• HOME
  • About Me
  • Articles
  • Story
  • Essays
  • Poem
  • Songs
  • Spiritual Manna
  • Videos
  • Photos
  • Contact
Essays » चित्त चिन्तन (ज्यादै रमाइलो निबन्ध)
चित्त चिन्तन (ज्यादै रमाइलो निबन्ध)

-लालु पौडेल । 

मानिसहरु भन्ने गर्छन्, मान्छेको चित्त त माखाको पित्त जत्रो हुन्छ रे । अब यो मान्छेको चित्त माखाको पित्त जत्रो हुन्छ भने यस चित्तमा आकासदेखि पातालसम्मका चिन्तनहरु कसरी अटाए होलान ? यसो बिचार गरयो भने चाइनेजो कुरो के साच्चै घतलाग्लो छैन र ? किनभने चित्त कुनै प्रकृतिबाट आएको चिज, कसैले बनाएको कुरो वा कुनै भाँडो जस्तो देखिने कुरो पनि होइन । यो त परमेश्वरले मानिसलाई सृष्टि गर्ने बेलामा नै त्यसभित्र हालिदिनु भएको एउटा गजवको र अमूल्य चिज हो ।
खास कुरो यही हो कि हरेक मानिस जन्मदा खेरि नै चित्त लिएर जन्मन्छ । अनि उमेरको प्रवाह सगँसगै अथाह चित्तमा चिन्तन र अड्कलबाजी गर्दा गर्दै माटोमा थन्किन पुग्छ । अनि त उसभित्र भएका चित्त र चिन्तन दुवै हराएर जान्छन् । यसकारण मानिस जीवित छ त त्यस भित्र चित्त छ । जव ऊ भित्र चित्त छ भने त चिन्तन पनि अबस्य छ । यसैले आज यहा चित्तको चिन्तनरुपी भूँडीलाई चिरफार गरेर हेर्ने जमर्को गरिदैँछ । अब भूँडी फोर्दै गर्दा गन्हायो चाँहि नभन्नुहाला है । भूडीँ फोरेर साफ गरिसकेपछि बोक्रा र गुदींलाई काटकुट र भाटभुट पारेर खाँदा कति मजा हुन्छ त्यो त तपाईहरुलाई पनि थाहै  होला  । 

सानै अर्थात केटाकेटी छँदा खेरि घरमा मीठो मीठो खानेकुरा पाकेको छ भने मलाई आँखामा लाग्ने जति भाग लगाइनु पथ्र्यो । नत्र भने मेरो चित्त फाटिहाल्थो । आमाले लगाई दिएको भागलाई खान्न, अँ यत्ती थोरै पनि ! भनेर लात्ताले भागै धकेलेर आमा तिरै हुत्याईदिन्थे । अनि आमाले गर्न थाल्नुहुन्थ्यो, हैन कस्तो हाँडी घोप्टे बज्या रैछ ए यो केटो ! यसको चित्त त माखाको पित्त जत्रो पनि छैन, आदि इत्यादी भन्दै । अनि म त्यो माखाको पित्त चाहिँ कत्रो हुन्छ होला हेर्न पाए त हुन्थ्यो नि, भन्ठान्थे । तर खासमा त सारै सानो चित्त भएको भन्नुको अर्थ साह्रै सानो चित्त भएको अर्थात साह्रै लोभी भन्न खोजेको त होला । 

जव उमेर बढ्दै गयो, यो माखे पित्ते चित्त भित्र त नाँना भाँतीका चिन्तनहरुले पनि जरा गाड्दै बढ्न थालेछन् । अनि पित्त जत्रो चित्तको थैलो त रबर तन्केको जस्तै तन्कदै गएर म जवान भैसक्दा त त्यो पनि यमानको पो भैसकेको रहेछ । मेरा बाबै नी ! चित्तका जरा त राता र पिरा हुदै त्यसै त्यसै गाँज हालेर, बटारिँदै र छँटारिदै तँछाड र मछाड गर्दै बढिरहेका रहेछन ज्ञाठे । म त आफ्नै चित्त भित्रका यस्ता बिधि चिन्तन र यसका जराहरु देखेर आफै तिन छक परे । अनि यस भित्र अझै यसो नियालेर हेरेको त गाँठे यो माखे चित्त भित्र त कामुकता, बासना, मोजमजा, व्यभिचार, चोरी, लोभ मोह, डाह, रीस, ईवी, झैझगडा, लडाँई, युद्ध, बिनास, छल, बदख्याँई, निर्दयता, क्रूरता, षढयन्त्र, जालझेल, ढीटपना, गुटबन्दी, अट्टेरीपन, मतवालीपन जस्ता अनेक प्रकारमा झाँडीका जरा पो गाँजिदै रहेछन । 

