बोझ (मर्मस्पर्सी कथा) !
अब म यो घरको बोझ बनेर एकछिन पनि बस्न सक्दिन बुझ्यौ ? कोकलेकी स्वास्नी च्याखुरी यसरी नच्याठिएको दिनै हुन्थेन ।
जा न त जा नबस यो घरमा, मेरो पनि भुत्लो खोसिन्न सुनिस ? कोकलेले पनि जस्तालाई तस्तै जवाफ दिइहाल्थ्यो ।
हैन ए हाम्लाई पनि कैलेकाइृँ त आनन्दसँग सुत्न द्याओ नै गाँठे, फेरी छिमेकी घरको बार्दली तिरबाट ग्वाँग ग्वाँग कसैको आवाज आउथ्यो ।
डाँग्रेको च्यार च्यार र कागको काका बरु छिट्टै सकिदो हो, कोकले र च्याखुरीको चर्काचकी रात बिहान एकतारै सुनिन्थ्यो । च्याखुरीले बिहे गरेर जव च्याँच्याँ गर्ने सारंगी भिर्न थाली, तव त्यो घरमा गाग्रा र बाल्टीनको जतन कहिल्यै भएन । भान्सामा सद्धे भाडाँ नै थिएनन । तर यनतेन त्यो घरमा निर्बाह चलिरहेको थियो ।
आज त यो बूढोलाई नठिँग्राई भएन, दुई चार दिन मात्रै माईत हिँडू न, नाकको चाल लाएर मलाई लिन आउनु नपरे त । तर जाने पो काहाँ ? माईतीमा जाउँ आफ्नी आमा छैनन, बुहारी चोथाले छे । बाउलाई सौतेनी आमाकै गुनियो पियारो छ । साथीको घर तिर जाउँ बूढालाई रिझाउन नसकेर आकी भन्लान । भुत्रैसिति भूपूलाई लैजा न भनुँ भने पैला पो राम्रै थिइस र माया लाउँ भनेको हो, अब तँ थोत्रीको के काम भनेर लघार्ला । पैला नै म राँडीको बुद्धि पुगेन । के गर्ने ? बरु त्यसैले जाउँ भन्ने बेलामा गएको भए त अैले यो दुई छाक जोरेर प्रान जोगाउन यो दिनरातकै रन्थमाईलो गरी हड्डी घोट्नु त पर्ने थिएन । फेरी यो कोकले वज्याको ज्यान देखेर त्यसै त्यसै माया लागेर आयो । आ जे होला होला भनेर आँटेको, अैले यी इत्रो न भूत्रो बनाईदियो । अँ साची गाँउमा मावली तिरकी हजुरी त छिन नी, दुई साता जति त्यतै गएर बस्न पाए नि हुन्थ्थो नि त । बरु जाने पो कसरी होला त ? जिपभाडा तिर्नलाई सुको कौडी पनि छैन । तर यसपाली त यो कोकलेको झाँको नझारी भाछैन । अब हिँडेरै जाउँ भने पनि बाटो लामै छ । कैँडा लागेर कमजोरीले हिँड्नै पनि गाह्रो हुन्छ । आ जे होला होला म जान्छु जान्छु.. यस्तो सोच्दा सोच्दै च्याखुरी भुसुक्कै भईछ ।
बिहान भालेले डाँको छाड्यो । च्याखुरी लुसुक्क उठी अनि अनि दुई तिन जोर टालाटुलीलाई पोको पारेर काखी च्यापी कुलेलम ठोकी । घरदेखि अलि बेर पर हिँेडेपछि गाँउतिर जाने गाडी पाईन्थो । त्याहा पुग्दा उज्यालो भैसकेको थियो । लौ अब कसो गर्ने होला त । बिहानको शितलो घाममा त एकछिन हिँडुला तर मध्य घाममा ता गाह्रै हुने होला । बाटो लामै छ । सबै जना पैसा हुनेहरु गाडीमा जान्छन । म एक्लै लुरुलुरु कसरी हिँड्नु ? आपतै प¥यो भनेर कसैसँग भाडा मात्रै माग्न पाए पनि हन्थ्यो । च्याखुरी यसरी नै छटपटिदै थिई ।
छिमेकीको घरतिर टट्याङ्ग टुटुङ्ग र च्याँच्याँ चुँचुँ आवाज आउन थालेको थियो । तर छ्याङ्गै उज्यालो भैसक्दा पनि कोकलेको घरमा भने सधैजस्तो कुनै च्याँउझ्याँउ थिएन । उसले यसो ओछ्यान छाम्यो च्याखुरी त उठिसकेकी रहिछे । तर घरमा केहीपनि च्याँउझ्याँउ नसुन्दा च्याखुरी माईत हिँडिसकिछ भन्ने लख काट्यो । अनि उसले जर्फराउदै उठेर भित्र बाहिर चारैतिर हेर्यो । तर कतै पनि उसलाई देखेन । हैन यो च्याखुरी ता बौलाइछ कि क्या हो ? आ जा सुकै मुन्टोस, कोकले भुतभुताउन थाल्यो । आफुँ ता अझै मजाले सुतिन्छ । के गर्ने ? त्यो भए त बिहानै यसो च्या को तातो पनि दिन्थी । कोकले ओछ्यानमा छटपटाउदै सोच्न थाल्यो । हैन यो बोलाही कता पो गईछ त हँ ?
