• HOME
  • About Me
  • Articles
  • Story
  • Essays
  • Poem
  • Songs
  • Spiritual Manna
  • Videos
  • Photos
  • Contact
Your are browsing : Story
-लालु पौडेल | 

ए सन्तोष आजको बचन तलाई कस्तो लाग्यो ?

आज उसले दिएको बचन र उसको बिचार मलाई त एकदमै राम्रो लाग्यो, तर के गर्नु हामी नेपालीहरुमा यही त बिडम्वना छ, कि हामीले न त सुनेका सबै कुरा बुझ्छौ, न त बुझेका सबै कुरा गर्छौ । अनि अरु पनि सबै हामी जस्तै एउटै ड्यागंका ता होलान ।

तैले जेसुकै भन, तलाई कस्तो लाग्यो थाहा छैन तर मलाई भने आजबाट केही न केही गर्नैपर्छ भन्ने एउटा बल आएको छ । आजको बचन सुनेर त किन हो किन मलाई भित्रभित्र धिक्कार पनि लागिरहेको छ । हृदयमा कताकता अशान्तिले घेरे झै पनि लागिराछ । मलाई यस्तो लाग्दैछ कि म त अझै पनि अध्यारोमै हराईरहेको रहेछु । अब यसरी बस्नु हुदैंन यार, यस्तो अवस्थाबाट बाहिर निस्कनैपर्छ । तर के गर्ने, कसरी गर्ने मलाई त केही दिमाखै आइराछैन भन्या । तँ सग केही आइडिया भए भन्न ए बरु ।

उफ् ! अब तँ फेरी कतिदिन यसरी उम्लदै  र सेलाउदै गर्ने होस थाछैन । भाँडाको पानी घोप्टिनु अघि र शिकारीले आफ्नो तीर छोड्नु अघि जिन्दगीलाई राम्रोसँग नियाल्ने प्रयास गर । नत्र तेरो परिश्रम फेरी पानीमा जाला । 

तँ मेरो मन अझै धमिल्याउन नखोज न यार । जिन्दगीमा धेरै चिज देखें, धेरै कुराहरु भोगें र खुशी भएँ भन्ठानेको थिएँ तर यो त राम्ररी संङ्लिएको रहेनछ । आज मलाई यो मनले प्रश्न गरिरहेको छ कि के तँ साँच्चै भित्रदेखि सफा भएर खुशी भएको छस् त ? तर म त अझै  मस्किएको रहेनछु । भएन है यसरी, अब त केही सोचौ अनि केही गरौ न यार । ओ.. तँ मेरो कुरा सुन्दैछस् भन्या ? के एकतारो अगाडी मात्र हेरिरहेको ?

देख्दैनस् ? हातमा स्टेरिङ छ । ओभरस्पीडमा अतिकति केयरलेस भइयो भने उत्तानो पर्न बेर लाग्दैन । अँ लल भन तेरो कुरा, सुनिराछु । तेरो कुरा ठिकै हो, तर केही गर्नलाई जोसिन जस्तो सजिलो पनि त छैन । यसको लागि धेरै सोच बिचार र अध्यन गर्नुपर्छ होला । अनि प्रार्थनाको साथ उहाँको अगुवाई खोज्नुपर्छ होला । कुरा यत्तिकै खोके जस्तो सजिलो काँहा छ र हो ? 

साँचै तँ याहा आएको कति बर्ष भयो रे ?

दश बर्ष जति पुग्न लायो होला । तँ पो दुई बर्षको बच्चा होस त । 

अँअँ ओइ रोक मेरो रुम आईसक्यो । आफ्नै घरतिर हुँइक्याउने होस कि क्या हो ? तर म तलाई बेलुका भेट्छु है । आजको संगतिको बारेमा साथै अरु कुराहरु पनि गर्नु छ । साचै  तँसग आएर त्यो आजको प्रचारकलाई पनि भेटेर उसँग जीवन र बचनका गहिरा कुराहरु मन्थन गर्न मन लागेको छ । ऊ कहिले फर्कने रे नेपाल ?

त्यस्तै आठ दश दिन पछि फर्कन्छ होला । तर नो टेन्सन ओके ? एक हप्ताजति उ मसगै बस्छ होला । तँ बेलुका आइजा न त । अहिले त उसलाई नरेन्द्रले साइटसिनमा लगेको छ । मेरो पनि बाहिर अलिकति काम छ, त्यो सकेर बेलुका भेटौला । 

ल ल ओकेओके, बाई । 

बेलुमा जीवन खुस्रुक्क सन्तोषको कोठाभित्र छिर्यो । उ कम्प्युटरसँग जुधिरहेको थियो । 

अरे के हो, किन एक्लै ?

अँ, बिनिता साथीकोमा गाकी छे । 

अनि खै त आजको बक्ता, तेरो साथी आईपुगेन र ?

अँ साची देशभक्त त आज उतै नरेन्द्रकाँ बस्ने रे । भर्खर मलाई कल आएको थियो । भोलि मात्र यता आउने कुरा छ । 

हत्तेरिका कस्तो झ्याउ भो त हो । आज झन कस्तो भेट्ने इच्छा थियो । हैन न ए तँ पनि कति त्यो फेसबुकमा मात्र झुण्डिराको ? यता आ एकछिन भएपनि प्रार्थना गरौ, केही कुरा गरौ । 
लल एकछिन, यो च्याटलाई म बिट मार्छु अनि ।

साँच्चै यार, आज त म देशभक्तको बचन, उसको देशप्रेम, अनि उसको देशभक्ति अनि हामी नेपाली हुनुको गर्वको कुराहरु सुनेर सारै छक्क परेँ  । यी कुराहरु सुनेपछि त म आफै प्रति अफशोच पनि लाग्यो । उसको मनमा कसरी त्यस्ता बिचार र भावना प्रष्फुटन भयो होला । निश्चयन नै त्यो परमेश्वरको प्रकास र बिचारमा समर्थन होला । उसका कुरा त अहिलेसम्म मेरो कानमा गुञ्जिदैछन । अनि साची देशभक्त त सानैदेखिको तेरो साथी भनेको होइन र ? उसको नालीबेली सबै मलाई थाहा छ भन्थिस् तर हामी कलेज जादाँ त कहिल्यै पनि उसलाई देखिन त, किन ? ऊ कस्तो मान्छे, उ कस्तो मान्छे हो केही न केही त भन मलाई । 

उसको कथा व्यथा अर्कै छ । उसको छाती पथ्थरको अनि मनचाँही नौनी घिउ जस्तो कमलो र हिँउ झै सेतो छ । परिश्रमलाई उसले दुख भन्दैन, कामलाई लाज भन्दैन । पहिलादेखि नै अर्थात ऊ बच्चादेखि बृद्ध सबैको साथी थियो । त्यसैले होला गरिव भएपनि समाजमा उसको केही न केही इज्जत माथि थियो । घर शहरको काँठमा भएकोले शहर र गाउँ दुवैतिरको हावाले छोएको व्यक्ति हो । नाँच्नेसँग नाँच्ने, हास्नेसँग हास्ने, पिउनेसँग पिउने र निउनेसँग निउने मान्छे थियो । आनीबानी रानी जस्तो तर मनमा काँटा कैची हुनेलाई हानी जस्तो पनि थियो । तर खै कसरी भनुँ, के भनुँ । जिन्दगीको कथाले यसरी मोड्यो तोड्नुसम्म तोड्यो उसलाई । मैले पनि उसलाई पहिला त्यति राम्रोसँग चिनिन, बुझिन । परमेश्वरलाई चिनेपछि पो बल्ल बिस्तारै उसलाई चिन्न थाँले । उ पनि परमेश्वरमा बिश्वास गरेपछि त झन सुन खारिए झैं खारिन थाल्यो । बिश्वासमा त उ मभन्दा दुई तिन कदम अगाडि छ । म कछुवा जस्तो हिँड्दैछु तर ऊ खरायो जस्तो । यस्तै रहेछ यो जिन्दगी, कोही अगाडी कोही पछाडी । 

आफ्नो घरलाई बिर्सेर चार दिनको चाँदनीमा फटफटाउँदै उडेर खुशी हुन खोज्ने मानिसहरु स्वार्थी हुन । तिनीहरुमा कसैप्रति सेवा र प्रेमको तृष्णा छैन । ती अन्धभक्तहरु हुन । तिनीहरु बाहिरबाट हेर्दा आशिषले भरपुर देखिन्छन तर त्यो उध्र्वगति मात्र हो । बाहिर अट्टहाँस गरेपनि अनन्त पीडाको गन्धलाई तिनीहरु सुँध्न सक्दैनन । तिनीहरु जितेर पनि हार्ने व्यक्तिहरु हुन । अख्रीष्ट्रियनको लागि त उसको कुरा ठीकै होला तर थाहा छैन किन हो उसका ती प्रत्यक बचनहरले मेरो हृदयमा पनि च्वास्स च्वास्स घोचिरह्यो । साच्चै हो, उसको आत्मामा े आफ्नो घर र दाजुभाइहरु प्रति उदेकको प्रेम छ । प्रेमले सबैथोक सहन्छ र बिश्वास गर्छ तर आफुँ र आफ्नो पनलाई बिश्वास नगरि अर्काको दया र मायामा े आफ्नो क्षमताको घमण्ड गर्नेहरुलाई धिक्कारै होस । थोरै मेहनतले घेरै खोज्नु, आफ्नाहरुको लागि वास्ता नराख्नु, पे्रमशुन्य हुनु र े आफ्नो लागि मात्र दुनो सोझ्याउनु के यो शैतानी प्रवृत्ति होइनन र ? यति धेरै समयपछि आज मलाई यस्तो लाग्यो कि मेरो आँखा त भर्खर पो फुट्न लागेको रहेछ । सतहमा मात्र फटफटाएर समुन्द्र नतरिँदोरहेछ । भुवँरीमा हेलिनु अनि धारमा पेलिनु पर्दोरहेछ । लहरहरुमा झेलिनु पर्दोरहेछ.... । म त झन झन अवाक्क पो पर्दैैछु । जति बुझ्दै गयो यो जिन्दगी झन् उती गहिरो जास्तो । 

हैन तँ पनि कहिलेकाही के हुन्छस ? जिन्दगीलाई यसै सेन्टिमेन्ट बनाउन खोज्छस त । उसको बचन अलि राम्ररी बुझने कोशिस गर त । 

अनि के गर्ने त ? मेरो दिमाख त्यसै घुम्छ । तँ उसको बारेमा मलाई अझै भन त, म उसको जीवनबाट अझै बढी बुझ्न सक्छु कि । 

पहिलो कक्षामा दोश्रो र दोश्रो कक्षाबाट पहिलो हुदै उसले हाईस्कूल पास गरेको हो । अनि म चाँहि त्यसपछि कलेज पढ्न राजधानी हानिए तर उ एक बर्ष उतै गाउँमा अलमलियो । किनभने उसको आर्थिक अवस्था एकदम कमजोर थियो, हाम्रो जतिके सवल थिएन । पछि आफैले फाटफुटे काम गरेर केही पैसा जोडजाम गरेपछि उही नजिकैको शहरमा कलेज भर्ना भएको थियो । यसरी हामी कलेजको समयदेखि टाढा भयौ । तर उसले घरको आर्थिक अबस्थाले गर्दा अध्यन पुरा गर्न सकेन र बाध्य भएर खाडी तिर लाग्यो । उसले भने अनुसार उसले त्याहाँ एकदमै कष्टपूर्ण काम गर्नु परेको थियो ।  मिश्रमा इस्रायलीहरुले पाएको कष्ट जस्तै नेपालीहरुले पाएको दुख र पीडालाई उसले अनुभव गर्न थाल्यो । अनि यस्तै अन्याय र असमानताको पक्षमा बोल्दा धोका खाएर जेल परेको छ महिनापछि उ यनतेन स्वदेश फर्कन सक्यो । त्यसबेलासम्म उसले आफ्नो माटोमा मेहनत गर्नु कति उचित हुदोरहेछ भन्ने कुराको महशुस गर्न थाल्यो र उसको दृष्टिकोणमा व्यापक परिबर्तनको आँकुरा पलाउन थाल्यो । तर पनि त्यो आकुँरा दुई पात पनि हुन नपाउँदै धेरैपटक निमोठियो, चिमोठियो, चिल्चिलियो अनि थिल्थिलियो । ख्रीष्ट प्रभु येशूमा बिश्वास गरिसकेपछि फेरि उसले त्यसलाई हुर्काउने कोशिस ग¥यो तर पनि कति समयसम्म यसो गर्न सकेन । धेरै समयपछि मात्र बिस्तारै यसमा जरा र पात पलाउन थाले र बृृद्धि हुदैं याहासम्म आईपुगेको छ । 

अनि ? अनि ऊ बिश्वासीचाँही कहिले र कसरी भयो नि फेरि ?

बिदेशबाट कान्तबिजोग भएर फर्केपछि फेरि कहिल्यै बिदेशमा काम गर्न नजाने उसले निश्चय गरेको थियो । त्यसकारण आफनै गाउँठाउँमा जस्तो काम पाउँछ त्यस्तै काम गरेर जेनतेन परिवारको हेर बिचार गर्न थाल्यो । अलिक पढेका साथीभाईहरु, यी हेर हामी जस्तै नि, अलि राम्रो देशतिर गइसकेक थिए । अध्ययन वा कामको लागि राम्रो देशतिर जान नसक्नेहरु उही खाडी मुलुकतिर पुगिसकेका थिए । बाँकी पनि कोही व्यापारतिर जमिसकेक थिए भने, कोही जागिरे  भैसकेका थिए वा कुनै न कुनै काममा व्यस्त भैसकेक थिए । तर उसलाई कुनै राम्रो काम वा व्यवसायबिना नै फक्कु भनेर हिँडिरहनुपर्दा मानसिक रुपमा एकदमै चाप परिरहेको थियो । उसको त्यो अन्तसघर्ष र वेदनालाई कसले महशुस गर्न सक्ला र खै । उसलाई यी सबै कुरा टुलुटुलु हेर्नु बाहेक अरु कुनै उपाए थिएन । मैले केही गर्ने मौका पाएँ भने तलाई मद्धत गरुला भनेर सदासयता राख्नेहरु पनि उसका लागि बिराना भैसकेका थिए । कोही बाहिरबाट फर्केर आउँदा स्टाटस फेरिसकेको हुन्थ्यो । मलाई पनि यस्तो लाग्यो कि प्राय मानिसहरुले मुखले मात्रै तुतुरी बजाँउदा रहेछन । उमेर र अर्थिक बुृद्धि हुदै गएपछि अनि बिहेवारी भएपछि संगीको निकटता र सहयोग हराउदै गएर औपचारिकता या हाई मा मात्र सिमित हुदोँरहेछ । मलाई नै हेर न, बाहिर गएर कमाउन सके भने त केही सहयोग गरुँला भनेको थिए तर यतिका बर्षसम्म पनि उसका लागि केही गर्न नसकेको रहेछु । यस्तो अटुट र बेग्लै नातालाई झण्डै पुरै पो बिर्सिसकेको रहेछु । जव प्रभुलाई बिश्वास गरे अनि बल्ल पो उसको याद आयो र उसलाई सम्पर्क गरेर जनिक हुने प्रयास गर्न  थालेँ । नत्र हाम्रो सम्मन्ध पनि अरुहरुको जस्तै हुुन्थ्यो होला । 

हैन अनि बिश्वासी चाँहि कसरी भयो त भन्या ?

त्यस्तै कुनै उपयुक्त कामको खोजिमा भौताँरिदै गर्दा एकदिन उसको भेट कलेजको प्राचार्यसँग भएछ । आफ्नो दुख सुखबारे कसलाई पोखुँ कसललाई भनुँ वा के गरुँ भने झै भैरहेको बेलामा निकै गन्थन गर्ने समय पाएछ । उसको घर परिवार, आर्थिक अवस्था बेरोजगार हुनुको पीडा बेचैनी आदी सबै कुरा बुझेपछि तिमी त असल बिद्यार्थी हौ कसरी त्यस्तो अवस्थामा पुग्यौ त भन्दै स्वान्त्वना दिएछन अनि सुसमाचार पनि सुनाएछन र चर्चमा आउन आग्रह गरेछन । त्यसपछि उ चर्च जान थालेछ । उसको जीवनमा समस्याहरुका थुप्राहरु भए पनि त्यसपछि उ शान्ति र भविष्यको आशामा जिउन थाल्यो । प्रार्थना र बचनले उसलाई उत्साहित बनाउँदै लग्यो । तर केही समय पछि ती प्रार्चायको सरुवा भएछ । उसको लागि आशा उत्साह दिदै आत्मिक रुपमा बढ्न सहयोग गर्ने व्यतिmको साथ टुटे पनि मण्डली र परमेश्वरसँग जोडिसकेको नातालाई टुटाएर ऊ अन्त जान सकेन । यसरी उ बिश्वासमा अगाडि बढ्न थाल्यो । 

ए है कस्तो अचम्म । अनि अहिले कति बर्ष जति भयो उसले बिश्वास गरेको ?

