विदाई (कथा)
-लालु पौडेल |
हे मेरो प्रभु किन मेरो ओठ थर्थरी कामिहरहेछ । मेरो ओठबाट वाक्यहरु निस्किरहेको छैन । किनभने म आत्मामा अति क्रन्दित भएको छु । म अत्यन्त भयभीत अबस्थामा छु । मैले मेरो मुटुको वरिपरि र भित्रभित्र छामीछामी र ओल्टाइ पल्टाई हेरें, त्याहाँ त मेरो हृदय नै थिएन । मेरो हृदयलाई ता त्रासको कचौराले ढाकिरहेको रहेछ । खै त त्याहा उहाँको निम्ति बास बस्ने ठाउँ ? अनन्त रहने घर खै ? यो त बाहिरतिर कतै हिँडिरहेको थियो । बोलिरहेको थियो अनि चलिरहेको थियो । तर कुन बेला हो थाहै भएन । धमिरा पसिसकेको रहेछ । भित्र भित्रै टुक्य्राउन लागिसकेको रहेछ । कुहाउन थालिसकेको रहेछ । मैले चालै पाइन । यो त नष्ट हुन लागिसकेको रहेछ ।
हाय मेरो प्रभु ! मलाई गुहार गर्नुहोस् । मेरो हृदयलाई हेरेर म दिनभरि रुदैछु । मैलै कतैबाट स्वान्त्वना पाएको छैन । म त बिलीन हुन लागिसकेको रहेछु । मलाई बचाउनुहोस । म पासोमा पर्न लाग्दैछु । मेरो बाटोभरि जालहरु बुनिएका छन् । कतिखेर डोरी तानिएर म उनिने हो थाहा छैन । कतिखेर म दुनियाको अगाडि तमासा बन्ने हो थाहा छैन । मानिसहरु हाँस्नेछन् । तिनीहरुले मलाई गिज्याँउने र गिल्ला गर्नेछन् । तिनीहरुको शक्ति ममाथि अत्यन्त प्रवल हुन लागेको छ । तपाईंले मेरो गल्तीको साटो फेर्नुभयो भने त म कति नै बाँकी रहन्छु र ? हड्डीहरुको कण पनि बिलिन हुनेछ । तिनीहरु रमाउने संगीतको धून पनि मेरो लागि अहिले बिझाउने काँढा भएको छ । मेरो प्राण भोकाएको छ । मेरो शरीर कर्कलाको डाँठ जस्तो भएको छ । म काटिएको कर्कलाको पात झैं भएको छु । म ओइलिएर सुकिसकें । म जल्न लागे । हे मेरो प्रभु अब त मलाई उद्धार गर्नुहोस । तिनीहरुबाट बचाउनुहोस । छुटकारा दिनुहोस् । या त आजै यो धर्तीबाट मलाई बिदाई गरिदिनुहोस् ।
मैले मेरो वरिपरि हेरें, मानिसहरुमा क्रोधको आगो दन्किरहेको छ । कमजोरहरुलाई झर्पाछन, हर्काछन र मनभरि अथाहा वेदना पीडा र सन्त्रासको आगो सल्काउँछन् । तिनीहरु यता र उता दगुर्छन् । तर पनि शान्ति शरण र खुशी खोज्छन् । यद्यपी केही पलको लागि बाहेक कुनै फाइदा छैन । तिनका मनभित्र अहंकार नामक रुखको जरा भयंकारसँग बढेको छ । वरिपरिका रुखहरु ता बल मिचाईमा परेका छन । ती निरीह देखिन्छन् । मुख्र्याइको बलमा भाँचिन लागेका छन । ढलेर कुल्चिमिल्चि पारिन लागेका छन । तपाईसँगको सम्बन्ध क्षीण हुदा म आपत्तिमा परेको छु । मेरा आँखा तिर्मिराएका छन । म पासोमा परेँ । म लडें । ममा कुटिल मति आयो । मेरो मनमा लोभ भरियो । मेरो मनको आँखामा क्षणिक खुशी र ऐसको चित्र नाँच्न थाल्यो । म तानिएँ । पैसा तिरेर ल्याएको खसी झैं जर्वजस्ती काटिनलाई घिच्याँइए । मेरो घाटीमाथि धारिलो खुकुरी चम्केको छ । म टुक्रिन लागेको छु । म चुँडिनै लागेको छु । म टुक्रा टुक्रा हुन लागेको छु । म निर्दयीहरुको आहारा बन्न लागेको छु । कतिन्जेल ती भोका र प्यासाहरुले आफ्नो हात थाम्लान र ? म साँच्चै नै बिपत्तिको पासोमा छिरिसकेको छु । डोरी सुर्किन लाग्दैछ । नास हुने भुगांनको डिलबाट म हुत्तिनै आँटेको छु । गुहार, मलाई तिनीहरुले नदेख्ने गरि उडाउनुहोस् । मेरो वरिपरि घेरा हाल्ने तपाईंका दूतहरुलाई तिनीहरुले देखेका भए त मेरो गति के यस्तो हुन्थ्थो र ? म मा खरावी नभए त किन आफ्नो हात एकछिन उठाउनुहुन्थ्यो र ? के मेरो अधर्मको मूल्य यहि नै हो ? मलाई क्षमा गरि झट्टै तान्नुहोस । झट्टै उठाउनुहोस् ।
आज फेरि म बिक्षिप्त भएको छु । मेरो गिदीमा ठेढी ठोकियो । मेरो उल्लसित मन गएरर हिलोमा गाडियो । फोहोरको थुप्रोमा म कुहिन लाँगे । हिलोको पत्र नै मेरो ओच्छाउने र ओढने भएको छ । नालीमा बग्ने थोक मेरो आहार बन्छ । गन्हाउने थुप्रोको दुर्गन्ध के कडा छ र ? म भित्रको दुर्गन्ध यसरी फैलिएको छ । मलाई ध्वाँसे दुर्गन्धित बाढीले डुवाएको छ । म उकुुसमुकुुुस भएको छु । खलखली पसिनाले म भिजेको छु । मेरो दुर्दसा देख्ने कोही छ ? मलाई टिठ्याउने कोही छ ? मेरा शत्रुहरु खाँदै पिउदै नाच्दै रमाउँदै छन । रगतको होली खेलेर रगतकै आहालमाथि तिनीहरु मढारिन्छन । मेरो प्राणभन्दा तिनीहरुलाई आफ्नकुकुरको बढी चिन्ता छ । कोही आउदा भुकिदिने टोकिदिने र तर्साइदिने कुकुर । तिनकै पछिपछि हिँडिदिने कुकुर जसलाई तिनीहरुले एक गास कलोमा फकाउँछन । मेरो पुकार भाँचिएको छ । मेरो बिन्तिमाथि कसले भाँजो हाल्यो ? के त्यो मभित्रै भएको मेरो अधर्मले हो ? त्यसो भए अब तँ म जाने ठाउँमा कसरी वास गर्लास् र ? तेरो असली ठाउँमा तैले मलाई घिच्याए पनि म उक्लेर आउने छु । उहाँको क्षमाको शक्ति मसँग छ । उहाँले मलाई उद्धार गरिदिनुहुन्छ । तेरो ठाउँमा कहिल्यै नफर्कने गरि तँलाई बिदा गरेर म नयाँ घरमा जादैछु । तेरो राज्य कति दिनको हो र ? म अन्तिमसम्म धैर्य र प्रतीक्षा गर्न सक्छु । त्यसदिन म बिजयको झण्डा फहराउदै जाँदा निश्चय नै तेरो शिरले भूइको धूलो चाट्नेछ । सारा संसारले तलाई डाँट्नेछ ।
हे मेरो परमेश्वर कहिलेसम्म म निशव्द भएर बसुँ ? मेरा आँखाले अघोर रमिता देखे । मेरो मनलाई त्यसले तान्यो । मैले आफ्नो खुट्टा रोक्न सकिन । त्यति नै बेला मेरो बाटो किन भासिएन कुन्नी ? हिड्ने बाटो नै नपाएको भए कसरी म चक्रपातको बेंशीमा पुग्थे र ? मलाई किन असिनाले ठटाउँथ्यो र ? किन आँधी र हुरीले हुत्याउँथ्थो र ? हिलोले किन चिप्ल्याउँथ्यो र ? म बेसरी थचारिँए । हेर्नुहोस त, मेरो ठडिने ढाड नै भाँचिएको छ । म कसरी उठुँ ? म कसरी जागुँ ? वेदनाका लहरहरुले मलाई बढार्यो । मलाई त्यँही खुत्रुक्कै मरुँ जस्तो लाग्यो । किनभने मेरो आशा सबै मरिसकेको थियो । म सख्त धाईते बनेको छु । मेरो नजिक सल्लाह दिने कोही पनि छैन । हात समाउने साथी एउटै पनि छैन । बाटोमा हिँड्नेहरुले मलाई बेवास्ता गर्दछन । नदेखे झैं