घाम टाउको माथि आउन लागेको थियो । कोकलेको पेटमा भुतभुती खेल्न थाल्यो । राँडी साच्चै पो भागिछ कि क्या हो त ? खै भातसात पकाउन छोडेको पनि कति बर्ष भैसक्यो । चुलो छुनै मन लाग्दैन । लुगा मिच्न पनि मन लाग्दैन । खुव दम दिन्छु भनी होली, हेरुँला म पनि दुई दिनमै बूढो संझेर आइनछे भने । तर के हो के हो है सिगं हुने गोरु र आइमाईको कुनै भर हुदैन भन्छन । आ जे पर्ला पर्ला, अब यसो गुन्द्रुकको झोल उमालेर भए पनि एक गास ढिडो त खानै पर्यो, भन्दै उ भित्रको धन्दामा लाग्यो ।
जेनतेन भान्सा तयार गरेर कोकले जव कोकले भागा बस्न लागेको थियो । तव बाहिर आँगन तिर पट्या पट्या चच्पलको आवाज पड्कन थाल्यो । घाँटी तानेर उसले यसो बािहर हेर्यो, आमै ! च्याखुरी पो रहिछे ।
उ फर्केर आईछ नि आखिरी, त्यसै मुख खोकले जस्तो सजिलो छ र घर छोडि भाग्नलाई ? जति प्याचप्याचे भए पनि माया त लाग्लो रैछ नि । बूढोले एक्लै घरभित्र बाहिर हेर्ला भनेर होली ... कोकलेले भनभित्र गुन्दै बिचा¥यो । पाकेको चिज खाइओरी कोकले हात चुठ्न बाहिरियो । च्याखुरी भने पिढींको छपनीमा आसन थेचारेर खामोमा अडेसि मारेर झोक्राउँदै थिई ।
अनि बिहानभरी काँहा मुन्टेर आईयो त च्याखुरी मैसाप ? खूब माईत जान्छु भनेर धम्की दिन्थिस त ? गएर पनि आईपुगियो ?
च्याखुरी केहि पनि बोलिन । कोकले फतफताउँदै थियो । एकछिन पनि च्याखुरी घरभित्र छिरेर ताउलो ताप्के हेर्न थाली । आज त कसो भएर यति ढिडों र झोल भए पनि पकाएको रहेछ भन्दै सोधी तपाईले खानुभो ?