करिब २५ बर्ष पहिला होला जतिबेला म व्याच्लर सकेरा बिदेशिने चक्करमा राजधानी तिर हल्लिदै थिएँ । शायद अहिले उ चालिस काट्यो होला । म त यतै आएको कति समयपछि बिश्वासमा आएको हो । तर मभन्दा पछि उ बिश्वासमा आएपनि उ बिश्वासमा त मभन्दा घेरै पाको भैसकेको रहेछ । उसले सांसारिक रुपमा जे जति काम गर्न खोज्यो त्यसमा सफलता पाएन तर उसले इमान्दारीता कहिल्यै बेचेन । इमान जमान बेचेर टाइँफाई गर्ने भएको भए शायद अहिलेसम्म उ पनि हुनेखाने प्रगती गरेको मान्छेमा गनिन्थ्यो होला । न त उसले अध्यन नै पूरा गर्न सक्यो न त विश्वास गरेपछि कुनै बाईबल कलेज नै गयो । तर उसले जति संसार बुझेको छ त्यो या त उसको स्वअध्यन वा त उसको जीवन जियाईको अनुभव नै हो । त्यसपछि कति पटक बिदेश जाने मौका मिल्दा पनि उ बिदेसिन मानेन । आफ्नसमाज र देशमा भएका कुचलन र कुसस्कार बिचमा डटेरै बस्ने र केही गर्ने अनि परिवर्तन गर्ने उसको ध्येय रहेको छ । 

तैले ठिकै भनिस यार । मलाई उसले त्याएको बचनको याद आयो । ईख लिईहाले पनि घेरै बेर नलिने र मर्दापर्दा हातेमालो गरिहाल्ने हामी नेपालीहरुको समाज हो । उत्सव रमाईलो र फुुर्सदका समयहरुमा नाच्दै गाउँदै रमाउने पनि नेपाली बानी हो । हाम्रो आफ्नसंसार छ । यो संसारभित्र फेरी साना साना फरक सुन्दर संसार छन । हाम्रो आफनै खालको जीवन र खास हृदय छ । आफनै मुटु र माया छ । आफनै रगत र आफ्ननाता छ । आफनै पसिना र आफनै फल छ । आफनै पसिना र आफनै बल जाँगर छ । आफनै प्रकारको आफ्नो पन र आफनै एकता छ । 

अनि हामी जस्ता छौ त्यस्तै प्राकृतिक बरदान पनि छ । तर अहिले परिस्थिति अलिकति बदलिएको छ । दुष्टले आफनो चाल बदलेको छ । निष्छल मनहरुलाई भाँडेको छ । सन्तोषीहरुलाई पनि संसारको खोक्रो सपनाहरुमा रुमल्याएर दिग्भ्रमित पार्दै बढारिरहेको छ । एकता मन पराउनेहरुलाई जातपात बर्ण बर्ग पहिचान र धर्मको छालले उचाल्दै र पछार्दै गरिरहेको छ । हामी ढाँट छल नजान्नेहरुलाई सजिलै यसले फसाएको छ । दासत्वको रुप फेरिएको छ । ज्ञानी मानिहरुको चैतन्य र अन्तरचेतनाहरुमा धव्वा लगाएको छ । धव्वाले बिगारेको चैतन्य र जीवन दर्शनलाई सफा पार्ने आँट नगारिकन शाशक शाशन र तन्त्र जस्ता कुराहरुलाई दोष्याएर मानिसहरु आफुँ चोखो बन्ने प्रयास गर्दैछन । प्रवासी बनाएर, नारा र मागहरु उरालेर लडाँइ झगडा गराएर टुटाएर फुटाएर आफनो पकडलाई शैतानले कायमै राख्ना खोजेको छ । यसलाई अब पनि हामीले बुझेनौ, बिचार गरेनौ, चिनेनौ र परमेश्वरको साहायता खोजेनौ भने हामीलाई अब कसले प्रकास देला, बाटो देखाउला र नास हुनबाट बचाउला? 

हेर त मानिसहरु पहिला आफनो चुहिएको घर नटालेर किन अर्काको छाना छाउन धाइरहेछन । आफनो घर बिग्रे भत्केकोमा चिन्ता फिक्री भए त एक पेट खाएर भएपनि मर्मत र साजसज्जा गरेर बस्ने आँट आउथ्यो होला । तर मेरो प्रार्थना यही छ कि दुष्टका चालहरुको वीचबाट पनि परमेश्वरले भलाईका काम उत्पन्न गरुन । प्रवासमै तिनीहरुको हृदय फिरोस । आफनो घरप्रति माया पलाओस, प्रेम रसाओस । भत्किएको घरलाई बनाउने मन आओस । ती देशहरु पनि त उहाँकै आशिसद्धारा बनेका त हुन । अर्काको आशिषको पछि लागेर आफैलाई सृष्टि गर्ने परमेश्वर र उहाँले दिनुभएको देशलाई बिर्सनु यो कस्तो दुष्टता हो ? यो कस्तो धोका र अन्याय हो ? आफनो घर परिवार छिमेकी र समाजलाई चटक्कै माया मारेर पैसाको संसारमा क्षणिक मोजमजा र आनन्दमा डुवेर रमाउन खोज्ने यो कस्तो रहर होला ? एक हात अगाडिको रिमफिमचाँहि देख्ने तर दुई हात अगाडिको फसिने खाल्टोचाँहि नदेख्ने कस्तो हाय । ऐश आराम रसरगंको पासा फ्याँकेर दुष्टले आज सजिलै संसारलाई नरकमा खसालिरहेको छ । आँखा भएर पनि आँखा अगाडिको संसार नदेख्ने र हृदय भएर पनि हृदयको मूल्य नचिन्ने यी कस्ता सृष्टिहरु हुन ? के यिनीहरु यस्तै परिस्थितिमा रहिरहनको लागि सृष्टि गरिएका हुन त ? धिक्कार धिक्कार र धिक्कार होस तिनीहरुलाई जसले आँखा चिम्म गरेर हजारौ पाठ पढे । बत्ति बलिरहेको छ तरपनि हृदय भने अध्यारै भइरह्यो.. । 

हो यार अब हामीले हाम्रा हृदयका आँखा उज्याला पार्नुपर्छ । हाम्रो सोचाई र रहरहरुलाई बदल्नुपर्छ । हाम्रा बिश्वासका घरका दाजुभाइहरुलाई मदत गर्नुपर्छ । यसरी अब आफनो घर र परिवारलाई माया गर्न सिकौ । पाएको भौतिक आशिषलाई पनि बाँडौ । उहाँको महिमाको निम्ती प्रयोग गरौ । यसबाट मात्र साचो संतुष्टि र खुशी मिल्ला । संसारको लागि मात्र धन थुपारेर के गर्नु र ? खिया लागेर जाने न हो ।  हैन र ? 

मलाई त तेरो साथी सगै नेपाल जाउँ जाउँ लाग्यो यार । त्याहाँको खाँचाहरु बुझेर र सक्दो प्रेम बाड्न मन लागेको छ । उसलाई भेटन नपाए पनि मलाई आज यी कुराहरुले एउटा छुट्टै शान्ति र आनन्दको महशुस गराएको छ ।  जे होस भोलि या ऊ नफर्केसम्म कुनै दिन जसरी पनि भेट्नुपर्छ । भरपेट कुरा गर्नुपर्छ । ख्रीष्ट प्रभु येशूलाई नचिनेको  भए शायद हामीमा कहिल्यै यतिका ज्ञान आउने थिएन होला । आँखा बदलिने थिएनन होला । 

ओके ल । गन्थन निकै भयो । पख म कफी बनाएर ल्याउँछु । अब त रातीको बत्ती निभाउने तरखर पनि गर्नुपर्छ होला । 

  
   

-लालु पौडेल |
अब म यो घरको बोझ बनेर एकछिन पनि बस्न सक्दिन बुझ्यौ ? कोकलेकी स्वास्नी च्याखुरी यसरी नच्याठिएको दिनै हुन्थेन । 
जा न त जा नबस यो घरमा, मेरो पनि भुत्लो खोसिन्न सुनिस ? कोकलेले पनि जस्तालाई तस्तै जवाफ दिइहाल्थ्यो । 
हैन ए हाम्लाई पनि कैलेकाइृँ त आनन्दसँग सुत्न द्याओ नै गाँठे, फेरी छिमेकी घरको बार्दली तिरबाट ग्वाँग ग्वाँग कसैको आवाज आउथ्यो । 

डाँग्रेको च्यार च्यार र कागको काका बरु छिट्टै सकिदो हो, कोकले र च्याखुरीको चर्काचकी रात बिहान एकतारै सुनिन्थ्यो । च्याखुरीले बिहे गरेर जव च्याँच्याँ गर्ने सारंगी भिर्न थाली, तव त्यो घरमा गाग्रा र बाल्टीनको जतन कहिल्यै भएन । भान्सामा सद्धे भाडाँ नै थिएनन । तर यनतेन त्यो घरमा निर्बाह चलिरहेको थियो । 

आज त यो बूढोलाई नठिँग्राई भएन, दुई चार दिन मात्रै माईत हिँडू न, नाकको चाल लाएर मलाई लिन आउनु नपरे त । तर जाने पो काहाँ ? माईतीमा जाउँ आफ्नी आमा छैनन, बुहारी चोथाले छे । बाउलाई सौतेनी आमाकै गुनियो पियारो छ । साथीको घर तिर जाउँ बूढालाई रिझाउन नसकेर आकी भन्लान । भुत्रैसिति भूपूलाई लैजा न भनुँ भने पैला पो राम्रै थिइस र माया लाउँ भनेको हो, अब तँ थोत्रीको के काम भनेर लघार्ला । पैला नै म राँडीको बुद्धि पुगेन । के गर्ने ? बरु त्यसैले जाउँ भन्ने बेलामा गएको भए त अ‍ैले यो दुई छाक जोरेर प्रान जोगाउन यो दिनरातकै रन्थमाईलो गरी हड्डी घोट्नु त पर्ने थिएन । फेरी यो कोकले वज्याको ज्यान देखेर त्यसै त्यसै माया लागेर आयो । आ जे होला होला भनेर आँटेको, अ‍ैले यी इत्रो न भूत्रो बनाईदियो । अँ साची गाँउमा मावली तिरकी हजुरी त छिन नी, दुई साता जति त्यतै गएर बस्न पाए नि हुन्थ्थो नि त । बरु जाने पो कसरी होला त ? जिपभाडा तिर्नलाई सुको कौडी पनि छैन । तर यसपाली त यो कोकलेको झाँको नझारी भाछैन । अब हिँडेरै जाउँ भने पनि बाटो लामै छ । कैँडा लागेर कमजोरीले हिँड्नै पनि गाह्रो हुन्छ । आ जे होला होला म जान्छु जान्छु.. यस्तो सोच्दा सोच्दै च्याखुरी भुसुक्कै भईछ । 

बिहान भालेले डाँको छाड्यो । च्याखुरी लुसुक्क उठी अनि अनि दुई तिन जोर टालाटुलीलाई पोको पारेर काखी च्यापी कुलेलम ठोकी । घरदेखि अलि बेर पर हिँेडेपछि गाँउतिर जाने गाडी पाईन्थो । त्याहा पुग्दा उज्यालो भैसकेको थियो । लौ अब कसो गर्ने होला त । बिहानको शितलो घाममा त एकछिन हिँडुला तर मध्य घाममा ता गाह्रै हुने होला । बाटो लामै छ । सबै जना पैसा हुनेहरु गाडीमा जान्छन । म एक्लै लुरुलुरु कसरी हिँड्नु ? आपतै प¥यो भनेर कसैसँग भाडा मात्रै माग्न पाए पनि हन्थ्यो । च्याखुरी यसरी नै छटपटिदै थिई । 

छिमेकीको घरतिर टट्याङ्ग टुटुङ्ग र च्याँच्याँ चुँचुँ आवाज आउन थालेको थियो । तर छ्याङ्गै उज्यालो भैसक्दा पनि कोकलेको घरमा भने सधैजस्तो कुनै च्याँउझ्याँउ थिएन । उसले यसो ओछ्यान छाम्यो च्याखुरी त उठिसकेकी रहिछे । तर घरमा केहीपनि च्याँउझ्याँउ नसुन्दा च्याखुरी माईत हिँडिसकिछ भन्ने लख काट्यो । अनि उसले जर्फराउदै उठेर भित्र बाहिर चारैतिर हेर्यो । तर कतै पनि उसलाई देखेन । हैन यो च्याखुरी ता बौलाइछ कि क्या हो ? आ जा सुकै मुन्टोस, कोकले भुतभुताउन थाल्यो । आफुँ ता अझै मजाले सुतिन्छ । के गर्ने ? त्यो भए त बिहानै यसो च्या को तातो पनि दिन्थी । कोकले ओछ्यानमा छटपटाउदै सोच्न थाल्यो । हैन यो बोलाही कता पो गईछ त हँ ? 

घाम टाउको माथि आउन लागेको थियो । कोकलेको पेटमा भुतभुती खेल्न थाल्यो । राँडी साच्चै पो भागिछ कि क्या हो त ? खै भातसात पकाउन छोडेको पनि कति बर्ष भैसक्यो । चुलो छुनै मन लाग्दैन । लुगा मिच्न पनि मन लाग्दैन । खुव दम दिन्छु भनी होली, हेरुँला म पनि दुई दिनमै बूढो संझेर आइनछे भने । तर के हो के हो है सिगं हुने गोरु र आइमाईको कुनै भर हुदैन भन्छन । आ जे पर्ला पर्ला, अब यसो गुन्द्रुकको झोल उमालेर भए पनि एक गास ढिडो त खानै पर्यो, भन्दै उ भित्रको धन्दामा लाग्यो । 

जेनतेन भान्सा तयार गरेर कोकले जव कोकले भागा बस्न लागेको थियो । तव बाहिर आँगन तिर पट्या पट्या चच्पलको आवाज पड्कन थाल्यो । घाँटी तानेर उसले यसो बािहर हेर्यो, आमै ! च्याखुरी पो रहिछे । 
उ फर्केर आईछ नि आखिरी, त्यसै मुख खोकले जस्तो सजिलो छ र घर छोडि भाग्नलाई ? जति प्याचप्याचे भए पनि माया त लाग्लो रैछ नि । बूढोले एक्लै घरभित्र बाहिर हेर्ला भनेर होली ... कोकलेले भनभित्र गुन्दै बिचा¥यो । पाकेको चिज खाइओरी कोकले हात चुठ्न बाहिरियो । च्याखुरी भने पिढींको छपनीमा आसन थेचारेर खामोमा अडेसि मारेर झोक्राउँदै थिई ।  

अनि बिहानभरी काँहा मुन्टेर आईयो त च्याखुरी मैसाप ? खूब माईत जान्छु भनेर धम्की दिन्थिस त ? गएर पनि आईपुगियो ? 
च्याखुरी केहि पनि बोलिन । कोकले फतफताउँदै थियो । एकछिन पनि च्याखुरी घरभित्र छिरेर ताउलो ताप्के हेर्न थाली । आज त कसो भएर यति ढिडों र झोल भए पनि पकाएको रहेछ भन्दै सोधी तपाईले खानुभो ?

सधैं जर्कने च्याखुरी आज राम्रोसँग बोलेको देखेर कोकलेले सोच्यो, हैन आज एक्कासी च्याखुरीको पारो कसरी घटेछ ? कोकले पनि चुपै लागेको देखेर च्याखुरीले मनमनै बिर्चान थाली । बिहे नगर्दै त यो मान्छे राम्रै थियो । घरीघरी मेरो घरमा आउथ्यो । केहि मीठो चोखो खानेकुरा पाए पनि मलाई दिन्थ्यो । कैलेकाही साथीभाइहरुसगँ जाँडपानी खाँदा मात्तिए पनि खासै नराम्रो चैँ थिएन । तर किन हो खै बिहे नगर्दा त्यति मरिहत्ते गर्ने यो मान्छे बिहे पछि यस्तो भाको । कचकच नगरेको त दिनै हुदैन । झन झन बिग्रदै गाको छ गाको छ । हैन कतै यसलाई भूतप्रेत त लाको छैन ? शंकै लाग्छ । यत्तिकैमा कोकले े आफ्नो काम तिर गयो । च्याखुरी पनि यताउता गर्न लागि ।

कोकले काँधमा बन्चरो हालेर जंगलतिर सोझिदै थियो । कोकलेको मनमा पनि कुरा खेल्न थाल्यो । यो च्यारच्यारेलाई के भएछ ? आज ता चुईक्क पनि बोलिन त । म माईत गएर बसें भने त दुई हातले सोरेर खालास नि भन्थी । धम्की दिन्थी । फेरी आज के भएर सुई झरेछ ? मान्छे हेर्दा गाँठीकी भए पनि काजु छ भन्थे । फ¥याकफुरुक गर्दै हास्थी, बोल्थी । जसले गिज्याए पनि दाँत देखाएर पचाईदिन्थी । केटी हेर्दा ठिकै थिई । साथीहरुले पनि लैजा कोकले लैजा, च्याट्टै परेकी छे, मिल्छ भने । आ लौ आँटिदिउन त भनेर भगाई ल्याएको थिए । सोझी र मायालाग्दी थिई । तर अ‍ैले खै कसरी जर्काउली भएर बिग्री कुन्नी ? कसैले यसको कानमा बतास ता फुकेन ? केटाकेटीलाई सुद्धा बिगार्ने भई । 

बेलुका कोकले घर आउँदा च्याखुरीले खान च्याट्टै पारेर राखेकी थिई । के कामले कता जानु भाथ्थो होला, भोक लागिसक्यो होला भनेर एकछिन थ्याच्च बस्न नपाउदै खाना खान बोलाई । एकछिन खाना खाइरहेको हेरेर मौनतालाई चिर्दै उसले सोधी, आज काहा जानुभएको थियो त ?
जाँ गएपनि तलाई के चाहियो ? कोकलेके झ्वास्स रिसको अगुल्टो झोस्यो ।

झन राम्रो मुखले सोधिराछु, जर्किन पो खोज्छ भन्दै च्याखुरी चपै लागि । तर कोकले अझै थपियो । आज बिहानै देखि तेरो चाला ठिक छैन बुझिस ? कसले तेरो कान भरेको छ, चाल पाउलिस् भन्दै लप्यालुपु खाएर उठ्यो । त्यो दिन उनीहरुको धेरै ठाकठुक भएन । यसरी नै निकै दिन बितिसकेको थियो । छिमेकीहरुले पनि धेरै दोहोरी सुनेका थिएनन । तर किन हो भन्ने मेलो चाँहि पाएका थिएनन । कोकले पनि च्याखुरीको मुख सुकेको देखेर छक्कै परिरहेको थियो । एक दिन उसको छिमेकी बले आएर उ सँग निकै निधिखुदी  ग¥यो । च्याखुरीको मुख किन सुकेको हो पत्ता लगाउनुपर्छ भनेर निकै टेको हाल्न थाल्यो । कोलकेलाई पनि उसको चालामालामा शंका पसिसकेको थियो । त्यसैले उसले बलेलाई भन्यो, आज यसलाई म नबकाई छोड्दिन । 

बेलुका खाना खाएर कोकले ओछ्यानमा टल्कदै थियो  घर साफी घन्दा सकेर च्याखुरी पनि भित्र पसी । ऊ भित्र पस्ने बित्तिकै कोकलेले बलेको कुरा ठ्याक्कै संझ्यो र झोकिहाल्यो, हैन ए तेरो पारा के हो ? गाउँलेले कुरा काट्न लागिसके । के गर्ने बिचार छ हँ ? भन, आज मलाई दूधको दूध पानीको पानी चाहिन्छ, सुनिस् ?

