• HOME
  • About Me
  • Articles
  • Story
  • Essays
  • Poem
  • Songs
  • Spiritual Manna
  • Videos
  • Photos
  • Contact
Your are browsing : Essays
-लालु पौडेल । 
समय अर्थात टाइम, बेला, बखत, घडी, काल, पल, क्रम, युग, जीवन जे भने पनि यो समय हो । भन्छन् समय फनफनी घुम्दछ । समय फनफनी नाँच्दछ । समयले नै मान्छेलाई छनछनी धनी बनाउँछ । समयले नै मान्छेलाई गनगने र गरीव बनाउँछ । खनखनी लिने र कनिकनि दिने पनि बनाउँछ । समयले गनी गनी पनि दिन सक्छ । छानी छानी पनि लान सक्छ । जानी जानी फसाउँछ । नचाहाँदा नचाहाँदै  पनि हसाँउछ । पानी पानी पनि पार्छ, तपतप थोपा थोपा पनि झार्छ । रगत पनि बगाउँछ । जगत पनि देखाउँछ । तर यो समय फगत समयको खेल हो । घडी र पलको मेल हो । दुखीलाई ठूलै झेल हो । हत्यारालाई जेल हो । अट्टेरीलाई ठेल हो । खेलाडीलाई खेल हो । हुलमुललाई पेल हो । गोवर गणेशलाई फेल हो । पापीहरुलाई भेल हो । मुक्तिगामीलाई मेल हो ।
भन्छन् समय बलवान् छ । समय चलायमान् छ । समय शक्तिमान् छ । यसको सामु झुक्नुपर्छ । यसको सामु नुध्नुपर्छ । समयको भित्तामा ठोकिनुपर्छ र रोकिनुपर्छ । समय चरी हो हा... गर्न नपाउँदै भुर्र उडेर जान्छ, अनि काँहा बस्छ र के गर्छ कसरी देख्ने ? समय परी हो, यसको सुन्दरता देखेर सबैले अंगालो हाल्न खोज्दछन्, तर सबैले भेट्टाउन सक्दैनन् । समय आगो हो । यसले हरचिज डडाउँछ, तर यसलाई टपप्क टिपेर गोजिमा हाल्न मिल्दैन । समय धागो हो । यो लामो छ तर सानै बलले पनि टुट्न सक्छ । समय गति हो । यसको गतिलाई भेट्टाउने को होला र ? यो दिनदिनै हिँडिरहन्छ । यसलाई रोक्न कसैले सक्दैन । समय पाईला हो । यसको पाईला पाईला पछ्याउनुपर्छ । तर जाहाँ यसले पाईला छोड्छ त्यसलाई मेटाउन कसले सक्छ र ? समय हाँसो हो । यसले मानिसलाई हसाउँछ । समय रुवाई हो, यसले मानिसलाई रुवाउँछ । समय दुख हो, यसले मानिसलाई दुखाउँछ । समय जीत हो । मानिसलाई जिताउँछ । समय हार हो । यसले मानिसलाई हराउँछ । समय फूल हो । सबैलाई फूलाउँछ । समय भूल हो, यसले सबैलाई भुलाउँछ । समय फल हो । मौलाउँछ, फलाउँछ । समय भल हो, बौलाउँछ, बगाउँछ । समय ढाल्ने चिज हो, ढल्छ, ढलाउँछ । समय गाल्ने चिज हो, गल्छ र गलाउँछ ।
समय रंग हो फेर्न सकिदैन । समय ढंग हो बेर्न सकिदैन । समय भक्ति हो, बिराउन सकिदैन । समय शक्ति हो, जित्न सकिदैन । समय मुक्ति हो कुल्चन सकिदैन । समय आशा हो, मार्न सकिदैन । समय पासा हो, चाहेको पार्न सकिदैन । समय मौका हो, छोड्न सकिदैन । समयले नै दुनिया जुटाउँछ  । समयले नै दुनिया छुटाउँछ । समयले नै परमेश्वर चिनाउँछ । समयले स्वर्ग पुर्याउँछ । समय मिलन हो, प्रभुमा पनि मिलाउन सक्छ । समय नरक हो, नरकमा पनि मिलाउन सक्छ । समय प्रेम हो, नाता जोडिन्छ । समय स्वार्थ हो, प्रेम तोडिन्छ । समय माया हो, सम्बन्ध बसाउँछ । समय छायाँ हो, सम्बन्ध बिलाएर जान्छ । समय धर्म हो, समय नै कर्म हो । समय धन हो, समय नै मन हो । समय भाग्य हो, समय नै दुर्भाग्य हो । समय बुद्धी हो, समय नै मूर्खता हो । समय गान हो, समय नै सम्मान हो । समय तान हो, समय नै हान हो । अनि समय अपमान पनि हो । समय ज्यान हो, समय नै ध्यान हो । समय रक्षक हो, समय भक्षक हो ।
समय उदाउँछ, समय अस्ताउँछ । समय देखिन्छ, समय भेटिन्छ । समय चिनिन्छ, समय चिनिन्न । समयले संझाउँछ, समयले बिर्साउँछ । समयले जुटाउँछ, समयले छुटाउँछ । समय सर्माउँछ, समय भ्रमाउँछ । समय बतास हो, बत्तिन्छ थाहा हुदैन । समय हतास हो, हुत्तिन्छ थाहा पाईदैन । समय शिखर हो, चढ्न गाह्रै हुन्छ । समय मैदान हो, खेलिन्छ, दौडिन्छ, थाकिन्छ, ढलिन्छ । समय खोला हो सलसली बग्छ । समय झरना हो झरझरी झर्छ । समय घाउ हो, चरचर चिरा पार्छ । समय दाउ हो, हरहर हिरा झार्छ । समय गन्थन हो गथेंर भ्याइदैन । समय मन्थन हो मथेंर भ्याईदैन । समय कहिल्यै सकिदैन । समय कहिल्यै फर्किदैन ।  समयको बारेमा म सबै कुरा जान्दछु भन्नु वा यसबारे सिकाउन खोज्नु म एकै घण्टामा आकासको फन्को मारेर आईपुग्न सक्छु भने जस्तै हो । समय छ, समय हो पनि । समय छैन, होइन भन्न कसैले सक्दैन । समयका सबै कुरा बुझन पनि कसैले सक्दैन । यो बिचित्रको अश्त्र हो । बिचित्रको मित्र हो, अनि बिचित्रको शत्रु पनि हो ।
यसकारण, बाइबलमा उपदेशक भन्दछन, हरेक कुराको एउटा समय छ । जन्मने एउटा समय छ । मर्ने एउटा समय । रोप्ने एउटा समय छ । उखेल्ने एउटा समय  । मर्ने एउटा समय छ ।  निको पार्ने एउटा समय । भत्काउने एउटा समय छ ।  बनाउने एउटा समय  ।  रुने एउटा समय छ ।  हास्ने एउटा समय ।  शोक गर्ने एउटा समय छ ।  नाच्ने एउटा समय ।  ढुंगा हान्ने एउटा समय छ ।  ढुंगा बटुल्ने एउटा समय ।  अगाल्ने एउटा समय छ ।  अलग हुने एउटा समय ।  खोज्ने एउटा समय छ ।  छोड्ने एउटा समय ।  राख्ने एउटा समय छ ।  फाल्ने एउटा समय ।  च्यात्ने एउटा समय छ ।  मर्मत गर्ने एउटा समय ।  चुप लाग्ने एउटा समय छ ।  बोल्ने एउटा समय ।  प्रेम गर्ने एउटा समय छ ।  धृणा गर्ने एउटा समय । युद्ध गर्ने एउटा समय छ ।  मिलाप गर्ने एउटा समय।  
हो, प्रत्यक कुराको समय छ । तर आदि देखि तादी र अन्तसम्मका समयका सबै कुराहरुको हिसाब किताव राख्ने सामथ्र्य केवल परमेश्वरसँग छ । मानिसले त समयको एक छेउको भेउ पनि  पाउन मुस्किल पर्छ । अलिकति हिसाब राख्न पनि झेउ नै हुन्छ । त्यसलै बरु सबै उहाँ परमेश्वरलाई नै लेउ भनिदिए आनन्दै हुन्छ । किनभने समयका कुराहरुलाई खोतल खातल गर्नु र हिसाब किताव गर्नु भनेको नदुखेको टाउकोलाई डोरीले बाँधेर दुखाउँनु जस्तै हो । 
मानिसलाई लाई एउटा समय दिइएको छ । यो समयमा मानिस जिन्दगीको अनुभव गर्दछ । यो जिन्दगी त परमेश्वरको एउटा उपहार हो । यसलाई जतन गर्नुपर्छ । फटन ग¥यो भने ता आखिरमा लाजमा पर्नुपर्छ । बाइबलले मानिसलाई समयको सारमा बाँच्न सिकाउँछ । उत्पत्तिको एउटा समय थियो अनि प्रकासको एउटा समय छ । अन्तको पनि एउटा समय छ । 
आदम, अब्राहाम र दाउदको आ–आफ्नो समय थियो । योसेफ, मरियम र पावलको आफ्नो समय थियो । अहिले हामीहरुको आफ्नो समय छ । फेरि पनि भोलिका मानिसहरुको लागि पनि समय छदैंछ । अचम्म छ । अब मानिसले आदमदेखि भोलीका मानिसहरुको लेखाजोखा कसरी गर्ने ? यो असंभव छ । सय बर्ष बाच्ने व्यक्तिले दिन रात पढेको पढ्यै गरे पनि भ्याउदैन । त्यसकारण बाइबल सानो छ तर यसले सबैलाई समय अनुसार जिउन सिकाउँछ । मानिसलाई चाहिने र पाईने कुरा सबै यही छन् । यदी कसैले यसलाई बुझ्यो र यसमा बिश्वास ग¥यो त त्यसले समयलाई चिन्यो । त्यसलाई बुझन सकेन वा त्यसमा बिश्वास गर्न सकेन त त्यसलाई समयले धोका दियो भनेर जाने हुन्छ ।
एकजना पाष्टर टेक्सी चढेर कतै जादै हुनुहुन्थ्यो । कुराकानी गर्दै जादा टेक्सी चालकले सोधेछ के तपाई बिश्वासी हुनुहुन्छ ? 
किन र भाई कसरी चिन्नुभयो ? 
चालकले जवाफ दिएछ, बिश्वासीहरुको त बोलिबचन र शैलीले नै चिनिहालिन्छ नि । 
पाष्टरले भन्नुभएछ, ए खुशी लाग्यो भाई के तपाई पनि बिश्वासी हुनुहुन्छ ? 
चालकले भनेछ, हो म पनि बिश्वासी नै हो, त्यहि भएर तपाईलाई सजिलै चिने । 
अनि पाष्टरले सोध्नुभएछ, अनि के तपाई शनिबार सधै चर्च जानुहुन्छ त ? 
चालकले जवाफ दिएछ, अँह त्यति जान्न ।
तर किन र भाई?
जाने टाईम नै पाईदैन । सधै बिजी भइन्छ त्यै भएर । 
अनि पाष्टरले भन्नुभएछ, अरे भाई किन यत्ती कुरा पनि बुझ्नुहुन्छ तपाई ? जवसम्म तपाईसँग जिन्दगी छ तपाईसँग टाईम छ नि । किन बहाना बनाउनुहुन्छ ?
वाह ! क्या गज्जवको कुरा यार । जिन्दगी छ त समय छ । समय जीवन हुनेहरु सबैसँग छ । उही समय अर्थात दिन र रात गरी दिनमा चौबिस घण्टा । काजीदेखी पाजीसम्म सबैलाई टाईम त टाईम नै हो । बुझकी र अबुझलाई मात्र टाईम फरक हुन्छ । कसैले, अनुदान पाएको यो टाईमलाई क्राईम बनाउँछन तर कसैले प्राइम बनाउँछन, गाँठी कुरो यत्ति नै हो । 
यसैकारण, समय भुक्छ । यसको भुकाईलाई सहनुपर्छ । समयले टोक्छ । यसको टोकाईलाई सहनुपर्छ, मलम दिनुपर्छ । समय दौडन्छ । यसको गतिलाई थाम्नुपर्दछ । समय रोकिन्छ । यसलाई धकेलेर चलाउनुपर्दछ । समय निदाउँछ, यसलाई झक्झक्याउँनु पर्दछ । समय गम्किन्छ । यसलाई फकाउनु पर्दछ ।  समय लम्किन्छ, यसलाई थकाउनु पर्दछ । समय थाक्छ, यसलाई आराम दिनुपर्दछ । समयले बिराउँछ, यसलाई क्षमा र शिक्षा दिनुपर्दछ । समय बाटो हो, यसमा हिँड्नुपर्दछ । समय फाटो हो, यसमा फाटिनुपर्दछ । समय धार हो, यसमा काटिनुपर्दछ । समय दाम्लो हो, यसका बाँधिनुपर्दछ । समय खाँद हो यसमा खाँदिनुपर्दछ । समय साँध हो यसमा साँधिनुपर्दछ । समय भारी हो यसमा लादिनुपर्दछ ।
समय कुईरो हो, छोप्न सक्छ । समय धुइरो हो, रोक्न सक्छ । समय फल, हो पाक्न सक्छ । समय बल हो, फ्याँक्न सक्छ । समय डोरी हो, बेर्न सक्छ । समय अक्षर, हो यसलाई केर्नु पर्छ । समय लुगा हो फेर्नु पर्छ । समय कोट हो सिउनु पर्छ, लगाउनुपर्छ । समय बोट हो उम्रन्छ, बढ्छ, ढल्छ । समय चोट हो घाउ पार्छ, सडाउँछ । समय भोट हो, भोट हालिन्छ, चुनिन्छ । हँ, परमेश्वरले दिनुभएको एउटा यस्तो भोट जुन भोटबाट मानिस एउटा समयको लागि जन्मिन्छ, छानिन्छ वा चुनिन्छ । यो कुरा बुझ्नेलाई त समयको भोट सबैभन्दा उत्तम छ । तर भोट चिनेन र सित्तैमा किनेन, तर भिलेन बन्यो भने त केवल खोटै खोट हो । 
समय अनुकुल छ, यसलाई अनुभव गर । समय बेसमय छ, होसियार बस । समय शुन्य छ, बिचार र प्रार्थना गर । समय दिव्य छ पक्रिएर बस । समय सभ्य छ सिकाउँ । समय असभ्य छ झिकाऊ । समय जालि छ लुकाउ । समय भिजेको छ सुकाउ । यसैकारण पावल भन्छन, समय बेसमयमा तयार बस, २ तिमोथी ४ः२ । प्रभुको बचन प्रचार गर्ने समय छ ? प्रचार गरिहाल । अर्ती ज्ञान र शिक्षा दिने समय छ ? दिइहाल । किनभने यो भन्दा खराब समय आउन सक्छ । यो मौका गुम्न सक्छ । समय हुनेहरु होसियार होउन् । जीवनको समयमा घमण्ड र अंहकार तोडून् । आफ्नो सारा हृदय परमेश्वरमा मोडून् । अनि नम्र र दीन बनून् । किनभने तिनीहरुकै लागि समय अनन्त छ । अरुको लागि त नरकले मुख आँ गरिराखेको छ । जीवन्त छैन । 
आत्मिक जीवन जीउनेको लागि अनन्त आनन्दको समय छ । अनात्मिकको लागि अनन्त कष्टको समय छ । समयको आँखाले जसले यी कुरा देख्छन्, ख्रीष्ट प्रभुमा भएको पाप क्षमा र उद्धारलाई कहिल्यैै इन्कार गर्न सक्दैनन् । इन्कार गर्नेहरुलाई अन्तको समयमा चुकचुकाउ मात्र बाँकी रहला । जीवनको समयको के ग्यारेन्टी ? यसको समय जसले दियो उसैको हातमा छ । कहिले र कुन समय हिसाव किताव गर्न वापस लगिने हो भनेर कसैले पनि जान्न सक्दैन ।
मानिसलाई थाहा छ कि समयको एउटा परिधिभित्र जीवन सिमित गरिएको छ, अथ्युव ७ः१ । त्यसकारण समय छोटो छ, तर खोटो छैन । प्रभुमा बिश्वास गरेर अनन्त जीवनको भोटो लगाउन सबैलाई उही समय दिईएको छ । याकुवले फारोलाई मेरो जीवनको समय छोटो र दुखपूर्ण भयो हजुर भनेर गुनासो गरे झै जीवन प्रति शिकाएत गर्नुको कुनै गुञ्जायस छैन, उत्पत्ति ४७ः९ । बरु भजनकर्ताले झै प्रभुले दिनुभएको समयलाई स्वीकार गर्नु नै बुद्धिमानी हुन्छ, ७३ः२० । अथ्युवले पनि यसलाई यसरी नै स्वीकार गरेका छन, अथ्युव १४ः१ । समयलाई मान्नु अथवा यसलाई स्वीकार गर्नु नै जीवन हो । येशूले भन्नुभएको छ, म जीवन हुँ । अर्थात म समय हुँ । जीवनको समय उहाँको हातमा छ । जीवनको घडी र श्वासको बडी चार्ज गर्ने उहाँ नै हुनुहुन्छ । उहाँले यो चार्जर च्वाट्टै छोडिदिनुभयो भने ता प्वाट्टै फुट्छ । माटोको यस्तो अस्थिर भाँडोेले केही फूर्ती गर्नु नै छैन । ताई त तुइको फुर्तीले समय बेकारमा जान्छ । 
तर, उहाँको समयको खेललाई जान्न खोज्नु छाँयालाई पक्रन खोज्नु जस्तै हो, उपदेशक ६ः१२ । यो नक्कल र क्षणिक हो । न देखिन बेर न त बिलाउन बेर । त्यसैले समयलाई बुद्धिमानी र होसियारीपूर्वक बिताउनु पर्दछ । किनकि यो त उहाँबाट पाएको बरदान हो जुन एकपटक मात्र पाईन्छ भनेर कसले बुझ्दछ ? त्यसैले समयलाई नबुझी मनोमानीसँग हिड्ने व्यक्ति यहाको भौतिक समय सकिएपछि सधैभरि पछुताउँदै पछुताउँदै र पछुताउँदै मात्र रहनेछ । समयको सत्य यही हो ।
जीवनको समयमा ख्रीष्ट येशु प्रभुमा बिश्वास गर्नु नै सबैभन्दा उत्तम हो, फिलिप्पि १ः१२ । यदि समयले तपाईको हृदयको ढोका ढक्ढक्याएको छ भने, आजै खोलिहाल्नुहोस् र राजाहरुका राजा अनि प्रभुहरुका प्रभु ख्रीष्ट येशूलाई बास बस्न दिनुहोस् । उहाँले तपाईलाई सधै भरी अनन्त स्वर्गमा आनन्द खुशी खुशी अनि खुशीमा राख्नुहुनेछ । किनकि हाम्रो हृदयमा ख्रीष्ट प्रकासित भएपछि मात्रै समयका रहस्यहरु सुल्झदै जान्छन, प्रकास ३ः२०, यसैया ६०ः१,२ । अन्यथा समयले तपाईलाई धोका दिनेछ । किनकि उहाँ बिना सारा संसारलाई घोर अन्धकार र  बिपत्तिले ढाक्दछ । यस पृथ्वीमा ख्रीष्ट बिनाको समयले नै सबै झूट र अधर्महरु जन्माएको छ, २ तिमोथी ४ः३ । अन्धकार समयलाई चिनौ, यसलाई चिरौ अनि साँचो सत्य र उज्ज्वल समयमा हामीहरु सबै बाँच्न सकौ । यो निबन्धकारलाई दिइएको समयमा ऊ यही प्रार्थना गरिरहन्छ ।
नोआको एउटा समय थियो, निर्दोष र धर्मी जीवन जिउने । दाउदको एउटा समय थियो, पवित्र मन्दिर बनाउने । अव्राहाको एउटा समय थियो, प्रतिज्ञामा धैर्य गर्ने । इजकिएलको एउटा समय थियो, सुख्खा हड्डी जीवित हुने । एलियाको एउटा समय थियो, धार्मिकता स्थापित गर्ने । मोशाको एउटा समय थियो, दासत्वबाट अर्थात पापबाट निस्कने र कनान अर्थात स्वर्ग पुग्ने । अनि अहिले  चाहिँ अनुग्रहको समय छ, उहाँमा बिश्वास गर्ने र बाँच्ने । किनभने कुनै पनि खोक्रा तर्क, ज्ञान, बुद्धि र उन्नतीद्धारा मानिस बाच्न सक्दैन । मानिसले जति नै संसार निले पनि अन्तत मर्ने समयमा जसलाई पनि परमेश्वरको घरमा जाने आशा र इच्छ हुन्छ । तर त्यो आसा कसरी पुरा हुने हो, त्यसको हरेकले खोजी गर्नुपर्छ । यदी कसैले ख्रीष्ट बिनाको समयमा फुर्ती ग¥यो भने त्यसको जीवनको समय बर्बाद मात्र हुनेछ । त्यसले धोका पाउनेछ । मरिसकेपछिको समयमा पछुताउनु बाहेक कुनै पनि कुरा बाँकी रहदैन । याद रहोस् आदि र अन्त्यको समय ख्रीष्ट हुनुहुन्छ । हरेक जीवनको न्यायकर्ता पनि उहाँ हुनुुहुन्छ । त्यसकारण उहाँले दिनुभएको जीवनको समयलाई उहाँकै हातले प्रयोग गर्नु दिनुहोस्, तपाईलाई समय देखेर कुनै पनि टेन्सन हुनेछैन । आमेन ।    