सधैं जर्कने च्याखुरी आज राम्रोसँग बोलेको देखेर कोकलेले सोच्यो, हैन आज एक्कासी च्याखुरीको पारो कसरी घटेछ ? कोकले पनि चुपै लागेको देखेर च्याखुरीले मनमनै बिर्चान थाली । बिहे नगर्दै त यो मान्छे राम्रै थियो । घरीघरी मेरो घरमा आउथ्यो । केहि मीठो चोखो खानेकुरा पाए पनि मलाई दिन्थ्यो । कैलेकाही साथीभाइहरुसगँ जाँडपानी खाँदा मात्तिए पनि खासै नराम्रो चैँ थिएन । तर किन हो खै बिहे नगर्दा त्यति मरिहत्ते गर्ने यो मान्छे बिहे पछि यस्तो भाको । कचकच नगरेको त दिनै हुदैन । झन झन बिग्रदै गाको छ गाको छ । हैन कतै यसलाई भूतप्रेत त लाको छैन ? शंकै लाग्छ । यत्तिकैमा कोकले े आफ्नो काम तिर गयो । च्याखुरी पनि यताउता गर्न लागि ।
कोकले काँधमा बन्चरो हालेर जंगलतिर सोझिदै थियो । कोकलेको मनमा पनि कुरा खेल्न थाल्यो । यो च्यारच्यारेलाई के भएछ ? आज ता चुईक्क पनि बोलिन त । म माईत गएर बसें भने त दुई हातले सोरेर खालास नि भन्थी । धम्की दिन्थी । फेरी आज के भएर सुई झरेछ ? मान्छे हेर्दा गाँठीकी भए पनि काजु छ भन्थे । फ¥याकफुरुक गर्दै हास्थी, बोल्थी । जसले गिज्याए पनि दाँत देखाएर पचाईदिन्थी । केटी हेर्दा ठिकै थिई । साथीहरुले पनि लैजा कोकले लैजा, च्याट्टै परेकी छे, मिल्छ भने । आ लौ आँटिदिउन त भनेर भगाई ल्याएको थिए । सोझी र मायालाग्दी थिई । तर अैले खै कसरी जर्काउली भएर बिग्री कुन्नी ? कसैले यसको कानमा बतास ता फुकेन ? केटाकेटीलाई सुद्धा बिगार्ने भई ।
बेलुका कोकले घर आउँदा च्याखुरीले खान च्याट्टै पारेर राखेकी थिई । के कामले कता जानु भाथ्थो होला, भोक लागिसक्यो होला भनेर एकछिन थ्याच्च बस्न नपाउदै खाना खान बोलाई । एकछिन खाना खाइरहेको हेरेर मौनतालाई चिर्दै उसले सोधी, आज काहा जानुभएको थियो त ?
जाँ गएपनि तलाई के चाहियो ? कोकलेके झ्वास्स रिसको अगुल्टो झोस्यो ।
झन राम्रो मुखले सोधिराछु, जर्किन पो खोज्छ भन्दै च्याखुरी चपै लागि । तर कोकले अझै थपियो । आज बिहानै देखि तेरो चाला ठिक छैन बुझिस ? कसले तेरो कान भरेको छ, चाल पाउलिस् भन्दै लप्यालुपु खाएर उठ्यो । त्यो दिन उनीहरुको धेरै ठाकठुक भएन । यसरी नै निकै दिन बितिसकेको थियो । छिमेकीहरुले पनि धेरै दोहोरी सुनेका थिएनन । तर किन हो भन्ने मेलो चाँहि पाएका थिएनन । कोकले पनि च्याखुरीको मुख सुकेको देखेर छक्कै परिरहेको थियो । एक दिन उसको छिमेकी बले आएर उ सँग निकै निधिखुदी ग¥यो । च्याखुरीको मुख किन सुकेको हो पत्ता लगाउनुपर्छ भनेर निकै टेको हाल्न थाल्यो । कोलकेलाई पनि उसको चालामालामा शंका पसिसकेको थियो । त्यसैले उसले बलेलाई भन्यो, आज यसलाई म नबकाई छोड्दिन ।
बेलुका खाना खाएर कोकले ओछ्यानमा टल्कदै थियो घर साफी घन्दा सकेर च्याखुरी पनि भित्र पसी । ऊ भित्र पस्ने बित्तिकै कोकलेले बलेको कुरा ठ्याक्कै संझ्यो र झोकिहाल्यो, हैन ए तेरो पारा के हो ? गाउँलेले कुरा काट्न लागिसके । के गर्ने बिचार छ हँ ? भन, आज मलाई दूधको दूध पानीको पानी चाहिन्छ, सुनिस् ?
किन त्यसरी हवा्त्तै रिसाउनुहुन्छ तपाई ? नरिसाई सोधे नि भन्थे । तपाईं अब सधै यसरी रिसाउनुहुन्न भने एउटा कुरा भन्छु, मान्नुहुन्छ ?