किन त्यसरी हवा्त्तै रिसाउनुहुन्छ तपाई ? नरिसाई सोधे नि भन्थे । तपाईं अब सधै यसरी रिसाउनुहुन्न भने एउटा कुरा भन्छु, मान्नुहुन्छ ?
लौ अब अर्ती दिन थाल्ने पनि भईस ? कोकले कुल्र्यो ।
तपाईं त्यसै जर्कनुहुन्छ, झनै आजकल त बोल्नै मन लाग्दैन । 
ए, सिधा औलाले घिउ नआउने भो हैन त ? कोकलेले अचानक च्याखुरीलाई भुत्ल्याउन थाल्यो । 
दारुपानी नखादानी के त्यस्तो मातेको होला, खै छड्नोस् म भन्छु । च्चाखुरी त्यसै पनि पग्लदै थिई । तव कोकले अलि पर स¥यो । अनि च्याखुरी बक्न लागी । 

जे परे पनि अल्लि महिना त म फर्केर पनि आउन्न भनेर त्यो दिन म घरबाट हिँडेकी थिए । तर गाँउमा जाने बाटोमा मेरो एकजना मान्छेसँग भेट भयो । त्यसले मलाईं धेरै संझाई बुझाई ग¥यो, अनि मेरो मन पनि पलाएर आयो, घर लथालिङ्ग पारेर म हिँड्न सकिन र फर्केर आए । उसको कुरा मलाई सुनिरहुँ जस्तो लाग्यो । उसको कुराले केही हुन्छ कि भनेर आशा पनि लायो । रिस र झगडा गर्नु हुदैन । यसले त घरलाई बिगार्ने काम मात्र गर्छ रे । एउटा आगो भए पनि अर्को पानी हुनु पर्छ रे । श्रीमान श्रीमती माया गरेर बस्नुपर्छ अनि बिस्तारै सबै ठीक हुदै जान्छ रे । अनि मलाई हाम्रो घर संझेर त लाज लागेर आयो । हामी जस्ता दुखी गरीवलाई माया गर्ने एउटा येसु भन्ने ईश्वर छन रे । उनी नै मान्छे र सबै थोक बनाउने इश्वर हुन रे । तर मान्छे चै सवै हामी जस्तै रिस झगडा गरेर पाप मात्र गरिरहरन्छन रे । तर उनी त ती पापीलाई पनि माया गरेर क्षमा गरेर तार्छन रे । तिनलाई बिश्वास ग¥यो भने संसार तर्न दान धर्म पूजापाठ केही पनि गर्न पर्दैन रे । मनबाटै बिश्वास ग¥यो भने सवैको जीवनमा शान्ति आनन्द आउँछ रे । रोग बिमार पनि निको हुन सक्छ रे ! भनेर अचम्मको कुराहरु गरे । तर मैले त त्यस्तो इश्वर पनि होला र भनेर पत्याईन । तर तिनले यो कुरा एकदम साचों र सत्य हो, तपाईं र घरकाले पनि बिश्वास गरे सबैलाई राम्रो हुन्छ । मुक्ति पनि पाईन्छ भनेर बिहानभरि कति कति कुरा गरे । अनि मलाई पनि तिनले भनेको कुरा राम्रै लाग्यो । मेरो बिमार पनि ठीक होला तिम्रो जाँड खाने बानी पनि हराउला, दिनरातको झगडा नहोला, घरमा शान्ति होला भनेर आशा पनि लाग्यो । मलाई त्यसरी झगडा गरेर छुट्टिनु हुदैन भनेर धेरै संझाए । म पनि के गरुँ गरुँ भए । आखिरी घरै फर्केर आँए । हामी बजार जाँदा नुन तेल गर्ने दोकानको अनि पर चच् छ रे । जानेबेलामा त्यता आउनु पनि भनेका छन । उनी पनि साथीसँग यतै हाम्रो गाँउतिर आउने भनेर आका रे त.... । 

च्याखुरी यसरी बोल्दा बोल्दै कोकले बिचैमा पड्क्यो, लौ, लौ कुरो पक्कै त भैगो, अब अरु के खोज्पनु परयो । यो ता गाईखाने मान्छेसँग पो सल्केकी रैछ । आफ्ना बाउबाजे पित्रृलाई छोडेर हुने नहुने कुरा गर्छे । उम्लिछ राँढ त नराम्रो गरि पा उम्लिछ । निस्कहाल त तँ यो घरबाट । अब तैले मलाई छुन पनि पाउन्नस् बुझिस् ? कि तेरो थुतुन बन्द गर समाजको नियममा चल, नत्र जाँ जाने हो, जोसँग लठारिन मन लाग्छ उतै जा...भन्दै कोकलेले च्याखुरीलाई खाटबाट तानेर भूँइमा लछा¥यो र लात्ताले ड्याम्म ड्याम्म बजा¥यो अनि घङ्रङ्ग दैलो उधारेर छिमेकी बलेको घरतिर दौड्यो । बलेलाई लिएर आएर आगँनबाटै चर्कन थाल्यो । तँ राँड अब मुन्टेर गइहाल । अ‍ैले सम्म त मेरै बूढी भनेर पालेथँे, साँप पो रैछे । हाय अब यो फुटेको टाउको अब कसरी देखाउनु ! एकछिन बौलाएर कोकले बलेकै घरतिर हानियो । च्याखुरी भने भित्र घोप्टो परेर घुँक घुँक रुँदै थिई । 

आज च्याखुरीको आँसु धेरै बेर सम्म पनि रोकिएन । जति ज्याद्रो गरे पनि यसरी त कैले पनि भकुरेको थेन । त्यो मान्छेको कुरा सुनेर मख्ख परेर बिश्वास गरे । राम्रो बन्न खोजें । तर यो मान्छेको जातलाई जति गरे नि नहुने रैछ । यो मान्छे झन्झन् पो बिग्रदै गाछ । चिन्नु न जान्नुको मान्छेको कुराले आज यस्तो पा¥यो । झन पो दुख दियो यै । जत्ति दुख गर्न परे पनि परोस् । अब म यो घरमा एक बस्दिन, दुई बस्दिन, तिन बस्दिन.... । च्याखुरी त्यहि रात आठ बर्षकी छोरीलाई तानेर घरबाट लापत्ता भई । 

भोलिपल्ट बिहान कोकले घरमा आएर जतातलै सोधीखाजी गर्दा पनि च्याखुरी कता लागि केही पत्तो भएन । टाउकोमा हात राखेर पिंढीमा झोक्राउँदै ऊ सोच्दै थियो । त्यती सारो पिरै पर्ने गरि त केही गरे जस्तो लाग्थेन । यत्तिका बर्ष बिताकी मान्छे किन बिच्केर गई गई । खै त्यति साह्रै गाँडू होला जस्तो ता लाग्थेन । यस्तो ठाकठुक ता भैराख्थ्यो । कसरी गुहु खाई खाई । यो बलेले पनि उचाल्यो । 

खै तैले पनि कुरो बुझेर मात्रै भन्नुपथ्र्यो । रिसको झोँकमा साह्रै गरिस् कि क्या हो तै कोकले ? बले टुप्लुक्क आगँनमा देखा परेर थुम्थुम्याउन खोज्दै थियो । 
उपत्यकाको भीडभाडपूर्ण व्यस्त शहर । झमक्कै साँझ र गल्लीको बाटो, त्यहिमाथि व्याल्कआउट । मरियम साथीलाई भेटेर फटाफट घर फर्कदै थिई । बसबाट झरेर अलिक पर पुगेपछि उसको कानमा फोहोरी शब्दहरु परे । ओइ यो ता भालु केटी जस्तो छ यार... । हो हो भालु हो.... । झाँडीति लाने हो ...? 

उसलाई  देखेर केही खाते आवारा केटाहरुले अध्यारो मोडमा बाटो छेक्न खोज्दै थिए ।  यतैतिर बाटोमा चुरोट र वियर खाएर बस्ने केटाहरु होलान नि । सधै यस्तै गर्न खोज्छन । आज त यिनीहरुलाई अलिकति नहपारी भएन । केही बोलेन भनेर होला, निकै बढी भए यै.. मरियम मन भित्र सुरिदै थिई । जव उ नजिकै पुगेर तिनीहरुलाई हपार्न थाली, तिनीहरुको बीचमा एउटा केटो देखेर किन हो किन उसलाई मन भित्रभित्र कताकताा माया लागेर आए जस्तो लाग्यो । उसलाई आफुले नदेखेको भार्इृको याद आउन थाल्यो । ती आबाराहरुको सातो खाएपछि मरियमले मनमनै बिचार गर्न थाली । साचै मेरो अहिले भाइ काहाँ के गर्दै होला, ऊ पनि अब त यत्रै जवान भयो होला । गाउँमा भेट्न जाउँ भने पनि घरमै आउदैनन रे । यी केटाहरुले पो केही थाहा पाएका  छन कि भोलि पर्सि कुनै दिन भेटेर कुरा गर्नुपर्ला यस्तै बिचार गर्दै उ घरतिर लम्कदै गई । 

समयले निकै कोल्टे फेरिसकेको थियो । कष्टका दिनहरु लामा लागेता पनि उज्यालो भएपछि दिनहरु फुस्सै जादाँहरेछन । आज पाँच बर्ष भैसकेको रहेछ । मरियमको परिवारमा खुशी छाएको थियो । चर्चमा एकदिन मरियमकी आमा मायासँग कुराकानी गर्ने क्रममा पाष्टरले नयाँ आशिषको अनुभव गरेका थिए । उनले त्यो आशिष सबैलाई बाड्ने बिचारले मायालाई गवाही दिन उत्साह दिन थाले । यसैकारण माया पनि अन्तत गवाही बाड्न तयार भइन । समय आइरकेको थियो र मण्डली परिवार पनि मायाको गवाही सुन्न तयार भएर बसिरहेको थियो । 

मेरो नाम माया हो । मेरो गाउँ तनहुँ जिल्लाको उत्तरी दुर्गम भेकमा पर्दछ । मेरा जीवनको धेरै बर्षहरु त्यही गाउँमा नै बितेका हुन । दुर्गम पाहाडमा बस्ने गरीव र अशिक्षित मान्छे भए पनि कसरी मैले जिवित परमेश्वरलाई चिन्न र बिश्सास गर्न पुगे भनेर मण्डली परिवारको अगाडी गवाही दिन पाउँदा आज मलाई एकदमै खुशी लागिरहेको छ । 

म तिन दाईकी एक्ली बहिनी थिए । मेरो बाबा आमा र दाईहरुले मलाई धेरै माया गर्नुहुन्थो । त्यसकारण मैले बनपात र मेलाको काम गालीलेभन्दा पनि धेरै जसो आफनै खुशीले गर्ने गर्दथे । तर पनि घरमा पैसाको मुख देख्न साह्रै गाह्रो हुन्थ्यो । दाजुहरु त जेलतेन केही कक्षासम्म गाउँमा पढ्नुभयो । तर म स्कुल जाने उमेर पुगेको बेला मेरीे आमा बिरामी भएर बित्नुभयो । केही समयपछि नै बाबाले सौतने आमा त्याउनुभयो र हामीलाई वास्ता गर्नै छाड्नुभयो । यसरी घरको सबै बोझ हामी आफैमाथि थोपरिएको कारणले म स्कुल गएर पढ्न सकिन । घरको नाजुक अवस्थाले गर्दा दाजुहरुले पनि त्यसपछि धेरै पढ्न सक्नुभएन । अर्काको सानोतिनो काममा हामीले सघाउने र यसरी सघाएर आएको निवेकले छाक टार्नु पर्दथ्यो। यस्तै अवस्थामा केही बर्ष बितेपछि चौध बर्षको उमेरमा नै मेरो बिबाह हुन पुग्यो। 

आफुँ पनि गरीब भएर होला बिबाह पनि अलि हुनेखानेको घरमा हुन सकेन । त्यसैले घरमा पनि सधै पाखुराको बलले मात्रै जीवन धान्नुपर्ने अवस्था थियो । त्यहीमाथि श्रीमान पनि मतवाला हुनुहुँदोरहेछ । त्यही पिउने बानीले गर्दा घरमा कत्ति पनि पैसा बचत हुन सकेन । अनि त्यसकै निहुँमा दिनदिनै जस्तो झगडा र कुटाकुट पनि हुन थाल्यो । उहाँले पनि त्यति राम्रोसँग काम पनि नगरिदिने हुनाले घेरै जसो आफै काममा नै घोटिनुपर्ने अवस्था थियो । एकातिर घरमा सधै अशान्ति र झगडा थियो भने अर्काेतिर छोरा र छोरी पनि जन्मिसकेका कारण तिनलाई हुर्काउनु बढाउनु पर्ने जिम्वेबारी पनि थपिएको हुदाँ मेरो जीवन साह्रै बोझिलो र दयनिय अवस्थाबाट गुज्रदै थियो । 

घर परिवारको यस्तो अवस्थाले गर्दा मेरो मनलाई सधै पिरोली रहन थाल्यो । चिन्ता बोझ झनझन बढ्न थाल्यो । श्रीमानले पनि माया गर्नुको साटो उल्टो सताउन मात्रै थाल्नुभयो । यसरी आजित भएपछि उहाँको माया पनि लाग्न छाड्यो । यसरी नै सारै न वाक्क परेको बेला एक दिन म सुटुक्कै माईत तिर हिँडे । त्यति नै बेला बाटोमा मैले पहिलो पटक येसु परमेश्वरको बारेमा धेरै कुरा सुन्ने मौका पाएको थिए । परमेश्वरको त्यो सुसमाचार सुनेपछि मेरो मन केही हलुको भएको मैले महशुस गरे र केही आशा पनि पाए जस्तो लाग्यो । अनि त्यही कुरा मनमा राखेर तुरुन्तै घर फर्के । अनि साहास गरेर ती कुराहरुको बारेमा श्रीमानसँग कुरा गर्दा त घरमा झन कैल्यै नभएको बबाल झगडा भयो । यस झगडाले गर्दा अलिअलि सम्हालिन लागेको मेरो मन फेरी नराम्रोसँग भाँडियो र घरमा एकछिन पनि बस्नै मन लागेन । त्यसैले अब जे पर्ला पर्ला भनेर एकदिन करीव पाँच छ बर्षकी ठूली छोरीको साथमा राती नै उठेर घर छाडेर शहर तिर लागे । 

शहरमा पुगेपछि पनि धेरै सास्ती भोग्नु प¥यो । एउटी छोरी साथमा लिएर कहिले होटल तिर भाँडा माझ्ने गर्दथे त कहिले घर बनाउँने ठाउँतिर काम गर्न हिँड्ने गर्दथे । तर मेरो सौभाग्य भनु कि परमेश्वरको अनुग्रह दुई बर्ष बितेपछि एउटा अफिसमा काम गर्ने मौका पाएँ । त्याहा काम गर्न थालेपछि अलिअलि पैसा पनि बचत हुन थाल्यो र छोरी पनि नियमित स्कूल जान सक्ने भई । एकदिन त्यही अफिसमा काम गर्ने एकजना दाजुले मलाई आफनो कोठामा भोजनको लागि बोलाउनुभयो । किनभने उहाँको राम्रो व्यबहार सोधखोज र वास्ता गर्ने बानी थियो । त्यसैले मेलै केही समयपछि नै उहाँसँग मेरो निम्ती केही छ कि भने जस्तो एकप्रकारको आशा पलाउन थाल्यो । त्यसैले होला उहाँसग अरुभन्दा अलि बढी नजिकको सम्वन्ध भएको जस्तो अनुभव हुन्थ्यो । त्यो भोजनको दिनमा मात्र उहाँको वास्तविकता मैले थाहा पाए । उहाँ त बिश्वासी हुनुँहुदो रहेछ । त्यसदिन मलाई प्रभु येशूको बिषयमा उहाँले धेरै कुरा भन्नुभयो र चर्च आउनको लागि आग्रह गर्नुभयो । मेलै उहाँको दिएको सुसमाचार सुनेपछि त अचानकै म चर्च आउँछु भनेर भनिदिएछु । त्यो दिन म एकदमै खुशी भएर घर फर्के । उहाँबाट मैले केही कुरा पाउँछु कि भनेर मनभित्र मैले आशा राखेको खास कुरा त यही नै रहेछ कि त भन्ने बिचार गर्दै त्यही हप्ताबाट नै म चर्चमा जान थाले । 