यति मात्र हो र ? अंहकार, अभिमान, स्वार्थ, ढाँट छल, झूट, अनैतिकता, अनादर, बेईमानीपन, बिश्वासघात, भ्रष्टाचार, बदनामी, गुण्डागर्दी, कुरौटे, पियक्कढ, द्धेष, निर्लज्जता, क्रोध, हत्या, दादागिरी, दुष्टता, अपशब्द, हानथाप, चुक्लीबाजी, रण्डीबाजी, जुवाडेपन, शेखीबाज जस्ता अनेक प्रकारका झाँडी पनि यही बढ्दै रहेछन् । तर बिचरा प्रेम, दया, माया, ममता, सहयोग, परोपकार, स्वान्त्वना, भलाई, बिश्वास, उपकार, सद्बिचार, धैर्य, शान्ति, सद्भाव, एकता, कल्याण जस्ता जस्ता कुराका जराहरु त टुसाएर उम्रन नपाउँदै बिचरा उकुस् र मुकुस भएर, निचोरिएर, ठेलिएर र पेलिएर खुत्रुक्कै पर्दारहेछन । हेर खत्तम् ! कस्तो व्यर्थको चित्त पो रैछ गाँठे ।  

घरगाँउतिर सानै छँदा खशी बोका काटेर मान्छेहरुले आन्द्रा भूँडीहरु खोतल्ने बित्तिकै खै खै पित्त काँहा छ ? भन्दै खोजि खोजि पित्त काटेर फाल्ने गरेको त देखेकै थिए । अनि किन यसरी पित्त फाल्ने हो र ? भनेर सोध्दा उनीहरुले भन्थे, हैए, पित्त फुट्यो भने त तीतो हुन्छ ! साच्चै हो नि हो, त्यती सानो पित्तभित्र त त्यति सारै तीतो कुरा हँुदो रैछ । चित्तभित्र मोटाएर, गाँजिएका बसेको दाना जत्रो चित्त थैलीको छाना भित्ता सबै फुट्यो भने ? मेरा वावै, जिन्दगी कति सारो तीतो हुँदो हो ? आबुुई यसो बिचार र कल्पना गर्दा त आंग नै सिरिङ्ग हुन जान्छ ।

अनि यसो बिचार गरें, मान्छेको समाजमा जति पनि भाँड भैलो, थाप् थैलो, रण र रमिता भएको छ त्यो मानिसको चित्तको कारणले नै भएको रहेछ । जव चित्त फुटेर बाहिर बग्छ तव मात्र त्यो लोभ स्वार्थ वा कुन चाहिँ चित्तको जरो रहेछ भनेर थाहा हुन्छ । यहा यस्तै हुन्छ, एउटाको चित्तको कुरा अर्कालाई चित्तै नबुझ्ने, अर्काको चित्तको कुरा फेरि अर्कालाई चित्तै नबुझ्ने ! अनि जाँदैन त मान्छे चिप्लिएर फित्तै फित्तै  ? अझ माथि जाने बेलासम्म त मान्छेको मान धर्म, कर्म त रित्तै रित्तै । आपद छ आपद, केही गरि पनि मान्छेको चित्त नबुझ्ने । 

मान्छेको चित्तमा कैँची छ कि गैँची थाहै नपाईने रैछ र पो मारयो । चित्तमा मीठो बात मात्रै छ कि लात, वा मात पनि गाँठिएको हो थाहै पाउन मुस्किल पर्दोरहेछ । मुखबाट चाहिँ चिप्लो चिप्लो कुरा चिप्लन्छ । मुखका कुरा सुन्दा खाँउ खाँउ, लाँउ लाँउ र जाँउ जाँउ बनाउँछ । तर मान्छेको चित्त जस्तो जाली, फटाह र नजाती कुरो अरु के होला र ? चित्तमा त ठीक उल्टो कुरा पो हुँदोरहेछ । शायद त्यसैकारण होला, मान्छेको चित्तलाई सृष्टि गर्ने परमेश्वरलाई यसको ईतीवृत्ति सबै थाहा भएको हुनाले नै त होला, यर्मिया भन्ने व्यक्तिलाई उहाँले भन्नुभयो कि मानिसको हृदय (चित्त) सबै कुराभन्दा छली हुन्छ, र त्यसलाई निको पार्न सकिदैन । त्यसलाई कसले जान्न सक्छ र ? यर्मिया १७ः९ । चित्त जस्तो छली अरु केही हुदैन । त्यसलाई जान्ने र बुझ्ने क्षमता मानिसमा छैन । त्यसलाई बुझाउने क्षमता पनि पाईन्न ।
 
परमेश्वरको कुरा गर्दा मलाई एउटा प्रसंगको याद आयो । भर्खर भर्खर येशू प्रभुमा बिश्वास गरेको थिए । असल कुराका जराहरु अर्थात परमेश्वरका बचनका कुराहरु, मानिसको चित्तमा रोप्ने ठूलो रहर र जोश थियो । एकदिन घर छेउ छाउ तिरको एउटा किराना पसलमा पस्दा एकजना हल्का फुल्का चिनेको व्यक्तिसँग भेट भयो । त्यो व्यक्ति ज्ञानीमानी, बुद्धिमानी, अध्यात्मी र कहिलेकाही टपरी टिप्ने पनि हो भन्ने रहस्य अलि अलि त खुलेकै थियो । तर बाटोमा हिँड्दा देखे जानेको परिचय मात्र थियो । ती पण्डित चाँहि पसलेसँग यस्तै अध्यात्मिक गफ मथ्नमा व्यस्त रहेछन । मेरो काम पसलेसँग भएपनि झट्ट बीचमा भाँजो हाल्न मन लागेन र एकछिन उनीहरुकै कुरा सुनेर बस्न थाले । 