लौ अब अर्ती दिन थाल्ने पनि भईस ? कोकले कुल्र्यो ।
तपाईं त्यसै जर्कनुहुन्छ, झनै आजकल त बोल्नै मन लाग्दैन ।
ए, सिधा औलाले घिउ नआउने भो हैन त ? कोकलेले अचानक च्याखुरीलाई भुत्ल्याउन थाल्यो ।
दारुपानी नखादानी के त्यस्तो मातेको होला, खै छड्नोस् म भन्छु । च्चाखुरी त्यसै पनि पग्लदै थिई । तव कोकले अलि पर स¥यो । अनि च्याखुरी बक्न लागी ।
जे परे पनि अल्लि महिना त म फर्केर पनि आउन्न भनेर त्यो दिन म घरबाट हिँडेकी थिए । तर गाँउमा जाने बाटोमा मेरो एकजना मान्छेसँग भेट भयो । त्यसले मलाईं धेरै संझाई बुझाई ग¥यो, अनि मेरो मन पनि पलाएर आयो, घर लथालिङ्ग पारेर म हिँड्न सकिन र फर्केर आए । उसको कुरा मलाई सुनिरहुँ जस्तो लाग्यो । उसको कुराले केही हुन्छ कि भनेर आशा पनि लायो । रिस र झगडा गर्नु हुदैन । यसले त घरलाई बिगार्ने काम मात्र गर्छ रे । एउटा आगो भए पनि अर्को पानी हुनु पर्छ रे । श्रीमान श्रीमती माया गरेर बस्नुपर्छ अनि बिस्तारै सबै ठीक हुदै जान्छ रे । अनि मलाई हाम्रो घर संझेर त लाज लागेर आयो । हामी जस्ता दुखी गरीवलाई माया गर्ने एउटा येसु भन्ने ईश्वर छन रे । उनी नै मान्छे र सबै थोक बनाउने इश्वर हुन रे । तर मान्छे चै सवै हामी जस्तै रिस झगडा गरेर पाप मात्र गरिरहरन्छन रे । तर उनी त ती पापीलाई पनि माया गरेर क्षमा गरेर तार्छन रे । तिनलाई बिश्वास ग¥यो भने संसार तर्न दान धर्म पूजापाठ केही पनि गर्न पर्दैन रे । मनबाटै बिश्वास ग¥यो भने सवैको जीवनमा शान्ति आनन्द आउँछ रे । रोग बिमार पनि निको हुन सक्छ रे ! भनेर अचम्मको कुराहरु गरे । तर मैले त त्यस्तो इश्वर पनि होला र भनेर पत्याईन । तर तिनले यो कुरा एकदम साचों र सत्य हो, तपाईं र घरकाले पनि बिश्वास गरे सबैलाई राम्रो हुन्छ । मुक्ति पनि पाईन्छ भनेर बिहानभरि कति कति कुरा गरे । अनि मलाई पनि तिनले भनेको कुरा राम्रै लाग्यो । मेरो बिमार पनि ठीक होला तिम्रो जाँड खाने बानी पनि हराउला, दिनरातको झगडा नहोला, घरमा शान्ति होला भनेर आशा पनि लाग्यो । मलाई त्यसरी झगडा गरेर छुट्टिनु हुदैन भनेर धेरै संझाए । म पनि के गरुँ गरुँ भए । आखिरी घरै फर्केर आँए । हामी बजार जाँदा नुन तेल गर्ने दोकानको अनि पर चच् छ रे । जानेबेलामा त्यता आउनु पनि भनेका छन । उनी पनि साथीसँग यतै हाम्रो गाँउतिर आउने भनेर आका रे त.... ।
च्याखुरी यसरी बोल्दा बोल्दै कोकले बिचैमा पड्क्यो, लौ, लौ कुरो पक्कै त भैगो, अब अरु के खोज्पनु परयो । यो ता गाईखाने मान्छेसँग पो सल्केकी रैछ । आफ्ना बाउबाजे पित्रृलाई छोडेर हुने नहुने कुरा गर्छे । उम्लिछ राँढ त नराम्रो गरि पा उम्लिछ । निस्कहाल त तँ यो घरबाट । अब तैले मलाई छुन पनि पाउन्नस् बुझिस् ? कि तेरो थुतुन बन्द गर समाजको नियममा चल, नत्र जाँ जाने हो, जोसँग लठारिन मन लाग्छ उतै जा...भन्दै कोकलेले च्याखुरीलाई खाटबाट तानेर भूँइमा लछा¥यो र लात्ताले ड्याम्म ड्याम्म बजा¥यो अनि घङ्रङ्ग दैलो उधारेर छिमेकी बलेको घरतिर दौड्यो । बलेलाई लिएर आएर आगँनबाटै चर्कन थाल्यो । तँ राँड अब मुन्टेर गइहाल । अैले सम्म त मेरै बूढी भनेर पालेथँे, साँप पो रैछे । हाय अब यो फुटेको टाउको अब कसरी देखाउनु ! एकछिन बौलाएर कोकले बलेकै घरतिर हानियो । च्याखुरी भने भित्र घोप्टो परेर घुँक घुँक रुँदै थिई ।