नयाँ खुशी र उत्साहको साथमा चर्चमा जान थालेपछि प्रभु येसुको बारेमा धेरै कुरा बुझ्न थाले । हामी प्रत्यक जनाको मुक्तिको लागि प्रभु  बाहेक अरु कुनै पनि ठाउँ रहेनछ भन्ने कुरा बुझेपछि मेरो जीवनको प्रभु र मुक्तिदाता रुपमा प्रभुलाई ग्रहण गरे । त्यसपछि मलाई जाँच आयो । अकस्मात छोरी लामो बिरामी भई त्यसकै कारण नियमित काममा जान नसक्दा अफिसको कामबाट निकालिएँ । तर पनि म निरुत्साही भईन र प्रभुसँग काम र घर व्यवहारको लगि प्रार्थना गर्दैरहे । यही समयमा नै मेरो जीवनमा जे जस्तो अवस्था आएपनि अब म प्रभुलाई कहिल्यै छाड्ने छैन भन्ने निश्चय गरेर परमेश्वर पिता प्रभु येसु र पवित्र आत्माको नाउँमा मैले पानीको बप्तिष्मा लिए । त्यसपछि मलाई सानोतिनो भएपनि आफैले केही काम गर्न इच्छा र हौसला मिल्योे र आफुसँग बचेखुचेको केही रकममा मलाई सुमाचार सुनाउने दाईले केही थपिदिएपछि मैले फलफूल र तरकारी बेच्ने पसल खोले । अनि त्यसमा प्रभुले आशिष थपिदिनुभयो र करिव दुई बर्षपछि नै मैले फेरी किरान पसल सुरु गर्न सके । त्यसमा छोरीले पनि बिहान बेलुका सहयोग गर्ने गर्थी । यस कामबाट मेरो जीवनमा धेरै सुधार आउन थाल्यो । कमाई पनि बढ्न थाल्यो । यस कामबाट अलिअलि बचत गरेको पैसाले सानो जग्गा किनेर आफु बस्न निर्बाह हुने घर पनि बनाउँन सफल भए । यतिबेला मेरो दश एघार बर्ष बितिसकेको थियो ।

एकदिन छोरी मरियमलाई बाटोमा केही हाउडे केटाहरुले जिस्क्याएका रहेछन । त्याहा एकजना केटा देखेपछि उसलाई पनि भाईको सारै याद आएर न्यास्रो लाग्न थाल्यो । उसले गाउँमा गएर भाइलाई पनि लिएर आउँ भनेर जिद्धी गर्न थाली । मलाई पनि श्रीमान के कसो गर्दै बस्नुभाछ होला भनेर फिक्री हुन थाल्यो । त्यसकारण अब हामी सबै एकै ठाउँमा भए पनि हामीलाई गास बास र कपासको समस्या हुदैन । त्यो भन्दा ठूलो कुरा उहाँलाई प्रभुमा ल्याउन पाए कति असल हुनेथियो भनेर एकदमै मनमा लागिरह्यो । भेट्न पाए घरबाट निस्केर गएको र कतिबर्ष सम्म साथ नदिएको र खोजी नगरेकोमा क्षमा माग्ने थिए भनेर मनमा लागिरह्यो । त्यसैकारण म उहाँलाई खोज्न गाउँमा पुगेकी थिए ।  

आफ्नघर भईसकेपछि मलाई मेरो श्रीमानको याद आउन थालेको थियो । जे भए पनि त्यसरी हिँड्न हुने थिएन भनेर पछुतो पनि भैरहेको थियो । तर यही कारणले प्रभुलाई पाएको र जीवन पनि सुधारिएको कारण मनभित्र भने खुशी नै थिए । एकदिन म उहाँलाई भेट्छु र परमेश्वरको प्रेम बाँड्छु भनेर गाउँमा पुगे तर उहाँलाई भेट्न सकिन । उहाँ त सानो छोरालाई लिएर शहर तिरै जानुभएको छ भन्ने खवर मात्र पाएँ । त्यसपछि उहाँलाई भेट्ने तृष्णा झनझन बढ्न थाल्यो र उहाँलाई काहाँ भेट्न सकिन्छ होला भनेर प्रार्थना गर्दै शहर तिर पनि चिनेजानेकासँग सोधपुछ गर्दै खोजी गर्न थाले । यसरी खोजतलास गर्न थालेको एक बर्ष पछि बल्ल उहाँलाई भेटे आफ्नघरमा लिएर आए । यता आएर एकदमै दुख पाएर बस्नुभएको रहेछ । उहाँ भारी बोक्ने काम गर्नुहुदोरहेछ । शरीरमा पनि सारै दुर्वल हुनुभएको रहेछ । छोरा पनि सडकतिरै बास बस्ने, स्कुल पनि नजाने हाउडे भएको रहेछ । 

घरमा आएपछि हामी दुवै जना पसलमा नै काम गर्न थाल्यौ । उहाँले पहिलाको काम गर्न छोडिदिनुभयो । शायद हामीले गरेको काम देखेर होला उहाँले गनगन त्यति गर्नुभएन । तर परमेश्वरलाई बिश्वास गर्न र चर्च जान भने निकै समयसम्म आनाकानी गरिरहनुभयो ।  एकपटक उहाँ नराम्रोसँग बिरामी पर्नुभएको बेलामा प्रार्थना गरेर निको हुनुभएपछि बल्ल चर्च जानुपर्छ होला भन्ने हृदय आयो र बिस्तारै चर्चमा जान थाल्नुभयो । चर्च जान थालेको केही समयपछि पिउने बानी पनि छाड्नुभयो र प्रभूलाई पनि ग्रहण गरेर हामी शान्तिसँग सगै परिवारमा बस्न थाल्यौ । छोरा पनि अहिले हाउडेहरुको संगत छोडेर स्कुल जान थालेको छ । यसरी परमेश्वरले हाम्रो परिवारमा आशिष दिनुभयो । भताभुङ्ग र लथालिङ्ग भएको हाम्रो परिवारमा आज परमेश्वरको कारण मिलाप आएको छ । त्यसकारण यहाहरु सबैलाई मेरो यही आग्रह छ कि परमेश्वर अनुग्रही र दयालु हुनुहुन्छ । यो कुरालाई याद गरेर हरेक परिस्थितिमा हामीले उहाँलाई बिश्वास गर्दै धैर्य पनि गर्न सक्नुपर्छ । मेरो जीवनमा परमेश्वरले गर्नुभएको कामबाट यही भन्न सक्दछु कि उहाँले हामीलाई एकदिन अवस्य पनि सबै प्रकारका दुखकष्टबाट उठाउनुहनेछ । धेरै चिन्ता र फिक्री गरिरहन हुदैन ।  धन्यबाद !  

-लालु पौडेल | 

हे मेरो प्रभु किन मेरो ओठ थर्थरी कामिहरहेछ । मेरो ओठबाट वाक्यहरु निस्किरहेको छैन । किनभने म आत्मामा अति क्रन्दित भएको छु । म अत्यन्त भयभीत अबस्थामा छु । मैले मेरो मुटुको वरिपरि र भित्रभित्र छामीछामी र ओल्टाइ पल्टाई हेरें, त्याहाँ त मेरो हृदय नै थिएन । मेरो हृदयलाई ता त्रासको कचौराले ढाकिरहेको रहेछ । खै त त्याहा उहाँको निम्ति बास बस्ने ठाउँ ? अनन्त रहने घर खै ? यो त बाहिरतिर कतै हिँडिरहेको थियो । बोलिरहेको थियो अनि चलिरहेको थियो । तर कुन बेला हो थाहै भएन । धमिरा पसिसकेको रहेछ । भित्र भित्रै टुक्य्राउन लागिसकेको रहेछ । कुहाउन थालिसकेको रहेछ । मैले चालै पाइन । यो त नष्ट हुन लागिसकेको रहेछ । 

हाय मेरो प्रभु ! मलाई गुहार गर्नुहोस् । मेरो हृदयलाई हेरेर म दिनभरि रुदैछु । मैलै कतैबाट स्वान्त्वना पाएको छैन । म त बिलीन हुन लागिसकेको रहेछु ।  मलाई बचाउनुहोस । म पासोमा पर्न लाग्दैछु । मेरो बाटोभरि जालहरु बुनिएका छन् । कतिखेर डोरी तानिएर म उनिने हो थाहा छैन । कतिखेर म दुनियाको अगाडि तमासा बन्ने हो थाहा छैन । मानिसहरु हाँस्नेछन्  । तिनीहरुले मलाई गिज्याँउने र गिल्ला गर्नेछन् । तिनीहरुको शक्ति ममाथि अत्यन्त प्रवल हुन लागेको छ । तपाईंले मेरो गल्तीको साटो फेर्नुभयो भने त म कति नै बाँकी रहन्छु र ? हड्डीहरुको कण पनि बिलिन हुनेछ । तिनीहरु रमाउने संगीतको धून पनि मेरो लागि अहिले बिझाउने काँढा भएको छ । मेरो प्राण भोकाएको छ । मेरो शरीर कर्कलाको डाँठ जस्तो भएको छ । म काटिएको कर्कलाको पात झैं भएको छु । म ओइलिएर सुकिसकें । म जल्न लागे । हे मेरो प्रभु अब त मलाई उद्धार गर्नुहोस । तिनीहरुबाट बचाउनुहोस । छुटकारा दिनुहोस् । या त आजै यो धर्तीबाट मलाई बिदाई गरिदिनुहोस् । 

मैले मेरो वरिपरि हेरें, मानिसहरुमा क्रोधको आगो दन्किरहेको छ । कमजोरहरुलाई झर्पाछन, हर्काछन र मनभरि अथाहा वेदना पीडा र सन्त्रासको आगो सल्काउँछन् । तिनीहरु यता र उता दगुर्छन् । तर पनि शान्ति शरण र खुशी खोज्छन् । यद्यपी केही पलको लागि बाहेक कुनै फाइदा छैन । तिनका मनभित्र अहंकार नामक रुखको जरा भयंकारसँग बढेको छ । वरिपरिका रुखहरु ता बल मिचाईमा परेका छन । ती निरीह देखिन्छन् । मुख्र्याइको बलमा भाँचिन लागेका छन । ढलेर कुल्चिमिल्चि पारिन लागेका छन । तपाईसँगको सम्बन्ध क्षीण हुदा म आपत्तिमा परेको छु । मेरा आँखा तिर्मिराएका छन । म पासोमा परेँ । म लडें । ममा कुटिल मति आयो । मेरो मनमा लोभ भरियो । मेरो मनको आँखामा क्षणिक खुशी र ऐसको चित्र नाँच्न थाल्यो । म तानिएँ । पैसा तिरेर ल्याएको खसी झैं जर्वजस्ती काटिनलाई घिच्याँइए । मेरो घाटीमाथि धारिलो खुकुरी चम्केको छ । म टुक्रिन लागेको छु । म चुँडिनै लागेको छु । म टुक्रा टुक्रा हुन लागेको छु । म निर्दयीहरुको आहारा बन्न लागेको छु । कतिन्जेल ती भोका र प्यासाहरुले आफ्नो हात थाम्लान र ? म साँच्चै नै बिपत्तिको पासोमा छिरिसकेको छु । डोरी सुर्किन लाग्दैछ । नास हुने भुगांनको डिलबाट म हुत्तिनै आँटेको छु । गुहार, मलाई तिनीहरुले नदेख्ने गरि उडाउनुहोस् । मेरो वरिपरि घेरा हाल्ने तपाईंका दूतहरुलाई तिनीहरुले देखेका भए त मेरो गति के यस्तो हुन्थ्थो र ? म मा खरावी नभए त किन आफ्नो हात एकछिन उठाउनुहुन्थ्यो र ? के मेरो अधर्मको मूल्य यहि नै हो ? मलाई क्षमा गरि झट्टै तान्नुहोस । झट्टै उठाउनुहोस् । 

आज फेरि म बिक्षिप्त भएको छु । मेरो गिदीमा ठेढी ठोकियो । मेरो उल्लसित मन गएरर हिलोमा गाडियो । फोहोरको थुप्रोमा म कुहिन लाँगे  । हिलोको पत्र नै मेरो ओच्छाउने र ओढने भएको छ । नालीमा बग्ने थोक मेरो आहार बन्छ । गन्हाउने थुप्रोको दुर्गन्ध के कडा छ र ? म भित्रको दुर्गन्ध यसरी  फैलिएको छ । मलाई ध्वाँसे दुर्गन्धित बाढीले डुवाएको छ । म उकुुसमुकुुुस भएको छु । खलखली पसिनाले म भिजेको छु । मेरो दुर्दसा देख्ने कोही छ ? मलाई टिठ्याउने कोही छ ? मेरा शत्रुहरु खाँदै पिउदै नाच्दै रमाउँदै छन । रगतको होली खेलेर रगतकै आहालमाथि तिनीहरु मढारिन्छन । मेरो प्राणभन्दा तिनीहरुलाई आफ्नकुकुरको बढी चिन्ता छ । कोही आउदा भुकिदिने टोकिदिने र तर्साइदिने कुकुर । तिनकै पछिपछि हिँडिदिने कुकुर जसलाई तिनीहरुले एक गास कलोमा फकाउँछन । मेरो पुकार भाँचिएको छ । मेरो बिन्तिमाथि कसले भाँजो हाल्यो ? के त्यो मभित्रै भएको मेरो अधर्मले हो ? त्यसो भए अब तँ म जाने ठाउँमा कसरी वास गर्लास् र ? तेरो असली ठाउँमा तैले मलाई घिच्याए पनि म उक्लेर आउने छु । उहाँको क्षमाको शक्ति मसँग छ । उहाँले मलाई उद्धार गरिदिनुहुन्छ । तेरो ठाउँमा कहिल्यै नफर्कने गरि तँलाई बिदा गरेर म नयाँ घरमा जादैछु । तेरो राज्य कति दिनको हो र ? म अन्तिमसम्म धैर्य र प्रतीक्षा गर्न सक्छु । त्यसदिन म बिजयको झण्डा फहराउदै जाँदा निश्चय नै तेरो शिरले भूइको धूलो चाट्नेछ । सारा संसारले तलाई डाँट्नेछ । 

हे मेरो परमेश्वर कहिलेसम्म म निशव्द भएर बसुँ ? मेरा आँखाले अघोर रमिता देखे । मेरो मनलाई त्यसले तान्यो । मैले आफ्नो खुट्टा रोक्न सकिन । त्यति नै बेला मेरो बाटो किन भासिएन कुन्नी ? हिड्ने बाटो नै नपाएको भए कसरी म चक्रपातको बेंशीमा पुग्थे र ? मलाई किन असिनाले ठटाउँथ्यो र ? किन आँधी र हुरीले हुत्याउँथ्थो र ? हिलोले किन चिप्ल्याउँथ्यो र ? म बेसरी थचारिँए । हेर्नुहोस त, मेरो ठडिने ढाड नै भाँचिएको छ । म कसरी उठुँ ? म कसरी जागुँ ? वेदनाका लहरहरुले मलाई बढार्यो । मलाई त्यँही खुत्रुक्कै मरुँ जस्तो लाग्यो । किनभने मेरो आशा सबै मरिसकेको थियो । म सख्त धाईते बनेको छु । मेरो नजिक सल्लाह दिने कोही पनि छैन । हात समाउने साथी एउटै पनि छैन । बाटोमा हिँड्नेहरुले मलाई बेवास्ता गर्दछन । नदेखे झैं गरि मुन्टो बर्टाछन । मेरो अर्धलासमा ठोक्किदा पनि आँखा चिम्लेर हिँडछन । अन्तर परेलीबाट झरी झैं आसुँ झर्छ । मलाई कसले सम्हाल्छ ? यो अधोर पीडा बुझिदिने कोही आईदिए हुन्थ्यो । म छटपटिन्छु । मेरो आशा र भरोसा मभित्र रित्तो भईसकेको छ । मैले लत्ता छाडिसकें । मनखुशी गर्ने सिंहले अब जतासुकै लतारोस । म लखतरान भएको छु । मेरो आँखा नभएको भए त हाय म कसरी उपद्रो गरी विनासको अवस्थामा पुग्थे र ? मभित्रको बलले मिचेर याहासम्म पुर्यायो । म बागी भएँ । आफ्नो  जोशको कमिले आज बोझले थिच्यो । जोडिनै नसक्ने गरि पेलेर फुटाल्यो । नाक कान आँखा र मुखका मूर्तीका छुच्चा तिखा चुच्चाहरुले बेसरी ठुँग्यो । मलाई घाउ नै घाउ पारेको छ । कसैले समाउने ठाउँ नै छैन । म सर्म र लाजले मुच्र्छा परेको छु । यो दीनहिनलाई दया गर्नुहोस । अब त पृथ्वीमा दया देखाउने मानिसहरु छन र ? ए स्वर्गानन्दी परमेश्वर आफ्नो मुख मोडेर किन मलाई अझै निचोर्नुहुन्छ ? ममा शक्ति दिने तरल अझ बाँकी छ र ? बरु मलाई श्वास नै नहालिदिएको भए त यो सास्ती अनुभव नै गर्ने थिइन । तर यो इनाम पाउने कष्ट हो भने त टाउको सम्मै डुवे पनि म नित्य भजन गाइरहन्छु । दुखाईमा म हाँस्दछु । पृथ्वीले खिस्याउँदा म रमाउँछु । म कतिन्जेत यत्तिकै बहकिदै गरौ र ? म उत्तम सुन बन्न सक्ने भए त जति बाँकी भए पनि के भयो र ? म औधी खुशी हनेछु । किनभने तपाईले यसलाई आफ्नो घरको भित्तामा चम्काउनुहनेछ । 