-लालु पौडेल । 

मानिसहरु भन्ने गर्छन्, मान्छेको चित्त त माखाको पित्त जत्रो हुन्छ रे । अब यो मान्छेको चित्त माखाको पित्त जत्रो हुन्छ भने यस चित्तमा आकासदेखि पातालसम्मका चिन्तनहरु कसरी अटाए होलान ? यसो बिचार गरयो भने चाइनेजो कुरो के साच्चै घतलाग्लो छैन र ? किनभने चित्त कुनै प्रकृतिबाट आएको चिज, कसैले बनाएको कुरो वा कुनै भाँडो जस्तो देखिने कुरो पनि होइन । यो त परमेश्वरले मानिसलाई सृष्टि गर्ने बेलामा नै त्यसभित्र हालिदिनु भएको एउटा गजवको र अमूल्य चिज हो ।
खास कुरो यही हो कि हरेक मानिस जन्मदा खेरि नै चित्त लिएर जन्मन्छ । अनि उमेरको प्रवाह सगँसगै अथाह चित्तमा चिन्तन र अड्कलबाजी गर्दा गर्दै माटोमा थन्किन पुग्छ । अनि त उसभित्र भएका चित्त र चिन्तन दुवै हराएर जान्छन् । यसकारण मानिस जीवित छ त त्यस भित्र चित्त छ । जव ऊ भित्र चित्त छ भने त चिन्तन पनि अबस्य छ । यसैले आज यहा चित्तको चिन्तनरुपी भूँडीलाई चिरफार गरेर हेर्ने जमर्को गरिदैँछ । अब भूँडी फोर्दै गर्दा गन्हायो चाँहि नभन्नुहाला है । भूडीँ फोरेर साफ गरिसकेपछि बोक्रा र गुदींलाई काटकुट र भाटभुट पारेर खाँदा कति मजा हुन्छ त्यो त तपाईहरुलाई पनि थाहै  होला  । 

सानै अर्थात केटाकेटी छँदा खेरि घरमा मीठो मीठो खानेकुरा पाकेको छ भने मलाई आँखामा लाग्ने जति भाग लगाइनु पथ्र्यो । नत्र भने मेरो चित्त फाटिहाल्थो । आमाले लगाई दिएको भागलाई खान्न, अँ यत्ती थोरै पनि ! भनेर लात्ताले भागै धकेलेर आमा तिरै हुत्याईदिन्थे । अनि आमाले गर्न थाल्नुहुन्थ्यो, हैन कस्तो हाँडी घोप्टे बज्या रैछ ए यो केटो ! यसको चित्त त माखाको पित्त जत्रो पनि छैन, आदि इत्यादी भन्दै । अनि म त्यो माखाको पित्त चाहिँ कत्रो हुन्छ होला हेर्न पाए त हुन्थ्यो नि, भन्ठान्थे । तर खासमा त सारै सानो चित्त भएको भन्नुको अर्थ साह्रै सानो चित्त भएको अर्थात साह्रै लोभी भन्न खोजेको त होला । 

जव उमेर बढ्दै गयो, यो माखे पित्ते चित्त भित्र त नाँना भाँतीका चिन्तनहरुले पनि जरा गाड्दै बढ्न थालेछन् । अनि पित्त जत्रो चित्तको थैलो त रबर तन्केको जस्तै तन्कदै गएर म जवान भैसक्दा त त्यो पनि यमानको पो भैसकेको रहेछ । मेरा बाबै नी ! चित्तका जरा त राता र पिरा हुदै त्यसै त्यसै गाँज हालेर, बटारिँदै र छँटारिदै तँछाड र मछाड गर्दै बढिरहेका रहेछन ज्ञाठे । म त आफ्नै चित्त भित्रका यस्ता बिधि चिन्तन र यसका जराहरु देखेर आफै तिन छक परे । अनि यस भित्र अझै यसो नियालेर हेरेको त गाँठे यो माखे चित्त भित्र त कामुकता, बासना, मोजमजा, व्यभिचार, चोरी, लोभ मोह, डाह, रीस, ईवी, झैझगडा, लडाँई, युद्ध, बिनास, छल, बदख्याँई, निर्दयता, क्रूरता, षढयन्त्र, जालझेल, ढीटपना, गुटबन्दी, अट्टेरीपन, मतवालीपन जस्ता अनेक प्रकारमा झाँडीका जरा पो गाँजिदै रहेछन । 

यति मात्र हो र ? अंहकार, अभिमान, स्वार्थ, ढाँट छल, झूट, अनैतिकता, अनादर, बेईमानीपन, बिश्वासघात, भ्रष्टाचार, बदनामी, गुण्डागर्दी, कुरौटे, पियक्कढ, द्धेष, निर्लज्जता, क्रोध, हत्या, दादागिरी, दुष्टता, अपशब्द, हानथाप, चुक्लीबाजी, रण्डीबाजी, जुवाडेपन, शेखीबाज जस्ता अनेक प्रकारका झाँडी पनि यही बढ्दै रहेछन् । तर बिचरा प्रेम, दया, माया, ममता, सहयोग, परोपकार, स्वान्त्वना, भलाई, बिश्वास, उपकार, सद्बिचार, धैर्य, शान्ति, सद्भाव, एकता, कल्याण जस्ता जस्ता कुराका जराहरु त टुसाएर उम्रन नपाउँदै बिचरा उकुस् र मुकुस भएर, निचोरिएर, ठेलिएर र पेलिएर खुत्रुक्कै पर्दारहेछन । हेर खत्तम् ! कस्तो व्यर्थको चित्त पो रैछ गाँठे ।  

घरगाँउतिर सानै छँदा खशी बोका काटेर मान्छेहरुले आन्द्रा भूँडीहरु खोतल्ने बित्तिकै खै खै पित्त काँहा छ ? भन्दै खोजि खोजि पित्त काटेर फाल्ने गरेको त देखेकै थिए । अनि किन यसरी पित्त फाल्ने हो र ? भनेर सोध्दा उनीहरुले भन्थे, हैए, पित्त फुट्यो भने त तीतो हुन्छ ! साच्चै हो नि हो, त्यती सानो पित्तभित्र त त्यति सारै तीतो कुरा हँुदो रैछ । चित्तभित्र मोटाएर, गाँजिएका बसेको दाना जत्रो चित्त थैलीको छाना भित्ता सबै फुट्यो भने ? मेरा वावै, जिन्दगी कति सारो तीतो हुँदो हो ? आबुुई यसो बिचार र कल्पना गर्दा त आंग नै सिरिङ्ग हुन जान्छ ।

अनि यसो बिचार गरें, मान्छेको समाजमा जति पनि भाँड भैलो, थाप् थैलो, रण र रमिता भएको छ त्यो मानिसको चित्तको कारणले नै भएको रहेछ । जव चित्त फुटेर बाहिर बग्छ तव मात्र त्यो लोभ स्वार्थ वा कुन चाहिँ चित्तको जरो रहेछ भनेर थाहा हुन्छ । यहा यस्तै हुन्छ, एउटाको चित्तको कुरा अर्कालाई चित्तै नबुझ्ने, अर्काको चित्तको कुरा फेरि अर्कालाई चित्तै नबुझ्ने ! अनि जाँदैन त मान्छे चिप्लिएर फित्तै फित्तै  ? अझ माथि जाने बेलासम्म त मान्छेको मान धर्म, कर्म त रित्तै रित्तै । आपद छ आपद, केही गरि पनि मान्छेको चित्त नबुझ्ने । 

मान्छेको चित्तमा कैँची छ कि गैँची थाहै नपाईने रैछ र पो मारयो । चित्तमा मीठो बात मात्रै छ कि लात, वा मात पनि गाँठिएको हो थाहै पाउन मुस्किल पर्दोरहेछ । मुखबाट चाहिँ चिप्लो चिप्लो कुरा चिप्लन्छ । मुखका कुरा सुन्दा खाँउ खाँउ, लाँउ लाँउ र जाँउ जाँउ बनाउँछ । तर मान्छेको चित्त जस्तो जाली, फटाह र नजाती कुरो अरु के होला र ? चित्तमा त ठीक उल्टो कुरा पो हुँदोरहेछ । शायद त्यसैकारण होला, मान्छेको चित्तलाई सृष्टि गर्ने परमेश्वरलाई यसको ईतीवृत्ति सबै थाहा भएको हुनाले नै त होला, यर्मिया भन्ने व्यक्तिलाई उहाँले भन्नुभयो कि मानिसको हृदय (चित्त) सबै कुराभन्दा छली हुन्छ, र त्यसलाई निको पार्न सकिदैन । त्यसलाई कसले जान्न सक्छ र ? यर्मिया १७ः९ । चित्त जस्तो छली अरु केही हुदैन । त्यसलाई जान्ने र बुझ्ने क्षमता मानिसमा छैन । त्यसलाई बुझाउने क्षमता पनि पाईन्न ।
 
परमेश्वरको कुरा गर्दा मलाई एउटा प्रसंगको याद आयो । भर्खर भर्खर येशू प्रभुमा बिश्वास गरेको थिए । असल कुराका जराहरु अर्थात परमेश्वरका बचनका कुराहरु, मानिसको चित्तमा रोप्ने ठूलो रहर र जोश थियो । एकदिन घर छेउ छाउ तिरको एउटा किराना पसलमा पस्दा एकजना हल्का फुल्का चिनेको व्यक्तिसँग भेट भयो । त्यो व्यक्ति ज्ञानीमानी, बुद्धिमानी, अध्यात्मी र कहिलेकाही टपरी टिप्ने पनि हो भन्ने रहस्य अलि अलि त खुलेकै थियो । तर बाटोमा हिँड्दा देखे जानेको परिचय मात्र थियो । ती पण्डित चाँहि पसलेसँग यस्तै अध्यात्मिक गफ मथ्नमा व्यस्त रहेछन । मेरो काम पसलेसँग भएपनि झट्ट बीचमा भाँजो हाल्न मन लागेन र एकछिन उनीहरुकै कुरा सुनेर बस्न थाले । 

तर निकै बेर सम्म पनि पसलेले म तिर ध्यान नदिएपछि, अब बीचमा मेरो परमेश्वरको कुरा पनि थप्नु पर्छ क्यारे ! भन्ठानेर कुराकै प्रसगंमा जोडेर परमेश्वरको बिषयमा केही प्रश्न तेस्र्याए । एक छिन त मेरो प्रश्नले पण्डित अक्क न पक्क परेर केही बोल्न सकेनन् । पनि यिनीहरुले मेरो कुरा बुझेछन् कि त भन्ठानेर मख्ख पर्दै थिए  । तर मै हुँ भन्ने चुरीफुरी टपरी परेपछि के पछि हट्थे र । एकछिनपछि त पण्डितले आँडेपाँडे कुरा गरेर ख्याप ख्याप पो पार्न थाले । तैले कुन परमेश्वरको कुरा गरेको हँ ? त्यसको नाम के हो ? त्यो परमेश्वर हो भनेर कसैले देखेको छ ? के प्रमाण छ ? आदि इत्यादी । 

तर मैले पनि जाने बुझेको जवाफ दिने कोशिस गर्न थाले । उहाँ आदिदेखिका परमेश्वर, सदासर्वदा जीवित र सत्य, सुष्टिकर्ता परमेश्वर आदि तरिकाले वाइबलमा बताएको छ । नेपाली भाषामा उहाँको खास नाम नभएकोले सामान्यतया परमेश्वर भनेर नै भन्ने र चिन्ने  गरिएको छ । यस्तै तरिकाले उहाँको बारेमा केही कुराहरु बताएँ । त्यसपछि  पण्डितलाई प्रश्न आएनछ कि जवाफ दिन सकेनछन् वा के भएछ कुन्नी कुर फेर्न थाले । 

अरे यो शरीर त पञ्चतत्वले बनेको छ । त्यसभित्र भएको म नै जीवन हो । म गएर आखिर ब्रम्हामा मिल्ने हो । काहाँ छ परमेश्वर ? अब यी उल्टो पाल्टो कुरा गर्ने बूढासँग टक्कर गरेर केही फाईदा छैन भन्ठानेर पसलेसँग आफ्नो काम सकाएर म हिँड्न त हिँडे तर मेरो झोकको पारो अझै सेलाएको थिएन । बाटोमा भित्र भित्र तात्तै थिएँ, अझ काहाँ छ परमेश्वर भन्ने ? कस्तो कुरै नबुझ्ने गाँडू बूढो रैछ, तीन मीनेट मात्र नाक मुख थुनिदिन पाएको भए अनि देख्नेथ्यो काहाँ छ परमेश्वर भनेर ... । 

हेर्नुस त चित्तमा कसरी रीस राग र प्रतिशोध जन्मदोरहेछ । जसलाई पनि जान्ने सुन्ने मै हुँ भन्ने बन्नु पर्ने । तर वास्तवमा म हुँ भन्ने केवल एक परमेश्वर मात्र हुनुहुन्छ । पछि बाईबल पढ्दै जाँदा मलाई पनि यस्ता कुराहरुको उत्तर आउन थाल्यो । 

सबै मानिस जातिका परमेश्वर म हुँ, के कुनै कुरो मेरो निम्ति कठिन छ र ? यर्मिया ३२ः२७ । पृथ्वी मैले बनाएको हुँ र त्यसमा बस्ने मानिसहरुलाई मैले नै सृष्टि गरेको हुँ । मेरै हातले आकासलाई फिँजाएको हो र त्यसका तारामण्डललाई मैले ठीकसँग मिलाएको छु, यसैया ४५ः१२ । 

चित्तमा ज्ञान समझ र बुद्धि हुने मानिस हो भने त्यसले यी दुई पदहरु पढेर नै परमेश्वर को हुुनुहुँदो रहेछ भनेर जान्नु पर्ने हो । यी दुई पद नै काफी हुनु पर्ने हो । तर नबुझ्नेहरुलाई त खुर्पाको बिँड बराबर मात्रै त होला । सुँगुरको अगाडी मोती सुन छरेर केही फाईदा छ र ? कामै छैन । त्यसले सुन र मोतीलाई चिने पो ! त्यो त मोती र सुनलाई कुल्चेर हिलोमा लड्बडिन जान्छ ।  

जसले आफैलाई म हुँ भन्ठान्छ, त्यसले आफैँलाई परमेश्वर बराबर ठान्दछ । जसले आफैलाई परमेश्वर बराबर तुल्याउँछ, त्यस्तो मानिसमाथि उहाँको क्रोध आउँछ र त्यसले कहिल्यै पनि सत्य परमेश्वरलाई नभेट्न सक्छ । किनभने परमेश्वरले त्यस्ता मानिसहरुलाई तिनीहरुकै अभिमान र घमण्डमा छोडिदिनुहुन्छ । उहाँको निम्ति कुनै पनि कुरा असंभव छैन । त्यस्ताहरुलाई नरकका को¥क्याउनु  वा नाकमा नथ्थी लगाएर घिच्याउनु उहाँकै हातको कुरा हो । 

चित्त भित्रको पित्तमा थुप्रिएको तीतो नहटेसम्म अब कसरी समाजमा लडाँई, झगडा र अशान्तिको अन्त्य भएर एकता, प्रेम र शान्ति आउला ? जवसम्म चित्त भित्रको पित्तका  सबै तीता कुराहरु मासिदैनन्, तवसम्मन राजतन्त्र, प्रजातन्त्र, गणतन्त्र, रणतन्त्र, लोकतन्त्र ठोकतन्त्र वा जेसुकै तन्त्र आए पनि केही पनि खुत्तिदैन । पित्तको तीतोलाई खशी बोकाको पित्त काटेर फाले खुलुत्तै काटेर नफ्याँकेसम्म देशमा शान्ति, मानिसको मुहारमा कान्ती आउदैन । हृदयमा खुशी र आनन्द अनि मानिसमा प्रेमतन्त्र र दिमाखमा सत्यतन्त्र आउदैन । के यसो हुन संभव छ त ? संभव छ । तर धेरै मानिसलाई सबैथोक बिगार्ने मानिसभित्र रहेको यस्तो तीतो चित्तको पित्त काटेर फाल्ने औजार के हो भन्ने थाहा छैन । न त औषधी कुन हो भन्ने कुरा थाहा छ । एकछिन पख्नोस् है त ! यो औजार या औषधीको बारेमा पनि अलिकति चर्चा र जाँचबुझ गर्ने काम बाँकी नै छ । 

गाँउघरतिर बूढापाकाहरुले भन्ने गर्छन्, नेपालीहरुको बानी नै यस्तेै छ, हुने कुरामा कल गर्छन नहुने कुरामा बल गर्छन् । दूध चुस्तै गरेको लैनो पाडोलाई फ्वात्तै थुन फुत्काएर खामामा दाम्लोले टाँसिदियो भने फेरी दूध चुस्न जानको लागि त्यसले जति बिपत्तासँग बल गर्छ, के मान्छेहरुले पनि आफ्नो ढीपि र स्वार्थको लागि त्यो भन्दा कम बल गर्छन त ? यसो मीठो चिसो खान पाउँने ठाउँ छ भने लोभले ख्याल त बल गर्दैन । लोभीको भाँडो कहिल्यै भरिन्न, भन्ने त आहानै पनि छ । किन होला कुन्नी त्यो भूँडी कहिल्यै भरिन नसक्ने ? जति कोचे पनि लावरकै भूँडी जस्तो गको छ, गको छ । भयो नै भन्दैन । तर खासमा त भूँडीभन्दा पनि चित्तै त तन्केको होला । चित्त नतन्केको भए त भूँडी ठिक्कै बस्थ्यो होला नि त, होइन र ? 

अब अर्काको पैसाले खान पाए तिन पाथी हसुर्ने तर आफ्नो एक माना खायो भने तिन मुरी असुर्ने यही चित्त होईन र ? अर्काको दाईं हाल्न गयो भने राजाको काम कहिले जाला घाम भन्दै हाई हाई गर्दै दिन काट्ने, तर आफ्नो दाँई गर्दा चाहिँ सुकी पनि थुकी थुकी चाट्ने यही चित्त होइन र ? घत् यो चित्तको बानी । यस्तो पाराले कहिले आउला त शहरमा नहरको पानी । चित्तरुपी नहरको मुख चाँहि जहरले भरिएको छ, दयाको मुखचाँहि रिसले बुझिएको छ । 

पैला पैला महिलाहरुले चित्त फुटाउन प¥यो भने पधेँरामा भेट हुनु पथ्र्यो रे । अहिले त न पधेंरो न आईतबार । जहाँ पनि जता पनि मान्छेहरु चित्त फटाएर तीतो पोखाईरहेका छन् । अब त्यो पोखिएको चित्त मनलाई बुझाएर तीतो सफा गरिदिने पो कसले होला ? यहा राजा होस कि नेता बेटी होस कि बेटा सबका सबको चित्त बुझ्नु पर्ने रे । अब कसो गर्ने रे ? चित्त बुझेन भने ढुंगा मूढा ईटा भाटा जे पायो त्यही बोकेर गाउँघर, शहर बजार दोबाटो चौबाटो जताततै कुद्नु पर्ने । त्यसैले त पालो आएको छ रोजी रोजी मर्ने । डाक्टरको गोली खाएर मर्ने कि बन्दुकको गोली ? ढुंगा र ईंटा खाएर मर्ने कि रवरको लोली ? कोही छ त याँहा चित्त नफटाउने टोली ? 