आज च्याखुरीको आँसु धेरै बेर सम्म पनि रोकिएन । जति ज्याद्रो गरे पनि यसरी त कैले पनि भकुरेको थेन । त्यो मान्छेको कुरा सुनेर मख्ख परेर बिश्वास गरे । राम्रो बन्न खोजें । तर यो मान्छेको जातलाई जति गरे नि नहुने रैछ । यो मान्छे झन्झन् पो बिग्रदै गाछ । चिन्नु न जान्नुको मान्छेको कुराले आज यस्तो पा¥यो । झन पो दुख दियो यै । जत्ति दुख गर्न परे पनि परोस् । अब म यो घरमा एक बस्दिन, दुई बस्दिन, तिन बस्दिन.... । च्याखुरी त्यहि रात आठ बर्षकी छोरीलाई तानेर घरबाट लापत्ता भई ।
भोलिपल्ट बिहान कोकले घरमा आएर जतातलै सोधीखाजी गर्दा पनि च्याखुरी कता लागि केही पत्तो भएन । टाउकोमा हात राखेर पिंढीमा झोक्राउँदै ऊ सोच्दै थियो । त्यती सारो पिरै पर्ने गरि त केही गरे जस्तो लाग्थेन । यत्तिका बर्ष बिताकी मान्छे किन बिच्केर गई गई । खै त्यति साह्रै गाँडू होला जस्तो ता लाग्थेन । यस्तो ठाकठुक ता भैराख्थ्यो । कसरी गुहु खाई खाई । यो बलेले पनि उचाल्यो ।
खै तैले पनि कुरो बुझेर मात्रै भन्नुपथ्र्यो । रिसको झोँकमा साह्रै गरिस् कि क्या हो तै कोकले ? बले टुप्लुक्क आगँनमा देखा परेर थुम्थुम्याउन खोज्दै थियो ।
उपत्यकाको भीडभाडपूर्ण व्यस्त शहर । झमक्कै साँझ र गल्लीको बाटो, त्यहिमाथि व्याल्कआउट । मरियम साथीलाई भेटेर फटाफट घर फर्कदै थिई । बसबाट झरेर अलिक पर पुगेपछि उसको कानमा फोहोरी शब्दहरु परे । ओइ यो ता भालु केटी जस्तो छ यार... । हो हो भालु हो.... । झाँडीति लाने हो ...?
उसलाई देखेर केही खाते आवारा केटाहरुले अध्यारो मोडमा बाटो छेक्न खोज्दै थिए । यतैतिर बाटोमा चुरोट र वियर खाएर बस्ने केटाहरु होलान नि । सधै यस्तै गर्न खोज्छन । आज त यिनीहरुलाई अलिकति नहपारी भएन । केही बोलेन भनेर होला, निकै बढी भए यै.. मरियम मन भित्र सुरिदै थिई । जव उ नजिकै पुगेर तिनीहरुलाई हपार्न थाली, तिनीहरुको बीचमा एउटा केटो देखेर किन हो किन उसलाई मन भित्रभित्र कताकताा माया लागेर आए जस्तो लाग्यो । उसलाई आफुले नदेखेको भार्इृको याद आउन थाल्यो । ती आबाराहरुको सातो खाएपछि मरियमले मनमनै बिचार गर्न थाली । साचै मेरो अहिले भाइ काहाँ के गर्दै होला, ऊ पनि अब त यत्रै जवान भयो होला । गाउँमा भेट्न जाउँ भने पनि घरमै आउदैनन रे । यी केटाहरुले पो केही थाहा पाएका छन कि भोलि पर्सि कुनै दिन भेटेर कुरा गर्नुपर्ला यस्तै बिचार गर्दै उ घरतिर लम्कदै गई ।