यतिखेर मेरो चारैतिर थरीथरी आतकं र त्रास फैलिएको छ । मानिसहरु भुसुना झैं फटाफट जमिनमुनि गाडिदैंछन । फुटेको  भाँडो र टुटेको जीवन के अर्थ भयो र ? आतकंको राज्यले मलाई कुल्चदै छ । तपाईंले तिनीहरुमाथि कचौरा खन्याउदा म चेपुवामा परेको छु । म तातो हावाको रापले पिल्सिएको छु । मेरो मुटु भतभत पोलिरहेको छ । मेरो जीउ लुगलुग कापिरहेको छ । दैत्यको अगाडि पिलन्धरे सिपाही परे झैं म हतास हुदै पहिल्यै हारेको छु । मेरो मुटु बिस हात उफ्रन्छ । मेरो बलले नै भ्याउँदैन । म कसरी यो सन्त्रास र आतकंको युद्धलाई साम्य पारु ? म असिना सहितको आँधी र हुरी भए त यो पापी लडाईको आगोलाई भ्mयापझुप्पै निभाइदिन्थे । सक्ने भए त अंहकार गर्ने जनमनलाई दस किलोको भालाले उनेर बेलेको रोटी जस्तै हुने गरी पछारिदिन्थे । तर मेरो दोषबिना पनि ममाथि कुर्लनेहरु धेरै छन । मेरो पिठिउँमा तिनीहरु षढयन्त्रको जाल बुनिरहन्छन । बाटो र गल्ली कुरेर निर्घात पिट्न खोज्छन् । म बाहिर निस्कनै सक्दिन । मेरा गोडा चिप्ला भएका छन । खोइरो खन्नेहरुलाई जवाफ नदिएस् भनेर मेरो मुखलाई तपाईं सिइदिनुभयो । म कहिलेसम्म आँखा टोलाएर मात्र बसुँ ? कान पकाउँनेहरु कहिल्यै थाकेनन । रीसलाई थाम्न कति गार्ह्रो छ । यी दुष्कर्मीहरुको अगाडि स्वस्छन्द भएर उघ्रन म सकिन । मलाई दया गरी उघार्नुहोस । तिनीहरलाई चारै कुनाबाट धकेदिनुहोस् । बिलम्ब नगरी तपाई आएर मलाई शान्ति दिनुहोस् । शान्तिको घरमा लानुहोस् । 

हे परमेश्वर म कसरी यो मुख देखाउँ ? म तपाईंतिर फर्कनै नसक्ने भएको छु । मेरो अनुहार उठाउनै नसक्ने भएको छ । वाजे वराजु र आफ्नै  पापको कालोले मेरो मुख डडेको छ ।  अंगार झैं कालो मेरो टाउकोभन्दा माथि थुप्रिएको छ । मेरो मनभरि खटिरा आएको छ । पलपलमा गिज्याउने झिज्याउने चिलाउने र सास्ती दिने खटिरा । यो मै अटेरी भएको हुनाले आएको हो ? मेरो  गिदीमा झीर रोपएको छ । मेरो मुटुमा तीर रोपिएको छ ।  म के वीर छु र हाय, हरसमय निरहरु बगिरहन्छन । जान्दा जान्दै पनि यी मनहर भीरतिर हाम फालिरहन्छन । हाय म डँडे प्रभु, म त केवल डडेको छालाको थुप्रो मात्र भएको छु । केटाकेटीहरुलाई तर्साउने अन्धकारको झुप्रो माात्र भएको छु । ठडिनै नसक्ने गरि कुप्रो भएको छु । लेकका भेंडाहरुले काँसघारी रुमलाए झैं मैले तपाईंको पानीको उम्रेका हरिया भुल्काहरुलाई चिमोठे, निमाँठे । यो हृदयलाई ढुंगाले ठक्कर दियो । दुष्टले साह्रै मिच्यो । म निरीह भएको छु । कसैले पनि दया देखाउन योग्य छैन । गिज्याउन बनाइएका नरकका गुडियाहरुले मलाई खिज्याइरहन्छन । तिनमा प्राण काहाँबाट आयो ? पलपल गिदी चाट्दछन् । 

मैले तपाईंलाई रिझाउन सकिन कि तपाईंले मलाई यत्तिकै गन्धमा छाडिदिनुभयो ? मेरो दोष नभेटिएसम्म आसुँ बगाईरहन्छु ।  यो आखेँ झरी कति दिन नै टिक्ला र ? ठिकै छ बर्खे झरी नै सही, फोहोर मैला हिलो धूलो सबै बढारेर लैजाओस । हिउँदमा म शान्तिसँग बसुँला । के अनन्त हिउँदको प्रतीक्षा गर्ने पुस्तकमा मेरो नाम लेखिएको छैन र ? तपाईंमा दया नभए त शायद यो मेटिने थियो । म बाहिरिने थिए । तर धन्य प्रभु तपाईंको बिश्वसनियता आचुक छ । के बिश्वास गर्नेहरुको प्रतीक्षा बदलिन्छन र ? त्यसो हुदो हो त म व्यर्थैमा नर भएर जन्मिएँ । तपाईंको घर आउनेहरु कसैले पनि बिदाईं माग्ने छैनन । किनभने आसुँ र तड्पाई जिन्दगीभरी सहनुपर्छ । 

हाय प्रभु ! मलाईं यो के भयो ? म उभिएको ठाउँ बाहेक वरिपरि कुनै जमिन छैन । माथि हेर्छु कालो न कालो बादल मात्र छ । हात पसार्छु कसैले मलाई तान्न आउदैन । बेस्सरी रुन्छु कसैले मेरो स्वर सुन्दैन । मानिसहरुको कानमा तेल हालेको छ कि ? आँखामा पट्टिी बाँधेको छ कि ? मतिर फर्केर हिँडनेहरुले समेत मलाई देख्दैनन । म खिन्न भएर थचक्कै बस्दै दिन गनिरहेको छु । आसुँ सिवाय प्यास मेट्ने पानी झरेको छैन । बेदनाको डल्लोले खाली पेट भर्छु । तीखा गिटी ढुंगाहरुलाई ओछ्यान संझेको छु । जति नजर घुमाए पनि फट्कने बाटो नै देख्दिन । जति फटफटाए पनि उडेर केही समाउने चिज भेट्दिन । म बिवश भएको छु । मेरो रक्षार्थ कोहि आएन । म पांग्रा फुस्किएको रथ झैं भएको छु । जाहा जाहा गएँ त्यहि घोका खाएँ । के तपाईंसँग व्यर्थै प्रीति लाए ? हारे पनि केही अर्थ होला । माटो भए पनि केहि मूल्य होला । मेरो शरीरको माटोमाथि एउटा नमर्ने फूल फूलिदिए हुन्थ्यो । संसारले त भूलिदिए पनि हुन्थ्यो । किनभने म मुख देखाउन लायक नै भईन । बैगुनीको छिनुले अनुहार भरि कोपै कोप बनाएको छ । ढाट छल झूट र व्यभिचारी बर्खे धापले शरीरै भरि छाप बनाएको छ । कचकचे हिलोले कुहिने काप बनाएको छ । सधैंभरि मुटु डाम्ने राप भएको छ । कष्ट दिने काप बनाएको छ । अब त बिदाईको विणा बजिदिए कति आनन्द हुने थियो । 

लौ अब कसरी हरियाली आउला । म सुकेको रुख झै खंगरङ्ग भैसके । बोक्रा ताछेर मान्छेले मेरो आहारको बाटो बन्द गरिदिए । मेरो पात पनि घामको डडेलोमा प¥यो । पानी सुकेर भुईमा झर्यो । पतकारलाई पनि मान्छेले पशुको ओछ्यान बनाए । खेतबारीमा डडाएर मलनल बनाए । कतिले खाल्टामा कुहाएर खेतबारीमा डडाएर मलनल बनाए । कतिले खाल्टामा कुहाएर बिषालु झोल बनाए । हागाँहरु पनि आँसी र बन्चरो लगाएर टुक्रा टुक्रा पारे । अगेनामा जलाए । मूल डाँठलाई आरो लगाएर आरी र तखता बनाए । खूशी अनुहारको आकृति बनाए । मेरो आफैं हुर्कने बढ्ने फुल्ने फल्ने र हरियाली बन्ने सपनाले सिल्टिमुर खायो । मलाई स्याहार्न खोज्ने कोहि भएन । मेरो मूल्य तिरिदिने कोहि भएन । मेरो पक्षमा बकातल गरिदिने कोही भएन । धारिला हतियार रोकिदिने कोही भएन । तर अरुले मेरा अंगहरुबाट मूल्य बनाए । रुख पूरै बेचिदिए । मेरो भित्री आँखामा छचल्किईरहेको आँसुको तालभित्र हल्लिरहेको पिडित हृदयको प्रतिबिम्बलाई निकाल्ने कुनै यन्त्र भएन । जन्माउनै सकेनन । जरैलाई तिनीहरुले मुठारे । ढल्नेबेला म नराम्ररी पछारिएँ । तर तिनीहरु सबै  आफ्नो इच्छा पूरा गर्न पाएकोमा अत्यन्त खुशी थिए । 

मेरो जीवनको रुख मैले तिलान्जली दिएँ । यो तैपनि तिनका आँखामा तिल झैं सानो थियो । मेरो रहर मेटिदिएँ । तिनीहरुलाई भेटी दिएँ । छिनमै तिनीहरुको इच्छा बदलियो । तर यो जीबन बदलिएन । निरिहता र निरवताको निशीमा छट्पटाई नै रह्यो । उठाएर जोडिदिने, हतियारहरु तोडिदिने कोही थिएन । मेरो नियती यस्तो भएको छ । आँट बल र साहास कैयौ फिट तल गएको छ । सन्त्रास र अत्यासको बाटोमा बिबशताले बटारेका खुट्टाहरु घिच्याउँदै हिँडिरहेको छु । तीखा गेगरले पैतालाका छाला उधार्छन । कुनचाँहि बैद्यले मलहम लगाईदेला ? ठ्याम्मै भए मेरा गोडा । हलहली रगत बगिरहेको छ । यो दुष्ट रगतलाई शुद्ध्याएर कसले जीवन भरिदेला ? रगत बग्न मात्र जानेको छ । रोक्न कसले सक्छ होला । म बेचैन छु । भोक र प्यास रित्तिइसकेको छ । यस पृथ्वीको भोक । अब यो निको नहुने भयंकर रोगबाट मलाई छुटाएर रोग भोक र शोक मुक्त बन्ने चाहाना तीब्र भएको छ । मेरो प्रार्थना यही छ मलाई अब बिदाई गरिदिनुहोस । किनभने म अन्तिम त्यान्द्रो मात्र बाकी रहेको छु । उतापट्टि अथाह ध्वान्द्रो पनि मुख उघाएर बसिरहेको छ । बिन्ति छ, बिन्ति छ, मेरो प्रार्थना यही छ मलाई अब बिदाई गरिदिनुहोस्  ।

-लालु पौडेल  । 
सूर्यको प्रकास मलिन हुदै गैरहेको थियो । मानिसहरु, पशुपछीं र जनावरहरुका बिरह लाग्दा मिश्रित स्वरहरु सुनिदै थिए । वातावरण कलुषित थियो । क्षितिज वारीपट्टी बिस्तारै अन्धकारले नग्रां गाड्दै थियो । थाहा थिएन कतिका मनहरु हतासिएका थिए । कतिका मनहरु निसासिदै रोइरहेका थिए अनि कतिमा मनहरु चुलबुलाउदै थिए । थरीथरी पशुहरु जो चरन चर्न खर्कहरुतिर गएका थिए, तिनीहररु आ-आफ्नो गोठ भकारामा फर्कने बेला भएको थियो । तिनीहरुको मन मष्तिस्क र शरीरको अबस्था त कसले जान्न सक्थ्यो होला र ? तर त्यो दृश्यबाट, केवल मुढे बुद्धि र तर्कद्धारा अनुमान मात्र गर्न सकिन्थ्यो । त्यो समयको फक्ल्याटोलाई चारैकुनाबाट हेर्न मात्र सकिन्थ्यो । कतै गाईका खुट्टाबाट गोधुली पुत्ताइरहेको थियो त कतै भेँडा बाख्रा र  घोडा खच्चरहरुको खुरधुली पुत्ताइरहेको थियो । तिनीहरु सबै े आफ्नो बासस्थान तर्फ फर्किरहेका थिए । तिनीहरु कसैलाई पनि आफु बस्ने गोठ भकारोहरुमा के हुदैछ वा भैरहेछ भन्ने कुनै कुरा पनि थाहा थिएन तापनि सबै आफु बाँधिने दाम्लोको निम्ति अत्तालिदै थिए । कोही हतार हतार लम्कदै थिए त कोही लर्यागंबर्यागं गर्दै थिए । हुलमुलमा किचिंदै थिचिंदै र मिचिंदै सबै आफ्नो अन्तिम गन्तव्यतर्फ लम्किरहेका थिए । 

एकैछिनमा दृश्य बदलियो । तिनीहरु आफ्ना आफ्ना खर्क गोठ नजिक पुगिसकेका थिए । सबैको  आफ्नो आफ्नो बिश्रामस्थलमा लेट्ने बेला हुन लागेको थियो । गोठालाले सुुसेली मार्दै तिनीहरु सबैलाई सचेत गराउन थाल्यो । खबरदार ! कोही पनि मेरो अनुमतिबिना तगारो छिचोलेर  आफ्नो भकारो रोज्न जान पाउने छैन । मैले तिमीहरु सबैको लागि आफ्नो आफ्नो भकारो पहिल्यै तयार पारिराखेको छु । म जसलाई चाहान्छु त्यसले  मात्र छुट्याएर राखेको भकारोमा गएर बस्न पाउनेछ । जसले जबर्जस्ती गर्न खोज्छ,  त्यसलाई खेदिनेछ र कसाईको हातमा सुम्पिइनेछ । 
यस्तो थर्कमान पार्ने आवाज सुनेपछि सबैले कान ठाडा ठाडा पारेर पल्याक र पुलुक गर्दै टाउको उचाल्दै र जिव्रो लपलपाउदै कौतुहलताकासाथ हेर्न थाले।

ओहो ! मेरो छिर्ने पालो कहिले आउने होला त ? मेरो भकारो कस्तो होला ? चवाउनलाई  मीठो मीठो घास पराल होला कि नहोला ? पानी चुहिने छाना होला कि न्यानो छाना होला ? अथवा तिरिमिरी आकासमुनी सुताउने पो हो कि ? टाट्नु होला कि चिसै भुइमा घाँस खानु पर्ने हो ? मेरो छेउमा डक्ने साथी पर्ने हो कि, मन नपर्ने डांग्रो पर्ने होला ? घच्याईरहने तिखे पर्ने हो कि घुस्रिरहने लिखे पर्ने होला ? फलामको सांगलाले बाँध्ने होला कि दाम्लाले बाँध्ने होला ? किलोमा उन्ने होला कि घोचामा ? खुट्टामा उन्ने होला कि घाटीमा बाँध्ने होला ? न सिंग या नाकमा पो नथ्थी लगाउने हो ? पेटभरि खान दिने होकि जिव्रो मात्र चटाइदिने होला ? यस्तै यस्तै प्रश्नहरुले तिनीहरु सबैको मन मुटु र आँखाहरु सल्वलाईरहेका थिए । तर जति नै मन सल्वलाए पनि जवाफ थाहा पाउन गोठालोको प्रतीक्षा गर्नै पर्ने भएको थियो । 

अब, के गर्नु र ! जतिसुकै बल ताकत भए पनि उसको अगाडि त लुुत्रुक्क परेर चुपचाप उभिनुपर्छ । अलिकति दाया बाँया गर्न थाल्यो कि नथ्थी लगाएर टट्न्याईहाल्छ । त्यतिले पनि पुगेन भने खुट्टामा टाट्ने डोरी हालेर पछारिदिन्छ । त्यहीमाथि गोर्खे लौरी उचाल्न बेर लाग्दैन । अझ त्यतिले पनि नभए अटसमटस् पार्ने कान्जीघरमा लगेर सेल्ट्याईदिन्छ । तव पनि सुध्रन भने त कसाईको किलामा लगेर ठोकिदिन्छ । त्यसकारण अहिलेलाई भलाई यतिमै छ कि चुपचाप उभिरहनु र उसले भनेको मान्न तयार हुनु । अझ डर यस्तो पनि छ कि लुत्रुक्क परेर बसुँ त भने अब तँ रयालेको  पाइन सकिएछ, अब काम लाग्दैनस भनेर भीर तिर लघारीदिने डर थियो । अव फेरी अलिकति न यसो चल्ती फूर्ती गरुँ न त भने, अब तँ डांगनो पनि शेखीबाज गर्ने भइछस्  भनेर चुटिचुटि बोसो चुहाइदिने डर थियो । त्यसकारण तिनीहरु सबै याकुल र व्याकुल पनि परिहेका थिए । गोठालाको अगाडि उभिरहन पनि निकै दकस पसिररहेको थियो । तर के गर्ने त खै ? कतै गएर लुकुँ भने पनि खोज्दै खोज्दै आउँछ र पत्तो पाईहाल्छ । झन त्यसरी भाग्न खोज्यो भने त कम पो बित्यास पार्दैन त गाठे  ! तिनीहरुलाई पर्नु आपत परिरहेको थियो । 