गरि मुन्टो बर्टाछन । मेरो अर्धलासमा ठोक्किदा पनि आँखा चिम्लेर हिँडछन । अन्तर परेलीबाट झरी झैं आसुँ झर्छ । मलाई कसले सम्हाल्छ ? यो अधोर पीडा बुझिदिने कोही आईदिए हुन्थ्यो । म छटपटिन्छु । मेरो आशा र भरोसा मभित्र रित्तो भईसकेको छ । मैले लत्ता छाडिसकें । मनखुशी गर्ने सिंहले अब जतासुकै लतारोस । म लखतरान भएको छु । मेरो आँखा नभएको भए त हाय म कसरी उपद्रो गरी विनासको अवस्थामा पुग्थे र ? मभित्रको बलले मिचेर याहासम्म पुर्यायो । म बागी भएँ । आफ्नो जोशको कमिले आज बोझले थिच्यो । जोडिनै नसक्ने गरि पेलेर फुटाल्यो । नाक कान आँखा र मुखका मूर्तीका छुच्चा तिखा चुच्चाहरुले बेसरी ठुँग्यो । मलाई घाउ नै घाउ पारेको छ । कसैले समाउने ठाउँ नै छैन । म सर्म र लाजले मुच्र्छा परेको छु । यो दीनहिनलाई दया गर्नुहोस । अब त पृथ्वीमा दया देखाउने मानिसहरु छन र ? ए स्वर्गानन्दी परमेश्वर आफ्नो मुख मोडेर किन मलाई अझै निचोर्नुहुन्छ ? ममा शक्ति दिने तरल अझ बाँकी छ र ? बरु मलाई श्वास नै नहालिदिएको भए त यो सास्ती अनुभव नै गर्ने थिइन । तर यो इनाम पाउने कष्ट हो भने त टाउको सम्मै डुवे पनि म नित्य भजन गाइरहन्छु । दुखाईमा म हाँस्दछु । पृथ्वीले खिस्याउँदा म रमाउँछु । म कतिन्जेत यत्तिकै बहकिदै गरौ र ? म उत्तम सुन बन्न सक्ने भए त जति बाँकी भए पनि के भयो र ? म औधी खुशी हनेछु । किनभने तपाईले यसलाई आफ्नो घरको भित्तामा चम्काउनुहनेछ ।
यतिखेर मेरो चारैतिर थरीथरी आतकं र त्रास फैलिएको छ । मानिसहरु भुसुना झैं फटाफट जमिनमुनि गाडिदैंछन । फुटेको भाँडो र टुटेको जीवन के अर्थ भयो र ? आतकंको राज्यले मलाई कुल्चदै छ । तपाईंले तिनीहरुमाथि कचौरा खन्याउदा म चेपुवामा परेको छु । म तातो हावाको रापले पिल्सिएको छु । मेरो मुटु भतभत पोलिरहेको छ । मेरो जीउ लुगलुग कापिरहेको छ । दैत्यको अगाडि पिलन्धरे सिपाही परे झैं म हतास हुदै पहिल्यै हारेको छु । मेरो मुटु बिस हात उफ्रन्छ । मेरो बलले नै भ्याउँदैन । म कसरी यो सन्त्रास र आतकंको युद्धलाई साम्य पारु ? म असिना सहितको आँधी र हुरी भए त यो पापी लडाईको आगोलाई भ्mयापझुप्पै निभाइदिन्थे । सक्ने भए त अंहकार गर्ने जनमनलाई दस किलोको भालाले उनेर बेलेको रोटी जस्तै हुने गरी पछारिदिन्थे । तर मेरो दोषबिना पनि ममाथि कुर्लनेहरु धेरै छन । मेरो पिठिउँमा तिनीहरु षढयन्त्रको जाल बुनिरहन्छन । बाटो र गल्ली कुरेर निर्घात पिट्न खोज्छन् । म बाहिर निस्कनै सक्दिन । मेरा गोडा चिप्ला भएका छन । खोइरो खन्नेहरुलाई जवाफ नदिएस् भनेर मेरो मुखलाई तपाईं सिइदिनुभयो । म कहिलेसम्म आँखा टोलाएर मात्र बसुँ ? कान पकाउँनेहरु कहिल्यै थाकेनन । रीसलाई थाम्न कति गार्ह्रो छ । यी दुष्कर्मीहरुको अगाडि स्वस्छन्द भएर उघ्रन म सकिन । मलाई दया गरी उघार्नुहोस । तिनीहरलाई चारै कुनाबाट धकेदिनुहोस् । बिलम्ब नगरी तपाई आएर मलाई शान्ति दिनुहोस् । शान्तिको घरमा लानुहोस् ।