हे प्रभु यो चित्तको आँखाले के के देख्छ के के ! यो सबै देखेर म त हैरान र आजित् भैसके । सबैभन्दा घामण राक्षसको राज्यमा पनि यस्तो हुदैन होला । मैले यसो बिचार गरे यो खराव चित्तको बीऊ चाँहि म भन्ने अक्षरबाट जन्मदो रहेछ । त्यसैले “म”लाई नकाटेसम्म चित्तमा बिछट्टैसँग तीता पित्तहरु जन्मेका जन्म्यै गर्दारहेछन । शिशू कक्षमा बाह्रखरी पढ्दा राम्रो म भनेर पढ्नुभएकै होला । मले भन्छ– म राम्रो त्यो नराम्रो, म असल त्यो खराव, म विवेकी त्यो अविवेकी, म पढेको त्यो नपढेको, म योग्य त्यो अयोग्य, म जान्ने त्यो नजान्ने, म सेवक त्यो ढोगक, म धर्मी त्यो अधर्मी म घरको त्यो परको.. आदि । 

यती मात्र होइन, अरु पनि के के हो के के भन्छ । मलाई पैसा चाहिन्छ, मलाई ऐस चाहिन्छ, मलाई राम्रो र सुन्दर चाहिन्छ, मलाई मान चाहिन्छ, मलाई थान चाहिन्छ, मलाई दान चाहिन्छ, मलाई थान चाहिन्छ, मलाई आदर चाहिन्छ, मलाई च्यादर चाहिन्छ.... । मेरो बाली राम्रो, मेरो आली राम्रो, मेरो ओठ राम्रो, मेरो गोठ राम्रो, मेरो छोरा राम्रो, मेरो छोरी राम्रो, मेरो हेराई राम्रो, मेरो गराइ राम्रो, मेरो ज्ञान राम्रो, मेरो बुद्धि राम्रो, मेरो बिचार राम्रो, मेरो पल्ला राम्रो, मेरो सल्लाह राम्रो, मेरो घर राम्रो, मेरो थर राम्रो... । 

घमण्डी मले जहिले पनि भन्छ म, मेरो र मलाई । यसकारण मैले थाहा पाएँ कि मान्छे भित्र भएको म अर्थात लोभी र स्वार्थी चित्तमा मलजल भएपछि च्यार्र च्यार्र चित्त उध्रिएर जाँदोरहेछ । उध्रिएर र उछिट्टिएर गई कसमसले घेरिसकेको चित्तलाई धोई पखाली फेरी टिलिक्क टल्काउन कम गाह्रो त छैन । 

सानै छँदाखेरीको एउटा कुरा फेरी याद आयो । बारी र खरबारी सँधियार भएका काकाको चित्तको कारण कम्ति जुहारी चल्दैनथ्यो । हामीले पहिला खर काट्न पुगियो भने उनी हतपत् गएर अरु नभ्याए पनि साँधसाँधको काटिहाल्नु पर्ने । खेतबारीमा बार पनि उनले नै पहिला हाल्नुपर्ने अनि साँधमा पनि पहिला उनले नै जोत्नु पर्ने रे । साँध सिमाना तिरका डालाबुटा छन भने पहिले नै मुढ्याईहाल्नु पर्ने । यस्तै साना साना कुरामा सानो चित्त नबुझेपछि बेलाबेला पाखुरा माडामाड हुने गथ्र्यो । यही चित्तमा घिउ चिल्लो नपुगेर होकी कुन्नी काका बाउ उमेर छदै सिलटिमुर खाए । 

गाँउको पाखा भित्ताको लागि त यसरी चित्त फटाउने मानिस हुँदारहेछन् भने शहरको त के कुरा गर्नु । इन्च र पाउको पनि लाखौ लाख पर्ने ठाउँमा मान्छेको चित्त कति सारो पो फाट्छ होला, यसको कुरा नगारौ । आखिर किन यती सारो त ? भनेर यसो बिचार गर्दा अब त्यही मभित्र भएको चित्तको सवाल आउँछ । कसैलाई चाँदनीमा टेकेर भएन तारामण्डल र मंगलमा पुग्ने चित्त उम्रदैछ । कसैलाई घर टोल समाज र देशमा रजाई गरेर पनि नपुगी संसारै राज गर्ने चित्त उव्जिन्छ । घुसपीठ, लूटपीट, लुछाचुँडी, टुप्पीमुडी, घुँडा जोडाजोड र टाउको फोडाफोड यो सबै गराउने यै चित्तभित्र भएको म भन्ने स्वार्थको कारण नै होइन त ? ल है कुरा बुझम् र मनमा गुनम् । कतै तपाईंको चित्त पनि सत्यताबाट पिलित्तै चिप्लेर गएको त छैन ?

अब चित्त साफ बनाउने एउटा औषधी के हो भनेर बताउँछु है । चित्त साफ गर्नलाई खानै पर्ने औषधी शोक भन्ने औषधी हो । शोक भनेको बिलौना गर्नु होइन । रुनु कराउनु टाउको ठोक्नु र पछुताउनु मात्र पनि होइन । तर बाइबलमा शोक गर्नेले स्वान्त्वनाको आशिष पाउँछ भनिएको छ, मत्ती ५ः४ । किनभने शोक गर्ने व्यक्ति धन्यको हो । धन्यको भनेको आशिष पाएको व्यक्ति हो । शोक भनेको पश्चाताप हो । पश्चाताप गर्ने व्यक्ति आशिषित व्यक्ति हो, जसले परमेस्वरद्धारा स्वान्त्वना पाउँदछ । तर पछुताउनु र पश्चाताप गर्नु फरक कुरा हुन। 

शोक चित्त पोखिएर आउने कुरा होे दुखेर वा देखेर आउने कुरो होईन । दुखाईको एउटा प्रकिया भएर दुखाईका भावनाहरु चित्तको एकदमै भित्र पुगेपछि मात्र पश्चाताप आउँछ । आँखामा याद आउदैमा भावनाले छुदैमा या मनले पिरोल्दैमा पश्चाताप फुट्दैन । हृदयभित्र चित्तमा पवित्र आत्माले सहायता गरेपछि मात्र पश्चातापी चित्त फुटेर आउदछ । अनि यस्तो आँशुको हिसाव परमेश्वरले आफ्नो फेहरिस्तमा राख्नुहुन्छ । किनकि पानीले अनुहार प्रतिबिम्वित गरे झैं हृदयमा नै मानिसको असली हृदय प्रतिबिम्वित गरेको हुन्छ, हितो २७ः१९ । पश्चाताप गरेपछि मात्र मानिसको असली हृदयको प्रतिविम्व बाहिर देखिन्छ । यस्तै परमेश्वरको रुपलाई प्रतिबिम्बित गर्ने व्यक्ति उहाँले खोजिरहनु भएको छ, १ इतिहास २८ः९ । चूर्ण हृदय भएकाको हृदय आशपास नै उहाँ बास बस्न चाहानुहुन्छ, भजन ३४ः१८ । यो पनि याद गर्नुपर्छ कि हृदयका यावत कुरा उहाँले जान्नुुहुन्छ, भजन ४४ः२१, हितोपदेश २१ः२ । त्यसकारण हामीले हृदयलाई कठोर पार्नु हुदै हुदैन, हिब्रु ३ः८ । 

त्यसकारण यदि कसैले अब चित्तरुपी अबयवको सम्पूर्ण पित्त हटाउन चाहान्छ भने त्यसले शोक गर्नै पर्दछ । शोक गर्न थालेपछि मात्रै चित्तमा भएका पित्तरुपी रुखका तीता जराहरु हल्लिन थाल्छन् । चित्त भित्रको तीतोले नै सारा जीवनमा राज्य गर्न खोज्यो भने त के गति होला ? किनभने चित्तभित्र त कामुकपन, कामबासना, मोजमस्ती, व्यभिचार, लोभ मोह रीस, ईवी, डाह, झैझगडा, लडाँई झगडा, बिनास, छलछाम, बदख्याँई, निर्दयीपन, क्रूरपन, षढयन्त्र, जालझेल, ढीटपन, गुटबन्दी, अट्टेरीपन, मतवालीपन जस्ता रुखहरु उखेल्नै नसकिने गरि झाँगिएको हुदाँ रहेछन् भनेर हामीले माथि नै थाहा पाईसकेका छौ । जव यसका जराहरु हल्लिएर उखेलिन्छन् तव मात्र शोकको आसुँको भलले त्यसलाई बगाएर लान्छ । अनि मात्र हृदय शुद्ध बन्दछ । हृदय शुद्ध भएपछि मात्रै त्यसले परमेश्वरलाई देख्दछ ।

मानिसको हृदयमा भएको तीतो पनका जराहरु हट्न सके भने मात्र उसको जीवन अर्थपूर्ण हुन्छ । उ प्रशस्तताको जीवन जीउन सक्छ । दान बरदान र शक्ति उसको साथमा हुन्छ । परमेश्वरको अनुग्रहमा ऊ बढ्दै जान सक्छ । त्यसकारण बिश्वासी जीवनलाई बाधा ल्याउने कुरा नै तीतोपन हो जसले हृदयलाई रोगी बनाएको हुन्छ । उ क्षमाशील हुन पनि सक्दैन । तर तीतोपनलाई पखाल्दै जाने व्यक्तिले भने अझै प्रशस्त प्रसस्त परमेश्वरको अनुग्रह पाउँदै जान्छ । त्यसकारण हिब्रु १२ को १५ मा यस्तो लेखिएको छ– “ध्यान देओ कि कुनै मानिस परमेश्वरको अनुग्रह प्राप्त गर्नदेखि वञ्चित नहोस, ताकि तीतोपनको जरो उम्रेर आइकन त्यसले फुट नल्याओस र धेरै जनालाई अशुद्ध नपारोस् ।” यही तीतोपनले नै मानिसमा फुट  र बिभाजन ल्याउँछ । जुन शैतानको हतियार हो । 

चित्तलाई प्राय प्राण भनेर चिन्दा पनि हुन्छ होला । मानिसको प्राण भनेको रगत होइन, जुन रगत बगेपछि मृत्यु हुन्छ । अग्रेजीमा यसलाई सोल ९कयग०ि भनेर चिनिन्छ । यूनानी अर्थात ग्रीकमा यसलाई पुसुके (Pusuke) भनिन्छ अनि हिब्रु भाषामा नेफेस (nephes) भनिन्छ ।  सोल अर्थात प्राण भित्र नै शक्ति, समझ, हृदय र मेरो आत्मा हुन्छ । मानिसको प्राणलाई नै ज्ञान, समझ, बुद्धि ,भावना र  इच्छा आवास्यक पर्दछ । अर्थात यी कुराहरु प्राणका खुराक हुन । तर आत्मा जसलाई अगेजीमा स्पिरिट, ग्रीकमा पन्युमा र हिबुमा रुवाक भनिन्छ, यसको खुराक चाँहि बचन र जिउँदो पानी अर्थात पवित्र आत्मा होे । तर दुष्ट आत्माको खुराक शैताको बचन हो । प्रभु येसुलाई बिश्वास नगर्नेहरुको हृदयमा पवित्र आत्माको बास रहदैन । त्यसको हृदय वा मेरो आत्मा भित्र दुष्टको ज्ञानले बास गरेको हुन्छ । त्यसकारण तिनीहरुको आत्मा दुष्टको इच्छा अनुसार नै चल्दछ। 

अब मेरो आत्मा र मेरो हृदय अर्थात प्राणको सबैभन्दा भित्री भागमा पवित्र आत्माले पूर्ण बास गरेर नियन्त्रण गरेपछि मात्र त्यो व्यक्तिको हृदय अर्थात चित्त शुद्ध बन्दछ । यस्तो व्यक्तिले मात्र परमेश्वरलाई देख्न सक्छ ।  सत्य यही हो कि जसले परमेश्वरलाई देख्दछ त्यसले मात्र हरेक मानिसलाई स्वार्थ रहित प्रेम गर्न सक्छ । किनभने त्यतिबेला सम्म उसले जीवनको सबैभन्दा महत्वपूर्ण चिज नै परमेश्वर हो भन्ने कुरा बुझिसकेको हुन्छ । यस संसारमा बाँचिरहेका सबै मानिसहरु परमेश्वरमा जीवित छैनन् । अनि तिनीहरुलाई जीवित बनाउन हृदय शुद्ध भएको व्यक्तिले हृदय लगाएर काम गर्न सक्छ । तर जसले चित्त फुटाएर हृदयका पित्तहरुलाई पश्चातापको आसुँले सफा गर्न सक्दैन, त्यसको आँखा बाहिरतिर हुन्छ, अनि चित्त हृदयदेखी कसैलाई पनि प्रेम देखाउन सक्दैन । चित्त पवित्र नभएसम्म कोही पनि शान्तिमा रहन सक्दैन र त्यसले परमेश्वरलाई चिन्न पनि सक्दैन, हिब्रु १२ः१४ । 

अब अझै बुझ्नुपर्ने कुरा यो छ कि चित्तको यही भित्री भागले नै मनुष्यको जीवनमाथि शाशन गर्ने गर्दछ । यही नै जीवनको केन्द्र वा मूल हो, हितो ४ः२३ । यसलाई जोगाएर राख्न सक्नु नै मानवीय जीवनमा सबैभन्दा ठूलो उपलव्धि हो । चित्तको केन्द्रमा नै परमेश्वर अर्थात पवित्र आत्माको बास हुन्छ भनेर हामीले माथि नै बुझ्यौ । त्यो केन्द्रचाँहि हृदय र मेरो आत्मा हो । जहा पवित्र आत्मा मात्र बास गर्न चहानुहुन्छ । त्यसकारण त्याहा बिश्वासीले त्यही नै पवित्र आत्मालाई मात्र बास बस्न दिनुपर्छ । अनि त्यहीबाट नै जिउँदा पानीका खोलाहरु अर्थात पवित्र आत्माका खोलाहरु बग्दछन, यूहन्ना ७ः३८,३९ । जुन खोलाहरुलाई अब त्यस व्यक्तिले अरु रुखा हृदयहरुमा पनि बगाउन सक्छ ।  किनभने त्यसबाट जिउँदो पानीको खोला बगि नै रहेको हुन्छ । 

तर त्यो केन्द्रमा मानिसको बाहिरी अर्थात संसारिक भावना, इच्छा, समझ, ज्ञान, बुद्धि आदिले पनि बास गर्ने आश गर्दछ । परमेश्वरले मानिसलाई तेरो सारा हृदयले परमेश्वरलाई प्रेम गर्नू भनेर आज्ञा दिनुको कारण पनि यही हो । किनभने मानिसको चित्त सधै एकनास रहदैन । यो छली भएको कारण नै आफ्नो प्राण, समझ र शक्तिले शाशन गर्न खोज्ने हुन्छ, भजन ६४ः६ । तर जसको टुटेको र पश्चातापी हृदय छ, त्यसलाई बाहिरी मनोभावना, चेतनवृत्ति आदिले नियन्त्रण गर्न सक्दैन । त्यसलाई पवित्र आत्मा परमेश्वरले नियन्त्रण गर्नुहुन्छ । आत्माको भरपुरीमा चलेको भनेको पनि यही हो ।

तर कडा वा कठोर खालको चित्तमा सारा प्राण वा मन भावना बिचार, इच्छा आदि परिवर्तन हुदैनन् । अर्थात त्यो कठोर वा ढुंगाको हृदय हो । यस्तो चित्तले परमेश्वरलाई प्रेम गर्न सक्दैन, उहाँमा समर्पित हुन पनि सक्दैन । यसैले हरेक व्यक्तिले समर्पित हृदयद्धारा उहाँलाई प्रेम गर्न जानेका होउन्, र उहाँमै लीन भईरहुन भन्ने परमेश्वरले चाहानुभएको छ, व्यवस्था ३०ः२, १९ । आत्माले भरिएको व्यक्तिले मात्रै सारा समझ, सारा शक्ति, सारा प्राण र सारा हृदयले परमेश्वरलाई पे्रम गर्न सक्छ । 

चित्त फुटाएर तीतो नाश गर्न सक्ने व्यक्तिको हृदय मात्र बचनको प्रकासमा झलमल हुन्छ र उसले हृदयमा हर्षित हुदै हरसमय उत्सव मनाउन सक्छ । ऊ परमेश्वरको मन्दिरमा भजन गाउन हरदिन जान सक्छ । जस्तो दाउदको अनुभवले हामीलाई पनि सिकाउँछ, भजन ४२ः४ ।  त्यसले चित्त फोडेर गाउन सक्छ, स्तुति प्रंसशा गर्न सक्छ, र यस्तो कार्यद्धारा दुष्ट सधै डराउने गर्दछ । त्यसले अरुलाई पनि धन्य बनाउन मद्धत गर्दछ, भजन ४०ः३ । यति मात्र होइन त्यसले निर्धा निर्धन र कमजोरहरुको वास्ता गर्न सक्छ । अनि उसको वास्ता र रक्षा सधै परमेश्वरले नै गर्नहुन्छ, भजन ४१ः१,२ । ऊ परमेश्वरमा सधै ढुक्क भएर रहन्छ । किनकि उसले हर जीवनको मूल्य बहुमुल्य छ भनेर पनि जानेको हुन्छ, भजन ४९ः८ । त्यसकारण नै उसको हृदयम प्रेमले घर बनाएको हुन्छ । ऊ उल्टासिधा कुरा गर्नेसँग पनि  रिसाउदैन र डराउदैन पनि । उसले आफुँ अपमानित हुँदा पनि आँखा चिम्लेर बसिदिन सक्छ, हितो १२ः१६ । तर अझ बढी उसले दरिद्रलाई दया देखाउन सक्छ, हितो १४ः३१ । ऊ सधै इमानसँग हिँड्छ, कारण ऊ परमप्रभुको भयमा रहेको हुन्छ, हितोपदेश १४ः२ ।  न त ढाँट र छल त्यसको मुखमा रहन्छ । उहाँको व्यवस्थामा मानै त्यो खुशी र आनन्दित रहेको हुन्छ । उसको जीवन नै धन्यको जीवन हुन्छ । 