अब जम्मा हुनुपर्ने जति सबै जम्मा भइसकेका थिए । वनपाखा र खेतबारीतिर कोही पनि छोडिएको थिएन ।  न त कोही अक्कर कुक्करहरुतिर अल्झिएर हराएका थिए । न त कोही बाटोघाटो तिर या कतै घाइते भएर लडिरहेका थिए । तर एक एक जम्मा भैसकेका थिए । किनभने अब तिनीहरुको अन्तिम बासस्थानको टुंगो लगाउने बेला भैसकेको थियो । गोठालाले सबै तयारी गरिसकोको थियो । अब तिनीहरुको आकार प्रकार र बानी व्यहोरा सबै हेरेर बाँकी जीवनभरि रहने खर्क तोक्ने काम मात्र बाँकी यियो । सबै त्यसकै प्रतिक्षामा थिए । कुनै कुराले भाँजो हालेन वा कतै केही अनौठो भएन भने अब केवल केही पलको समय मात्र बाँकी यियो ।

लौ घाम पनि डुविसकेछ । जुन पनि उदाएको छैन । ताराहरु पनि देखिदैनन् । यताउती हेर्दा कुनै पनि ठाउँ देखिदैन । यस्तो लाग्दथ्यो तिनीहरु उभिइरहेको ठाउँ बाहेक अरु कुनै ठाउँ नै छैन । अचम्म चाँही यो थियो कि कुनै प्रकास दिने थोक नभए पनि त्याहा उज्यालै थियो । उनीहरु एकअर्का सबैलाई देख्न सक्दथे । गोठालाले सबैलाई चिन्न सक्दथ्यो । ऐनामा झैं छर्लगैं देखिरहेको थियो । त्याहा भएका सबै पशुपंछीहरुले पनि गोठालोलाई स्पष्टै देखिरहेका थिए । एक अर्कालाई नदेख्ने र नचिन्ने कोही पनि थिएन । 

अब गोठालोलाई साहायता गर्नेहरु पनि त्याहा आए । गोठालो चाहि अघि नै सेतो ढुंगामाथि आसन जमाएर बसिसकेको थियो ।  तिनीहरुले जात जात र बथान बथान अनुसार समुह समुहमा तिनीहरुलाई छुट्याउन थाले । यो चाहि सजिलोको लागि थियो । यसरी तिनीहरुलाई पंङतीमा राख्ने काम सकियो | तव  गोठालोले एक एक गरि तिनीहरुको जाँजबुझ गरी प्रत्यकलाई कुन भकारो कुन खोर या कुन घर भनेर  निर्क्योल गर्ने काम सुरु गर्न थाल्यो । सबैभन्दा पहिला भेंडा र बाख्राको समुहलाई तयार रहन भनियो । तव गोठालो उभिएर नामै काढेर एकएकलाई बोलाउदै तिनीहरुको आनीबानी काम व्यवहार अनुसार खर्कहरु निर्धारण गर्ने काम सुरु गर्न थाल्यो। 
“बोके दाह्री याहा आइजा” !
आफ्नो नाम सुन्ने बित्तिकै लत्र्याक्क परेर थचारिइरहेको बोके दाह्री तनक्क कान तन्काएर जुरुक्क उठ्यो । अनि थरर्र जीउ थर्थर्याएर धूलो मैलो टकटक्यायो । तव फटफट फटफट दुईचोटि मुन्टो फट्कारेर आफैंलाई फूर्तीफार्ती पार्यो । अनि रवाफसगँ टाउको उठाउँदै गोठालाको अगाडि गएर उभियो । 

तव गोठालाले त्यसको टाउकोमाथि हात राखेर थुम्थुम्याउदै भन्न लाग्यो, हेर बोके दाह्री तेरो अलि लामो लामो दाह्री भएको हुनाले तेरो नाम बोके दाह्री राखिएको थियो । ज्यान पनि परेको र दिमाख पनि भएकोले  दाह्रीको इज्जत राख्ने नै छस् भन्ने थियो । त्यसकारण तेरो लागि खोला वारीेदेखि पारीसम्मै चरिचरन गर्न ठाउँ दिइएको थियो । तर तैले त त्यही दाह्रीकै बलमा चर्न नहुने अर्काको बारी बारी चरिस् । त्यतिले नपुगेर कुनाकानी तिर जुतोले पनि भरिस् । ल भन त दाह्री किन यस्तो गरिस् ? तँ चर्नको लागि तलाई दिइएको बारी कम थियो र ? जिव्रोको लागि फरक फरक स्वाद भएका घाँसपात त्याहा उमारिएको थिएन र ? अर्काको बारीमा उम्रेका चरन किन राम्रो देखिस् ? तिनलाई चर्ने कोहि थिएनन र ?  आफ्नो भाग हुदा हुदै किन लोभ गरिस् ? चारैतिर र्याल्लव्याल्ल पारेर आफ्नो भुँडी मात्र भरिस् र भ्यात्त पारिस् ? तर तँ अझै भन्छस् म अघाएकै छैन । मीठो मीठो खान पाएकै छैन । उता उताको बारी डुल्न भ्याएकै छैन । मेरो चित्त बुझेकै छैन । यसरी काहा हुन्छ र बोके दाह्री ? 

यति मात्र काहा हो  बोके दाह्री ! तैले त आफुभन्दा साना र बल नभएका पाठापाठी र बाख्राबाख्री आए भने भुत्ते सिंगले डसेर तर्साएर लघार्थिस । अर्काले नुगाएर खान लागेको डालीको घाँसपात पनि तैले नै चवाईदिन्थिस् र तिनलाई जिल्लै पारिदिन्थिस् । अरु ओवानो ठाउँमा बसेको देख्दा तलाई रिस उठथ्यो र तिनीहरलाई लखेटेर तँ आफै सुत्तिस् । पेटारी र मुडुलीहरुको पछि लाग्ने बोकाहरुलाई पनि मुढे बलले लघारेर आफै नै ओगड्थिइस । अब आजबाट तेरा यी सकै कर्तुतहरु बन्द हुनेछन, सुनिस बोके दाह्री ?

अब आजबाट तेरो जीवन उल्टो चल्नेछ । तैले पेटारी र मुडुलीहरुलाई जे गरिस् बाघ र भालुहरुले तलाई त्यसै गर्नेछन् । तैले खान लागेको भाग अर्कैले खोसेर खाईदिनेछ । तेरो भुँडी सुकेर चाउरी पर्नेछ । ओवानो खर्कको साटो गन्हाउने र पोल्ने हिलैहिलोको ओछ्यान हुनेछ । एकपलट डसेको साटो चालिस पल्ट अरुले तँलाई डस्नेछन्  । अर्काको बारी चरेको साटो तेरो नाच्ने बारी अब अरुले नै सखाप पार्नेछन । तैले खानको लागि भुत्लो पनि पाउने छैनस् । तैले सय बोकामथि शाशन गरिस् अब तँमाथि हजारले शाशन गर्नेछन् । तेरो ठाउँ उ त्यता हो, ल अब तँ गईहाल । 

“अब लाम्काने हाजिर हो” !
तुर्लुङ्ग कान झुण्याएर बसिरहेको लाम्काने आफ्नो नाम बोलाएको सुन्ने बित्तिकै पुलुक्क आँखा उघारेर हेरयो । लामो लामो कान ठड्याएर मलाई नै बोलाएको हो कि होइन भनेर एकछिन गौर गरेर ठम्याँएपछि मात्र अल्छ्याइलो पाराले उठ्यो र हाई काढदै, जिउ मर्काउदै आफैलाई तयार पार्न थाल्यो । अनि जुम्सो अनुहार लिएर गोठालो मालिकको अगाडि गएर उभिदै पुलुक्क हेरयो । 

गोठाले लाम्कानेको लामो लामो कान समाउदै भन्न लाग्यो, तेरो कान लामो र गहिरो छ सबैको आँतका गहिरा गहिरा बात पनि  बुझ्न सक्छस्  भनेर तलाई थाने बनाएको हो नि त लाम्काने ! तर के गर्ने तैले त कसैका आँतका बात खाने कुरा गरिनस् तर व्यर्थमा हम्कने कान मात्र गरिस् । नचाहिने ठाउँमा मात्र जाने मन गरिस् । कान पनि सफा नगरेर कानमा कानेगुजी मात्र भरिस् । त्यै कानेगुजीले गर्दा तेरो आँखा पनि धमिलो भएर गयो । तव पो तँ छिल्लिदा आफनै दिदीबहिनी र आमाहरुलाई पनि त चिन्न सकिनस् । 

अरुको त के कुरा तँ आफैं बाँधिने दाम्लो र टाट्नु पनि चिन्न सकिनस् । त्यसलाई तेरो माया भएन । तिनको जतन गर्न सकिनस् । सबै लथालिगं र भताभुंग पारिस् । लामो कान भनेर अरुले दिएको मान सम्मान पनि तैले ख्याल गर्न सकिनस् । कसैले मीठा मीठा र असल असल अर्ती उपदेश अनि धर्म कर्मका कुरा गर्दा छेस्काले कान कोट्याएर मात्र बस्ने गर्थिस् । त्यसलाई सुनेको नसुन्यै गरि कानमा तेल हालेर बस्थिस् । गहिरा कुरामा तेरो चाखै भएन । खाली अल्छी मात्र भै बसिरहिस् । तर पेट भर्न पाउने ठाउँ छ भने जाँहा पनि चारखुट्टा टेकेर पुग्ने गर्थिस् । तँ कस्तो बानी भएको भन त । बस्न चाहिं अल्छी मानेर बस्ने तर खान चाहिं बल्छी हानेकै चाहिने ? यसरी त के हुन्थ्यो र लाम्काने ?

अब चाहिं तेरो कान किरैकिराले कोपरेर बुच्चै पारिदिनेछ । कानेगुजी पनि खाएर ट्वांगै बनाईदिनेछ । तलाई मन नपर्ने किरा र झ्ँयाउकिरीका कर्कष आवाज आउने ठाउँमा तँ रातदिन बस्नुपर्नेछ । तिनीहरुको आवाजे तलाई सधै वाक्क दिक्क र प्याक्क प्याक्क पार्नेछ । अनि  तलाई काँटी काँटीको शुद्ध बिस्तारा हुनेछ । तेरो जाने ठाउँचाहि उ त्यता हो, ल लाम्काने गइहाल त । 

अब पेटारी हाजिर भएस् !
जव आफनो नाम आयो चार पाउ फालेर सुतिरहेकी पेटारी आँखँ चिमचिम गर्दै हतपत हात खुट्टा थुतुनाले सुम्सुम्याउदै सलक्क उठेर आफ्नो जीउलाई अगाडि र पछाडिबाट हेरी । भुँईमा पल्टदा उठेका र चुच्चा परेका भुत्लाहरुलाई यसो चुच्चे चिँउडो र थुतुनाले थिचिमिचि र चाटचुट गरि सामसुम पारेर आँफैलाई ट्याक्क र टिलिक्क पारी । अनि अगाडिका दुई दाँत देखाउदै मुसुमुसु हाँसेर गोठालाका अगाडि गएर उभिई ।   

तव गोठालाले डडाल्नामा हात राखेर मुसार्दै भन्न लाग्यो, हेर पेटारी तेरो पेटमा टारी खेतको गह्रा जस्तो धर्सा धर्सा परेको हुनाले पेटारी नाम राखेको हो । तलाई बारी खेतबारी र टारीकै बरिपरि मात्र चरिचरन गर्नु, बटारीई बटारिई खोला पारी पारीतिर नजानु भनेको हो । तर किन त्यो आज्ञा ख्वात्तै बिर्सिस् ? आफ्नो बारी र टारीको बारबाट घुस्रेर किन पारी पारी पुगिस पेटारी ? तँलाई उतातिरको भाले फूलहरुको मुन्टा मात्र किन मीठो लाग्यो ? तँ त्यसरी घुस्रेर छिरेको देखेर तेरा अरु साथीहरु पनि बटारिएर त्यतै छिरे । खोलापारीतिरको पानी खाँदा नाम्ले किरा र जुकाहरुका फूल पनि खाईस् । यता आँउदा नाना थरिका रोगहरु पनि ल्याइस् । त्यसकारण तेरा पाठापाठीहरु पनि ख्याउटे र्याउटे चकचके र गिदी नै नभाका जस्ता भए । तेरा पाठाहरुले बेला न कुबेला पठ्याक्क्रीहरुलाई र्याकरयाक्ती पारे । तैले तेरो घर बरिपरि भएका पाठपाठीहरुलाई ठीक ठीक बात सिकाएर निरोगी राख्नुपर्ने थियो । तर तैले आफ्नदिमाख भुटिस् र रोग सल्काईस् । वारीपारी जताततै माहामारी फैलाईस । मियो नै कच्चा थियो काँहाबाट दाँई गतिलो हुन्थ्यो त । जवान ठिटा छेरौटे पिरौटे सबैलाई बेलामा दाम्लामा बाधेर अल्झाईराख्नु पर्नेमा तँ आफैं पो दाम्लो टोकेर बुर्कुसी मारिस् । अनि अरुलाई पनि छिरलिस् । 

यसकारण तँ पेटारीलाई त बेटारीको झट्का दिनु पर्ने थियो तर के गर्ने समय आएको थिएन । आज बल्ल टाट्नामा उभिन आईपुगिस् । अब तेरो मन खुशीले हिँडेर चर्ने र चराउने दिन गए । अब तैले कलिला मुन्टा कोपरेको ठाउँमा फलाम कोपर्नुपर्छ । तेरो जीउ बारको दुलोभन्दा बिस गुना सानो दुलोबाट हरदिन कोचारी कोचारी छिराईनेछ । तेरो नाकमा सधैं कुहिएको सिनाको गन्ध पर्नेछ । जिव्रोमा सबैभन्दा कोक्याउने पिँडालु लेस्नु पर्नेछ । दुइतिर काँढा भएको भुत्लाले तेरो जिउ ढाकिनेछ । किरा र जुकाको साटो सर्प र बिच्छीहरुले तँलाई गाल्नेछन् । तेरो नयाँ बसोबासको लागि तयार गरेको खोर उ त्यता छ ल तँ गइहाल र सधेभरी त्यही बस। 
अब मुडुली खडा भएर तयार भएस् !
हयाकुलोमुनी टाउको लुकाएर फ्यास फ्यास निदाउन थालेकी मुडुली आफ्नो नाम सुनेपछि झसगं हुदैं व्यूझींएर लरखराउँदै उठी अनि बुच्चे सिगं र चिण्डे टाउको मसादै गोठालो छेउ पुगेर उभिई । 

अनि उसको टाउकोमा हात राख्दै गोठालाले भन्न लाग्यो, हेर मुडुली जति नै मीठो कुँडुली दिए पनि हुँडुली हुँडुली झाम्टो झाम्टो खोजेर खाने तेरो बानी थियो । झोल जति हुत्याएर पोखाईदिन्थिस् । अल्छी तिघ्रो स्वादे जिव्रो भएर काहा हुन्छ र मुडुली । चरिचरन गर्ने ठाउँमा गइस भने झोक्र्याएरै मात्र बस्ने गर्थिस् । कसले डाली नुघाएर खान दिन्छ की भनेर बोकाहरुको मुखमा मात्र घोरिएर हेर्ने गर्थिस् । उनीहरुले तँलाई जता घच्याए उतै घच्चिन्थिस् । अरुको मेहनतले मात्र े आफ्नो ज्यान पाल्न सकिन्छ झैं गर्थिस् । काम गर्ने कालु मकै खाने भालु कसरी हुन्छ र ? जसले तेरो मुडुलो टाउको छामे पनि फिसिक्क हाँसेर सबैलाई मर्नु बनाईदिन्थिस् । त्यै भएर बास्ना आए झैं सबै तेरो पछि पछि पछि लागे ।  त्यै भएर तँ गजक मजक गर्दा गर्दै मोटाउदै गइस् । खोरमा भएका अरुहरुका पाठापाठीहरुलाई मसार मुसुर पार्दै दुध ख्वाउदै स्याहार सुसार गर्न पटक्कै मन गरिनस् । बरु आफै र अरु पाठा पठ्याक्राहरुलाई पठाएर मोटे ढाक्रे र चाक्रे बोकाहरुको इच्छा मात्र पुरा गराईदिइस् ।

त्यसकारण बोकेदाह्री र लाम्कानेहरुले समेत बैला भएकोमा कुनै पश्चाताप नगरी तँलाई उचाले । मोटीघाटी पनि भएकीले त्यै अनुसारको ठाउँ र भाउ दिलाए । माउ बनाईदिए । तर तैले त खाली दाउ मात्र हेरिस् । तेरा छरछिमेकी र रोगी, ल्याइते, व्याइते, ख्याउटे, र्याउटेहरुले एक पाउको कुँडो पनि खान नपाउदा तँ चाहिं सोर पाउको कुँडुली पनि हुँडुली हुँडुली झाम्टो खोज्ने गर्थिस् । अझ मीठो मीठो र बाक्लो खोले खोज्ने गर्थिस् । कसैले केही आँट गरेर मुख खोल्ने आँट गरिहाले भने पनि त्यसको मुख नै सिएर बन्द गर्ने गर्थिस् । त्यै भएर पो तँ कुम्लदै गएकी थिइस् । त्यसैकारण बोकेदाह्रीहरुले पनि तेरो बोसो झार्ने आँट हतपत गर्न सकेनन । अझ उल्टै तेरै इसारामा बोसो नै नभएकाहरु तिर चोसो घुमाउन लगाईस् । बोसो झार्न नमान्नेहरलाई डाँडा पाखै कटाईस् । यसरी ढाँटी ढाँटी र छाँटी छाँटी काम कुरो गर्ने भएकीले तलाइ अब तीन करोड काँटीले बनेको ओछ्यानमा सुताईनेछ । सुँगुर र चीलको लासलाई उधिनेर भोक मेटाउने प्रयत्न गर्लिस तर त्याहा दुर्गन्धित मोसो बाहेक केही मिल्ने छैन । जता कोल्टे परे पनि तैले आराम पाउने छैनस् । तैले नै हुल्मुल्याएका पाठापाठी र बोकाहरुले दाह्रा उध्याउदै कोपरी कोपरी तेरो भएभरको बोसो झार्नेछन् । कहिल्यै आसुँ नओवाउने पार्नेछन् । अब सदाको लागि बन्दोबस्त गरिएको तेरो घर उ त्यता छ ल तँ गइहाल् । 