समयले निकै कोल्टे फेरिसकेको थियो । कष्टका दिनहरु लामा लागेता पनि उज्यालो भएपछि दिनहरु फुस्सै जादाँहरेछन । आज पाँच बर्ष भैसकेको रहेछ । मरियमको परिवारमा खुशी छाएको थियो । चर्चमा एकदिन मरियमकी आमा मायासँग कुराकानी गर्ने क्रममा पाष्टरले नयाँ आशिषको अनुभव गरेका थिए । उनले त्यो आशिष सबैलाई बाड्ने बिचारले मायालाई गवाही दिन उत्साह दिन थाले । यसैकारण माया पनि अन्तत गवाही बाड्न तयार भइन । समय आइरकेको थियो र मण्डली परिवार पनि मायाको गवाही सुन्न तयार भएर बसिरहेको थियो ।
मेरो नाम माया हो । मेरो गाउँ तनहुँ जिल्लाको उत्तरी दुर्गम भेकमा पर्दछ । मेरा जीवनको धेरै बर्षहरु त्यही गाउँमा नै बितेका हुन । दुर्गम पाहाडमा बस्ने गरीव र अशिक्षित मान्छे भए पनि कसरी मैले जिवित परमेश्वरलाई चिन्न र बिश्सास गर्न पुगे भनेर मण्डली परिवारको अगाडी गवाही दिन पाउँदा आज मलाई एकदमै खुशी लागिरहेको छ ।
म तिन दाईकी एक्ली बहिनी थिए । मेरो बाबा आमा र दाईहरुले मलाई धेरै माया गर्नुहुन्थो । त्यसकारण मैले बनपात र मेलाको काम गालीलेभन्दा पनि धेरै जसो आफनै खुशीले गर्ने गर्दथे । तर पनि घरमा पैसाको मुख देख्न साह्रै गाह्रो हुन्थ्यो । दाजुहरु त जेलतेन केही कक्षासम्म गाउँमा पढ्नुभयो । तर म स्कुल जाने उमेर पुगेको बेला मेरीे आमा बिरामी भएर बित्नुभयो । केही समयपछि नै बाबाले सौतने आमा त्याउनुभयो र हामीलाई वास्ता गर्नै छाड्नुभयो । यसरी घरको सबै बोझ हामी आफैमाथि थोपरिएको कारणले म स्कुल गएर पढ्न सकिन । घरको नाजुक अवस्थाले गर्दा दाजुहरुले पनि त्यसपछि धेरै पढ्न सक्नुभएन । अर्काको सानोतिनो काममा हामीले सघाउने र यसरी सघाएर आएको निवेकले छाक टार्नु पर्दथ्यो। यस्तै अवस्थामा केही बर्ष बितेपछि चौध बर्षको उमेरमा नै मेरो बिबाह हुन पुग्यो।
आफुँ पनि गरीब भएर होला बिबाह पनि अलि हुनेखानेको घरमा हुन सकेन । त्यसैले घरमा पनि सधै पाखुराको बलले मात्रै जीवन धान्नुपर्ने अवस्था थियो । त्यहीमाथि श्रीमान पनि मतवाला हुनुहुँदोरहेछ । त्यही पिउने बानीले गर्दा घरमा कत्ति पनि पैसा बचत हुन सकेन । अनि त्यसकै निहुँमा दिनदिनै जस्तो झगडा र कुटाकुट पनि हुन थाल्यो । उहाँले पनि त्यति राम्रोसँग काम पनि नगरिदिने हुनाले घेरै जसो आफै काममा नै घोटिनुपर्ने अवस्था थियो । एकातिर घरमा सधै अशान्ति र झगडा थियो भने अर्काेतिर छोरा र छोरी पनि जन्मिसकेका कारण तिनलाई हुर्काउनु बढाउनु पर्ने जिम्वेबारी पनि थपिएको हुदाँ मेरो जीवन साह्रै बोझिलो र दयनिय अवस्थाबाट गुज्रदै थियो ।
घर परिवारको यस्तो अवस्थाले गर्दा मेरो मनलाई सधै पिरोली रहन थाल्यो । चिन्ता बोझ झनझन बढ्न थाल्यो । श्रीमानले पनि माया गर्नुको साटो उल्टो सताउन मात्रै थाल्नुभयो । यसरी आजित भएपछि उहाँको माया पनि लाग्न छाड्यो । यसरी नै सारै न वाक्क परेको बेला एक दिन म सुटुक्कै माईत तिर हिँडे । त्यति नै बेला बाटोमा मैले पहिलो पटक येसु परमेश्वरको बारेमा धेरै कुरा सुन्ने मौका पाएको थिए । परमेश्वरको त्यो सुसमाचार सुनेपछि मेरो मन केही हलुको भएको मैले महशुस गरे र केही आशा पनि पाए जस्तो लाग्यो । अनि त्यही कुरा मनमा राखेर तुरुन्तै घर फर्के । अनि साहास गरेर ती कुराहरुको बारेमा श्रीमानसँग कुरा गर्दा त घरमा झन कैल्यै नभएको बबाल झगडा भयो । यस झगडाले गर्दा अलिअलि सम्हालिन लागेको मेरो मन फेरी नराम्रोसँग भाँडियो र घरमा एकछिन पनि बस्नै मन लागेन । त्यसैले अब जे पर्ला पर्ला भनेर एकदिन करीव पाँच छ बर्षकी ठूली छोरीको साथमा राती नै उठेर घर छाडेर शहर तिर लागे ।