तर निकै बेर सम्म पनि पसलेले म तिर ध्यान नदिएपछि, अब बीचमा मेरो परमेश्वरको कुरा पनि थप्नु पर्छ क्यारे ! भन्ठानेर कुराकै प्रसगंमा जोडेर परमेश्वरको बिषयमा केही प्रश्न तेस्र्याए । एक छिन त मेरो प्रश्नले पण्डित अक्क न पक्क परेर केही बोल्न सकेनन् । पनि यिनीहरुले मेरो कुरा बुझेछन् कि त भन्ठानेर मख्ख पर्दै थिए  । तर मै हुँ भन्ने चुरीफुरी टपरी परेपछि के पछि हट्थे र । एकछिनपछि त पण्डितले आँडेपाँडे कुरा गरेर ख्याप ख्याप पो पार्न थाले । तैले कुन परमेश्वरको कुरा गरेको हँ ? त्यसको नाम के हो ? त्यो परमेश्वर हो भनेर कसैले देखेको छ ? के प्रमाण छ ? आदि इत्यादी । 

तर मैले पनि जाने बुझेको जवाफ दिने कोशिस गर्न थाले । उहाँ आदिदेखिका परमेश्वर, सदासर्वदा जीवित र सत्य, सुष्टिकर्ता परमेश्वर आदि तरिकाले वाइबलमा बताएको छ । नेपाली भाषामा उहाँको खास नाम नभएकोले सामान्यतया परमेश्वर भनेर नै भन्ने र चिन्ने  गरिएको छ । यस्तै तरिकाले उहाँको बारेमा केही कुराहरु बताएँ । त्यसपछि  पण्डितलाई प्रश्न आएनछ कि जवाफ दिन सकेनछन् वा के भएछ कुन्नी कुर फेर्न थाले । 

अरे यो शरीर त पञ्चतत्वले बनेको छ । त्यसभित्र भएको म नै जीवन हो । म गएर आखिर ब्रम्हामा मिल्ने हो । काहाँ छ परमेश्वर ? अब यी उल्टो पाल्टो कुरा गर्ने बूढासँग टक्कर गरेर केही फाईदा छैन भन्ठानेर पसलेसँग आफ्नो काम सकाएर म हिँड्न त हिँडे तर मेरो झोकको पारो अझै सेलाएको थिएन । बाटोमा भित्र भित्र तात्तै थिएँ, अझ काहाँ छ परमेश्वर भन्ने ? कस्तो कुरै नबुझ्ने गाँडू बूढो रैछ, तीन मीनेट मात्र नाक मुख थुनिदिन पाएको भए अनि देख्नेथ्यो काहाँ छ परमेश्वर भनेर ... । 

हेर्नुस त चित्तमा कसरी रीस राग र प्रतिशोध जन्मदोरहेछ । जसलाई पनि जान्ने सुन्ने मै हुँ भन्ने बन्नु पर्ने । तर वास्तवमा म हुँ भन्ने केवल एक परमेश्वर मात्र हुनुहुन्छ । पछि बाईबल पढ्दै जाँदा मलाई पनि यस्ता कुराहरुको उत्तर आउन थाल्यो । 

सबै मानिस जातिका परमेश्वर म हुँ, के कुनै कुरो मेरो निम्ति कठिन छ र ? यर्मिया ३२ः२७ । पृथ्वी मैले बनाएको हुँ र त्यसमा बस्ने मानिसहरुलाई मैले नै सृष्टि गरेको हुँ । मेरै हातले आकासलाई फिँजाएको हो र त्यसका तारामण्डललाई मैले ठीकसँग मिलाएको छु, यसैया ४५ः१२ । 

चित्तमा ज्ञान समझ र बुद्धि हुने मानिस हो भने त्यसले यी दुई पदहरु पढेर नै परमेश्वर को हुुनुहुँदो रहेछ भनेर जान्नु पर्ने हो । यी दुई पद नै काफी हुनु पर्ने हो । तर नबुझ्नेहरुलाई त खुर्पाको बिँड बराबर मात्रै त होला । सुँगुरको अगाडी मोती सुन छरेर केही फाईदा छ र ? कामै छैन । त्यसले सुन र मोतीलाई चिने पो ! त्यो त मोती र सुनलाई कुल्चेर हिलोमा लड्बडिन जान्छ ।  

जसले आफैलाई म हुँ भन्ठान्छ, त्यसले आफैँलाई परमेश्वर बराबर ठान्दछ । जसले आफैलाई परमेश्वर बराबर तुल्याउँछ, त्यस्तो मानिसमाथि उहाँको क्रोध आउँछ र त्यसले कहिल्यै पनि सत्य परमेश्वरलाई नभेट्न सक्छ । किनभने परमेश्वरले त्यस्ता मानिसहरुलाई तिनीहरुकै अभिमान र घमण्डमा छोडिदिनुहुन्छ । उहाँको निम्ति कुनै पनि कुरा असंभव छैन । त्यस्ताहरुलाई नरकका को¥क्याउनु  वा नाकमा नथ्थी लगाएर घिच्याउनु उहाँकै हातको कुरा हो । 