अब खैरे भेंडो हाजिर हो !
जव खैरो खैरो चिल्लो लपक्क भुत्ला, चम्किलो आँखा र गम्किलो छाँट भएको खैरे भेडों सलक्क उठेर लमक्क लम्किलो खुट्टाले हिँडेर ढमम्क गोठालेको अगाडि हाँजिर भयो, तव खैरे भेडांको चिउडो उचालेर गोठालेले भन्न लाग्यो, हेर खैरे अ‍ैरे, गैरे, नेप्टे, चेप्टे, थेप्चे र हाँडी घोप्टेहरुले जति नै खैरे खैरे भनेर तँलाई जिस्क्याएर  घच्याए पनि तैले कैल्यै तिनलाई आँखा तैरेर हेरिनस् । बरु उल्टै तिनक भूडींमा मुसा दगुर्दा, अनि रन्थनिदै र हक्कानिदै तेरो खोरतिर आईपुग्दा खुरुक्क तैले आफु बसेको ठाउँबाट उठेर टाट्नाको घाँस खान दिन्थिस् । तिनले तेरो खोरमा छेरुवा जुतो बक्याउँदा पनि कहिल्यै उता जा फोहोरी भनेर गाली गरिनस् । बरु आफ्नै चारपाउ लगाएर सफा गरिस् । तीखो र घुम्रिएको सीगं भएता पनि कहिल्यै कसैलाई  घोचघाच  र पेचपाच पार्ने काम गरिनस् । तँ मोटोघाटो भए पनि पिलन्धरे, लिखुरे, अन्तरे, जन्तरे र पानी मन्तरेहरुसँग कहिल्यै टाउको जुधाईनस् । बरु कहिले काहि तिनीहरुको पारो चढेर खुरले माटो खोस्रदै, सींग उध्याउदै टाउको ठोक्न लाग्दा तैले आफ्नो आँङ फुलाएर, नाकाको श्वास फुलाएर हम्केरै डराउन दिइस् ।

त्यसकारण तिनीहरुको सिंग भाँचिएर कीरा पर्न पाएन। यसरी तेरै कारणले टाउको ठोक्न नरुचाउनेहरले पनि ढुक्क र शान्तिसँग चरिचरन गरेर आफ्नो पेट भर्न पाए । यसरी तेरो बर्कतले भ्याएसम्म सहायता र  सुरक्षा दिएको र रनबन  डुलेर चरिचरनमा खाएको कुनै पनि बिषालु कुराहरु अरुले देख्ने गरि उल्टी नगरेको, नउघ्राएको कारण तैले तेरा समाजमा इज्जत पाउन योग्य काम गरेको छस् । त्यसैले मैले पनि तँलाई अन्यन्त सुन्दर र सफा खोरमा सधैभरिलाई राख्ने निश्चय गरेको छु । त्याहा सबैको माया तैले पाउँनेछस् । टाउको जुधाउने र सिंङ्ग उध्याउनेहरु त्याहा कोही पनि हुनेछैनन् । तेरो भाग कसैले खोस्ने छैन । तैले चपाउदै गरेको मुखको बुजो थुत्न कोही आउने छैन । तेरो मनले चाहेको कुरा प्रशस्तै त्याहा हुनेछ । तलाई माया नै माया र आरामै आराम अनि खुशी नै खुशी हुनेछ । तँ बस्ने ठाउँ उ त्यता छ तँ उतातिर जा । 

यसरी नै गोठालाले हरेक भेँडा र बाख्राहरुलाई एकएक गर्दै केलाएर अनन्त रहने बासस्थान निर्धारण गरिरहेको थियो । भेंडा र बाख्राहरु वासस्थान निर्धारणको लागि ओ आफ्नो पालो पर्खदै छन् । असल काम गर्ने, गोठालाको स्वर सुन्ने र गोठालाको आज्ञा पालन गर्नेहरु निर्धक्क र खुशी देखिन्छन्  । तर अरुहरु चाँहि हतास निरास र चिन्तित देखिन्छन् । किनभने तिनीहरु गोठालोद्वारा फैसला गरिने ठाउँमा  पुगिसकेका थिए, अनि त्याहा पुगिसकेपछि जति नै इच्छा गरे पनि  कसैलाई सच्चिने मौका थिएन । 

-लालु पौडेल । 
हिँउदको कुनै एक दिन थियो । बिहान सखारै उठेर मैले यसो हेरें, बारी, पाखा र बाटाभरि तरर शितल शीत तरेली परेका थिए । चिसो हावा र सेताम्मे शितले प्रभातलाई कठ्याग्रिंने गरि डामेको थियो । तर अब मलाई यी खुट्टाहरु उभ्याएर त्यत्तिकै हेरिरहने समय थिएन । त्यसैले म झटपट तातो चिया स्वाट्ट पारेर घर छेउको बाटो हुँदै फटाफट गन्तव्यतिर लम्किन थाँले ।

यो तन त बिस्तारै हुत्तिदै थियो तर मन भने हजारौ लाखौ करोडौ माइल पर कुदिरहेको थियो । लौ यो पाखो पनि त काट्न लागिसकिएछ त । मेलै यसो माथि डाँडातिर हेरें, रुखहरुका अन्तरकुन्तरको छिद्रहरुबाट तिरिरि बिहानी दिवाकार चम्कने बेला भएको थियो । यो मनले बिचार ग¥यो अब घाम आएपछि ज्यानले पनि अलि न्यानो पाउला कि । ज्यान तातेपछि त मन पनि तात्छ होला अनि त थर्थराउने चिसोमा डामिनु नपर्ला ।

तर फेरी आँखा उठाएर माथितिर हेरे, ओहो ! आकास त अघि नै बादलले पो ढाकिसकोको रहेछ । कति छिटो मौसम बदलिएछ ? म छक्क परेँ । राती बादल हुँदो हो त कसरी यो पैताला झमझम्याउने शीत पथ्र्थो होला त फेरि ? म मनमनै तर्क गर्दै भुतभुताउँदै थिएँ । आकासको रगं र बादलको ढगं पनि छिनको छिनमै बदलिन्छ । यो बादलको चाल र बैसको ढाल पनि उस्तै त रहेछ । जे गर्न हुदैन भनिन्छ त्यो गर्न खोज्छ अनि जे गर्न पर्ने हो त्यो काम गर्नै खोज्दैन । लोभि मन पापी बैस भनेको यस्तै होला, उफ ! 

म हिँड्दै थिए । अचानक तप्ल्याक्क मुखैमा पानीको थोपा परयो ।   हैन बनतिर पनि शीत त बाक्लै परेछ कि क्या हो? मैले यसो माथितिर टाउको उठाएर हेरे । मेरा बाबै के को शीत हुन नी बादलै फुटेर पानी पो पर्न लागेको रहेछ । लौ अब परेन त बित्यास ! बनको बाटो छिरियो, यसो ओत लाग्ने ठाउँ पनि छैन । बस्तीतिर पुग्न अझै आधा धण्टा जस्तो लाग्ला । भिजाउने भो यो हिउदे झरीले..... यो मन अत्तालिदै गयो । अब त झनझन बाक्ला बाक्ला पानीका थोप्ला झरेर बन नै थर्काउन थालिसकेको थियो । म पनि खुट्टा  झन लामो लामो पार्दै थिए । एकैछिन पछि बाटोको छेउतिर झ्याम्म परेको रुख देखियो । नाथें हिउदे पानी त कसो नथाम्ला र? नत्र देखाजाएगा...भन्दै त्यही रुखको फेदमा अडेस लागेर थुचुक्क बसे । पानी दर्कै पर्न थालेको थियो ।  मैले आफनो जीउ झनझन टसाउदै रुखको जरामै पोको पार्न थाले । ओहो ज्ञाठे झोलाको ट्र्याक्स पनि भिज्न पो लाग्यो क्यारे भन्दै झोलालाई पनि काखी च्याप्न थाले । अचानक पारीपाखा तिर कसैले सुइय सुसेलेको आवाज मेरो कानमा ठोकियो । म झसगं भएछु । 

खै के भयो मेरा आँखा बटार्न थाले झै भयो । उसले त्यसरी नै पारीबाट सुसेली हाल्थी । मैले वारीबाट सुसेल्थे। निकै बेर सुसेलीको दोहोरी चलेपछि हैन यो कुनचाँही नखरमाउली मोरी रहिछ त भनेर म बहर गोरु बरालिए झैं म त्यतैतिर हानिएको थिए । पारीपाखामा पुगेर हेर्दा त उही फूलकुमारी र उसका साथीहरु रहेछन । ओइ के खोज्न आको याँहा ? भनेर उसले तिखो बोलीले गोली ठोकेपछि म अब के भन्ने होला भनेर अक्क न पक्क परेको थिए । दुई पैसे दाँत देखाउदै आँत मारेर हास्नुभन्दा बढ्ता मैले केही गर्न सकेको थिइन । यसरी उसलाई चिनेकै भएपनि त्यसदिनबाट अझ नजिक हुने मौका पाईएको थियो । त्यसपछि हाम्रो भेटघाट र कुराकानीहरु झन बाक्लिन थाले । अनि पछिपछि दुईजना मात्रै पनि एकान्तमा भेट्न थालेका थियौ । 

एकदिन उसले भनी आज तिमी तल बेसीतिर आउनु है । बडहरको घाँस झार्नुछ । म रुख चढन सक्दिन ।   हुन्छ बाबा म झारिदिउला नि के को पीर ? बरु मलाई पनि एकभारी दिनुपर्छ है । दिनभरी हराउने भएपछि कामको उपति पनि देखाउन प¥यो । त्यो दिन बिहानै खाना खाने बित्तिकै हँसिया नाम्लो बोकेर म  बेसीतिर हानिएको थिए  । ऊ त अघि नै पो आएर मलाई कुरेरै बसिरहेकी रहिछे । यसो यताउती हेरे कसैलाई देखिन अनि सोधे आज एक्लै हो ? उसले अँ भनेर टाउको मात्र हल्लाई । म पनि आटै गरेर उसकै छेउमा गई कुमै ठोकिने गरि थचारिएर बसिरहे । उ पनि निकैबेर निउरीमुन्टी लगाएर बसिरही, बोलिन । अनि केहीबेर पछि मैलै मुख खोले हैन के यसरी बाटोमा ढुगां झै बसिरहने ? बाटो हिड्नेहरुले देखे भने पनि के भन्लान ? के सोच्लान ? खै कता छ रुख ? जाउ भित्रै बनतिर । हतपत कसैले पनि देख्दैन । अनि हामी बनभित्र घाँस झार्ने रुखनेर पुग्यौ । उसले भनि एकछिन बसौ न मैले खाने कुरा ल्याएको छु । 
     खानेकुरा ? के हो ? 
     उसले भनी भातको जाँड हो के । 
     आच्चे यस्तो त मैले कहा खान्छु र ?
     आँ ढाँट, खान्छौ त । पोहोर हाम्रो गाउँको बिहेमा आउदा खाएको हैनौ ? खाउखाउ गर्मीमा राम्रै हुन्छ ।
ल ल, अब एकान्त बनभित्र एकातिर जाँड अर्कातिर तरुनी.... मैले मनमनमा खितखिताउदै भने, लौ  तैले खाऊ भन्छेस भने खाईदिउला भन्न नपाउदै उसले ऊनीको झोलाभित्रबाट बन्द गरेको मिस्टिन निकालेर सिगैं टकारिदिई । अनि मैले जाँड खान थाले । तर ऊ भने जिस्क्याउनमा तल्लिन थिई । हेर हेर बाहुन क्षेत्रीको छोरो भएर जाँड खाको... छि सर्म नभाको मोरो...। उसले यसरी भन्दा भित्रभित्र कताकता चस्स मन कुडिएर आए पनि जाँडको  छोक्रा चपाउदै बाहिरतिर भने फिस्रिक्क हाँसिदिन्थे । उसले अझ कहिले गोलभेडां जत्रो आँखा हेदैै त कहिले त्याट्ट पार्दै मलाई तर्साउन खोज्थी । खाँदाखादै मेरो जीउचाँही अघिनै तात्न थालिसकेको थियो । अनि ढल्न लागेको बहानामा उसगँ ढेस्सिन थाले । मलाई सम्हाल्ने बहानामा उसले मेरो हात समाउदै मुर्सान थाली । कति राम्रो हात...। 
मेरो चुच्चे नाक त तलाई मन पर्दैन होला क्यारे.. तर मलाई त तँ तामागंनी भए पनि तेरो थेप्चो नाकै मनपर्छ । 
छ्या त्यो त भन्न्ने मात्रै त हो नी, मलाई तिम्रो रुप रगं सबै राम्रो लाग्छ, उसले जाल हानी । 

मलाई पनि तेरो आँखा, गाला, ओठमुख सबै मन पर्छ भन्दै अलि मातिएर मैले उसको ओठैमा औलाले छोईदिए । तव उसले अलिक लजाउदै भनि के को हातले मात्रै ओठमाथि ओठैले छोइदिए हुदैन र ?
हे... ला हे...आइँ..ला पारीपाखाको खेततिर कसैले भैसी बोलाएको धोत्रो आवाज सुनेपछि पो हामी झल्यास्स भएछौ । दुवैजनाको हालत लथालिगं भैसकेको रहेछ । साँझ पर्न आटिसकेको थियो । हतपत आफुआफु सम्हालिएर लाजले एक अर्कालाई पनि नहेरी घाँसको भारी बोकेर घरतिर कुलेलम ठोक्दै थियो । 
तिमी त्यस्तो सारै चिन्ता नगर न डार्लिग, दुई तिन बर्षपछि त म आइहाल्छु नि । मलाई कुरेर त बस्छेउ नि तिमी ?
तिम्रो लागि त म कुरिहाल्छु नि, तर मलाई त छोड्नै मन छैन, तिमी नजाउन न बिदेश बरु है हुन्न ...?

बिहानैको हिउदे झरीमा एउटै छातामुनी टाँसिएर यस्ता कुरा गर्दै आएको जोडीलाई देखेपछि मात्र मैले आफैलाई होसमा ल्याए र सम्हालिए । हत्तेरिका प्रभु म त फेरी काहा हराएछु । मैले त फेरी मरुभूमीमा इस्राएलीहरुले झै मिश्रको जीवन र भोजन संझेर पो मुख मिठ्याउदै रहेछु । किन फेरी मलाई यस्तो कुरा याद आएछ । मलाई माफ गर्नुहोस प्रभु । आज अ त्याहा पुग्नै पर्छ । मलाइ माया गर्ने तपाईले दिनुभएको मेरै शरीर छदैछ नि । मलाई माफ गर्नुस प्रभु... भन्दै प्रार्थना गर्न थाले । झरी पनि ओथ्रिन थालिसकेछ । लौ अब बाटो पनि तताउनु पर्ला भन्दै जीउ तन्काउदै उठेर फटफट पाइला सार्न थाले । 

आकासमा खुलिसकेको थियो । बादलचाहिं बेमौसमी फूल झैं कताकति भुक्क भाक्क देखिन्थ्यो । अब त घामले पनि पोल्न थालिसकेको थियो । बनको बाटो काटेर म बस्तीतिरको बाटोमा हिड्दै थिए । ओहो यो गाँउमा पनि एउटा बिश्वासीको घरमा नपसी भाछैन । उसलाई पनि भेटुनु प¥यो । खानासाना पनि यतै कतै व्यवस्था गर्नुपर्ला । कतै होटल पाए त हुन्थ्यो ।  फेरि बेलुका सम्म पल्लो गाँउमा पुग्नुपर्छ । यस्तै गन्थन मन्थन गर्दै थिए, बिश्वासीको घर पनि देखा प¥यो । त्यतै नजिक एउटा चिया पसल पनि रहेछ । खानापिना पनि पाईन्छ कि भनेर सोधे । साहुनी दिदीले हुन्छ पाइन्छ तर एकछिन पखर्नुपर्छ भनिन । बिश्वासीको घरतिर गएँ, तर घरमा कोही पनि रहेनछन । ढोकामा भोटे ताल्चा मारेको रहेछ । यसो माथि डाँडानेर हेरे झ्याम्म परेको समी चौतारी पनि रहेछ । ठिकै छ, खाना तयार नभईन्जेल त्यतै एकछिन बस्नु पर्ला भन्दै म चौतारी तिर उक्लिए । अनि चौतारीमा बसेर यताउती दृष्टिगोचर गर्न थाले । 
बेंसीतिर ठूली नदी बगिरहेकी थिई । टारीखेतहरु बाझैं देखिन्थे । बेसी बरपर गाँउ बस्तीका खेतबारीमा भने हिँउदे खेतीले गर्दा टाउको मुडुल्याएको एक हप्ता भए झैँ देखिन्थो । आहा पाहार पनि राम्रै लाग्लो रहेछ । हावा पनि सरर चल्दोरहेछ । शितल शितल अनि न्यानो न्यानो पनि जाकेट फुकालिहाल्न मन पनि नलाग्ने कस्तो गज्जवको कस्तो आनन्दको ठाउँ । यसरी नै म छापनि ढुगांमाथि बसेर घोत्लिदै थिए । भोकले पनि टाट पारिसकेको थियो । अचानक आइसक्रिम संम्झिए । त्यसदिन जब म यसरी नै लखतरान भएर बार्दलीमा बसिरहेको थिए, सिर्जनाले मलाई आइसक्रिम ल्याएर दिएकी थिई । कलेजबाट इलाम हुदै दार्जलिगं घुम्न गएका थियौ । आइसक्रिमको साटो दही खान पाउदा नि क्या रमाइलो भाको थियो । कुरै कुरामा उसले फुस्ल्याउदै भनि छि तिमी त कस्तो लाछी मान्छे अहिलेको मोर्डन एजमा पनि त्यस्तो सोझो भएर हुन्छ कही ? तर मलाई त तिमी जस्तै मान्छे मन पर्छ । पढाईमा पनि ट्यालेन्ट छौ ।