शहरमा पुगेपछि पनि धेरै सास्ती भोग्नु प¥यो । एउटी छोरी साथमा लिएर कहिले होटल तिर भाँडा माझ्ने गर्दथे त कहिले घर बनाउँने ठाउँतिर काम गर्न हिँड्ने गर्दथे । तर मेरो सौभाग्य भनु कि परमेश्वरको अनुग्रह दुई बर्ष बितेपछि एउटा अफिसमा काम गर्ने मौका पाएँ । त्याहा काम गर्न थालेपछि अलिअलि पैसा पनि बचत हुन थाल्यो र छोरी पनि नियमित स्कूल जान सक्ने भई । एकदिन त्यही अफिसमा काम गर्ने एकजना दाजुले मलाई आफनो कोठामा भोजनको लागि बोलाउनुभयो । किनभने उहाँको राम्रो व्यबहार सोधखोज र वास्ता गर्ने बानी थियो । त्यसैले मेलै केही समयपछि नै उहाँसँग मेरो निम्ती केही छ कि भने जस्तो एकप्रकारको आशा पलाउन थाल्यो । त्यसैले होला उहाँसग अरुभन्दा अलि बढी नजिकको सम्वन्ध भएको जस्तो अनुभव हुन्थ्यो । त्यो भोजनको दिनमा मात्र उहाँको वास्तविकता मैले थाहा पाए । उहाँ त बिश्वासी हुनुँहुदो रहेछ । त्यसदिन मलाई प्रभु येशूको बिषयमा उहाँले धेरै कुरा भन्नुभयो र चर्च आउनको लागि आग्रह गर्नुभयो । मेलै उहाँको दिएको सुसमाचार सुनेपछि त अचानकै म चर्च आउँछु भनेर भनिदिएछु । त्यो दिन म एकदमै खुशी भएर घर फर्के । उहाँबाट मैले केही कुरा पाउँछु कि भनेर मनभित्र मैले आशा राखेको खास कुरा त यही नै रहेछ कि त भन्ने बिचार गर्दै त्यही हप्ताबाट नै म चर्चमा जान थाले ।
नयाँ खुशी र उत्साहको साथमा चर्चमा जान थालेपछि प्रभु येसुको बारेमा धेरै कुरा बुझ्न थाले । हामी प्रत्यक जनाको मुक्तिको लागि प्रभु बाहेक अरु कुनै पनि ठाउँ रहेनछ भन्ने कुरा बुझेपछि मेरो जीवनको प्रभु र मुक्तिदाता रुपमा प्रभुलाई ग्रहण गरे । त्यसपछि मलाई जाँच आयो । अकस्मात छोरी लामो बिरामी भई त्यसकै कारण नियमित काममा जान नसक्दा अफिसको कामबाट निकालिएँ । तर पनि म निरुत्साही भईन र प्रभुसँग काम र घर व्यवहारको लगि प्रार्थना गर्दैरहे । यही समयमा नै मेरो जीवनमा जे जस्तो अवस्था आएपनि अब म प्रभुलाई कहिल्यै छाड्ने छैन भन्ने निश्चय गरेर परमेश्वर पिता प्रभु येसु र पवित्र आत्माको नाउँमा मैले पानीको बप्तिष्मा लिए । त्यसपछि मलाई सानोतिनो भएपनि आफैले केही काम गर्न इच्छा र हौसला मिल्योे र आफुसँग बचेखुचेको केही रकममा मलाई सुमाचार सुनाउने दाईले केही थपिदिएपछि मैले फलफूल र तरकारी बेच्ने पसल खोले । अनि त्यसमा प्रभुले आशिष थपिदिनुभयो र करिव दुई बर्षपछि नै मैले फेरी किरान पसल सुरु गर्न सके । त्यसमा छोरीले पनि बिहान बेलुका सहयोग गर्ने गर्थी । यस कामबाट मेरो जीवनमा धेरै सुधार आउन थाल्यो । कमाई पनि बढ्न थाल्यो । यस कामबाट अलिअलि बचत गरेको पैसाले सानो जग्गा किनेर आफु बस्न निर्बाह हुने घर पनि बनाउँन सफल भए । यतिबेला मेरो दश एघार बर्ष बितिसकेको थियो ।