चित्त भित्रको पित्तमा थुप्रिएको तीतो नहटेसम्म अब कसरी समाजमा लडाँई, झगडा र अशान्तिको अन्त्य भएर एकता, प्रेम र शान्ति आउला ? जवसम्म चित्त भित्रको पित्तका  सबै तीता कुराहरु मासिदैनन्, तवसम्मन राजतन्त्र, प्रजातन्त्र, गणतन्त्र, रणतन्त्र, लोकतन्त्र ठोकतन्त्र वा जेसुकै तन्त्र आए पनि केही पनि खुत्तिदैन । पित्तको तीतोलाई खशी बोकाको पित्त काटेर फाले खुलुत्तै काटेर नफ्याँकेसम्म देशमा शान्ति, मानिसको मुहारमा कान्ती आउदैन । हृदयमा खुशी र आनन्द अनि मानिसमा प्रेमतन्त्र र दिमाखमा सत्यतन्त्र आउदैन । के यसो हुन संभव छ त ? संभव छ । तर धेरै मानिसलाई सबैथोक बिगार्ने मानिसभित्र रहेको यस्तो तीतो चित्तको पित्त काटेर फाल्ने औजार के हो भन्ने थाहा छैन । न त औषधी कुन हो भन्ने कुरा थाहा छ । एकछिन पख्नोस् है त ! यो औजार या औषधीको बारेमा पनि अलिकति चर्चा र जाँचबुझ गर्ने काम बाँकी नै छ । 

गाँउघरतिर बूढापाकाहरुले भन्ने गर्छन्, नेपालीहरुको बानी नै यस्तेै छ, हुने कुरामा कल गर्छन नहुने कुरामा बल गर्छन् । दूध चुस्तै गरेको लैनो पाडोलाई फ्वात्तै थुन फुत्काएर खामामा दाम्लोले टाँसिदियो भने फेरी दूध चुस्न जानको लागि त्यसले जति बिपत्तासँग बल गर्छ, के मान्छेहरुले पनि आफ्नो ढीपि र स्वार्थको लागि त्यो भन्दा कम बल गर्छन त ? यसो मीठो चिसो खान पाउँने ठाउँ छ भने लोभले ख्याल त बल गर्दैन । लोभीको भाँडो कहिल्यै भरिन्न, भन्ने त आहानै पनि छ । किन होला कुन्नी त्यो भूँडी कहिल्यै भरिन नसक्ने ? जति कोचे पनि लावरकै भूँडी जस्तो गको छ, गको छ । भयो नै भन्दैन । तर खासमा त भूँडीभन्दा पनि चित्तै त तन्केको होला । चित्त नतन्केको भए त भूँडी ठिक्कै बस्थ्यो होला नि त, होइन र ? 

अब अर्काको पैसाले खान पाए तिन पाथी हसुर्ने तर आफ्नो एक माना खायो भने तिन मुरी असुर्ने यही चित्त होईन र ? अर्काको दाईं हाल्न गयो भने राजाको काम कहिले जाला घाम भन्दै हाई हाई गर्दै दिन काट्ने, तर आफ्नो दाँई गर्दा चाहिँ सुकी पनि थुकी थुकी चाट्ने यही चित्त होइन र ? घत् यो चित्तको बानी । यस्तो पाराले कहिले आउला त शहरमा नहरको पानी । चित्तरुपी नहरको मुख चाँहि जहरले भरिएको छ, दयाको मुखचाँहि रिसले बुझिएको छ । 

पैला पैला महिलाहरुले चित्त फुटाउन प¥यो भने पधेँरामा भेट हुनु पथ्र्यो रे । अहिले त न पधेंरो न आईतबार । जहाँ पनि जता पनि मान्छेहरु चित्त फटाएर तीतो पोखाईरहेका छन् । अब त्यो पोखिएको चित्त मनलाई बुझाएर तीतो सफा गरिदिने पो कसले होला ? यहा राजा होस कि नेता बेटी होस कि बेटा सबका सबको चित्त बुझ्नु पर्ने रे । अब कसो गर्ने रे ? चित्त बुझेन भने ढुंगा मूढा ईटा भाटा जे पायो त्यही बोकेर गाउँघर, शहर बजार दोबाटो चौबाटो जताततै कुद्नु पर्ने । त्यसैले त पालो आएको छ रोजी रोजी मर्ने । डाक्टरको गोली खाएर मर्ने कि बन्दुकको गोली ? ढुंगा र ईंटा खाएर मर्ने कि रवरको लोली ? कोही छ त याँहा चित्त नफटाउने टोली ? 