भजनसंग्रह १ः१–३ को रहस्य पनि यही चित्तका कुराहरुबाट खुल्दछ, । मानिसले गर्ने हरेक काम र यसको नतिजा, सारा प्रतिक्रियाको अथाह रहस्य, अनि मुक्ति या उद्धार र इनामका कामहरु आखिर हृदय अर्थात चित्तकै सवालमा आएर जोडिन्छन् । अनि फेरि मानिसको अन्तिम न्याय वा उसको कामको प्रतिफलहरु पनि चित्तकै सवालमाथि खडा भएका कार्यहरुमा आएर अत्य हुन्छन् । त्यसकारण हरेक मानिसले आफैले आफ्नो चित्त उपर चिन्तन गरेर हेर्नु जरुरी छ । अथवा अरुका चिन्तका कामहरुद्धारा सिक्नु जरुरी छ, कि त्यसको आफ्नै चित्तलाई हेर्न सकोस, त्यसलाई बुझ्न सकोस, शुद्ध बनाउन सकोस् र परमेश्वरको महिमा गर्न सकोस । आमेन । 
-लालु पौडेल । 
हैन ग्यास्टिक नहुने त नेपाली नै हुदैनन कि क्या हो ? भन्ने बाक्य मानिसहरुको मुखमा धेरै सुनिन्छ । यो त पेटको कुरो भो, तर आज म पहिला अलिकति ओठको कुरा गर्छु है त । गाली पिच्छे साला नभन्ने कति जना नेपाली होलान् ? हिजो र आज अनि भर्खर फूल फूटेका लालाबालादेखि ठूला बडावाला सबैको मुखमा खाली साला साला भन्ने शव्द झुण्डिरहन्छ भन्दा शायद अन्याय नहोला । कम्ति गाली गर्नेहरु देखि दिएर झम्टी झम्टी गर्ने प्राय नेपाली मान्छेहरुको मुखमा साला साला भन्ने थेगो आईरहेको सुन्न सकिन्छ । जस्तै, साला भाते, साला खाते, साला बाँदर, साला ढेंडू, साला हरामी, साला पापी, साला गधा, साला सुँगुर, साला कुत्ता, साला ट्यापे, साला चोर, साला ठग साला धोती, साला बाहुन, साला कामी, साला जाँडे, साला मूलाको साग.... आदि कति हो कति । तर आजको खास बिषय चाहि साला होइन तर शाला चाँहि हो । त्यसकारण म साला बारे धेरै गन्थन गर्नेवाला छैन तर शाला बारे अलिकति गर्नुपर्छ कि ? 
यो शालाको बारेमा पनि अब कसरी कुरा जस्तो लागिरहेको छ । के भन्नु, कति कुरा गर्नु खै संझेर त्याउँदा पनि भालाले मुटु रोपे झै धरर्र चित्त फाट्छ । हेरिरहुँ, बसिरहुँ र आनन्द मानिरहुँ जस्ता शालाहरु हाम्रो देशमा काहाँ छन् र खै ? यताउती जता हेरौ,  खाली पेलपाल र ठेलठाल गर्ने तर हेर्दामा चाँही धर्म कर्म गरेको जस्ता देखिने कर्म शालाहरु छन् । याहाँ जिउँदा मरेका सबै प्रकारका मासु बेचबिखन गर्ने बधशालाहरु छन । ठोक्ने, ठग्ने, टोक्ने भुक्ने, खोक्नेदेखि लिएर निउने र पिउने मद्शालाहरु छन् । बरु पहिलाका बूढापाकाहरुले धर्मशालाहरु बनाएका थिए । 
तर आज त यो देश राजनीतिदेखी काजनीतिसम्म तानातान, हानाहान ठानाठान गर्ने मर्मशाला भएको छ । यसको साटो यही देशको माटोलाई कर्मशाला बनाएको भए यो देशमा आशिषको उज्यालोले  हेर्न योग्य हुने थियो होला । जे होस आज यस्ता शालाहरुको बारेमा खोजतलास र उधिन नाधिन गरेर धेरै छारो उडाउने प्रयास पनि गर्नेवाला छैन । आफ्नै जिउको छारो उडाएर किन अरुको आँखा धमिलो पारिदिनु । आज मलाई अरु कुनै पनि शालाको कुरा नगरेर केवल प्रयोगशालाको बिषयमा कुरा गर्न मन लागेको छ । 
अब प्रयोगशाला भन्ने बित्तिकै धेरैको मनमा बिज्ञानको प्रयोगशाला भन्ने मानचित्र मनमा आउँछ होला । बरु बिज्ञानकै प्रयोगशाला अथवा पाठशालाको बिकास भएको भए पनि देशमा केही संझन लायक कुराहरु बन्थे होलान् तर के गर्नु नेपाल त साला र शाला को मात्रै प्रयोगशाला भए जस्तो लाग्छ । यसकारण सरम नै सरमले मुख छोप्नुपर्ने भएको छ । यसैले यहा बिज्ञान प्रयोगशालाको बारेमा पनि मलाई त्यति चासो लागेन । अन्तमा मैले आफैले एउटा नयाँ प्रयोगशाला बनाउने बिचार गरे । 
यो अरु भन्दा बेग्ले प्रकारको प्रयोगशाला हो । यस्तो प्रयोगशाला शायद संसारका धेरै कममात्र मानिसहरुले बनाएका होलान् भन्ने मेरो अड्कल छ । मेरो प्रयोशाला चाँही आँखाले देख्न सकिने, बिशाल स्वरुपको, जटील नमुनाको कुनै भौतिक शाला होईन । न त यो अमूर्त शाला नै हो । यो मूर्त शाला नै हो । जुन प्रयोगशालामा सुर्तित, चिन्तित, दुखितहरुको जीवनदेखि, माया प्रेम घृणाहरु, रिस राग आवेग उद्धवेग सबै प्रकारमा जीवनरुपी अवयवहरुको प्रयोग हुन्छ । मैले पहिला यस प्रयोगशालामा आफ्नो जीवनलाई जाँचेर हेरे । कतिवटा जाँच यसमा प्रयोग पनि गर्दैछु । किनभने यो प्रयोगशालामा केवल जीवनका कुराहरुको मात्रै प्रयोग हुन्छ । त्यसैकारण मैले यो प्रयोशालाको नाम जीवन प्रयोगशाला भनेर राखिदिएँ । 
म कुनै समय भर्खर स्कूलको पढाई सकर बसेको ठिटो थिए । मलाई एक जना गाउँ समाजको गन्यमान्य व्यक्तिले भने, ल तिमी राम्रो मान्छे बन्नुपर्छ । ठूलाबडाको इज्जत मान गर्नुपर्छ । सबैप्रति सहयोगी हुनुपर्छ । सकेसम्म असल काम गर्नुपर्छ । आफ्नो धर्मकर्म सँस्कार र रीति रिवाज पनि छोड्नु हुदैन, इत्यादी इत्यादी । म जवान नै भएको भएपनि ती कुराहरु मेरो दिमाखमा याद आइरहन थाले । त्यस कुराले मेरो सोचाई नै परिवर्तन गर्न थाल्यो । म सोच्ने गर्दथे कि साच्चै उसले भने जस्तै राम्रो मान्छे बन्न पाए ? अनि अरुले मलाई असल मान्छे भनिदिए कस्तो हुन्थ्यो होला आदि ? त्यसपछि मैले बिचार गरें म अब सधै असल काम गर्ने कोशिस गर्नेछु । कसैलाई ढाँटछल गर्दिन । नराम्रो बोल्दिन । मानिसहरुले जे गरेको चाहान्छन् वा जे जे गर भन्छन् त्यस्तै कामहरु मात्र गर्छु । अनि अरुको इच्छा अनुसार जिउदा जिन्दगी कस्तो हुदोरहेछ म हेर्नेर्छु । 
त्यसपछि म जवान अवस्था देखी नै हरेक काम होसियार भएर गर्न थाँले । अरुले जस्तो प्रकारको काम अह्राए पनि इमान्दार भएर खुरुखुरु गर्न थालेँ । मुखबाट फोहोरी बोली पनि निकालिन । घरमा पनि बाबा आमा वा दाजु भाईले जे भन्छन् त्यस्तै काम गरिरहे । तर केही बर्षपछि यसो नियाल्दा त समय धेरै परिवर्तन भैसकेको रहेछ । आफुभन्दा साना र ठूलाहरु प्राय देश बिदेश पुगिसकेका र नाना थरी उद्यम गरिसकेका रहेछन् । उनीहरुको जीवनको शैली, बोलीबचन, रवाफ जस्ता कुराहरु बदलिसकेको रहेछ । तर पनि भित्र भित्र मैले आफैलाइै सम्हाले अनि आफ्नो बल अनुसार परिश्रम गरिरहे । तर तिनीहरुमा प्रगतीका कुराहरुमा त्यति ध्यान दिइन । मेरो पनि समय आउँछ कि भनेर बाटो हेरिरहे । तर मैले मानिसहरुको इच्छामा आफुलाई हिँडाउदा जीवन कस्तो हुदोेरहेछ भनेर हेर्ने रहरको नतिजा थाहा पाउदै थिए । अरुको इच्छा अनुसार खुरुखुरु हिँडिदिदा पनि कुरा काट्नेको कमि नहुँदोरहेछ । जीवन सोचे झै सलसल नबग्दोरहेछ भन्ने थाह भयो ।  
यसै समयमा मेरो जवानीलाई देखेर एउटीले मलाई पछ्याउन थाली । तिमीले जसरी पनि माया गर्नुपर्छ भन्न थाली । माया पनि जर्वजस्ती गर्नु पर्ने रे ! अब खुृले आम माया गरौ भने त बिहे नै गर्नुप¥यो । बिहे गरौ भने कतिलाई ? किनभने मन पराउनेहरु अरु पनि थिए । सबैको इच्छा पुरा गर्न संभव नै भएन । त्याहा कति गोलमाल र लफडा हुन सक्थ्यो भन्ने कुरा त अनुमानै गर्न नसकिने कुरा भयो । किनभने लुकिछिपी सबैलाई माया गर्दा व्यभिचारी हुने भईयो । मुस्लिम देशमा जस्तो धेरैलाई श्रीमती बनाउन पाउने छुट यहा थिएन । आर्थिक, परिवारिक, सामाजिक जस्ता कुराहरु पनि यस्तो कुराको बिरुद्ध आउने नै भए । आफ़्ना रहर इच्छाहरुलाई मारेर केही फाइदा नरहेछ । अरुको मानिसको इच्छा अनुसार जिउन खोज्नु सारै खतराको कुरा रहेछ । याहा त समय मात्रै बर्वाद भएछ । उनीहरुले चाहे अनुसार म प्रयोग भएँ भने पनि यो व्यर्थ हुने भयो । आखिरमा उपलव्धी शुन्य नै हुने रहेछ । यसले त जिन्दगीलाई एउटा बेइज्जत बनाईदिने रहेछ । केवल धूजा धूजा पारेर एउटा तमासा बनाएर छोडिदिने रहेछ । आधा बाटोमा नै ढालिदिने रहेछ । अलपत्र पारिदिने रहेछ । 
तर यसो बिचार गरेर हेरे, सृष्टि त चलाउनै परयो । सबैले घरजम गरेका छन् । तर पनि किन हो मेरो मनमा घण्टी नै बजेन । मेरो मनको यो घण्टी पनि कस्तो ! एकछिन त जतापनि बज्छ । अनि केही समयपछि सुनिदैन । जवानीमा सबैलाई यस्तै लक्षण हुने रैछ र हो कि कुन्नी ? म रनभूलमा परिरहेको थिए । तर एउटी उखरमाउली बन्दै ज्यान दिन्छु भन्न आएकी थिई । उसलाई चाँहि मलाई देखेर पूरै घण्टी बजेको रहेछ । तर मेरो घण्टी बजेको मैलै त्यति मेसो पाईन । यसो बिचार गरें, अब उसको इन्छा अनुसार म हिँडिदिँए भने यो घण्टी त पछि पछि पनि बज्न सक्छ होला नि ? मेरा घण्टीे विस्तारै बिस्तारै पो बज्ने हो की ?  ठीकै छ, घण्टी बजे बजोस्, जबजे जबाजोस् तर अब मेरो होइन तर उसको इच्छा अनुसार अब जिन्दगी जिउनु प¥यो । माया देखेर हुने रहेछ कि भोगेर थाहा पाईएला नि ! मेरो यस्तै सोचाई आयो । 
अनि बिहे भयो । सुरु सुरुको जोशमा त जिन्दगी रमाईलै बित्ने भयो । समय बित्तै गएपछि जवानीको मायाप्रेम भन्दा बढी प्रौढता, निष्कपटता र आदरणीयतामा वा अझ भनौ खास मायामा जीवनका पलहरु बढ्नुपर्ने हो । तर आफैलाई त्यसरी मायामा बढ्न सकेको अनुभव भएन । स्वार्थी माया मात्र भएछ कि जस्तो लाग्यो । शरीर देखेर मात्र माया प्रेममा पर्नु दीगो नहुने कुरा रहेछ । खास प्रेम त हृदय र शरीरसँग जोडिएको हुन्छ भन्ने कुरा ठीकै हो भन्ने बल्ल अनुभव हुन थाल्यो । यस प्रेममा हेर्ने आँखा र बुझ्ने मन हुनु आवस्यक हुन्छ । जोडीमा मात्र होइन हरेक कुरा जाहा पे्रमको सवाल आउँछ, त्याहा हृदय जोडिएको हुनुपर्छ । नत्र त्याहा खास माया प्रेम रहन सक्दोरहेनछ । शारीरिक वा हृदयको भावनामा मात्र जोडिएको माया अस्थिर हुन सक्छ । 
अब फेरि परिवार र बालबच्चा भएपछि घरको आवास्यकता पनि प¥यो । गाउँमा बस्ने र आर्थिक रुपमा कमजोर भएपछि शहरमा घरवास गर्ने इच्छा हुने नै भयो । प्राय युवा साथीहरु बिदेसिएका थिए । अनि सानो सानो घर वा जगाजमिन जोडका थिए । शहरमा हुनेहरु चाँहि यूरोप अमेरिका हानिएका थिए । अनि तिनीहरुको फुर्ती नै बेग्लै थियो । साथीभाई भेटिन्छन्, देश बिदेशका कुरा गर्छन । जगाजमीन घरका कुरा गर्छन । घुमघाम मोजमस्तीका कुरा गर्छन । आफुँ चाँहि टुलुटुलु हेर्नु र थुक निल्दै सुन्नु बाहेक केही गर्न नसकिने अवस्थामा थिएँ। 
अब भएन, केही त गर्नै परयो ।  केही त व्यवस्था गर्नु पर्यो नि । अनि त मेरो पनि बेग्लै फुर्ती आउँछ होला । यसकारण एउटा बाध्यता र अर्को फुर्ती गर्न मिल्ने भएकोले बिदेश हानिइयो । तर कस्तो बिबशतामा परिदो रहेछ ? चारपाँच बर्ष खाडीमा काम गर्दा पनि शहराँ एउटा भिटा किन्न सकिएन । महगी त्यस्तै बढेको बढ्यै छ । सपनामा पनि घटेको देखिने होइन । गाह्रो रहेछ । सोचे जस्तो हुदैन रहेछ । फुले जस्तो फल्दैन भन्थे, ठीकै रहेछ । 
वापस घर आएपछि यसो बरिपरि हेरें र बिचार गरेँ । पहिला जुन इच्छा थियो, त्यो पूरा हुने कुनै छाँटकाँट देखिएन । यूरोपतिर गएकाहरुले त ठूलै घर बनाएका रहेछन् । खाडीतिर जानेहरुले पनि पहिला पहिला जानेहरुले केही गर्न सकेका रहेछन् । तर अहिले त त्यति सजिलो रहेनछ नि । रिण धनले एउटा भिटा त आयो तर अब घर बनाउन फेरी उस्तै सास्ती । फेरी बिदश जाँउ, घर बनाउँ र पछिको लागि केही बचाँउ भन्दा भन्दै बूढेसकाले छुने भैहाल्यो । 
बरु गाउँमै ठीक रहेछ क्यारे । धूलो मैलो छैन । मिसावटका थोक किनेर खानु पर्दैन । हल्ला खल्ला छैन । काम गर्दा शरीरलाई पनि कसरत पुग्ने । आखिर ठूलो इच्छा गर्दा पनि समस्या हुदोरहेछ । प्रयास गर्दा पनि नचाहिने दुख मात्रै र अन्त्यमा व्यर्थ । शहरमा व्यापार व्यवसाय गरे पनि के ग्यारेन्टी ? तर जती नै देखिने प्रकारका ठूला काम गरे पनि आखिर बूढेसकालमा रोगी भएर बाच्नु पर्ने, प्रेसर छ, सुगर छ, यो छ त्यो छ भनेर दुख्दै बाँच्नु पर्दोरहेछ । अनि दुखजेलो गरेर बचाएकोले पनि नपुग्ने डर छदैछ । जाने बेलामा एउटा सियो पनि लिएर जान सकिने होइन । यहा चाँहि साइकल भए मोटरसाइकल, मोटरसाइकल भए कार, कार भए संसार पाउने रहरले छोड्दै छोड्दैन । तर यती रहर पुरा गरेर जाँदा न त यमराजले यार तैले त ठूलो परिश्रम गरेर संम्पती जोडेको रैछस् भनेर खुरुक्क सिधै स्वर्ग पठाईदिने हो । बरु तैले त ज्यादै ढाँटछल बेइमान र दलाली गरेको रैछस भनेर दोवर दण्ड दिन बेर लाग्दैन । अहँ केही गरेपनि सुख छैन । त्यसकारण भएका थोक र गर्न सकिएका कामकुराहरुमा इमान्दार भएर लागिरहनु र सन्तोषी रहनु हरेकको लागि उचित रहेछ । अरुले गरेका कुराका पछि आँखा चिम्लेर आफैलाई प्रयोग गर्नु कहिल्यै संतुष्टी नपाउने कुरा रहेछ । 
अब त सकिन्न है । उमेर पनि जान लाग्यो । सोचेँ, मेरो जिन्दगी यस्तै रहेछ । तव प्रयोगको अब अर्को भूत चढ्यो । यसै न उसै अब त बरु समाजसेवा तिर पो लाग्नु पर्छ क्यारे । नाम पनि हुने मेसो परे दाम पनि टिप्न पाईने । मह काढ्नेले हात चाट्छ भन्ने त उखानै छ । यसकै निहुँमा दुनिया दिवाना काहाँ काहाँसम्मको पहुँचमा पुगेका छन । आखिर जसको शक्ति उसकै भक्ति त हुँदोरहेछ । अनि भनसुन नगरी यो देशमा मनसुन नचल्दो रहेछ क्यारे । आफुँलाई नभए पनि छोरा नातीलाई त केही गर्न सकिन्थ्यो कि ? यसो भनसुन गर्ने ठाउँ भए मनसुन लाग्थ्यो कि भनेर सुरु भयो समाज सेवाको दौड । 
खै ! तर, यो कस्तो अप्ठेरो औडाह दौड रहेछ ? खाई न पाईको टेन्सन धेरै बोक्नुपर्ने । च्या पानी नपिलाई कामै बनाउन गाह्रो । निस्वार्थ सेवा गर्न चाहानेहरुलाई पनि स्वार्थीहरुको भीडले लुटुमुटु पारिदिँदा रहेछन् त गाँठे । न त उम्कले ठाउँ छ । न त चम्कने मेसो छ । सब मान्छेको आ–आफ्नो धून छ । सबैलाइै आफ्नो आफ्नो प्यारो डम्फू बजाउने रहर छ । डम्फू हान्न नपाए चाइनिज कम्फू पनि हानिदिन बेर नलाग्ने रहेछ । तव सिधासादा लम्फूहरुले यो सब बेथितिलाई थितीमा ल्याउँछु भन्नु चाहिँ फलामको चिउरा खानु जस्तै रहेछ । यो पनि नदुखेको टाउको डोरी लाएर दुखाउने काम जस्तै रहेछ । 
यिनीहरु त आफ्नै इच्छा अनुसार प्रयोग भएको जीवनको केही उदाहरण भए । तर संसारमा यता उता जतासुकै हेरौ मानिसले मानिसलाई नै आफ्नो स्वार्थ पूर्ती गर्ने प्रयोगशाला बनाएको छ । काजीदेखी हाँ, जी, जीवन जिउनेहरु । राजा देखी अर्काको बाजा बजाएर खाजा खाने जीवनहरु, को चाँहि प्रयोग भएका रैनछन् र यो संसारमा ?
तर रहस्यमय र अनौठो कुरा त यो छ, कि धेरैले आफु अरुको निम्ती प्रयोग भएको छु भन्ने अनुभव नै गर्दैनन् । कतिलाई यो थाहा भएपनि यो प्रयोगशाला भत्काउन चाहादैनन् । प्रयोग भई नै रहन चाहान्छन् । कतिले त्यस प्रयोगबाट उक्कने चाहाना पनि गरेका होलान् । तर ति बिचराहरु अब कसबाट प्रयोग हुने कस्तो प्रयोग हुने त भनेर थाहा नपाई अन्योलमा परेर रुमलिदै पनि होलान् । कस्तो रुपमा प्रयोग गरिदा जीवनमा उचित हुदो हो भन्ने चैतन्य नभएकैले फगत शून्यको लागि उनीहरु प्रायोजित भैरहेकै छन् । के यसरी नै जीवनलाई प्रयोग गरिरहनकै लागि हरेकले जीवन पाएक हुन त ? 
माथिका कुरा याद गरौ है । आफ्नो इच्छा, रहर वा बाध्यतामा जीवनलाई प्रयोग गर्नु, गराउनु या प्रयोग हुनु सबै व्यर्थ रहेछ । मेरो जीवनको सानो प्रयोगले यही सिकायो । यो जहिले पनि सन्तुष्टी नपाउने प्रकारको हुदोरहेछ । तर पनि के यो जीवन एक प्रयोगशाला मात्रै हो त ?  प्रयोगशाला नै हुने हो भने यसलाई प्रयोग गर्ने अधिकार कसलाई छ ? 
तर, अब प्रश्न आउछ, कि जीवनको उत्तम प्रयोग कसले गर्न सक्छ ? एउटा मेशिनको जीवनलाई बिचार गरौ । त्यसलाई सञ्चालन गर्ने तरिका (म्यानुवल) अनुसार प्रयोग गरे मात्र त्यो राम्रोसँग चल्दछ । त्यसको आयु अनुसार टिक्छ । तर त्यसको म्यानुवल अनुसार होइन तर चलाउनेले आफ्नो म्यानुवल अनुसार चलाउने प्रयत्न गरयो भने के हुन्छ ? अब त्यसमा समस्या आउन सक्छ अनि मर्मत गर्नूपर्ने अवस्था आउन सक्छ । यदि यसो भयो भने त्यसलाई ठीकसँग चल्ने बनाउन त्यसको सबै पाटपूर्जा बारे सम्पूर्ण ज्ञान भएको मेकानिक चाहिन्छ । मेशिनको सम्पूर्ण पूर्जाहरुबारे सबै कुरा थाहा नपाएको मेकानिकले मेशिन सपार्नुको साटो अझ बिगारीदिन पनि त सक्छ ।   
मानिसको जीवन पनि यही मेशिन र मेकानिक जस्तै हो । त्यसकारण यो जीवनरुपी मेशिन पनि बनिएको उदेश्य अनुसार नै प्रयोग हुनुपर्छ । यदी त्यसरी प्रयोग भएन, वा सहि प्रकारले प्रयोग गर्न जान्ने मेकानिकको हातमा परेन भने समस्याहरु जन्माउँछ । 
याहा बुझ्नुपर्ने कुरा यो छ कि मानिस आफ्नो जीवनको त्यो मेकानिक ऊ आफै पनि हुन सक्छ, र अरु पनि हुन सक्छन् । तर त्याहा प्रयोग भएको जीवनमा संतुष्टि रहदैन । त्यहा खोट हुन्छ र इच्छाहरु पुरा हुदैनन् । चैन रहदैन । बिग्रेको पाटपूर्जाबाट आवाज आए जस्तै हुन्छ । त्यसकारण हरेक जीवनलाई एउटा अशल प्रयोगशाला बनाउने हो भने, जीवनको सबै अबयवहरु देखी हृदय सम्मका हर बिचार र उदेश्यहरु समेत जानेको व्यक्तिलाई प्रयोग गर्न दिनुपर्छ । अब यस्तो कुरा यसको हरेक पार्ट बनाउने व्यक्ति बाहेक अरु कसले यी सबै कुरा जान्दछ र ? अब तपाईले अनुमान गरे जस्तै त्यो व्यक्ति निश्चय नै परमेश्वर बाहेक अरु कुनै पनि कुरा हुन सक्दैन ।यदि तपाईले मेहनत गरेर काम धन्दाबाट पैसा कमाउनुहुन्छ भने के त्यो पैसालाई तपाईं आफैले प्रयोग गर्न चाहानुहुन्न र ?  कि तपाईंले त्यसलाई अरुले नै उसकै इच्छा अनुसार प्रयोग गरिदियोस् भन्ने चाहानुहुन्छ ? मानौ तपाईले घर बनाउनभयो । अब के त्यस घर कसैलाई सजिलै राजिनामन गरेर कसैलाई दिन सक्नुहुन्छ ? त्याहा तपाई आफै बस्ने इच्छा हुदैन र ? आफैलाई प्रयोग गर्ने या चलाउने इच्छा हुदैन र ? त्यसकारण तपाईले कुनै चीज कुनै उदेश्यले बनाउनुभयो भने त्यसलाई आफैं नै प्रयोग गर्न चाहानुहुन्छ । अरुले तिनीहरुलाई प्रयोग गरेर बिगारीदिएको वा उदेश्य बिपरित गएको देख्न चाहानुहुन्न । परमेश्वरको इच्छा पनि यस्तै हो । उहाँले नै एउटा उदेश्य राखेर यावत थोक सृष्टि गर्नुभयो र अन्त्यमा मानिसलाई बनाउनुभयो । त्यसकारण मानिस आफै या अरुद्धारा प्रयोग हुदा उहाँ दुखित बन्नुहुन्छ । 
जीवनमा अरुद्धारा प्रयोग हुनु, आफ्नो इच्छामा प्रयोग हुन चाहानु अनि जीवनको सृष्टिकर्ता अर्थात परमेश्वरद्धारा प्रयोग गरिनु फरक फरक कुराहरु हुन् । उहाँले मानिस जातिलाई उहाँको महिमाको निम्ति प्रयोग गर्नलाई सुष्टि गर्नुभएको यियो । पृथ्वीमा भएका हरेक प्रधानता र शक्तिहरुको प्रयोजन पनि यसकै कारण थियो । तर अहिलेको मानिस उहाँद्धारा प्रयोग हुने खास इच्छा राख्दैन । पहिला त उनीहरु परमेश्वर को हुनुहुन्छ भनेर जान्न नै चाहादैनन् । यो उनीहरुको मूर्खता हो । 
दोश्रो उहाँका कुुरा वा योजनाहरुमाथि बिश्वास नै गर्न मान्दैनन । यसको अर्थ उनीहरु आफ्नै इच्छामा प्रयोग भएर सबै थोक पाउन खोज्छन् । तर अन्तमा ती सबै व्यर्थ हुने कुरामा तिनीहरुको ध्यान जादैन । तर पनि उहाँद्धारा जीवन प्रयोग हुनु किन सबैभन्दा उत्तम प्रयोग हो, र उक्त व्यक्तिको लागि कति ठूलो सौभाग्य हो भन्ने कुरा सिकाउन परमेश्वरले कैयौ व्यक्तिलाई प्रयोग गरेर उदाहरण देखाउनुहुन्छ । मानिसहरु परमेश्वरको बाटोमा हिँडेर प्रयोग हुन नचाहेर ढीट बनेपछि कतिपय व्यक्तिसँग उहाँ बोल्नुहुन्छ र अरुलाई यसरी प्रयोग हुनु नै उसको जीवनमा सबैभन्दा असल कुरा हो भनेर सिकाउनुहुन्छ । 
अब १ सामुयल १६ अध्याय हेर्नुहोस् । (समय छ भने दश अध्यायदेखी सत्र अध्याय वा त्यो भन्दा अगाडी बढ्नुहोस) । पद १- मैले त्यसका छोराहरुमध्यको एक जनालाई राजा चुनेको छु  । अब दाउदलाई परमेश्वरले प्रयोग गर्न चाहानुभएको छ । उसको बाहिरी स्वरुप अग्लो, गोरो, कपाल पालेको वीर, असल पेशा भएको, शिक्षित, ज्ञानी, बीर, जेठोबाठो वा मानिसको आँखामा परेको आदि कारणले भएकोले होइन । तर यहा त ऊ परमेश्वरको सार्वभौव इच्छा अनुसार प्रयोग हुन लागेको थियो, पद ७ । अथवा दाउदसँग बाजा बजाएर आराधाना गर्ने, घुयत्रो हान्ने जस्तो क्षमता भएको कारण पनि होइन । अनि उसको आफ्नै इच्छा अनुसार पनि होइन । उसको इच्छा अनुसार भएको भए त शायद उ भेडांहरुको मालिक वा एउट धनी व्यक्ति बन्ने संभावना थियो । या त फौजी बन्ने थियो । संसारका मानिसले त उसलाई राजा बनाउन चाहादैनथे । त ऊ प्रयोग गरिन लागेको एउटा कारण चाँहि उसको हृदय भित्र परमेश्वरप्रति भएको अनुराग, तृष्णा भावना वा प्रेम, नम्रता, भय जस्ता कुराहरु पनि हुन सक्छन् । 
पद ७- अझै कान्छो पनि छ, तर त्यो त भेंडा चराउँदै छ । उसको काम सानो थियो । तर काम प्रति इमान्दार थियो । तर त्यो काममा पनि बाघ भालू जस्ता समस्याको सामना गर्नु पर्दथ्यो र त्यो चाँहि गोल्यत वा समस्याको प्रतिछाँया थियो । अर्थात त्यो एउटा भबिष्यको असली लडाई र बिजयको संकेत थियो । त्यो बिजयमा पनि परमेश्वरको हात थियो अर्थात ऊ प्रयोग हुदै थियो । जो उहाँ द्धारा प्रयोग हुन्छ, त्यसले भविष्यका बाटाहरु खतरनाक हुन सक्छन् तर त्यसको हर बाटोका खताराहरुलाई उहाँले नै डिल गर्नुहुन्छ अर्थात सम्हाल्नुहुन्छ ।  
त्यसकारण परमेश्वरलाई उहाँ को हुनुहुन्छ भनेर चिनेपछि र उहाँद्धारा प्रयोग हुन थालेपछि किन डराउनु पथ्र्यो र ? ऊ साहासी बनेको थियो, १७ः३३–३७ । उसलाई परमेश्वरमाथि पूर्ण बिश्वास थियो । तर फरक तरिकाले होइन उसलाई परमेश्वरले उसमा बिकसित भएकै क्षमता वा कामको निपूर्णता अनुसार चलाउनु भयो, १७ः३८ । फलत, उनी मानिसद्धारा अस्वीकृत भए पनि परमेश्वरद्धारा स्वीकृत भए । धन, मान सम्मान खुशी, संतुष्टी, बिजय उसको जीवनको पछि लागेको थियो । किनकि दाउद उहाँद्धारा प्रयोग हुन भएको थियो । उहाँदारा प्रयोग हुुनु र उहाँको हृदयको मानिस बनेको थियो । 
परमेश्वरद्धारा प्रयोग हुनलाई आवस्यक अर्को एउटा गुण नम्रता हो । आफैलाई सानो बनाउनु र फेदमा राख्नु हो । दाउदले सफलताको शिखरमा पुग्दा भयानक गल्ती गरे । उनले बातसेवासँग व्यभिचार गरे । तर जव उनले यो गल्ती पाप रहेछ भन्ने थाहा पाए, तव उनले त्यो स्वीकार र पश्चाताप गर्दै प्रार्थना गरे, भजन ५१ः१० । सफलतामा पनि मानिसले खराव काम गर्न सक्छ तरपनि परमेश्वरले त्यसलाई स्वीकार गर्न सक्नुहुन्छ, हृदयमा राख्नुहुन्छ । यद्यपी भूल स्वीकार गर्नु र हृदयबाटै पश्चातापी हुन सक्नुपर्छ । यस्तो व्यक्तिलाई परमेशवरले निरन्तर चलाई नै रहनुहुन्छ ।  
परमेश्वरलाई मन पर्ने अर्को गुण बदला नलिने काम हो । जसले छिमेकी प्रति हृदयमा प्रेम राख्छ, उसलाई त्यसले कहिल्यै हानी गर्ने काम गर्नै सक्दैन । शाउलले दाउदलाई मार्ने कति दाउ गरे, तर दाउदले मौका पाउँदा पनि शाउललाई हानी गर्ने मन गरेनन । किनकिा उनले जस्तो स्वभाव धारण गरेका भएपनि परमेश्वरद्धारा नियुक्त भएका व्यक्ति थिए । उनी बिरुद्ध जानु परमेश्वरकै बिरुद्ध जानु थियो । परमेश्वरद्धारा प्रयोग भएको मानिसले उहाँद्धारा प्रयुक्त अरु कसैको पनि हानी गर्नै सक्दैन । तर आजकल मानिसहरु अरुलाई हानी पुर्याएरै भएपनि माथि जाने बानी परेका जस्तो व्यवहार देख्न सकिन्छ । त्यसकारण पद प्रतिष्ठाको लागि कसैलाई हानी पुरयाउने, खसाल्ने, वा नष्ट पार्ने काम, प्रयोग भएको वा हुन चाहाने कुनै पनि बिश्वासीले गर्ने नसक्ने कुरा हुन् । 
परमेश्वरद्धारा प्रयोग हुन चाहाने व्यक्ति बाधिँएको हुुनुहुदैन । उ त फुक्का गधा जस्तो हुनुपर्छ । यरुशलेमको गघा जसले येशूलाई अर्थात आदि र अन्त्य, म हुँ जो म हुँ भन्ने व्यक्ति अनि बचनलाई बोकेर हिँड्ने सौभाग्य पाएको थियो । अर्थात गधा उहाको निम्ति प्रयोग भयो । तर उसलाई त खासमा गधाको मालिकले प्रयोग गर्नलाई बाँधेर पालिराखेको थियो । अनुमान गरौ कि गधाले बचनरुपी शरीरलाई बोक्दा कहिलोकाही बोझिलो अनुभव गर्न पनि सक्छ । उसले दायाँ बायाँबाट गाली खान सक्थ्यो । थुकिन र चुटिन सक्थ्यो । ठीकसँग नहिँडेको, भार नधानेको आरोप आउन सक्थ्यो होला  । अनि भोक लागेको बेला दानापानी र थाकेको बेला आराम पाएन पनि पाएन होला । 
त्यस गधाको जस्तै उहाँद्धारा प्रयोग गरिने व्यक्तिले अनुभव गरेको हुन सक्छ । तर सत्य यही हो कि ऊ फुक्का भएको अवस्थामा मात्र त्यसले बचनलाई बोकेर हिँड्न सक्छ । अथवा उसलाई प्रयोग गरिइन्छ । अगमबक्ताहरुको जीवनलाई हेर्दा पनि यस्तै कुरा देखिन्छ । धाँदोमा उभिनु सजिलो कुरा होइन । तर उहाँको बलले सबै संभव बनाउँछ । दुख कष्टमा परे पनि त्यो महिमाको निम्ति हुन्छ । तर बाधिँएको अवस्थामा गधा सधै केवल अरुद्धारा मात्र प्रयोग संभावना थियो । त्यसबेला त्यो स्वतन्त्र भएर हिँड्न सक्ने थिएन । 
यसरी नै आफुँलाई बाध्ने मालिकद्धारा स्वतन्त्र हुन चाहाने व्यक्तिलाई परमेश्वरले आज प्रयोग गर्न चाहानु भएको छ । संसारका कुराहरुमा बाँधिएर सेवा गर्न चाहानेहरुलाई भन्दा बढी संसारका लोभ र स्वार्थलाई त्याग्न तयार हुने, संसारको मोहलाई भन्दा परमेश्वरको आवाजलाई ठूलो महत्व र प्राथमिकता दिने र उहाँको काम गर्न अत्यन्त रुची राख्ने जो कोहीलाई पनि उहाँले उपयोग गर्नुहन्छ । तर आज धेरै मानिसलाई संसारको मालिकले गधालाई झै बाधेर राखेको छ । यस संसारमा त्यसरी बाँधेर राख्ने एउटा प्रमुख मालिक चाँहि पैसा पैसा र पैसा हो। 
आज पर्यन्त त्यो यरुशलेमको गधा उदाहरणीय बनेको छ । यसो हुनुमा उहाँद्धारा प्रयोग हुने अबसर हो । हामीलाई पहिला नै केही अभिप्राय राखेर परमेश्वरले सृष्टि गरे जस्तै त्यो गधाको लागि पनि परमेश्वरले चारसय बर्ष पहिल्यै योजना गर्नुभएको थियो, जक ९ः९ । के कोही यहा गधा बन्न र बचनलाई बोक्न तयार छ त ? उहाँको निम्ती प्रयोगशाला हुन तयार छ त ?
अब, भन्नै पर्ने जीवनको सत्य यही हो कि हाम्रो जीवन आफैंद्धारा होस या अरुद्धारा कुनै न कुनै रुपले प्रयोग गरिने एक प्रयोगशाला जस्तै हो । हो, आखिर कुनै न कुनै रुपमा जीवनमा प्रयोग त हुनैपर्छ । मेशिन किनेपछि त्यसलाई कसले प्रयोग गर्दैन र ? प्रयोग उसकै मालिकले त गर्छ । कार किनेपछि को चढ्दैन ? लाइसेन्स पाएपछि कार हाँक्ने रहर हुदैन र ? तर आफैं या अरुद्धारा कहिल्यै पनि ठीक र न्यायोचित प्रकारले यो जीवन प्रयोग हुन नसक्दोरहेछ । परमेश्वरसँग मात्र यसलाई ठीकसँग प्रयोग गर्ने ज्ञान र अभिप्राय छ । चावी उहाँकै हातमा छ । 
त्यसो भए अब के ? किन यो जीवनलाई उहाँकै प्रयोगशालामा प्रयोग नगर्ने त ? बिस्वासीहरु भजन त गाउँछन्, म मेरै होइन, म मेरै होइन, किनिएको रगतले....., येशूकै हौ... भनेर, तर प्रयोग गर्नको लागि येशूलाई जीवन किन दिन सक्दैनन् ? हरेकको जीवनमा सबैभन्दा ठूलो चुनौती यही नै छ । किनभने जीवन एक प्रयोगशाला हो । अब आजै जीवनमा आफ्नो भलाईको लागि हरेकले एक उत्तम निर्णय गर्न सक्नु पर्छ । जुन निर्णयले कोही पनि कहिल्यै पनि पछुताउनु पर्दैन । किनकि परमेश्वरद्धारा मात्र जीवनको सार्थक प्रयोग हुन्छ, र यो जीवन अनन्त महिमामा निरन्तर महिमित भईरहनेछ । मानिस उहाँकै प्रयोगशाला हो । हामीहरुको जीवन उहाँकै एक प्रयोगशाला हो ।
'मेरा आत्मिकी छालहरू '  निबध तथा  कथा संग्रह  बाट 