हे परमेश्वर म कसरी यो मुख देखाउँ ? म तपाईंतिर फर्कनै नसक्ने भएको छु । मेरो अनुहार उठाउनै नसक्ने भएको छ । वाजे वराजु र आफ्नै पापको कालोले मेरो मुख डडेको छ । अंगार झैं कालो मेरो टाउकोभन्दा माथि थुप्रिएको छ । मेरो मनभरि खटिरा आएको छ । पलपलमा गिज्याउने झिज्याउने चिलाउने र सास्ती दिने खटिरा । यो मै अटेरी भएको हुनाले आएको हो ? मेरो गिदीमा झीर रोपएको छ । मेरो मुटुमा तीर रोपिएको छ । म के वीर छु र हाय, हरसमय निरहरु बगिरहन्छन । जान्दा जान्दै पनि यी मनहर भीरतिर हाम फालिरहन्छन । हाय म डँडे प्रभु, म त केवल डडेको छालाको थुप्रो मात्र भएको छु । केटाकेटीहरुलाई तर्साउने अन्धकारको झुप्रो माात्र भएको छु । ठडिनै नसक्ने गरि कुप्रो भएको छु । लेकका भेंडाहरुले काँसघारी रुमलाए झैं मैले तपाईंको पानीको उम्रेका हरिया भुल्काहरुलाई चिमोठे, निमाँठे । यो हृदयलाई ढुंगाले ठक्कर दियो । दुष्टले साह्रै मिच्यो । म निरीह भएको छु । कसैले पनि दया देखाउन योग्य छैन । गिज्याउन बनाइएका नरकका गुडियाहरुले मलाई खिज्याइरहन्छन । तिनमा प्राण काहाँबाट आयो ? पलपल गिदी चाट्दछन् ।
मैले तपाईंलाई रिझाउन सकिन कि तपाईंले मलाई यत्तिकै गन्धमा छाडिदिनुभयो ? मेरो दोष नभेटिएसम्म आसुँ बगाईरहन्छु । यो आखेँ झरी कति दिन नै टिक्ला र ? ठिकै छ बर्खे झरी नै सही, फोहोर मैला हिलो धूलो सबै बढारेर लैजाओस । हिउँदमा म शान्तिसँग बसुँला । के अनन्त हिउँदको प्रतीक्षा गर्ने पुस्तकमा मेरो नाम लेखिएको छैन र ? तपाईंमा दया नभए त शायद यो मेटिने थियो । म बाहिरिने थिए । तर धन्य प्रभु तपाईंको बिश्वसनियता आचुक छ । के बिश्वास गर्नेहरुको प्रतीक्षा बदलिन्छन र ? त्यसो हुदो हो त म व्यर्थैमा नर भएर जन्मिएँ । तपाईंको घर आउनेहरु कसैले पनि बिदाईं माग्ने छैनन । किनभने आसुँ र तड्पाई जिन्दगीभरी सहनुपर्छ ।
हाय प्रभु ! मलाईं यो के भयो ? म उभिएको ठाउँ बाहेक वरिपरि कुनै जमिन छैन । माथि हेर्छु कालो न कालो बादल मात्र छ । हात पसार्छु कसैले मलाई तान्न आउदैन । बेस्सरी रुन्छु कसैले मेरो स्वर सुन्दैन । मानिसहरुको कानमा तेल हालेको छ कि ? आँखामा पट्टिी बाँधेको छ कि ? मतिर फर्केर हिँडनेहरुले समेत मलाई देख्दैनन । म खिन्न भएर थचक्कै बस्दै दिन गनिरहेको छु । आसुँ सिवाय प्यास मेट्ने पानी झरेको छैन । बेदनाको डल्लोले खाली पेट भर्छु । तीखा गिटी ढुंगाहरुलाई ओछ्यान संझेको छु । जति नजर घुमाए पनि फट्कने बाटो नै देख्दिन । जति फटफटाए पनि उडेर केही समाउने चिज भेट्दिन । म बिवश भएको छु । मेरो रक्षार्थ कोहि आएन । म पांग्रा फुस्किएको रथ झैं भएको छु । जाहा जाहा गएँ त्यहि घोका खाएँ । के तपाईंसँग व्यर्थै प्रीति लाए ? हारे पनि केही अर्थ होला । माटो भए पनि केहि मूल्य होला । मेरो शरीरको माटोमाथि एउटा नमर्ने फूल फूलिदिए हुन्थ्यो । संसारले त भूलिदिए पनि हुन्थ्यो । किनभने म मुख देखाउन लायक नै भईन । बैगुनीको छिनुले अनुहार भरि कोपै कोप बनाएको छ । ढाट छल झूट र व्यभिचारी बर्खे धापले शरीरै भरि छाप बनाएको छ । कचकचे हिलोले कुहिने काप बनाएको छ । सधैंभरि मुटु डाम्ने राप भएको छ । कष्ट दिने काप बनाएको छ । अब त बिदाईको विणा बजिदिए कति आनन्द हुने थियो ।