हे प्रभु यो चित्तको आँखाले के के देख्छ के के ! यो सबै देखेर म त हैरान र आजित् भैसके । सबैभन्दा घामण राक्षसको राज्यमा पनि यस्तो हुदैन होला । मैले यसो बिचार गरे यो खराव चित्तको बीऊ चाँहि म भन्ने अक्षरबाट जन्मदो रहेछ । त्यसैले “म”लाई नकाटेसम्म चित्तमा बिछट्टैसँग तीता पित्तहरु जन्मेका जन्म्यै गर्दारहेछन । शिशू कक्षमा बाह्रखरी पढ्दा राम्रो म भनेर पढ्नुभएकै होला । मले भन्छ– म राम्रो त्यो नराम्रो, म असल त्यो खराव, म विवेकी त्यो अविवेकी, म पढेको त्यो नपढेको, म योग्य त्यो अयोग्य, म जान्ने त्यो नजान्ने, म सेवक त्यो ढोगक, म धर्मी त्यो अधर्मी म घरको त्यो परको.. आदि । 

यती मात्र होइन, अरु पनि के के हो के के भन्छ । मलाई पैसा चाहिन्छ, मलाई ऐस चाहिन्छ, मलाई राम्रो र सुन्दर चाहिन्छ, मलाई मान चाहिन्छ, मलाई थान चाहिन्छ, मलाई दान चाहिन्छ, मलाई थान चाहिन्छ, मलाई आदर चाहिन्छ, मलाई च्यादर चाहिन्छ.... । मेरो बाली राम्रो, मेरो आली राम्रो, मेरो ओठ राम्रो, मेरो गोठ राम्रो, मेरो छोरा राम्रो, मेरो छोरी राम्रो, मेरो हेराई राम्रो, मेरो गराइ राम्रो, मेरो ज्ञान राम्रो, मेरो बुद्धि राम्रो, मेरो बिचार राम्रो, मेरो पल्ला राम्रो, मेरो सल्लाह राम्रो, मेरो घर राम्रो, मेरो थर राम्रो... । 

घमण्डी मले जहिले पनि भन्छ म, मेरो र मलाई । यसकारण मैले थाहा पाएँ कि मान्छे भित्र भएको म अर्थात लोभी र स्वार्थी चित्तमा मलजल भएपछि च्यार्र च्यार्र चित्त उध्रिएर जाँदोरहेछ । उध्रिएर र उछिट्टिएर गई कसमसले घेरिसकेको चित्तलाई धोई पखाली फेरी टिलिक्क टल्काउन कम गाह्रो त छैन । 

सानै छँदाखेरीको एउटा कुरा फेरी याद आयो । बारी र खरबारी सँधियार भएका काकाको चित्तको कारण कम्ति जुहारी चल्दैनथ्यो । हामीले पहिला खर काट्न पुगियो भने उनी हतपत् गएर अरु नभ्याए पनि साँधसाँधको काटिहाल्नु पर्ने । खेतबारीमा बार पनि उनले नै पहिला हाल्नुपर्ने अनि साँधमा पनि पहिला उनले नै जोत्नु पर्ने रे । साँध सिमाना तिरका डालाबुटा छन भने पहिले नै मुढ्याईहाल्नु पर्ने । यस्तै साना साना कुरामा सानो चित्त नबुझेपछि बेलाबेला पाखुरा माडामाड हुने गथ्र्यो । यही चित्तमा घिउ चिल्लो नपुगेर होकी कुन्नी काका बाउ उमेर छदै सिलटिमुर खाए । 

गाँउको पाखा भित्ताको लागि त यसरी चित्त फटाउने मानिस हुँदारहेछन् भने शहरको त के कुरा गर्नु । इन्च र पाउको पनि लाखौ लाख पर्ने ठाउँमा मान्छेको चित्त कति सारो पो फाट्छ होला, यसको कुरा नगारौ । आखिर किन यती सारो त ? भनेर यसो बिचार गर्दा अब त्यही मभित्र भएको चित्तको सवाल आउँछ । कसैलाई चाँदनीमा टेकेर भएन तारामण्डल र मंगलमा पुग्ने चित्त उम्रदैछ । कसैलाई घर टोल समाज र देशमा रजाई गरेर पनि नपुगी संसारै राज गर्ने चित्त उव्जिन्छ । घुसपीठ, लूटपीट, लुछाचुँडी, टुप्पीमुडी, घुँडा जोडाजोड र टाउको फोडाफोड यो सबै गराउने यै चित्तभित्र भएको म भन्ने स्वार्थको कारण नै होइन त ? ल है कुरा बुझम् र मनमा गुनम् । कतै तपाईंको चित्त पनि सत्यताबाट पिलित्तै चिप्लेर गएको त छैन ?

अब चित्त साफ बनाउने एउटा औषधी के हो भनेर बताउँछु है । चित्त साफ गर्नलाई खानै पर्ने औषधी शोक भन्ने औषधी हो । शोक भनेको बिलौना गर्नु होइन । रुनु कराउनु टाउको ठोक्नु र पछुताउनु मात्र पनि होइन । तर बाइबलमा शोक गर्नेले स्वान्त्वनाको आशिष पाउँछ भनिएको छ, मत्ती ५ः४ । किनभने शोक गर्ने व्यक्ति धन्यको हो । धन्यको भनेको आशिष पाएको व्यक्ति हो । शोक भनेको पश्चाताप हो । पश्चाताप गर्ने व्यक्ति आशिषित व्यक्ति हो, जसले परमेस्वरद्धारा स्वान्त्वना पाउँदछ । तर पछुताउनु र पश्चाताप गर्नु फरक कुरा हुन। 