-लालु पौडेल । 
एकरात मैले एउटा अचम्मको सपना देखे । कुनै ठाउँमा मानिसहरुको भीड थियो । त्यो करिव अढाई तिनसय जना जतिको भीड थियो होला । त्यो भीडले एउटा गरीब जस्तो लाग्ने र तिनीहरुको बिरोध र प्रतिकार गर्न नसक्ने निरिह र कमजोर व्यक्ति माथि साहै नै मनपरी गरिरहेको थियो । भीडले बीचमा पारेर त्यो व्यक्तिलाई पेल्दै धकेल्दै भुक्याउँदै मुक्याँउदै र गिज्याउदै गरिरहेका थिए ।  म त्यही भीडको नजिकै उपस्थित थिएँ । उसलाई सहायता गर्न मलाई इच्छा भइरहेको थियो । तर म त्याहा एक्लै भएको हुनाले दया माया देखाउन र उसलाई सुरक्षा दिन वा तिनीहरुको बीचबाट त्यसलाई छुटाउन सकिरहेको थिईन । 

त्यो भीडले गरेको व्यवहार देखेर म भित्रभित्र व्याकुल भैरहेको थिए । एकछिनपछि त्याहा मेरो पक्षमा बिचरा भनेर बोल्न खोज्ने एकजना देखा परयो । त्यसले त केही गर्छ कि भनेर सोन्न थालेँ । तर एकछिन पछि त त्यो पनि त्यही भीडमा सामेल भयो । त्यतिनै बेला मैले त्याहा सुरक्षाकर्मी (प्रहरीहरु) पनि देखे । अब त उसलाई न्याय गरिदिन्छन कि भनेर केही आशा लाग्यो । तर ती सुरक्षाकर्मीले त झन् म तिरै पो बन्दुक तेस्र्याए । तिनीहरु पनि केवल त्यो भीडकै नेताहरुले भनेको कुरा मात्र पत्याउँथे । यी सबै कुराहरु देख्दा म भित्र भएको मन ती निर्दयी, एकोहोरा  र घमण्डी मानिसहरु तिर लक्षित हुदै चिच्याईरहेको थियो । जोशकासाथ उफ्रिरहेको थियो । यद्यपी मेरो स्वर र भाषा सुन्ने त्याहा कोही पनि थिएनन । त्यो हृदयभित्रै हराईरहेको थियो । 

यत्तिकैमा म व्यूझिँए । किन हो कुन्नी, जव म बिहान उठे, म भित्र एउटा अचम्म प्रकारको जोश भरिएर आउन थाल्यो । त्यो भीडलाई संझेर झोक पनि चलिराखेको थियो ।  त्यसपछि मेरो आँखामा हाम्रो समाजको एउटा चित्र पोतिन थाल्यो । निरिह र गरीव व्यक्तिहरु र समाजमा शिक्षित र बुज्रुक भनाउदा मानिसहरु... जो बाहिर चिल्ला र टल्केका हुन्छन, तर भित्री आन्दाभुँडीहरु चाँहि गन्हाएका हुन्छन् । अकस्मात तिनीहरुतिर पो मेरो मन ओइरिन थाल्यो । ती सभ्य भनिने मानिसहरुको बिचार, संस्कार र सामाजिक बिकृतिहरुतिर एक्कासी खनिन थाल्यो । तिनीहरुर्ला देख्दा मलाई भित्रभित्रै लाज पनि लाग्न थाल्यो । तर तुरुन्तै तिनका बिरुद्ध म केही गर्न असमर्थ थिए । 

यसपछि, मलाई यस्तो लाग्न थाल्यो, कि म सिधै गएर सामाजिक भेदभाव कुरीति र बिकृतीहरु बिरुद्ध युद्ध गर्न त सक्दिन तर पनि अब म मेरा लेखाइका शव्दहरुमा जोश भरेर ल्याउनेछु । मेरा शव्दहरुबाट क्रान्ती गर्नेछु । शव्दहरुलाई काँडा तिखारिए झैँ तिखार्ने छु, र तीर झैँ हान्नेछु जसले तिनीहरुको मुटु हल्लाउदै छेड्दछ । ती जोसिला र क्रान्तीकारी शव्दहरुद्धारा एउटा आँधीबेहेरी ल्याउनेछु । जसले पुराना कमजोर र धमिरा लागेका बस्तीहरुमा उथलपुथल ल्याउनेछ । त्यसपछि मात्र याहा नयाँ निर्माणको समय आउनेछ । त्यसकारण उज्यालो भएर उठ्ने बित्तिकैै सपनाको कारणले पाएको जोसलाई कपीका पन्नाहरुमा उतार्न थाले । 

सुरुमै मलाई यर्मियाको संझना आयो । यर्मीयालाई परमेश्वरले भन्नुभएको थियो, कि तिनीहरुसँग नडरा, तर तैले पहिला उखेल्ने भत्काउने नास गर्ने र भताभुंग पार्ने काम गर्, अनि बल्ल निमार्ण गरी रोप्ने काम हुन्छ । 
यस्तो उदेकको कुरा गर्ने परमेश्वरले मलाई पनि एउटा उदेकको जोस निकाल्न लगाउदै हुनुहुन्थ्यो । के सपना मात्रै हेरेर बस्छस् ? तँ उठ्, जागा भई अनि गएर उखेल्ने काम सुरु गर । यो त्यही मानिसको भीडबाट सुरु गर जसलाई तैंले देखिस् । कुनचाहि जराको आडमा तिनीहरु ठडिएका छन् ? हेर् र त्यसमाथि बन्चरो र करौती लगा । तव तिनीहरुको घर भत्किन्छ र ढल्छ । भत्केर ढल्न थालेपछि तँलाई नास गर्न सजिलो हुनेछ । एक दुईवटा घर नास पार्न थालेपछि अरु सबै घरहरुलाई पनि भताभुंग पार्न सजिलो हुन्छ । अनि जब सबै घरहरु भगाभुंग हुन्छन तव नयाँ आधार र जमिन निमार्ण गर । अनि बल्ल रोप्ने काम सुरु गर । सिधै रोपिस भने त काँहा रोप्छस ? रोप्ने ठाउँ तयार भएकै छैन । काँहा ठडिन्छ ? पुरानो घरको पर्खाल नै नास भएको छैन । जरा कहाँ सर्छ ? पहिलाका जराहरु बाँकी नै छन, काटिएका र नास भएका नै छैनन ।

यसरी मेरो हृदय प्रज्वलित हुन थाल्यो। तवसम्म मलाई मनमा शान्ति छाउदैन जवसम्म नयाँ बिरुवाका मुनाहरु टुसाउन र बढ्न थाल्दैनन । मेरो जोश अझै सेलाएको छैन । अन्तिमसम्म सेलाउन पनि दिने छैन । म एक्लै भएता केही फरक पर्न छैन । अब हे परमेश्वर मलाई आज्ञा गर्नुहोस । नत्र त्यो भीडलाई कसले तह लगाउँछ ?

