नाम, दाम, काम, मान र शानमा अभिमान नहोस् । हेर्ने आँखा र सुन्ने कान होस् अनि अनन्त जीवनको तान होस । जीवित हुदा हानाहान र मरेपछि तानातान नहोस् । 

यो जिन्दगी परमेश्वरमा जिउनको लागि हो, पिउनको लागि होइन । नम्रको लागि हो खुमे्रको लागि होइन । अनन्त समय भर्नको लागि हो, जहा पायो त्यही चर्न र मर्नको लागि होइन । टार्नको लागि होइन खार्नको लागि हो । नार्न हार्न वा चिट्टा पार्नको लागि पनि होइन । जिन्दगी न त चिट्टाको लागि न त डिट्ठाको लागि हो । जिन्दगी न त कौडि हो न पासा हो, चिन्नेको लागिचाँहि खास्सा हो । जिन्दगी केहिछिनको मोज होइन तर अनन्तको भोज हो । हरमहिना हररोज सत्यताको खोज हो ।

कतिले जिन्दगी हिराको खानी जस्तो, बगेको पानी जस्तो भन्छन रे । जिन्दगी सस्तो महँगो छोटो लामो जे भएपनि बुझ्नेलाई यो स्पष्ट र नबुझ्नेलाई अस्पष्ट छ । चौका हानेर कहाँ जिन्दगी चल्छ र । लौका पनि मौकामा फल्छ । बेमौकामा फलाउनुपर्छ । हारजीत जे ठाने पनि चलुन्लेल जिन्दगी चलाउनुपर्छ । फलुन्जेल जिन्दगीमा असल र मीठा फल फलाउनुपर्छ । तर भित्रभित्रका तीता र टर्रा चीजहरुलाई जलाउनुपर्छ । कोक्याउने चीजहरुलाई गलाउनुपर्छ । त्यसैले त चिन्नेले जिन्दगीलाई हिरा बनाउँछ । नचिन्नेले चिराचिरा बनाउँछ । 

तर कतिको जिन्दगी पिरो छ, कतिको तीतो छ, रुथ १ः२० । कसैको जिरो छ । कसैले सोच्लान मेरो त जिन्दगी हिरो छ । तर परमेश्वरबिना त्यसको जिन्दगीभित्र पनि कही न कही अवश्य चिरो छ । केटाकेटीहरुले भन्लान जिन्दगी खेल हो, खेल्नुपर्छ, रमाउनुपर्छ । जवानहरुले भन्लान जिन्दगी मायाको मेल हो, प्यार गर्नुपर्छ, रमाइलो गर्नुपर्छ । काका, बाबा, बाजेहरुले भन्लान जिन्दगी झेल हो, थिचोमिचो र अव्यबहार सहनुपर्छ । तर जे भए पनि जिन्दगी आफ्ना थान्कामा रहनुपर्छ ।

अब धेरै गन्थन नगरौ होला । जति न बाह्र सत्ताइसका कुरा गरे पनि जिन्दगीका कुरा कहिल्यै सकिदैनन । टुङ्गिदा पनि टुङ्गिदैनन । तर जिन्दगीको एउटा सत्य के हो भने दुख, कष्ट, आपद र समस्याहरु आइपर्दा होस या त अब त म बूढो भएँ, मेरा जिन्दगीका दिनहरु सकिन लागे भन्दा होस् मानिस परमेश्वरको शरणमा जान खोज्छ । उसको खोजी गर्न थाल्छ । तर बल, बुद्धि र धन भइन्जेल त आफ्नो घमण्ड र हुँकार उसले कहिल्यै छाड्दैन । 

सृष्टिको सुरुमा मानिसको जिन्दगीमा कुनै पाप थिएन र त मानिसको जिन्दगीमा कुनै समस्या पनि थिएन । पछि पापले मानिसको जिन्दगीमा यावत समस्याहरु ल्यायो र मानिस साँचो र सत्य परमेश्वरदेखि अलग भयो । उसलाई बिर्सियो । तापनि मानिसले आनन्दमय र अजम्वरी जिन्दगीको परिकल्पना गर्दै त्यसलाई प्राप्त गर्न निरन्तर सघर्ष गरिहरहेको छ । किनभने अझै पनि आफ्नो मानसपटलबाट सृष्टिकर्ताको नामलाई उसले मेटाउन सकेको छैन । त्यसैले त अन्तिम समय समस्याहरुमा उहाँबाट छुट्कारा पाउने आशा गर्छ । यसरी आत्माले त्यो परमेश्वरलाई खोजिरहे पनि मानिसको पापी कार्य नै ऊ आफ्नलागि बाधा बनिरहेका हुन्छ । निश्चय नै आज यदि सबै मानिसहरुले परमेश्वरले बाइबलमा दिनुभएको मापदण्ड अनुसार जिन्दगीलाई बुझे भने मात्र खास जिन्दगीको तात्पर्य रहनेछ । त्यस अनुसार जिए भने मात्र उपहार पाएको जिन्दगी अर्थपूर्ण हुनेछ ।

Labels: Essays

0 comments

Write Down Your Responses

Newer Post Older Post Home

======Popular Posts======

  • हिन्दु धर्मशास्त्रमा पाप, मुक्ति र येशू !
    By: लालु पौडेल ।   आदरणीय दर्शक तथा श्रोताबृन्, यहाहरु सबैलाई ख्रीष्टिय अभिवादन जयमसिह भन्दै आजको बिषेश बिषयको लागि स्वागत गर्न चाहान्छु।...
  • चित्त चिन्तन (ज्यादै रमाइलो निबन्ध)
    - लालु पौडेल ।   मानिसहरु भन्ने गर्छन्, मान्छेको चित्त त माखाको पित्त जत्रो हुन्छ रे । अब यो मान्छेको चित्त माखाको पित्त जत्रो हुन्छ भने...
  • That lonely Street ( English Poem)
    That lonely Street  -the street of Dogs . When it becomes night… Forsaken, Driven out and bully; And uninhabited and skinny dogs ...
  • अन्तिम पलहरु- भजन गीत नं ११२-१३४ सम्म
    -लालु पौडेल  |  यस 'अन्तिम पलहरु' भजन पुस्तकमा समावेस भएका भजनहरु कपिराइट भएको हुनाले कुनै पनि भजन, भजनको खण्ड वा अंशलाई बिना अनुमत...
  • कुकुरहरुको सडक (कविता)
    -लालु पौडेल |    जव रात पर्दछ भुस्याहा र घुस्याहा छाडा र साँढा खेदिएका र लखेटिएका घाइते ,  व्याइते ,  ल्याइते                  ...
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Lalu Paudel