शोक चित्त पोखिएर आउने कुरा होे दुखेर वा देखेर आउने कुरो होईन । दुखाईको एउटा प्रकिया भएर दुखाईका भावनाहरु चित्तको एकदमै भित्र पुगेपछि मात्र पश्चाताप आउँछ । आँखामा याद आउदैमा भावनाले छुदैमा या मनले पिरोल्दैमा पश्चाताप फुट्दैन । हृदयभित्र चित्तमा पवित्र आत्माले सहायता गरेपछि मात्र पश्चातापी चित्त फुटेर आउदछ । अनि यस्तो आँशुको हिसाव परमेश्वरले आफ्नो फेहरिस्तमा राख्नुहुन्छ । किनकि पानीले अनुहार प्रतिबिम्वित गरे झैं हृदयमा नै मानिसको असली हृदय प्रतिबिम्वित गरेको हुन्छ, हितो २७ः१९ । पश्चाताप गरेपछि मात्र मानिसको असली हृदयको प्रतिविम्व बाहिर देखिन्छ । यस्तै परमेश्वरको रुपलाई प्रतिबिम्बित गर्ने व्यक्ति उहाँले खोजिरहनु भएको छ, १ इतिहास २८ः९ । चूर्ण हृदय भएकाको हृदय आशपास नै उहाँ बास बस्न चाहानुहुन्छ, भजन ३४ः१८ । यो पनि याद गर्नुपर्छ कि हृदयका यावत कुरा उहाँले जान्नुुहुन्छ, भजन ४४ः२१, हितोपदेश २१ः२ । त्यसकारण हामीले हृदयलाई कठोर पार्नु हुदै हुदैन, हिब्रु ३ः८ । 

त्यसकारण यदि कसैले अब चित्तरुपी अबयवको सम्पूर्ण पित्त हटाउन चाहान्छ भने त्यसले शोक गर्नै पर्दछ । शोक गर्न थालेपछि मात्रै चित्तमा भएका पित्तरुपी रुखका तीता जराहरु हल्लिन थाल्छन् । चित्त भित्रको तीतोले नै सारा जीवनमा राज्य गर्न खोज्यो भने त के गति होला ? किनभने चित्तभित्र त कामुकपन, कामबासना, मोजमस्ती, व्यभिचार, लोभ मोह रीस, ईवी, डाह, झैझगडा, लडाँई झगडा, बिनास, छलछाम, बदख्याँई, निर्दयीपन, क्रूरपन, षढयन्त्र, जालझेल, ढीटपन, गुटबन्दी, अट्टेरीपन, मतवालीपन जस्ता रुखहरु उखेल्नै नसकिने गरि झाँगिएको हुदाँ रहेछन् भनेर हामीले माथि नै थाहा पाईसकेका छौ । जव यसका जराहरु हल्लिएर उखेलिन्छन् तव मात्र शोकको आसुँको भलले त्यसलाई बगाएर लान्छ । अनि मात्र हृदय शुद्ध बन्दछ । हृदय शुद्ध भएपछि मात्रै त्यसले परमेश्वरलाई देख्दछ ।

मानिसको हृदयमा भएको तीतो पनका जराहरु हट्न सके भने मात्र उसको जीवन अर्थपूर्ण हुन्छ । उ प्रशस्तताको जीवन जीउन सक्छ । दान बरदान र शक्ति उसको साथमा हुन्छ । परमेश्वरको अनुग्रहमा ऊ बढ्दै जान सक्छ । त्यसकारण बिश्वासी जीवनलाई बाधा ल्याउने कुरा नै तीतोपन हो जसले हृदयलाई रोगी बनाएको हुन्छ । उ क्षमाशील हुन पनि सक्दैन । तर तीतोपनलाई पखाल्दै जाने व्यक्तिले भने अझै प्रशस्त प्रसस्त परमेश्वरको अनुग्रह पाउँदै जान्छ । त्यसकारण हिब्रु १२ को १५ मा यस्तो लेखिएको छ– “ध्यान देओ कि कुनै मानिस परमेश्वरको अनुग्रह प्राप्त गर्नदेखि वञ्चित नहोस, ताकि तीतोपनको जरो उम्रेर आइकन त्यसले फुट नल्याओस र धेरै जनालाई अशुद्ध नपारोस् ।” यही तीतोपनले नै मानिसमा फुट  र बिभाजन ल्याउँछ । जुन शैतानको हतियार हो । 

चित्तलाई प्राय प्राण भनेर चिन्दा पनि हुन्छ होला । मानिसको प्राण भनेको रगत होइन, जुन रगत बगेपछि मृत्यु हुन्छ । अग्रेजीमा यसलाई सोल ९कयग०ि भनेर चिनिन्छ । यूनानी अर्थात ग्रीकमा यसलाई पुसुके (Pusuke) भनिन्छ अनि हिब्रु भाषामा नेफेस (nephes) भनिन्छ ।  सोल अर्थात प्राण भित्र नै शक्ति, समझ, हृदय र मेरो आत्मा हुन्छ । मानिसको प्राणलाई नै ज्ञान, समझ, बुद्धि ,भावना र  इच्छा आवास्यक पर्दछ । अर्थात यी कुराहरु प्राणका खुराक हुन । तर आत्मा जसलाई अगेजीमा स्पिरिट, ग्रीकमा पन्युमा र हिबुमा रुवाक भनिन्छ, यसको खुराक चाँहि बचन र जिउँदो पानी अर्थात पवित्र आत्मा होे । तर दुष्ट आत्माको खुराक शैताको बचन हो । प्रभु येसुलाई बिश्वास नगर्नेहरुको हृदयमा पवित्र आत्माको बास रहदैन । त्यसको हृदय वा मेरो आत्मा भित्र दुष्टको ज्ञानले बास गरेको हुन्छ । त्यसकारण तिनीहरुको आत्मा दुष्टको इच्छा अनुसार नै चल्दछ। 