अब के त्यो भीड हाम्रो गाँउ, टोल, दोबाटो र चौवाटो तिरै भएको भीड होइन र ? के त्यो निरिह व्यक्ति, दुराचार र अत्याचार सहने व्यक्ति होइन र ? के त्यो कष्ट र खेदो सहनुपर्ने ख्रीष्टियन बिश्वासी होइन र ? किन दंग र छक्क पर्नु छ र ? मेरो हृदयमा यस्तै प्रकारले चित्रहरु कोरिन थाले । 

सत्य यही हो कि भीड प्राय हाहाकै पछि दगुर्छ । भीडको जोशमा प्राय होस् हुदैन । एक दुई जनाको सन्की जोशमा फन्की फन्की दगुर्छन् । त्यसबेला पेलिनेको हालत के हुन्छ ? त्यो कुरा अनुमान गर्न त्यती गाह्रो छैन । किन सिधा साधा प्रकारले आफ्नो बाटो हिँड्ने र सत्य बोल्ने व्यक्तिले नै प्राय हेपिनु, पेलिनु र दुर्वाच्य सहनुपर्छ ? उ किन धेरै बोल्नु हुदैन ? किन चुपै रहनुपर्छ ? किन यस्तो मान्छे प्रति भीडको आँखाले केही गर्न सक्दैन भनि हेर्ने गर्छ । किन ऊ डरपोक र काँतर बनिन्छ ? किनभने तिनीहरुसँग ऊ सम्मिलित भएन । पाखुरा उध्याएन । बहुमतको कदर गरेन । त्यसकारण उसले सकस सहनुपर्छ । दकस मानेर बोल्नुपर्छ । त्यो फक्कु लद्दु हो । गतिछाडा धर्मछाडा हो । 

म पनि त्यो निरिह व्यक्तिकै हाराहारी छु । मेरो बाटोमा धेरै प्रकारका कुकुरहरु भुक्छन् । बाटो छेक्छन् र टोक्न खोज्छन । तर धेरै पटक तिनीहरुलाई नटेरी चुपचाप लगालग म आफ्नोबाटो हिँड्छु । तर त्यसले नभुकिकन जिब्रो लपलपाउदै, कान झार्दै र पुछर हल्लाउदै मेरो छेउमा आयो भने माया नै लाग्छ । रोटी भात पनि दिन मन लाग्छ । तर बिनाकारण त्यसले भुक्छ भने त, के म त्यसलाई चुप लाग भन्न सक्दिन र ? नचिनेरै र नौलो देखेरै त्यसले भुकेको हो भने त ठिकै हो, किनकी त्यसले आफ्नो धर्म निर्वाह गरेको छ । तर चिनेर  जानेरै पनि त्यसले भुक्छ भने त त्यो घामण कुकुर हो । यदि त्यस्तै घामण व्यक्तिको फेला परयो भने त त्यसको डडाल्नो सेकिन पनि बेर लाग्दैन । त्यसैले त्यसले होस् राखोेस् या त अचानक आई पर्न सक्ने दुर्दशाको लागि ठिक्क परोस् । किनकी त्यो बेहोसी छ । भैपरी आउने बिषयसँग त्यो अनभिज्ञ छ । अगाडी पछाडी केही सोचेको छैन । ड्याम ड्याम बस्ने हेर्ने र भुक्ने बाहेक त्यसले अरु जान्दैन । मनमा कुराहरु पनि गुन्दैन । त्यसको दिमाखमा ज्ञान गुन र भलाईका कुराहरु ता गुन्दु्रक खाँदे झै खाँद्नुपर्छ । माथिका कुराहरुमा बिचार गर्दै गर्नुहोस् । के यी कुराहरु बुझ्न गाह्रा छन् र ? 

अब एकछिन येशूको बारेमा बिचार गरौ । उहाँसँग न त सुपर क्षेप्याश्त्रहरु नै थिए । न त आवाजभन्दा छिटो हुँइकिने फाइटरहरु नै थिए । न त बिग्रेडै बोक्ने पनडुव्वीहरु नै थिए । तर दुष्टहरु उहाँको नामले नै थरर काम्थे । उहाँको आज्ञा मान्दथे । निस्की जा भन्ने बित्तिकै दुष्ट आत्माहरु गुरुरु समुन्द्रमा गएर हाम फाल्थे । युद्ध र लडाँइका कुनै पनि साधन नहुनेसँग पनि दुष्टलाई नरकमा हाल्न सक्ने कस्तो सामथ्र्य थियो । उनीसँग राजा माहाराजा र बलिया बलिया सेनापतिहरु पनि लुगलुग काम्दथे । 

तर येशूसँग ढाँट छल, राजनीति, कूटिल मति केही पनि थिएन । भनिन्छ, सत्य बोल्दा जहिले पनि मानिस भित्रको असत्य प्रकट हुन्छ । अनि जव त्यो असत्य प्रकट हुन्छ, ठूलाबडा घनी र ज्ञानीमानीहरु प्राय नै चिढिन्छन् । तरपनि असत्यको षढयन्त्र अन्तमा सधै बिफल नै हुन्छ । घमण्डी हामानको षढयन्त्रलाई मात्र यसबेला याद गरे पुग्छ । 

यस्तै असत्यको एउटा ठूलो भीडले येसुलाई क्रूसमा झुण्याएर मार्दा खुवै ठूलो बिजयत्सव मनाउदै थियो । तर तिनीहरुले मरेर गाडिएको मानिसलाई चिहानबाट बोलाएर जीवितै हिँडाउन सक्ने व्यक्ति आफै पनि त मरेको अबस्थाबाट फेरी जिवित भई उठ्न सक्छ भनेर कहिल्यै सोचेनन् कि कसो ? या  बिश्वास गर्न सकेनन् ? येसुका कामहरुलाई आँखाले देखेर पनि अन्धा भएका त्यतिखेरका मानिसहरुको जस्तै भीड के आज पनि छैनन र ? के त्यो यही समाजका मानिसहरुको भीड होइन र ? हामी सबैले त्यसलाई चिन्नुपर्छ । 

आँखामा छारो लागेको मानिसलाई छारो सफा गरी देख्ने बनाउन त्यति गाह्रो हुदैन । तर छारो नलागेको अवस्थामा पनि देख्न नसक्नेहरुलाई देख्ने बनाउत त साह्रै गाह्रो पर्दोरहेछ । किनभने मान्छेको जात साह्रै मापाको हुँदोरहेछ । कसैले भन्ने गथ्र्यो, तल बगाएर माथि खोज्न जानु जस्तो । तिनसय साठी डिग्रीमा सुई घुमाउँदा पनि घैंटामा घाम लाग्दैन । सुद्धि सुघ्रिदैन, निर्बुुद्धि नै उफ्रिराख्छ । किन होला ? साहै्र मूर्ख भएर हो ? ठीकै भन्नुभयो, त्यै होला ।   

मानिसहरु भन्ने गर्छन्, ख्रीष्टलाई बिश्वास गर्नेहरु त गाई खाने धर्म मान्नेहरु रे ! कसैले तिनीहरुलाई यसो भनेर जवाफ दिने गथ्र्यो, गाईको मूत खानुभन्दा त बरु मासु नै खान राम्रो होला नि गाँठे । कुरो त्यसै हो भने हिन्दू धर्म मान्ने सार्कीेहरुलाई चाहिँ किन गोरुको मासु खान दिएको ? 

तिनैलाई नाथें भनेर गाली गर्ने, अनि त्यै गाईखानेहरुको देशमा पुग्न जिन्दगीभर नै रात र दिन गरि हर समय किन सपना देख्ने नि ? साम दाम दण्ड भेद सबै किन गर्ने ? घुसपैठ, भेट भेटी, मट्टी बेची, पेटी  बेटी दानभेटी सब थोक गर्न चाहिँ हुने ? अनि त्याहा पुग्न पाए गाई गोरुकै मासु काट्न र ओसार्न, बोक्न हुने, तेस्कै मासु सेकाएर कोपर्न हुने, तिनीसगै खाईपिई गर्न हुने, गाई गोरुकै रगत लास्पसिएको डलर  पैसा घरमा पठाएर दान धर्म काज कर्म गरिटोपल्न हुने, तिनीहरुकै घरगोठ, भकारा चर्पी भान्सा सान्सा सबै सफा गर्न हुने, अनि घर फर्केर आएपछि त्यै गाईको मूत छर्केर शुद्ध र सफा पनि हुने रे ? तर कुरा गर्दा खेरी चाँहि साँप झैं फनक्कै उल्टो फर्केर नानाभाँती कुराकाटी खोइरो पनि तिनीहरुकै खन्नु पर्नेे ? अनि तिनीहरुले बिश्वास गरेको सत्य इश्वरलाई विश्वास गर्न चाँहि नहुने रे ? जसको जौ खानु उसैको जुँगा मुड्नु ? जुन थालका खायो त्यै थालमा हग्न हुन्छ ? भन्न पायो भन्दैमा जगत् फाँड्ने अनि गाँउ भाँड्ने गर्नु हुन्छ ? धिक्कार यस्ता छेउ  न टुप्पा दुब्लाका तर माझमा सुप्लाकाहरुलाई ।  

भन्छन, ख्रीष्टियनहरुको धर्म त बिदेशी धर्म रे ! अरे बाबा, नेपालमा राजनीति गर्ने नेता र फेसबुके नेताहरुले बेलाबेलामा बक्ने गरेको बोली हामीले पनि सुनेका छैनौ र ? भन्छन्, नेपाल चलाउनेहरुको रिमोट त बिदेशतिरै छ रे । अब खाटदेखी पाटसम्म गाडीदेखी हाँडीसम्म, मूर्तीदेखी सुर्तीसम्म सबै बिदेशबाटै आयात गर्न हुने ? खरि देखी चरीसम्म, पूजा गर्ने पुजारीदेखी भुजासम्म बिदेशबाटै आयात गर्र्न हुने ? धेरै के भनौ नूनदेखी सुनसम्मै बिदेशबाटै नल्याई नहुने, त्यही सुनले पूजापाठ र गुनगानका काम गर्न हुने, तर गाडी, तेल, पेलेन, भिलेन, घर, दरबार, तरवार, नागरिकता, बिजुली, पानी केही पनि दिन नपर्ने बरु बिश्वास गर्दा उल्टै स्वर्गमा घर र आशिष दिने ख्रीष्टलाई बिश्वास गरेर कसैले नदेख्ने गरी हृदयमा मात्रै राख्दाचाँहि बिदेशी धर्म हुने ?

यसै हो भने, हिन्दु हिन्दुस्तानबाट आएको भनेर किन भनिँदैन ? जापानी, चिनियाँ आदीले बुद्धलाई बिदेशी धर्म भनेर किन बिरोध नगरेका होलान् नि बाबै ? ख्रीष्टियनलाई यूरोप अमेरिका तिर किन बिदेशी धर्म भनेर बिरोध गरिदैन ? ईस्लामलाई एशिया अफ्रिका नेपालमै पनि किन यसरी नै बिदेशबाट आएको भनेर बिरोध गरिन्न ? तिनीहरु गोवरगणेश भएर यस्तो कुरा गरेका हुन कि काम पाइन बुहारी पाडाको पुछर कन्याई भने झै काम नपाएर जे मन लाग्यो त्यही भनेका हुन ? कि कतै नांगलो ठटायो भने हात्ती तर्सिहाल्छ कि भनेर यसो भन्नुपर्ने हो कुन्नी ? कि हरसमय बिरोधै गर्ने बानी परेर हो ?  

यती मात्र हो र ? के निहुँ पाउँ कनिका बुक्याउँ भने झै गरि भन्दछ्न्, ख्रीष्टियन धर्म मान्यो भने त बिदेशी डलर आउछ रे ! हा हा हा के भन्नु अब ! सर्टको कलर बनाउनदेखि क्रिकेटको बलरलाई तालिम दिन डलर नै खाने मान्छे चाहिने, लठ्ठेपूल र चक्केपूल हाल्नदेखि बार्षिक बजेटको कूल मिलाउन पनि डलर नै चाहिने, बिकासको नाउमा डलर मै गुड्नुपर्ने र डलरमै उड्नुपर्ने,  डलर खाएर डलरै ओकल्नुपर्ने देश र समाजमा बिदेशी डलर आउछ भनेर किन टायरको हावा खुस्केको जस्तो कुरा गर्छन कुन्नी मान्छेहरु ? डलरै छाप्ने देशमा पुगेर खनी खोस्री पठाएको डलरले आफ्नै जीवनको कलर बदलिएको पनि नदेख्ने, तर छेउ न टुप्पाका यस्ता बाह्रथरी कुरा गर्ने ? यस्ता मान्छेहरुको आँखामा चिप्रा लागेको छ कि पाप्रा कुन्नी ? कि छारो माडेका हुन ? बिदेशी डलर सांगो पांगो आउछ भनेर सिधा भन्न खोजेको हो कि बांगो ? त्यसै काटिन्छ मूल हाङ्गो ? यस्ता कुराहरु सुन्दा उदेक उदेक र उदेक लाग्छ । 

ख्रीष्टमा बिश्वास गर्नेहरुलाई दीन, दुखी, असाहय, बिधबा गरीवहरुलाई हेरचाह मद्धत साहायता गर्नुपर्छ भनेर बाईबलमा शिक्षा दिइएको छ । अनि त्यो अशल शिक्षालाई पछ्याउदै आफना बालबच्चा र परिवारको पेटको चारो काटेर, आठ घण्टाको ठाउँमा बाह्र घण्टा काम गरेर, दुख कष्ट र मेहनतद्धारा आर्जित ढेवा यस्ता अभाव र कष्टमा परेकाहरुको परोककारी कार्यको लागि मण्डली मार्फत सेवा दान गर्न पठाउँनेहरुलाई पो या त तिनीहरुल डलर दिएर धर्म किन्न खोज्ने या डलर खानेहरु भनेका हुन कि ? कि आफैले नै यसरी आएको त्यही डलरलाई पनि वल्लो पल्लो पकेटटिर सारेर जेव गरम गर्न पाईन्छ कि भनेर वा ख्रीष्टको नामामा खशी उपहार पार्न खोज्दा हड्डी पनि भनेटेकोले यस्तो अपवाद फैलाएका हुन ? कि बाघको छालामा उफ्रन  खोज्ने  क्वै स्यालहरुले यसो भनेका हुन ? 

चामलमा बियाँ हुन सक्छ भनेर त मलाई पनि थाह छ नि गाँठे । तर, मकै पिन्दा धून पनि पिनिन्छ भन्ने हेक्का राखेको खै ? धान, गहूँ कोदो मकै भट्ट सबैलाई त्यसै चट्ट एउटै हाँडीमा राखेर भुट्यो भने के हुन्छ ? चामलमा घुन लाग्यो भनेर चामलको बोरै नालीमा फ्याकिँन्छ र ? बिना भात कसैले दिनभरी कोदाली खन्न सक्छ ? कि चामलको घुन पखालेर भात खाएर जान्छ ? धानमा भुस रहेछ भने बत्ताएर फालिन्छ कि खलोको सबै धानमा आगो झोसेर हिँडिन्छ ? यस्ता कुरा गर्नु अघि यसको जवाफ चाहियो नि त बाबै ! बिना बाजामा नाँचेर सुहाउँछ ? हँ ? बूढा पाकाहरुले कति कुरा ठिकै भन्थे । बोल्न पायो भनेर प्याच्च नबोल्नु, खाना पायो भनेर क्वाप्प नखानु, बस्न पायो भनेर थ्याच्च नबस्नु । यसको अर्थलाई अतिकता खोपडीमा हाल्नु पदैन ? सुझ न बुझ घरघर कुद गरेर कहिलेसम्म चल्छ ? त्यसै दुनियाँको घर जल्छ ?

फेरि भन्छन्, ख्रीष्टियन धर्म त गरिवले मान्ने धर्म रे ! साना जातिको धर्म रे ! अब बर्खे झरीमा कचकचे हिलोले खुट्टा खाँदा पाती थिचेर लगाउँदा पनि अलिकता जाति हुन्छ भनेर गिदीभित्र हल्का बुद्धि नहुनेहरुले पनि के को जाति र पातीको कुरा गर्छन कुन्नी खुराफातीहरु ! कही नभाको जात्रा हाँडीगाउँमा भनेको यै त होला ? बिदेशमा त जातिपाती भन्ने कुन चराको नाम हो थाहै हुदैन भन्छन । देखिएको पनि छ । यो के होला भनेर कति मान्छे अक्क न पक्क पर्छन । तर रनबन चाहारेर र सबै कुरा देखेका र भोगेका भन्नेहरुले पनि किन यस्तो कुरा गर्छन ? अंगभंग पार्ने फेसन, डिस, किस, फिस आदि इत्यादी उत्यादिलाई नक्कल गर्ने अक्क्ल आउन हुने, तर यस्ता बिकृतिलाई छोपी छोपी गर्न चाँहि नास गर्नचाँहि किन नहुने ?

पीडा र व्यथाले थलिएर जतिसुकै पूजापाठ, धूप धूँवार, बोका परेवा, ज्योतिष धामी, बैद्य डक्टर गर्नु भाँती गर्दा पनि ठीक नभएर गल्नुसम्म गलेपछि अन्त्यमा अब त एउटै आशा बाँकी रह्यो, नहुने मामाभन्दा कानो मामा नै जाति भनेर साचो र सत्य अनि जीवन दिने र निको पार्ने परमेश्वर अर्थात ख्रीष्ट येशूलाई पछ्याएर उनलाई बिश्वास गर्दा चाँहि के जात जाति र गरिवले मान्ने धर्म हुन्छ ? सारा मानवलाई सृष्टि गर्ने परमेश्वर पनि गरिव, जात जाती र बर्गको हुन्छ ?  

अँ साँची यसो बिचार गर्दा त तिनका कुरा पनि ठिकै हुन क्यारे । देउ देउ भन्दै अनेक बलि खान पल्केका, दिन सक्ने नसक्ने सवै जनासँग मागेर पिण्ड दक्षिणा बोका परेवा राँगा भालेहरु हसुर्ने, तर हर्सुन नपाए फेरि ज्यानलाई नै कसुर्ने देउताहरु ता धनी हुने नै भए । अनि लौ लौ भन्दै पछिपछि लाग्नै प¥यो । अब पीछा लागेपछि भक्क्तजनका सपना पूरा गर्न अलिअलि सुनका अण्डा त झर्ने नै भए । त्यही अण्डा खाएर डण्डा जमाउन पाएपछि सँस्कारले आसन त जमाउने नै भयो । यति कुरो त ठीकै हो । 

तर यस कुरोको चुरो बेग्ले छ है । धन छउन्जेल जुवा तास भाङ्ग धतुरो सोमरस र धूमबस् कोठाकोठरी ? अनि टुटी लोटरी भएपछि, र पूर्वदेखि पश्चिमसम्मका रोगव्यथाले थलिएपछि, लख्खुट्वाँट श्रीसंपत्ती नास त हुने नै भयो । जोरीपारी हाँस पनि हुने नै भयो । अनि सास मात्र बाँकी रहेको लासले पनि बन जान अघि अन्तिम आस गर्छ रे भन्छन् । यसरी सबै थोक रित्तिएर भुक्का ट्वाँट भएको गरिवले पनि बाँच्ने आस गरेपछि, त्यही आश् भित्र ख्रीष्टले बास् गरेपछि, धननास् भएपनि निको भएर उफ्रदै खुशी हुँदै ख्रीष्टको पछि लागेपछि... त गरिवले मान्ने धर्म हुने भैगो नि । साच्चै हो सोरै आना हो, यो धर्म कि त धनको गरिवले मान्छ कि त मनको गरिवले मान्छ । धन, पैसा र बुद्धि भरिएर रन्बन् चर्ने मापाकाहरुको मन त ढुगांभन्दा कडा हुन्छ, के मान्थे त ? किन यसको पछि लाग्थे र ? तिनीहरुलाई सुसमाचार दिन गयो भने व्यस्त छु, हतार छ, पढेको छु, जानेको सुनेको छु भन्दै बाहाना बनाउदै  भागिहल्छन ।   कि त, तँलाई धर्मछाडा, गाउभाँडा, काहाँबाट आएछ यो सातसमुन्द्र पारिको काँढा? भनेर न्वारानदेखि कै बल लगाएर जाग्छन् । 

अब न त बाबुबाजेको सक्कली अनुहार नै देख्नु न त भोटो भाङ्ग्रा ओढेर पुछरको लठ्ठी नै टेक्नु, आफ्नै मनखुशी र औकात अनुुसार बनाएको रीतिथिति कसरी थेग्नु । त्यै भएर त याहा खाली जात पात र भातको मात्र बात हुन्छ । बाटोमा हिँड्दा खुट्टातिर ठोक्किने झिल्केमिल्के ढुंगालाई खले गराको कुनामा लगेर रातो भालेको सिंदुर हालेपछि भूमी देउता  रे । बनतिरको ठूलो रुखको फेदमा टिका लगाईदिए बन देउता बन्ने रे । चौकातिर राखे पितृ, आटीतिर राखे झाँक्रीकाँक्री केके केके बनिहाल्छ रे । अब देउतोलाई पनि याहा बस त्याहा बस भन्दै सार्न मिल्ने कस्तो अचम्मको कुरो हो ? देउताले मान्छेलाई थान्कामा बस्न सिकाउने हो कि मान्छेले देउतालाई ? बुझ्नै गाह्रो छ बा । 

अब, सबैभन्दा ठूला भनिने देउताको नाम त पशुका पति अर्थात पशुपती रे ! जात जातको पण्डित र पातपातको मोल, रातपरेपछि जेसुकैको झोल पनि चल्ने दिमाखचाँहि किन नचल्ने होला ? त्यो जाति र पातीको रोग सार्ने कुनचाँही खुराफाती रहेछ कुन्नी ? अनि ता बीस घरको गाँउमा पनि पापाँच घर बाँडिएर चार जात छत्तिस बर्णको फुलबारी हुने भयो हाम्रो नेपालमा । 

फेरी खरर बाह्रखरी र एबीसिडी पढेर बुद्धिमान भई टोपलेका बिद्धानहरु भन्छन्, खोई काँहा छ परमेश्वर ? मानिस त बाँदरबाट आएको हो रे ! त्यसका बाजे, त्यै भएर होकी आजकल मान्छेले बा आमा हजुरबा बूढा बूढी भएपछि जताबाट आएको हो उतैतिर जौ भनेर बनतिर लगेर मिल्काउन खोजेका ? बाँदरबाट आएको भए ती काला ढेडुलाई किन हजुरबा नभनेका होलान त नि त बाबै ? धरमै ल्याएर पाले पनि हुन्थ्यो, हिहि ! आजकल त जात जातको बंश खोज्ने परम्परा आइरहेको छ क्यारे । यसै भन्नेहरु ल जाउ न त हजुरबाको हजुरबाको नाम र बंश सोध्देै र खोज्दै । एक न एक दिन त तिमो बंश ढेढु बाँदरमा गएर टुंगिन्छ होला । तर मेरो बंश त आदममै पुगेर टुंगिनेछ । लौ खोज्न जाने हैन त पिता पूर्खा ? खोज्दै गए कसो होला ?