लौ अब कसरी हरियाली आउला । म सुकेको रुख झै खंगरङ्ग भैसके । बोक्रा ताछेर मान्छेले मेरो आहारको बाटो बन्द गरिदिए । मेरो पात पनि घामको डडेलोमा प¥यो । पानी सुकेर भुईमा झर्यो । पतकारलाई पनि मान्छेले पशुको ओछ्यान बनाए । खेतबारीमा डडाएर मलनल बनाए । कतिले खाल्टामा कुहाएर खेतबारीमा डडाएर मलनल बनाए । कतिले खाल्टामा कुहाएर बिषालु झोल बनाए । हागाँहरु पनि आँसी र बन्चरो लगाएर टुक्रा टुक्रा पारे । अगेनामा जलाए । मूल डाँठलाई आरो लगाएर आरी र तखता बनाए । खूशी अनुहारको आकृति बनाए । मेरो आफैं हुर्कने बढ्ने फुल्ने फल्ने र हरियाली बन्ने सपनाले सिल्टिमुर खायो । मलाई स्याहार्न खोज्ने कोहि भएन । मेरो मूल्य तिरिदिने कोहि भएन । मेरो पक्षमा बकातल गरिदिने कोही भएन । धारिला हतियार रोकिदिने कोही भएन । तर अरुले मेरा अंगहरुबाट मूल्य बनाए । रुख पूरै बेचिदिए । मेरो भित्री आँखामा छचल्किईरहेको आँसुको तालभित्र हल्लिरहेको पिडित हृदयको प्रतिबिम्बलाई निकाल्ने कुनै यन्त्र भएन । जन्माउनै सकेनन । जरैलाई तिनीहरुले मुठारे । ढल्नेबेला म नराम्ररी पछारिएँ । तर तिनीहरु सबै आफ्नो इच्छा पूरा गर्न पाएकोमा अत्यन्त खुशी थिए ।
मेरो जीवनको रुख मैले तिलान्जली दिएँ । यो तैपनि तिनका आँखामा तिल झैं सानो थियो । मेरो रहर मेटिदिएँ । तिनीहरुलाई भेटी दिएँ । छिनमै तिनीहरुको इच्छा बदलियो । तर यो जीबन बदलिएन । निरिहता र निरवताको निशीमा छट्पटाई नै रह्यो । उठाएर जोडिदिने, हतियारहरु तोडिदिने कोही थिएन । मेरो नियती यस्तो भएको छ । आँट बल र साहास कैयौ फिट तल गएको छ । सन्त्रास र अत्यासको बाटोमा बिबशताले बटारेका खुट्टाहरु घिच्याउँदै हिँडिरहेको छु । तीखा गेगरले पैतालाका छाला उधार्छन । कुनचाँहि बैद्यले मलहम लगाईदेला ? ठ्याम्मै भए मेरा गोडा । हलहली रगत बगिरहेको छ । यो दुष्ट रगतलाई शुद्ध्याएर कसले जीवन भरिदेला ? रगत बग्न मात्र जानेको छ । रोक्न कसले सक्छ होला । म बेचैन छु । भोक र प्यास रित्तिइसकेको छ । यस पृथ्वीको भोक । अब यो निको नहुने भयंकर रोगबाट मलाई छुटाएर रोग भोक र शोक मुक्त बन्ने चाहाना तीब्र भएको छ । मेरो प्रार्थना यही छ मलाई अब बिदाई गरिदिनुहोस । किनभने म अन्तिम त्यान्द्रो मात्र बाकी रहेको छु । उतापट्टि अथाह ध्वान्द्रो पनि मुख उघाएर बसिरहेको छ । बिन्ति छ, बिन्ति छ, मेरो प्रार्थना यही छ मलाई अब बिदाई गरिदिनुहोस् ।
0 comments
Write Down Your Responses