अब मेरो आत्मा र मेरो हृदय अर्थात प्राणको सबैभन्दा भित्री भागमा पवित्र आत्माले पूर्ण बास गरेर नियन्त्रण गरेपछि मात्र त्यो व्यक्तिको हृदय अर्थात चित्त शुद्ध बन्दछ । यस्तो व्यक्तिले मात्र परमेश्वरलाई देख्न सक्छ ।  सत्य यही हो कि जसले परमेश्वरलाई देख्दछ त्यसले मात्र हरेक मानिसलाई स्वार्थ रहित प्रेम गर्न सक्छ । किनभने त्यतिबेला सम्म उसले जीवनको सबैभन्दा महत्वपूर्ण चिज नै परमेश्वर हो भन्ने कुरा बुझिसकेको हुन्छ । यस संसारमा बाँचिरहेका सबै मानिसहरु परमेश्वरमा जीवित छैनन् । अनि तिनीहरुलाई जीवित बनाउन हृदय शुद्ध भएको व्यक्तिले हृदय लगाएर काम गर्न सक्छ । तर जसले चित्त फुटाएर हृदयका पित्तहरुलाई पश्चातापको आसुँले सफा गर्न सक्दैन, त्यसको आँखा बाहिरतिर हुन्छ, अनि चित्त हृदयदेखी कसैलाई पनि प्रेम देखाउन सक्दैन । चित्त पवित्र नभएसम्म कोही पनि शान्तिमा रहन सक्दैन र त्यसले परमेश्वरलाई चिन्न पनि सक्दैन, हिब्रु १२ः१४ । 

अब अझै बुझ्नुपर्ने कुरा यो छ कि चित्तको यही भित्री भागले नै मनुष्यको जीवनमाथि शाशन गर्ने गर्दछ । यही नै जीवनको केन्द्र वा मूल हो, हितो ४ः२३ । यसलाई जोगाएर राख्न सक्नु नै मानवीय जीवनमा सबैभन्दा ठूलो उपलव्धि हो । चित्तको केन्द्रमा नै परमेश्वर अर्थात पवित्र आत्माको बास हुन्छ भनेर हामीले माथि नै बुझ्यौ । त्यो केन्द्रचाँहि हृदय र मेरो आत्मा हो । जहा पवित्र आत्मा मात्र बास गर्न चहानुहुन्छ । त्यसकारण त्याहा बिश्वासीले त्यही नै पवित्र आत्मालाई मात्र बास बस्न दिनुपर्छ । अनि त्यहीबाट नै जिउँदा पानीका खोलाहरु अर्थात पवित्र आत्माका खोलाहरु बग्दछन, यूहन्ना ७ः३८,३९ । जुन खोलाहरुलाई अब त्यस व्यक्तिले अरु रुखा हृदयहरुमा पनि बगाउन सक्छ ।  किनभने त्यसबाट जिउँदो पानीको खोला बगि नै रहेको हुन्छ । 

तर त्यो केन्द्रमा मानिसको बाहिरी अर्थात संसारिक भावना, इच्छा, समझ, ज्ञान, बुद्धि आदिले पनि बास गर्ने आश गर्दछ । परमेश्वरले मानिसलाई तेरो सारा हृदयले परमेश्वरलाई प्रेम गर्नू भनेर आज्ञा दिनुको कारण पनि यही हो । किनभने मानिसको चित्त सधै एकनास रहदैन । यो छली भएको कारण नै आफ्नो प्राण, समझ र शक्तिले शाशन गर्न खोज्ने हुन्छ, भजन ६४ः६ । तर जसको टुटेको र पश्चातापी हृदय छ, त्यसलाई बाहिरी मनोभावना, चेतनवृत्ति आदिले नियन्त्रण गर्न सक्दैन । त्यसलाई पवित्र आत्मा परमेश्वरले नियन्त्रण गर्नुहुन्छ । आत्माको भरपुरीमा चलेको भनेको पनि यही हो ।

तर कडा वा कठोर खालको चित्तमा सारा प्राण वा मन भावना बिचार, इच्छा आदि परिवर्तन हुदैनन् । अर्थात त्यो कठोर वा ढुंगाको हृदय हो । यस्तो चित्तले परमेश्वरलाई प्रेम गर्न सक्दैन, उहाँमा समर्पित हुन पनि सक्दैन । यसैले हरेक व्यक्तिले समर्पित हृदयद्धारा उहाँलाई प्रेम गर्न जानेका होउन्, र उहाँमै लीन भईरहुन भन्ने परमेश्वरले चाहानुभएको छ, व्यवस्था ३०ः२, १९ । आत्माले भरिएको व्यक्तिले मात्रै सारा समझ, सारा शक्ति, सारा प्राण र सारा हृदयले परमेश्वरलाई पे्रम गर्न सक्छ । 