हुन त एक हिसावले तिनीहरुले भनेको पनि ठिकै होला है । नत्र भने मान्छे र बाँदरको स्वभावमा के फरक छ र ? बाँदरले खेतबारीको मकै पायो भने लुछेर, भुत्ल्याएर, कोपरेर, नागैं बुंगै पारिदिन्छ । मान्छेले पनि ठाउँमा पुग्यो र खाने मौकाबारी पायो भने त्यसै त गर्छ । बाँदरले अर्काले खान लागेको घोगा पनि खोसेर कोपर्छ । जुम्रो पाए पनि छोड्दैन । झुम्रो पाएपनि टक्टक्याएर झार्छ । आफूँले घर पनि बनाउँदैन । अरुले बनाएको पनि ड्याम डुम भत्काईदिन्छ । उस्तै उस्तै छैन त स्वभाव ? शायद बाँदरबाट आएको भएर होला । 

लौ त, बिकासबादमा बिश्वास गर्नेहरु बिऊ र आहारबिना कुनै सुष्टि गरी देखाऊ । मान्छेको बिचारबाट आएको बिचारलाई कहिलेसम्म पछ्याउने हो ? अहिले त फेरी बिग व्यांग रे । अहिलेसम्म अनगिन्ती बर्षहरुको समयमा अनगिन्ती ताराहरु फुटेर अन्तरिक्षमा बिलाए होलान । तर नया तारा घाम जून किन बनेन होला त ? पृथ्वीमाथि धूलोहरु होलोमा जम्मा भएर किन कुनै गोलो बनेन होला ?

फेरी काम पाएनन् कि अनि कुरा गर्छन- ख्रीष्टियन धर्म त साम्राज्यबादी धर्म रे ! गोराहरुको धर्म रे ! मानिसहरुले यस्ता कुरा डाहले भन्छन कि बुझपचाएर भन्छन् कि दोष लगाउने मानसिकताले मात्र भन्छन् कुन्नी ? भन्न खोजेको कुनै देशलाई हो कि, जातिलाई हो कि ? बिश्वासीलाई पो हो कुन्नी ? उनीहरुको कुरा अनुसार त यूरोप अमेरिका र बेलायतबाट पो ख्रीष्टियन आएको हो । यो तिनीहरुको धर्म हो । तर अतिकति मात्र बुझने इच्छा ग¥यो भने थाहा हुन्थ्यो कि ती देशहरुमा पनि यो धर्म इस्रायलबाट प्रचार हुदै पुगेको हो भनेर ।

ख्रीष्टको स्वर्गारोहण पछि फैलदै गएको ख्रीष्टमा बिश्वास गर्नेहरुको समूहलाई एन्टिओकियाबाट पो ख्रीष्टियन नाम दिइएको हो । वास्तवमा ख्रीष्टियन धर्म नै होइन । यो त एउटा नयाँ बाटो हो, जाहा हिँड्दा मानिस परिवर्तन हुन्छ । यो एउटा बिश्वास हो र बिस्वस्मा हिँडिने बाटो हो । बिश्वासैद्धारा पाप क्षमा हुने र उद्धार अर्थात नरकको दण्डबाट छुट्कारा पाउने ठाउँ हो । यो बाटोमा सबै मानिस अर्थात काला गोरा होचा अग्ला ग्यान्टे च्यान्टे भ्यान्टे सबै हिँड्न पाउँछन । याहा सबैमा समानता, एकता र प्रेम हुन्छ, जुन इश्वरीय स्वभावको चरित्र हो । संसारको ज्ञान र बुद्धि अनुसार त यस्ता कुरा मूर्खता मात्र हुन सक्छन् तर बिश्वास गर्नेहरुको लागि त यही नै शक्ती हो । 

तर किन मानिसहरु सत्य कुरा के होला भनेर अलिकति पनि बुझने प्रयास नगरी कसैले हाहामा बोलिदिएको कुराको पछि लाग्छन कुन्नी ? ती देशहरुले किन इस्रायलको धर्ममा बिश्वास गरे । अनि भौतिक उन्नती र ज्ञान बुद्धिमा प्रगती गरेर के गल्ती गरेका रहेछन कुन्नी ? किन उनीहरुले चाँहि यो त यहूदी धर्म, बिदेशी धर्म भनेर बिरोध गर्दैनन् ? अनी यसरी नै चीन, जापान, कोरिया, म्यानमार जस्ता थुप्रै देशहरुले बुद्ध धर्मलाई बिदेशी धर्म भनेर बिरोध गर्दैनन होला ? शायद फुर्सद नपाएर पो हो कि ? 

अब यस्तै कुरा गर्ने हो भने त हिन्दु पनि नेपालमा हिन्दुस्तानबाट आएको यसको पनि बिरोध हुनु पर्ने हो । नेपालकै धर्म त बुद्ध पो हो । पश्चिमीहरुले जस्तै हामीहरुले पनि उहिल्यैबाट यसलाई पछ्याउन सकेको भए हाम्रो पनि आशिष र उन्नती प्रगती हुने थियो । नवोल्ने मूर्तीलाई पूजा आराधाना गरेर जीवित परमेश्वरलाई ठाडै इन्कार गरेपछि अनि कसरी आउँछ असल बुद्धि ? 

कामी दमै र सार्कीह काशी गएर पूजा पाठ गर्ने पण्डितको कर्मकाण्ड सिकेर आए भने बाहुन क्षत्रीहरुले पण्डित काम गर्न बोलाउँछ कि बोलाउँदैनन् होला कुन्नी ? अमेरिकीहरुले बाईबलमा भएका मानवियता समानता प्रेम र मानव अधिकार जस्ता कुराहरुलाई बुझेर सयौ बर्ष पहिल्यै काला र गोरा जाति बीचको विभेदलाई एउटा श्राप मानेर त्यसको अन्त्य गरे । सुने अनुसार बाइबलका कति महत्वपूर्ण आज्ञाहरुलाई उनीहरुले आफ्नो संविधानमा समावेस गरेका छन । प्रायजसो परमेश्वरको व्यवस्था अर्थात बाइबललाई ध्यानमा राखेर देशको नियम कानुनहरु बनाएको हुनाले नै परमेश्वरले त्यस देशलाई बिशेष आशिष दिनुभयो र बिश्वको सबैभन्दा शक्तिशाली देश भएको कुरा इतिहास र अरु धेरै कुरा साक्षी छ । 

अब अदनको बगैचामा गएर एकछिन हेरौ । मानिस पतन नहुदैको समयमा उसलाई खास मेहनत गर्नु पर्दैनथ्यो । उसलाई बगैचाको हेरचाह गर्ने सामान्य जिम्वेवारी मात्र दिईएको थियो । उ प्रशस्त आशिषमा डुवेको थियो । तर पतन भएपछि कडा मेहनत गर्नुपर्ने भयो । उसको मेहनतले सुख शान्ति वा आशिष आएन तर उल्टै आफ्ना दाजुभाईको हत्या गरेर मानिस ज्याद्रै द्रोही बन्दै गयो । तर पापमा बढ्दै गएको भए पनि आजको मानिसलाई किन त्यो शान्ति र आशिष चाहिएको छ ? 

दियाबलसले आज संसारमा प्रशस्त बहकाउने कुराहरु ल्याएको छ । नरकमा पुरयाउन  लोभ्याउने चिजहरु देखाएर खाऊ खाऊ, जाउ जाउ, लाउ लाउ भनिरहेको छ । मानिसहरु भकाभक खसिरहका छन् । तिनीहरुको हृदय तातो फलामले डामेको जस्तो भएको छ । तिमीले उन्नती प्रगती गर्दैछौ, सफललता पाउँछौ, मान इज्जत धन प्रतिष्ठा पाउँछौ, सुख बिलास पाउँछौ, शान्ति र आनन्द पाउँछौ, खाऊ, जाऊ, मार हेर आदि भनेर दियाबलसले मानिसलाई फसाउँदैछ । उ भन्दछ कि औला बाङ्गगो नगरी कसरी घिउ आउँछ ? दायाँ बाँया नगरी रहर र इच्छाहरु कसरी पुरा गर्न सकिन्छ ? यी खोक्रा सपना मात्र त हुन । 

धिक्कार छ ! दियाबलसको बशमा परेर सबैलाई एउटै भ्वाङ्गमा पुर्न खोज्ने आजको बुद्धिमान  समाजलाई । फल्दै, फुल्दै, बृद्धि हुदै र उन्नती गर्दै जाउ भन्ने परमेश्वरको आज्ञा र इच्छाको छेउटुप्पो नै छैन । कि  आन्द्राभुँडी उधिन्यो भने छिरलिन्छ र गनाउँछ भनेर नानाभाँती भनेर ख्रीश्चियनहरुलाई दुत्कार्न सिकाएका हुन ? रक्तपात अर्थात हत्या परमेश्वरलाई मनै नपर्ने काम हो । तर पनि कति जना तिनैका पछि भक्ति भए र  तिनैलाई शक्ति दिए । अब यस्ता कुरा गरेर के आङ्गको धूलो झार्नू ? नेपाल त खाली ह नै ह कै देश हो की के हो ? हल्ला... हत्या... हतास... हसुर... हडबड.. हानाहान... हानी... ... !    

खीष्टियनहरुले झै परमेश्वरको बचनमा आज्ञाकारी हुदै आपसमा प्रेम, मिलाप, एकता र सहयोगी भएर जिउन सिकेको भए त्यो बबण्डर शायदै हुन्थ्यो । तर यसको पछाडी दियाबलसले ठूलो खेल खेलेको छ, जो परमेश्वरको शत्रु हो । त्यसको उदेश्य नै मानिसलाई असंतुष्टि त्याउनु, दिग्भ्रमित पार्नु, लडाई झगडा ल्याउनु र नास पार्नु हो । यसै कारण येशूले भन्नुभयो, चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ, म त तिनीहरुले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आएँ, यूहन्ना १०ः१० । 

तर उहाँको यस्तो प्रेम र उद्धारको योजनालाई बुझ्ने प्रयास नगरि किन कागको पछि दर्गुछन त मानिसहरु ? किन भुत्ते सस्कारमा खुकुरी हानिरहन्छन् ? सनातनको धर्म भन्नेहरुले बाइबल पढेर बुुझुन् कि सनातन काहाँबाट आएको हो ? सत्य र धर्म के हो र साँचो इश्वर कुन हो । हामी उदार छौ भन्नेहरुले बाइबलबाट सिकुन् उदारता र प्रेममा कस्तो समन्ध छ, अनि उदारता कस्तो हुन्छ र उद्धार भनेको के हो ?

हामी शान्तिप्रिय भन्नेहरुले बाइबलबाट सिकुन् बास्तविक शान्ति काहा कसरी र केबाट पाईन्छ । आजकलका अलिक शिक्षित भन्नेहरुले समाजको जातभात देख्दा लाज लाग्छ भन्छन् । यो त ठिकै हो कि परमेश्वरले चाहाने जातपात, धर्म, सस्कार, बिधिबिधान होइन तर प्रेम शान्ति मिलाप एकता उन्नती आदी हो । उहाँको अगाडी सबै मानिसको मूल्य ज्यादै छ । बराबर छ । भागभाग गर्ने काम त मानिसले गरेको हो । काही नभाको जात्रा हाँडी गाउ नेपालमा नै किन ? 

कति मानिस तर्क गर्छन संसारमा दुई जाति मात्र छन् । यस्तै कुराहरुमा वाक्क लागेर होला जयसंगत भन्नेहरले कुनै थर नलेख्ने रे । नामको पछि स्त्री भए स्त्री र पुरुष भए पुरुष मात्र लेख्ने रे । यसो बिचार गर्दा कुरो ठिकै हो । तर तिनमा घैटामा पनि मोटो बुद्धि भरिएको रहेछ । शायद बाइबल संगत नभएर होला । स्त्री र पुरुष जे भएपनि आखिर मानिस जाति नै हुन् । दुई जातिमै छुट्याउनु परे बरु संसारमा भएका जातिलाई यसरी छुट्याउन उचित होला । पहिलो बिश्वासी (ख्रीष्टियन) जाति अर्को अन्यजाति ।  किनभने एउटा जाति जो अन्तमा स्वर्गको भागिदार हुनेछ भने अर्को नरकको भागिदार हुनेछ । 

सारांसमा के भन्न चाहान्छु भने यो धर्म न कुनै खास देशको न त कुनै बिशेष जातिको धर्म हो । न त कुनै राजनीति वा साम्राज्यवादी नीति हो । यो त स्वर्ग पृथ्वी र आकासमा भएका सबै थोक सृष्टि गर्ने आदि देखिका एकमात्र परमेश्वर, जो अनन्तदेखि जीवित रहनुभएको थियो, अहिले पनि जीवित रुपमा उपस्थित हुनुहुन्छ, अनि अनन्तसम्मै जीवित रहनुहुने परमेश्वरबाट सिध्रै आएको, जीवन र सत्यको बाटो हो । खासमा त यसलाई धर्म भनेर भन्न पनि उचित छैन । धर्मले त मानिसहरुलाई बिधि बिधान र कर्म काण्डहरुमा अल्झाएर राख्छ । अनन्तदेखि नै रहनु भएको परमेश्वर यही धर्म र कर्मरुपी जीवन चक्रमा अल्झिएर साँचो र सत्य मार्गलाई भुलेर वा बिराएर परमेश्वरदेखी टाढा भैरहेका हुनाले संसारको लागि साचो र सत्य बाटो देखाउने ज्योती बनेर येशू मानिसको रुपमा आउनुएको हो । उहाँ आएको करिब दुई हजार बर्ष मात्र भयो भन्ने कुरा पनि ठीक होइन । उहाँको अश्तित्व त आदि देखि नै थियो । 

अनन्त प्रजापति परमेश्वरले सम्पूर्ण संसारका मानिसको पापहरण गर्नको लागि आफै बलिदान हुन र सारा मानिस जाितलाई पापमुक्त गराई अमर जीवन दिन अर्थात सबै धर्म कर्म र जीवनरुपी चक्रबाट सधैका लागि मुक्ति दिन देहधारी अवतार भएर करिव दुई हजार बर्ष पहिले आउनुभएको कुराचाँहि सत्य हो । उहाँमा अजम्वरी अर्थात कहिल्यै नमर्ने गुण छ । त्यसकारण उहाँमा बिश्वास गरेर उहाँको साचो सन्तान बन्ने हरुलाई पनि उहाँले पापमुक्त गराई अजम्वरी जीवन दिनुहुन्छ । धर्म कर्म र बिधि बिधानको आडमा त्यो अजम्वरी जीवन कसैले पनि प्राप्त गर्न सक्दैन । थुप्रै मानिसहरुले यस्तो प्रयास गरे पनि सफल भएका छैनन् । केवल परमेश्वर आफै येशूको रुपमा बलिदान भई मेरो पापलाई क्षमा दिनुहुन्छ र अमर जीवन दिनुहुन्छ भन्ने कुरालाई बिश्वास गरेर मात्र मुक्ति, मोक्ष या अजर अमर जीवन प्राप्त गर्न सकिन्छ । नेपालमा बस्नेलाई नेपाली भने झै ख्रीष्टलाई पछ्याउनेहरुलाई ख्रीष्टियन भनिएको हो । त्यसकारण अहिले संसारमा कि यहि सत्य परमेश्वरलाई बिश्वास गर्ने जाति छन्, कि उहाँलाई बिश्वास गर्न नसकेका अन्यजाति छन । परमेश्वरको राज्यमा कुनै पनि भाषा, धर्म, कुल, बर्ण, उँच नीच जात, देश, धनी, गरिव आदि जस्ता कुनै कुराको अर्थ छैन ।  त्यसैकारण ख्रीष्टियनह यस्ता कुराहरुको पछि लाग्दैनन् र इश्वरीय दृष्टीमा समानताको व्यावहार गर्ने प्रयास गर्दछन् । 
त्यसकारण अब कागले कान लग्यो भन्दैमा कागको पछि दगुर्ने कि पहिला कान छाम्ने ? यसरी खाई न पाई

बाईबलको बिरोध गर्नुभन्दा त यसको समर्थनमा तथ्यहरु खोजे कति जाति हुनेथियो । मानिसहरु बिथ्थामा किन तर्क र कुर्तक गर्दै समय बर्वाद पार्दै अरुहरुलाई दिग्भ्रमित पार्छन ? तर सत्य सधै सत्य हुन्छ । यो घाम जस्तै छ । इतिहासले यसलाई ढाक्न सक्दैन । यो त मानिसको लोभी र अंहकारी स्वभाव नै हो कि खराब काममा छिटो हात हाल्छ तर सत्य र अशल काममा ढिलो । यसको भण्डाफोर हुनुपर्छ । यसको लागि आजबाट नै यसलाई बुझ्नेहरुले शव्दहरुबाटै भएपनि क्रान्ति सुरु गर्नुपर्छ । मेरो इच्छा यही छ । यो पढ्नेको हृदयमा पनि केही न केही क्रान्ती आओस् । ठिकै हो, आउनु पनि पर्छ ।
'मेरा आत्मिकी छालहरू '  निबध तथा  कथा संग्रह  बाट 

-लालु पौडेल । 
मानिसहरु भन्ने गर्छन संसार बिचित्र छ । बिचित्र भन्नाले यो संसार बिभिन्न, बिबिध, थरीथरी, फरक फरक चित्रहरु वा कुराहरुले भरिएको छ भनिएको त होला । त्यसैले संसारमा जे जस्तो कुराको खोजी गरे पनि भेट्टाउन सकिन्छ । तपाईले नपाइने चिजको सूची बनाउनुभयो भने कतिसम्म बन्ला ? शायद नपाइने चिजको मानिससँग नाम नै छैन । पत्तो पाएकै छैन । अनि कसरी नाम थाहा पाएर सूची बनाउँनु हैन त ? 

संसारमा जीवनदेखि मरण, मृत्युदेखि तरण, शरणदेखि हरण, हन्तुुदेखि जन्तु, धनदेखि मन, इश्वरदेखि परमेश्वर सबै कुराहरु छन । डर, घर, खर, मर, थर, भर, गर, चर, दर, पर, बर, छर, तर जस्ता हर कुराहरु संसारमा छन । खोजेर खोजिसाध्य अनि बर्णन गरेर वर्णन गरिसाध्य नै छैन । दिमाख खाने देखि पचाउने सबै कुरा यही छन् । तर एउटा यथार्थ के हो भने यदि मानिससँग जीवन र चेतना छ भने यी सबै थोक छन । जीवन र चेतना छैन भने केही पनि छैन । लोक्रो बोक्रो टोक्रो केही पनि छैन । केही नभएको अवस्थालाई के भन्ने के नभन्ने खै ? न शव्द न बोली न भाषा न भोली, बबुझ्ने शक्ति केही रहदैन । किनभने त्याहा ज्ञान, समझ, विवेक, बुद्धि, प्रकास, चेतना, ध्यान, अन्तरमन, अन्तष्करण केही पनि हुदैन । त्यसो भए के संसार एउटा चेतना मात्रै हो त ? संसारलाई अलिकति उधिनेर हेर्ने कोशिस गरौ ।

उधिन्न त उधिन्ने तर काहाँबाट, कहिले, कसरी, किन, कुनबेला, कुन कुरा, कुन ठाउँमा, केका लागि, कति समय, कसले, कसलाई, कसको अनुमति या कसको आदेशमा उधिन्ने ? बित्यासै पो प¥यो त गााठे याहा त । अब बाइबलको कुरालाई अगाडी ल्याएर उधिनौ भने बाइवल नपढ्नेहरुले यो निबन्धको संसारै ङ्याँकेर हिँड्छन कि भन्ने डर । अबाइबलका कुराहर उधिनौ भने फेरी यो बाइबल मान्ने मुन्छे भएर किन फेरी अबाइबले कुरा लेखेछ भनेर संसारै ङ्ँयाकेर हिड्छन कि भन्ने डर । जाहाँ जाउँ जे गर्न खोजौ संसारमा डरै मात्र आउँदोरहेछ । डर किन आउँछ ? जव भर हुदैन । भर नहुँदा डर आउँछ । भरको लागि कर चाहिन्छ । करको लागि बर चाहिन्छ । बरचाँही परमेश्वरबाट आउँछ । बर पाएको व्यक्तिसँग चेतना हुन्छ । चेतनाले मात्रै मेरो अस्थायी बेतना त संसार रहेछ अनि स्थाई वेतना चाँही स्वर्ग रहेछ भनेर थाहा पाउँछ । 

लौ अब संसारभन्दा माथि फेरी परमेश्वरको अर्कै संसार रहेछ भन्ने कुरा पनि आयो । त्यो संसारलाई पनि अ‍ैले आँखीझ्यालबाट अलिकति चिहाउँला तर अहिले एकछिनलाई यही संसारको लहरो पक्रेर बिस्तार बिस्तार तान्दै जाउँ है त । भन्दछन् लहरो तान्दा पहरो घर्किन्छ । पहरो धर्के पछि ढुंगाको छाती पनि चर्किन्छ । छाती चर्केपछि मन सर्किन्छ । मन सर्केपछि दिल फर्किन्छ । दिल फर्केपछि जीवन लर्किन्छ । जीवन लर्केपछि मात्र संसार सुन्दर बन्दछ । 