एकदिन छोरी मरियमलाई बाटोमा केही हाउडे केटाहरुले जिस्क्याएका रहेछन । त्याहा एकजना केटा देखेपछि उसलाई पनि भाईको सारै याद आएर न्यास्रो लाग्न थाल्यो । उसले गाउँमा गएर भाइलाई पनि लिएर आउँ भनेर जिद्धी गर्न थाली । मलाई पनि श्रीमान के कसो गर्दै बस्नुभाछ होला भनेर फिक्री हुन थाल्यो । त्यसकारण अब हामी सबै एकै ठाउँमा भए पनि हामीलाई गास बास र कपासको समस्या हुदैन । त्यो भन्दा ठूलो कुरा उहाँलाई प्रभुमा ल्याउन पाए कति असल हुनेथियो भनेर एकदमै मनमा लागिरह्यो । भेट्न पाए घरबाट निस्केर गएको र कतिबर्ष सम्म साथ नदिएको र खोजी नगरेकोमा क्षमा माग्ने थिए भनेर मनमा लागिरह्यो । त्यसैकारण म उहाँलाई खोज्न गाउँमा पुगेकी थिए ।
आफ्नघर भईसकेपछि मलाई मेरो श्रीमानको याद आउन थालेको थियो । जे भए पनि त्यसरी हिँड्न हुने थिएन भनेर पछुतो पनि भैरहेको थियो । तर यही कारणले प्रभुलाई पाएको र जीवन पनि सुधारिएको कारण मनभित्र भने खुशी नै थिए । एकदिन म उहाँलाई भेट्छु र परमेश्वरको प्रेम बाँड्छु भनेर गाउँमा पुगे तर उहाँलाई भेट्न सकिन । उहाँ त सानो छोरालाई लिएर शहर तिरै जानुभएको छ भन्ने खवर मात्र पाएँ । त्यसपछि उहाँलाई भेट्ने तृष्णा झनझन बढ्न थाल्यो र उहाँलाई काहाँ भेट्न सकिन्छ होला भनेर प्रार्थना गर्दै शहर तिर पनि चिनेजानेकासँग सोधपुछ गर्दै खोजी गर्न थाले । यसरी खोजतलास गर्न थालेको एक बर्ष पछि बल्ल उहाँलाई भेटे आफ्नघरमा लिएर आए । यता आएर एकदमै दुख पाएर बस्नुभएको रहेछ । उहाँ भारी बोक्ने काम गर्नुहुदोरहेछ । शरीरमा पनि सारै दुर्वल हुनुभएको रहेछ । छोरा पनि सडकतिरै बास बस्ने, स्कुल पनि नजाने हाउडे भएको रहेछ ।
घरमा आएपछि हामी दुवै जना पसलमा नै काम गर्न थाल्यौ । उहाँले पहिलाको काम गर्न छोडिदिनुभयो । शायद हामीले गरेको काम देखेर होला उहाँले गनगन त्यति गर्नुभएन । तर परमेश्वरलाई बिश्वास गर्न र चर्च जान भने निकै समयसम्म आनाकानी गरिरहनुभयो । एकपटक उहाँ नराम्रोसँग बिरामी पर्नुभएको बेलामा प्रार्थना गरेर निको हुनुभएपछि बल्ल चर्च जानुपर्छ होला भन्ने हृदय आयो र बिस्तारै चर्चमा जान थाल्नुभयो । चर्च जान थालेको केही समयपछि पिउने बानी पनि छाड्नुभयो र प्रभूलाई पनि ग्रहण गरेर हामी शान्तिसँग सगै परिवारमा बस्न थाल्यौ । छोरा पनि अहिले हाउडेहरुको संगत छोडेर स्कुल जान थालेको छ । यसरी परमेश्वरले हाम्रो परिवारमा आशिष दिनुभयो । भताभुङ्ग र लथालिङ्ग भएको हाम्रो परिवारमा आज परमेश्वरको कारण मिलाप आएको छ । त्यसकारण यहाहरु सबैलाई मेरो यही आग्रह छ कि परमेश्वर अनुग्रही र दयालु हुनुहुन्छ । यो कुरालाई याद गरेर हरेक परिस्थितिमा हामीले उहाँलाई बिश्वास गर्दै धैर्य पनि गर्न सक्नुपर्छ । मेरो जीवनमा परमेश्वरले गर्नुभएको कामबाट यही भन्न सक्दछु कि उहाँले हामीलाई एकदिन अवस्य पनि सबै प्रकारका दुखकष्टबाट उठाउनुहनेछ । धेरै चिन्ता र फिक्री गरिरहन हुदैन । धन्यबाद !
0 comments
Write Down Your Responses