चित्त फुटाएर तीतो नाश गर्न सक्ने व्यक्तिको हृदय मात्र बचनको प्रकासमा झलमल हुन्छ र उसले हृदयमा हर्षित हुदै हरसमय उत्सव मनाउन सक्छ । ऊ परमेश्वरको मन्दिरमा भजन गाउन हरदिन जान सक्छ । जस्तो दाउदको अनुभवले हामीलाई पनि सिकाउँछ, भजन ४२ः४ ।  त्यसले चित्त फोडेर गाउन सक्छ, स्तुति प्रंसशा गर्न सक्छ, र यस्तो कार्यद्धारा दुष्ट सधै डराउने गर्दछ । त्यसले अरुलाई पनि धन्य बनाउन मद्धत गर्दछ, भजन ४०ः३ । यति मात्र होइन त्यसले निर्धा निर्धन र कमजोरहरुको वास्ता गर्न सक्छ । अनि उसको वास्ता र रक्षा सधै परमेश्वरले नै गर्नहुन्छ, भजन ४१ः१,२ । ऊ परमेश्वरमा सधै ढुक्क भएर रहन्छ । किनकि उसले हर जीवनको मूल्य बहुमुल्य छ भनेर पनि जानेको हुन्छ, भजन ४९ः८ । त्यसकारण नै उसको हृदयम प्रेमले घर बनाएको हुन्छ । ऊ उल्टासिधा कुरा गर्नेसँग पनि  रिसाउदैन र डराउदैन पनि । उसले आफुँ अपमानित हुँदा पनि आँखा चिम्लेर बसिदिन सक्छ, हितो १२ः१६ । तर अझ बढी उसले दरिद्रलाई दया देखाउन सक्छ, हितो १४ः३१ । ऊ सधै इमानसँग हिँड्छ, कारण ऊ परमप्रभुको भयमा रहेको हुन्छ, हितोपदेश १४ः२ ।  न त ढाँट र छल त्यसको मुखमा रहन्छ । उहाँको व्यवस्थामा मानै त्यो खुशी र आनन्दित रहेको हुन्छ । उसको जीवन नै धन्यको जीवन हुन्छ । 

भजनसंग्रह १ः१–३ को रहस्य पनि यही चित्तका कुराहरुबाट खुल्दछ, । मानिसले गर्ने हरेक काम र यसको नतिजा, सारा प्रतिक्रियाको अथाह रहस्य, अनि मुक्ति या उद्धार र इनामका कामहरु आखिर हृदय अर्थात चित्तकै सवालमा आएर जोडिन्छन् । अनि फेरि मानिसको अन्तिम न्याय वा उसको कामको प्रतिफलहरु पनि चित्तकै सवालमाथि खडा भएका कार्यहरुमा आएर अत्य हुन्छन् । त्यसकारण हरेक मानिसले आफैले आफ्नो चित्त उपर चिन्तन गरेर हेर्नु जरुरी छ । अथवा अरुका चिन्तका कामहरुद्धारा सिक्नु जरुरी छ, कि त्यसको आफ्नै चित्तलाई हेर्न सकोस, त्यसलाई बुझ्न सकोस, शुद्ध बनाउन सकोस् र परमेश्वरको महिमा गर्न सकोस । आमेन । 

Labels: Essays

0 comments

Write Down Your Responses

Newer Post Older Post Home

======Popular Posts======

  • हिन्दु धर्मशास्त्रमा पाप, मुक्ति र येशू !
    By: लालु पौडेल ।   आदरणीय दर्शक तथा श्रोताबृन्, यहाहरु सबैलाई ख्रीष्टिय अभिवादन जयमसिह भन्दै आजको बिषेश बिषयको लागि स्वागत गर्न चाहान्छु।...
  • चित्त चिन्तन (ज्यादै रमाइलो निबन्ध)
    - लालु पौडेल ।   मानिसहरु भन्ने गर्छन्, मान्छेको चित्त त माखाको पित्त जत्रो हुन्छ रे । अब यो मान्छेको चित्त माखाको पित्त जत्रो हुन्छ भने...
  • That lonely Street ( English Poem)
    That lonely Street  -the street of Dogs . When it becomes night… Forsaken, Driven out and bully; And uninhabited and skinny dogs ...
  • अन्तिम पलहरु- भजन गीत नं ११२-१३४ सम्म
    -लालु पौडेल  |  यस 'अन्तिम पलहरु' भजन पुस्तकमा समावेस भएका भजनहरु कपिराइट भएको हुनाले कुनै पनि भजन, भजनको खण्ड वा अंशलाई बिना अनुमत...
  • कुकुरहरुको सडक (कविता)
    -लालु पौडेल |    जव रात पर्दछ भुस्याहा र घुस्याहा छाडा र साँढा खेदिएका र लखेटिएका घाइते ,  व्याइते ,  ल्याइते                  ...
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Lalu Paudel