भनिन्छ, संसार जीवन हुनेहरुको घर हो । तिनीहरुको आश्रयस्थल हो । शरण, मरण र तरणस्थल हो । सजीवहरुको लागि संसार सजीवै छ । निर्जीवहरुको लागि संसार निर्जीवै छ । यी दुई सजीव र निर्जीव कुराहरु भएको कारण पनि संसार बिचित्र भएको होला । यसको एक छेउको भेउ पाउन पनि यति गाह्रो परेको होला । यो रहस्यहरुले भरिएको, अथाह कुराहरु छरिएको ठाउँ हो । हुन त अहिले चुरिफुरी गर्नेहरुले भन्लान संसार एउटा गाउँ जस्तै भैसक्यो । एकैछिनमा जाहाँ भन्यो त्यही पुगिन्छ । आँखा र मन त पार होला तर तन चाँही कसरी होला ? गोलो भएपनि धोलो भएपनि यो संभव छैन । संसार सानो छैन ठूलो छ । तर नबबुझ्नेलाई त केवल छारो र धूलो छ । वास्ता नराख्नेलाई घर छेउमै नरकतिर जाने ठूलै नहर कुलो पनि छ । 

एकछिन माया गर्नेहरुको संसारको कुरा गरौ । कसैले आफुँले मन परेको माया पायो भने मेरो संसार तिमी नै हौ भन्छ । आफुँलाई सानो ठान्छ । अनि पाएन भने मेरो संसारै खत्तम भो भन्छ । बाँच्नै मन छैन भन्छ । यही संसारको मायाले कति हिरो बनेका छन भने कति जिरो । संसारमा अचम्म र उपद्रका काम भएका छन । ताजमहल र राजमहल बनेका छन । कतिले अरुलाई नास्ने र आफूँ मात्र हास्ने प्रयास पनि गरेका छन । त्यसको लागि लोभ्याउने चारो पनि छरेका छन । अनि जर्वजस्ती आफ्नो भकारी भरेका छन । मान्छेले े आफ्नोइच्ँछा पूरा गर्न संसारमा के के गरेको छ के के भनिसाध्य छैन ।  

संसार सर्वश्रेष्ठ छ किनभने संसारमा सर्वश्रेष्ठ प्राणी बस्छन रे । याहाँ थरिथरिका मानिसहरु र यिनीहरुको चालचलन देख्न सकिन्छ । नायकदेखि खलनायक, गाएकदेखि धाएक, लाएक देखि परिचायक, शिक्षा देखि दीाक्षा, बकम्फुसे नेता देखि फेता बाँध्ने अध्यता, मान देखि अपमान, माया देखि छाँया, जालन्धरे, पिलन्धरे देखि खैरे, गोफ्ले, काले, जगल्टे, टङ्गारे, लङ्घारे, च्यान्टे, भ्यान्टे, ग्यान्टे अनि मरन्च्याँसे देखि बाउन्न बीर र त्रिपन तीर यही नै छन । बिचित्र छ । अनि याहा सेल, मेल, जेल, हेल, फेल, ठेल जस्ता अनेकौ खेलहरु पनि छन । कहिले जेल र कहिले मेलको लागि तेल निकाल्ने खेल यही संसारमा खेलिदोरहेछ । अनि संसारमा अनेकौ झेलहरुमा मानिस झेलिँदोहरेछ । आँधी बेहेरी, हुरी बतास र भुवँरीमा पेलिदोरहेछ । अर्कातिर धन, पैसा, बल, बुद्धि, सुन्दर सुन्दरी भई टोपल्नेहरु सुख सयल मोज मजा र आनन्दको लागि यो संसारमा मनलागि छेलिदोरहेछ । 

जल्ने मानिसहरु जल्दै गरुन । बल्नेहरु बल्दै गरुन । दीन दुखीहरुको लागि पनि कतै आश होला । यो संसारमा रहेसम्म कतै बास होला । तर संसारै रहेन भने यी थोकहरुको खास के होला ? कसैलाई यस बारेमा सोच बिचार गरिरहने फुर्सद छैन । जाहाँ जाउँ मन लागेको चिज पाउँ भन्छ । आफ्नो स्वार्थी इच्छा पुरा गर्न आफ्नआमा बाबुलाई पनि बेचिदिनछ । यस्तै हुनुपर्ने होला त यो संसारको सर्वश्रेष्ठ प्राणीको हालचाल ?

एक तुर्को महको लोभमा याहा मन मुटु माया र आफनै नाँउ पनि बेचिन्छ । तर अचम्म छ संसारमा जसलाई जे चाहिए पनि छेलोखेलो पुगेकै छ । छेलोखेलो नपुग्नेहरुको मुटु दुखेकै छ । अन्तर बेदना र पीरहरु लुकेकै छ । काग कराउँदै गरोस, पीना सुकेकै छ । कुकुर भुकेकै छ । फ्याउँरो, स्याल ढुकेकै छ । सिंह ओढारमा लुकेकै छ । शिकारी पनि चुकेकै छ । खेल्नेले बलमा हावा फुकेकै छ । घोट्नेले घोटेकै छ । ठोक्नेले ठोकेकै छ । तोक्नेले तोकेकै छ । बोक्नेले बोकेकै छ । सबै कुरा चल्दैछ निरन्तर उस्तै र सधैं झैं सधै जस्तै । तर यो काहाँ र कहिले सम्म होला भनेर कतै कसैले सोचेको छ कि छैन कुन्नी ? संसार आआफैमा यसै यसै व्यस्त अनि मस्त छ । 

यो संसारमा अनेक थोक हुँदोरहेछ । जसको शक्ति उसको भक्ति यही चन्छ । सर्प देख्दा पाखामा हात माछा देख्दा कुरमा हात गर्नेहरु यहीँ छन । नमच्चिने पिङ्ले सय झट्का पनि हान्छ । एउटाले बिराउने र शाखा पिराउनेहरु पनि यहीँ छन । कसैलाई काखा कसैलाई पाखा यहीँ हुन्छ । बाख्रीको पुच्छर काटे बोकालाई सजिको भन्नेहरु पनि छदैछन् । बाह्र बर्ष ढुंग्राका हाल्दा पनि पुछर नसोझिने कुकुरहरु पनि यही छन । सित्तैमा पाए अलकत्र खाने पनि यही छन । कानमा तेल हालेर कोकलेले मकै खादै गरोस भन्ने पनि यही मान्छेको जात हो । औलो दिदा हातै निल्ने देखि अर्काको भलोमा भतभती जल्नेहरु पनि यही छन । तिललाई पाहाड बनाउने देखि मूसो पोल्न घर जलाउनेहरु पनि यही छन । बाघको छाला ओढेर स्यालहरुले पनि तसार्एउन खोज्ने अनि पाहुना बनेर दूधभात रोज्नेहरु पनि यही छन । धेरै कति खोतल्नु ? खोतल्दै गयो भने आफै आएको ठाउँ पनि देखिन्छ भन्छन । कति आङ् कन्याउँदै धूलो झार्दै गर्नु ? पाप गरेर उन्नती गर्नेहरुलाई यस संसारमा धाप मारिन्छ तर आफ्नो हलो जोतेर आफ़नै मानो खानेहरुलाई रयाफरुयाफ  पारिन्छ । यसै गरि फनफनी गुडिरहेछ यो संसार । 

संसार क्षणिक छ भन्छन । तर संसार क्षणिक होइन, संसारमा रहने हाम्रो जीवनचाँहि क्षणिक छ । अबको बीस तिस बर्षपछि हेर्नुहोस त के हुन्छ ? नयाँ जवान पुस्ताहरुको हूल हामीले देख्नेछौ । हामी पनि कुप्री पर्दैै लठ्ठी टेक्दै धमिलो आखाले मृत्यु पर्खदै गरेका हुनेछौ । हाम्रा अग्रज बाचिँहालेछन भने पनि औंलामा गन्न मिल्ने मात्र बाँकी रहनेछन । अब हामीबाट अरुले के आशा राख्ने ? बरु अब त हामीले नयाँहरुबाट पो आशा राख्नु पर्ला । उनीहरुले संझन योग्य केही काम गरियो भने त हाम्रो स्मृति संसारमा केही समय रहला । तर यो पनि मेटिजान सक्छ । त्यसो भए कहिल्यै नमेटिने चिज के होला त ? के यो संसार मात्र हो ? 

धेरैले भन्दछन संसार हाम्रो घर हो । तर धेरै जनालाई यो संसार सधैभरी रहिरहन्छ कि रहदैन भनेर चाही निश्चित थाहा छैन । किनभने मानिस प्राय खोक्रा दर्शन र बिचारधाराहरुमै अल्झिरहेका छन । एकछिन बिचार गरौ, यो संसार काहाँबाट आयो होला वा कसैले बनायो होला कि आफै बन्यो होला त ? हेर्नुहोस त संसारबाट उक्लने वा ओर्लने कुनै बाटो देखिदैन । धेरै समय पछि यो संसार हिँउ असिना पग्ले झै पग्लिएर जाने हो कि वा हावा झै बिलाईजाने पो हो कि ? न त नष्ट नै नभै सधैभरि यस्तै रहिरहने हो ? कसले राम्रोसँग जान्या छ र यस्ता कुरा ? 

मानिसहरु यो ससारमा सधैभरी अश्तित्वमा रहिरहलान् कि यो ससारको हावापानी मौसम वातावरण बिग्रेर मानिसै मेटिएलान् ? या त मानिसले तँ तँ र म म भन्दा भन्दै थाहै नपाउने गरी कुनै तारा ग्रह या उल्का बजारिएर संसार धूलोपीठो पो बन्ने हो कि ? न गुरुत्वशक्तिको संतुलन बिग्रेर सूर्यतिर हुँइकिएर खरानी पो बन्ने हो, न अनन्ततिर अनन्तसम्मै सुईकिएर चिसैचिसोले मानिस सोत्तरै पो बन्ने हो ? या त कोही सन्कीले हाईड्रोजन र परमाणु बमको बटन थिचिदिएर संसारै मरुभूमी पारिदिने हो ? ए आम्मै यो संसार त ज्यादै डरलाग्दो पनि पो छ त । सधै डरै डर र काहालिलाग्दो परिस्थितिमा बाँचिरहनु पर्ने  । के यो संसारमा कुनै डर र भय रहित अवस्था छ त ? डर र भयबाट उम्कने कुनै उपाए छ ? छ भने काहाँ छ भनिदिनोस । कसरी बाच्न सकिन्छ ढुक्क र शान्तिसँग ? आनन्द  र शान्ति नै नभएको संसार नत्र किन बन्यो वा बनाईयो होला त ? अलिकति यस्ता कुराहरुलाई बिचार गर्यौ भने चाँही संसारबाट आनन्द शान्ति र अनन्त मुक्ति नपाईने कुरै छैन । तर संसारलाई चिन्नु र बबुझ्नुपर्छ ।

वास्तवमा भन्ने हो भने संसार एउटा खास समय हो । यो समयको चक्रमा घुमिरहन्छ । यसलाई कसैले नियन्त्रण गरेको छ भनेर बिश्वास नगरि मान्छेलाई धरै छैन । यसलाई बनाउने र नियन्त्रण गर्ने कुनै माहाशक्ति वा माहाज्ञानी कोही छ भने त्यो परमेश्वर नै हुनुहुन्छ । यसमा सुष्टि भएका यावत थोक र प्राणीले उहाँकै ज्ञान बुद्धि र कलाको प्रर्दशन गर्दछन । मानिसको सृष्टि अथवा शरीरको रचना त भूमीको माटोबाट भयो । त्यस रचनामा परमेश्वरले े आफ्नोश्वास हालिदिएपछि मात्र ऊ जीवित प्राणी भई कहलियो, उत्पती २ः७ । मानिसमा परमेश्वरको स्वरुपको एउटा गुण विवेक थियो, उत्पती १ः३७ । तर उसको शरीरको अन्त पनि माटोमा पुगेर हुन्छ, उत्पती ३ः१९, हितो ५ः१५ । परमेश्वरले मानिसलाई उसका सबै इच्छाहरुमाथि नियन्त्रण गरेर चलाउने रोवोट जस्तो बनाउनुभएन । उसलाई आफनै इच्छामा संसारमाथि अधिकार गर्ने सामथ्र्य दिनुभएको थियो । तर उसको हृदयको हरेक बिचार भावना निरन्तर खरावै मात्र हुदै गइरह्यो । परमेश्वर आफ्नसुष्ट्रिकर्तालाई बिर्सने र वास्ता नगर्ने मानिस जाति अन्तत प्रलयमा पर्न गयो । किनकि ज्ञानी र विवेकी भएर पनि उसले सृष्टि गरिनुको प्रयोजनलाई ध्यान दिएन, वास्ता गरेन, यसैया ४३ः७ । यही खरावै र पापी स्वभावको कारण उत्तम संसारको अवस्था बिग्रेर अहिले खरावभन्दा खराव हुदै गइरहेको छ । अनि एकदिन यो संसारको पनि अन्त्य हुनेछ अनि यो अन्त्य दुखद प्रकारले हुनेछ । 

मानिसको संसार त एकैछिन देखा परेर हराईहाल्ने बाफ जस्तै त हो, याकुव ४ः१४ । तर परमेश्वरको संसार अर्थात स्वर्ग त कहिल्यै नासिँने छैन । मानिस आफु आफ्नो विवेकको बाटोमा हिँड्दा त्यो सोझो देखिएता पनि अन्तमा त्यसले मृत्युमा पुर्याउँने हुन्छ, हितोपदेश १४ः१२ । अल्फा र ओमेगा, सुरु र अन्त्य, पहिलो र पछिल्लो उहाँ परमेश्वर नै हुनुहुन्छ । त्यसकारण यो संसार र ब्रम्हाण्ड बनाउनुहुने परमेश्वरले नै यसको आदि र अन्त्य जान्नुहुन्छ, प्रकास २२ः१३, यसैया ४२ः५, ४५ः५८ । जान्ने मात्र होइन यसलाई नियन्त्रण गर्ने, रेखदेख गर्ने र अन्त्य गर्ने अधिकार पनि उहाँमा नै छ । के तपाईले बनाउनुभएको घरमा तपाईंको अधिकार हुदैन न र ? त्यसकारण मानिस लगाएत यो संसार र यावत थोक उहाँ द्धारै उहाँकै उदेश्यको निम्ति बनिएका र उहाँकै इच्छा वा योजना अनुसार रहने वा अन्त्य हुने कुरा हो भनेर नमानी हामीलाई कुनै सुखै छैन, यसैया ४०ः२८ । यसलाई नबबुझ्नेहरु मूर्ख हुन । तिनीहरु अनन्त कष्टको लागि तयार भएका छन । संसारमथि उहाँले स्थापित गर्नुभएको नियमलाई अनुकरण गर्नु नै मानिसको लागि उचित हुनेछ । आफैमा अभिमान गर्ने हो भने त बिनास मात्र त्याउँछ । 

अब अन्तमा संसारका सबैभन्दा बुद्धिमान भनिएका एक व्यक्ति सुलेमानको अनुभवलाई बिचार गरौ र यस संसारमा उनकै निचोडमा जिउने प्रयास गरौ । माथि भनिएका सबै कुराहरु र यी बुद्धिमान राजाको निक्र्योललाई बिचार गरौ । सबै मानिसको लागि यो संसारमा यहि नै उत्तम हुनेछ भन्ने मेरो पनि निश्चय छ । 

“मैले आफ्नो मनमा बिचार गरे “आऊ, असल कुरोचाँहि के हो भनी पत्ता लाउन म सुखबिलाससित तिम्रो जाचँ गर्नेछु ।” तर त्यो पनि व्यर्थै रहेछ भनी प्रमाणित भयो । मैले भने हाँसो मूर्खता हो । अनि सुख बिलासले के फाइदा गर्छ ? दाखमद्य पिएर तथा मूर्खतालाई अँगालेर मैले आफैलाई प्रफुल्ल तुल्याउन कोशिस गरे मेरो मनले अझै मलाई बुद्धिद्धारा डो¥याउँदै थियो । आकासमुनि यस छोटो जीवनमा मानिसहरुका निम्ति असल काम के हो सो जान्न मैले इच्छा गरें । 

मैले ठूला योजनाहरु थाले । मैले मेरो निम्ति घरहरु बनाएँ । मैले दाखको खेत स्थापना गरें । मैले बगैचाहरु र उद्यानहरु बनाएँ र तिनमा सवै प्रकारका फलफुलका रुखहरु रोपें । लहलह बढ्दै गरेका वृक्षहरुका उद्यानहरुलाई सिँचाइ गर्न मैले पानीका ठूला ठूला जलाशयहरु बनाएँ । मैले कमारा कमारीहरु किनें र मेरो घरमा जन्मेका अरु कमारा कमारीहरु पनि थिए । अघि यरुशलेममा हुने अरु कुनैका पनि मेरोभन्दा धेरै गाईबस्तुका बथान र भेंडाबाख्राहरुका बगाल थिएनन । मैले मेरो निम्ति सुन र चाँदी तथा राजाहरु र देश देशबाट धन सम्पत्ती थुपारें । मैले गायक र गायिकाहरु र एउटा स्त्रीगृह पनि मानिसको मनोरञ्जनको लागि प्राप्त गरें । यरुशलेममा मेरो अघिका सबैभन्दा म धेरै माहान भएँ यी सवमा मेरो बुद्धि मसँगै थियो । 

मेरो आँखाले अभिलाषा गरेको केही प्राप्त गर्न मैले आफैलाई इन्कार गरिनँ । मेरा सारा कामहरुमा मेरो हृदय आनन्दित भयो, र यो चाँहि मेरो सबै परिश्रममो फल थियो । तापनि मेरा हातहरुले गरेका सबै कार्यहरु र प्राप्त गर्नलाई मैले गरेका परिश्रम गरेका सबै कुरा जव मैले निरीक्षण गरें, तव प्रत्यक कुरा व्यर्थ थियो । बतासलाई खेदेको जस्तो मात्र रहेछ  सूर्यमुनि केही उपलव्धी रहेन, उपदेशक २ः१–११ । 

अब सबै कुरा सुनिएका छन, कुराको निष्कर्ष यही हो । परमेश्वरको भय राख र उहाँँका आज्ञाहरु पालन गर । किनभने मानिसले गर्नुपर्ने सारा कर्तव्य यही नै हो । किनकी हामीले गरेको हरेक काम असल होस या खराव होस्, प्रत्यक गुप्त कुरासमेत सबैको न्याय परमेश्वरले गर्नुहुनेछ, उपदेशक १२ः१३, १४ । 

संसार त परमेश्वरको बचनद्धारा सृष्टि भयो । यसको अन्त्य पनि लेखिएको बचन अनुसार हुने नै छ । मानिसका सारा कल्पना, बिचार वा दर्शनहरु व्यर्थ छन । यसको बारेमा चिन्ता गरेर केही फाईदा छैन । बरु आत्मिक संसारको चिन्ता गरौ । संसारको शारीरिक बासस्थानको र वातावरणको चिन्ता गरौ ।  हामीले अब संसारको केही सत्यतालाई हामीले बुझेका छौ । यसलाई हेक्का राख्दै जीउने कोशिश गर्यौ भने मात्र संसार बास्तविक संसार जस्तो हुन सक्ला । नत्रता संसार बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बीँड भने जस्तै हुनेछ । नबुझ्नेहरुलाई त नरकको दुर्गन्धले पनि घेर्नेछ । विवेकमा चेतना भया ।
'मेरा आत्मिकी छालहरू '  निबध तथा  कथा संग्रह  बाट  |

Older Posts Home

======Popular Posts======

  • हिन्दु धर्मशास्त्रमा पाप, मुक्ति र येशू !
    By: Lalu Poudel |   आदरणीय दर्शक तथा श्रोताबृन्, यहाहरु सबैलाई ख्रीष्टिय अभिवादन जयमसिह भन्दै आजको बिषेश बिषयको लागि स्वागत गर्न चाहान्छु...
  • अन्तिम पलहरु- भजन गीत नं ११२-१३४ सम्म
    -लालु पौडेल  |  यस 'अन्तिम पलहरु' भजन पुस्तकमा समावेस भएका भजनहरु कपिराइट भएको हुनाले कुनै पनि भजन, भजनको खण्ड वा अंशलाई बिना अनुमत...
  • That lonely Street ( English Poem)
    That lonely Street  -the street of Dogs . When it becomes night… Forsaken, Driven out and bully; And uninhabited and skinny dogs ...
  • दशैमा टीका लगाउने मन्त्रको अर्थ- येशूमा यसरी पूरा हुन्छ आशीष।
    By : Lalu Poudel |   आज हामी हिन्दुहरुले दसैमा टीका लगाउदा जुन मन्त्र उचारण गर्छन यो मन्त्रको अर्थलाई हेर्नेछौ । त्यो मन्त्रमा कामना गरिएको ...
  • चित्त चिन्तन (ज्यादै रमाइलो निबन्ध)
    - लालु पौडेल ।   मानिसहरु भन्ने गर्छन्, मान्छेको चित्त त माखाको पित्त जत्रो हुन्छ रे । अब यो मान्छेको चित्त माखाको पित्त जत्रो हुन्छ भने...
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Lalu Paudel