तर मलाई त हाईएर लेभलका केटीहरुसँग नजिक हुन मन लाग्थेन । उनीहरु घम्ण्डी हुन्छन जस्तो लाग्थ्यो । साथीहरुले कहिलेकाही तिम्रो नाम जोडेर मलाई जिस्क्याउथे । तर मलाई थाहा थिएन कसरी म जस्तो लद्दुलाई पनि देख्ने बित्तिकै भित्रबाट मन पराउन थालेकी रहिछौ । आज बल्ल दुई बर्षपछि मात्र सगै हिड्ने बस्ने मौका पायौ । 
मलाई एउटा कुरा नढाटी भन त गाउँमा तिम्रो कोही गर्लफ्रेण्ड छ कि छैन ? 
यसले यसरी प्रश्न गर्दा म झसगं भएर एकछिन बेजवाफ भएछु । म निशब्द भएको देखेपछि उसले के सोची कुन्नी ? उ भन्दै थिई, ओके बाबा भए पनि म माइण्ड गर्दिन । तर अब तिमी मेरै हुनुपर्छ । हाम्रो सबै कुरा मिल्छ... । उसलाई खुशी पार्न बाहिर त म उसको कुरामा सहमत भए तर मनभित्र भने लडाई सुरु भैसकेको थियो । अब फूलमायालाई के भनेर टारुँ ? थाहा पाई भने मार्छे मलाई । 
उसले आफ्नहातले दही खुवाउन थाली । त्यही चम्चीले मैले उसलाई पनि खुवाउन थालँे । मैले जिस्क्याउँदै भने, के हातले मात्र ? मुखले खुवाईदिए पो...?
अँ..., हेर हेर कति बाठो मान्छे... भन्दै ऊ छातीमा टाँसिन आईपुगी । 
यसरी हामी नजिक भएका थियौ । कलेज बिदा हुँदा हामी कता कता घुम्न जान्थ्यौ । मलाई धन होइन माया र मन चाहिन्छ भन्ने गर्थी । हामीले प्रेमको नाममा बढी नै गरेका थियौ ।
ए भाई भात खान जाउ रे । एकजना मानिसको आवाजले म झसगं भए । घडी हेरे, लौ एक घण्टा पो गैसकेछ । हैन आज मलाई यो के भैरहेछ हँ ? मिश्रको रोगले कस्तो सताएको । माफ गर्नोस प्रभु......भनेर प्रार्थना गर्दै म हतारिदै खाना खान गएँ । 

दिउसोको भोजन पश्चात पाष्टरबाको घरतिर हानिए । तर उहाँलाई घरमा भेटिन । यता आएको बेलामा एकछिन संगती गर्ने इच्छा थियो तर पाईएन भन्दै आफ्नो बाटो तताउन थाले । अझै करिव दुई घण्टा लाग्छ होला । कहिल्यै गएको छैन । लेकको लास्ट गाउँ । गाउँका मान्छे त याहाँबाट एकै घण्टामा पुग्दा हुन । याहासम्म दुई घण्टामा आउदा हुन । तर मलाई त बिहानभरी लाग्यो । पछि बानी परेपछि सजिलै होला । कतै बाटो बिराइयो भने त झन आपत पर्छ होला । कोही भेटिए सोध्नु पर्ला । कोही त्यतै जाने साथी भेटिए त सजिलै हुन्थ्यो होला । त्याहा पनि जाडो त ज्याद्रै होला । 

अब बेलुका उहाँ पुगेपछि चैं भएका एक दुई घर बिश्वासीलाई एकै ठाउँमा भेला गरेर सगती गर्नुपर्ला । अनि दुई चार दिन अरु बसेर गाँउका अरुहरुलाई पनि सुसमाचार दिनुपर्ला । गाउँका टाउके मुखिया नेता भनाउँदाहरु बिश्वासमा आईदिए त हुदो हो नि प्रभु । त्यसो भयो भने त बाकी त नाकको चालले आउनुपथ्र्यो । जे होस छोटो समय बसेता पनि नम्र र इमान्दार बन्दै सेवा गर्नुपर्ला । समय त लाग्ला तर यस गाउँका सबै मानिस प्रभुमा आईदिए कति आनन्द र रमाईलो हुन्थ्थो । यस्तै बिचार गर्दा गर्दै थाहै भएन, गाउँमा पो पुगिसकिएछ । 
बरु जानुपर्ने केशबिर काकाको घर पो कता होला ? कसैलाई सोध्नुपर्ला । म हिँड्दै थिए, पधेरोमा पुगेछु । एउटी नानी पानी भर्दैैरहिछिन ।

ए बैनी, बैनी, केशविर काकाको घर कुन हो थाहा छ तपाईलाई ?
खव्जा चु आयाँ, कस्तरी तर्सायो गाँठे  उसले पछाडी फकेर हेरी । म ठिङ्गग्रिङ्ग उभिएको थिए । कस्तो मात्तिए जस्तो पठ्ठो रैछ भन्थानेर होला उसले ठाडठाडै बोली के हो ? के चाहियो ? म याहा पहिलोपटक आएको हो । केशविर काकाको घरमा जानुपर्ने थियो । कता होला तपाईलाई थाहा छ कि?
आच्या कस्तो कुरा गरेको । एउटै गाउँ भएर पनि थाहा हुदैन त हाम्लाई । शहराँ त वल्लो घरको पल्लो      घरकालाई चिन्दैन भन्छन । याँ त काँ त्यस्तो हुन्छ तो । अनि किन हो ?
 भेटघाट र सगती गर्न आएको । बरु फुर्सद भए बेलुका त्यहा आउनु है । 
 किन रोदी छ कि क्याहो ? भन्दै ऊ फिस्किई । 
 अनि घरचाँहि कुन हो ?
 त्यो हो । यो माथिबाट सिधै उता जानु, पैलो तगरो भको घर हो । 
 ए लल धन्यबाद, भरे भेटौला हैत भन्दै म बिदा हुन खाज्दै थिए । उसले भनी ए लौ लौ मेरो गाउरी भरियो, यो डोकोमा हाल्देउ त, मलाई गारो भो लेही ।

ए खै खै ल । म पनि शहरबाट आको हिँड्दा हिँड्दा निकै थकाई लागेछ । उसले डोको समाई । मैले गाग्री उचालेर डोकोमा हालिदिए । फर्केर हिँड्न थाल्दा धारोको पानी बग्ने  चिप्लो ठाउँमा टेकिएर म बद्र्याम्म पछारिएँ । केटी मरीमरी हाँस्न थाली । म भने केही नबोली लौ लाजै मर्नु भो भन्दै माथि उक्लेर े आफ्नो बाटो लागे ।
 
केशबिर काकाकाहाँ पुगेर भलाकुसारी भयो । उनी नै गाउँका पहिलो बिश्वसी रहेछन । भारतीय पल्टनमा जागिर खाँदा प्रभुलाई चिन्ने मौका पाएका रहेछन । श्रीमती बिरामी भएर धेरै दुख पाएको कारणले । उहाँ भन्दै हुनुहुन्थ्यो, तपाई आउने कुरा त थाहा थियो, तर कहिले भन्ने चाँहि निधो भएन । जे होस आउनुभएछ, राम्रै भयो । अब अलि छिटै खाना खाएर माईलाको घरमा संगती गर्न जानुपर्छ । मैले अघि नै सबैलाई खवर गरिसके । शायद प्रभुका कुरा सुन्न चाहाने अरु पनि आउँछन होला । हामी बल्लबल्ल याहा तीन घर भएका छौ । दश बाह्र जना जति हुन्छौ । तर याहा राम्रो संगती दिने, सुसमाचार सुनाउन व्यक्तिको खाचो छ । अबदेखी तपाई आउदै गर्नुहोला । हामी कुरा चल्दै यियो । भित्रबाट केशबीरकी आन्टीले खाना खान बोलाउनुभयो । 

खाना खाईसकेपछि हामी संगती गरिने घरमा गयौ । बीस बाइस जति मानिस आएर सानो कोठामा खचाखच भैसकेका रहेछन । जयमसी भन्दै भित्र छिरियो । बस्ने ठाउँ हेर्दै थिए । एउटी दिदीले यता बस्नुुुस् भन्नुभयो । यताउता नहेरी बसें । एकछिनमा आाडैमा भएकी बैनीको रुप हेरेको त मेरी आम्मै ! त्यै पधेँरामा भेटिएकीसँगको ढेसिन पुगिएछ । कता कता लाजले मुटु फुले झै हुन थाल्यो ।  
तर के गर्ने ? यी सबै डर र काउकुती मेटेर आफनो परिचय दिनै पर्ने । बचन दिनै पर्ने । परिचय सकिएपछि प्रार्थना गरेर सबैजना भजन गाउँन थाले । येशूको नाम छ सारा संसारमा सबैलाई गर्न उद्धार.... । तर मेरो मुटु भने ढ्याङ्ग्रो ठोके झै उफ्रदै थियो । तर बाहिर भने ठिकै देखिने कोशिस गर्दै थिए । उसले मलाई घरी घरी कर्के नजरले हेर्दै मुस्काउँथी । मलाई झन अटमस हुन्थ्यो । स्तुती प्रसंसाको समय आयो । सबै जना आखा बन्द गरेर परमेश्वरलाई महिमा दिन थाले । अचानक उसको पाखुरा मेरो पाखुरामा धस्सिन आईपुगेछ । म झसङ्ग भएँ । मलाई कान्छीको याद आयो । 
साच्चै, कान्छी कति निर्दोस थिई । शहरको काँठको पसलमा पहिलो पटक उसलाई देख्दा आँखा खप्टिएका थिए । ऊ लाजले रातो पिरो भएकी थिई । त्यसपछि हाम्रो भेट बाक्लै हुन लाग्यो । हामीलाई देखेर आउने जानेहरुले पनि जिस्क्याउन थालेका थिए । जव म त्याहा पुग्थे उ बिरालाको अगाडी मुसो परे झै हुन्थी । तर उसको रिसको पारो भने कम्ताको त थिएन । कहिलेकाही त बेहोसै हुने गरि रिसाउँथी । यसरी हिमचिम बढेपछि नदेखेसम्म कोहो कोहो देखेपछि माया मोहो भने झै माया बढेको थियो । मलाई शायद यस्तै प्रकारको बुझकी केटी चाहिन्छ होला भनेर हृदयले जीवनसाथी बन्ने संकेत दिईसकेको थियो ।

गर्मीको एकदिन उसको पसलमा पुँगे । उसले भनी चिसो खानुहुन्छ ? मैले प्रस्ताव स्वीकारे । उसले भनी भित्र   कोठाम जाउँ न, पंखा पनि छ । ओके, ठिकै छ भनेर म भित्र पसे । उसले चिसो ल्याएर दिई । म चिसो पिउँदै थिए । शायद मलाई प्रभाव पार्न होला उसले बिभिन्न नखरा देखाउँथी । म अब घर जानुपर्छ भन्थे । उसले बिभिन्न कुरा गर्दै, अरु खानेकुरा ल्याउँदै अझै बसिरहन कर गर्थी । यसपाली चिटिक्क मुख पारेर कपालमा अत्तर घसेर छेउमै टाँसिएर कुरा गर्दा मंगमग भएर बसाउथी । अनि मलाई आफैले लेखेको एउटा गजलको शेर याद आयो । 
म साझँमा आउँछु प्रिय, चट्ट परि बस तिमी
ओठमा मन्द लाली, जिउमा अत्तर घस तिमी । 

यसरी हामी नजिक भएपछि मुख खोल्न सक्ने भई । म तिमीलाई आफ्नो बनाउँन चाहान्छु भनेर उसले भन्न थालिसकेकी थिई । म भने निर्णय गर्न नसकेर यसै टार्न खोज्थे । कुरै कुरामा एकदिन उसले तपाई चर्च जानुहुन्छ ? भनेर सोधी । मैले चर्च नगएको र जाने त्यती इच्छा पनि नभएको कुरा गर्दा मैले बिश्वास नगरेसम्म बिबाह गर्न अपठेरो हुने तर्क गर्दै बिश्वासमा आउन कर गर्न थाली । खै किन हो उसको आग्रहलाई नकार्न पनि सकिन । अन्तत म चर्च जान थाले । 
     
उसले पनि आफु निरन्तर चर्च नगए पनि पूजापाठ कहिल्यै नगरेको, औसी पुर्ने, महिनावारी आदी नमान्ने गरेके दावी गर्थी । सानै छदाँ आफ्नी आमालाई क्यान्सर रोगबाट परमेश्वरले निको पार्नु भएको देखेपछि अरु कुनै पनि देवीदेवता माथि बिस्वास गर्न छाडेको कुरा गर्थी । अब त उ पागल भैसकेकी थिई । यतीसम्म भन्न थाली कि तपाईले अव जसरी पनि बिहे गर्नुपर्छ । मसँग बस्ने मन छैन भने पनि ठिकै छ । बिहेगरेपछि म तपाईकै नाउमा एक्लै बस्नेछु । तपाई आफ्नो इच्छा अनुसार गर्नुहोला । 
     
उसको यस्ता कुराले मेरो मन धेरै दिनसम्म दोधार र अलमलमा पिङ्ग खेलिरह्यो । मेलै फुलमाया र सिर्जनाको फिरफिरे माया सम्झिरहे । अनि कान्छीको मायालाई बिचार गरिरहे । मनमा कान्छीकै माया पवित्र र निर्दोस रहेको हृदयले संकेत गरयो । 
     
अनि मैले पहिलाका कुराहरुको बारेमा पनि कान्छीलाई भन्नुनै पर्छ होला भन्ने लागेर एकदिन सबै कुरा ओकलिदिँए । केही दिनसम्म त यो कुराले उ बिचलित भई तर पछि आफैलाई सम्हालेर बितेका सबै कुराको पछि नलाग्न र आफुलाई साथ दिइरहन उसले आग्रह गरिरही । परमेश्वरको खातिँर म जस्तो मान्छेलाई पनि क्षमा दिन सक्ने कस्तो केटी ! मेरो मनले स्वान्त्वना पायो । यसकारण अरुको माया र उसको मायामा फरक रहेको महशुुस गर्न थालेपछि अव त उसलाई सधैको लागि स्वीकार गर्नुपर्छ भन्ने हृदयमा लाग्न थाल्यो । अनि बिश्वासमा आलो काचो हुदा नै हामी एउटै शरीर बन्यौ । मलाइै अहिलेपनि पहिलेका दिन संझदा लाज लाग्न थाल्दछ । कान्छीलाई नभेटेको भए अझै केके भएर  नष्ट हुन्थ्यो होला ?? संझदा पनि कहाली लाग्छ । 

ओ सेट् ! सबैजनाले स्तुतीप्रसंसा सकिसकेका रहेछन । मै मात्र पो आँखा चिम्लेर ठिङ्गै ! छेउकी त्यै केटीले सर्ट तानेर बस भन्ने संकेत गर्दा पो म झसंङ्ग भएछु । लौ प्रभु, अब त अति नै भो । फर्केपछि एकान्तमा बसेर पश्चातापी नभई भएन भन्ने बिचार गर्दै अब बचन छलफलको अगुवाई गर्न बाइबल खोले र मत्ती ५ः२७–३० पढ्दै व्यभिचारको बिषयमा बोल्न थाले । बचनको अन्तमा म भन्दै थिए कि त्यसकारण अब हामी हाम्रो जीवनमा गरेको यौन र व्यभिचारको मात्र होइन तर लोभ लालच, रिस आह्रिस, चोरी हत्या, मूर्तीपुजा र ढाट्ने काम जस्ता कुराहरुको लागि पनि क्षमा माग्दै उहाँको आज्ञाकारिता र पवित्रतामा हिँड्न सामथ्र्य पाउँन सकौ भनी प्रार्थना गरौ भन्दै अरुलाई प्रार्थना गर्न उत्साहित गराए । अनि सबैले प्रार्थना गर्न थाले । म भने मेरा सबै बिगत खोल्न नसक्ने बिवश अबस्थामा थिए । त्यसकारण म अन्य भाषामा मात्रै प्रार्थना गर्न थाले, ओ रव–रव शिख–रव खु–रव तत–रव इन्द–रव......।

'मेरा आत्मिकी छालहरू '  निबध तथा  कथा संग्रह  बाट  

जब म आफ्नो अतितलाई भताभुङ्ग पारेर त्यसलाई हेर्दै घोत्लिन थाल्छु, अनायास आँखाबाट अबिरल कोशी बहन थाल्छ । मुटुभित्र एकतमासको गाँठो पर्न थाल्छ र छाती पनि पोल्न थाल्दछ । उफ यो जिन्दगी ! यो त केवल बिस्मातै बिस्मातको भारी त रहेछ । जति जति पिठिउँमा बोकेर हिँड्यो उती उती थिच्दै जादोहेछ । कहिलेकाही बिसाउने चौतारी नपाउँदा त झन् प्राणले आँखे टिमुर नै खाला कि भनेर ईन्तु न चिन्तु पार्दोरहेछ । 
जव म बाहिर वरिपरिका मानिसहरुलाई हेर्न थाल्छु, उनीहरु केकेन हराए झै र केकेन पाउला झै तँछाड र मछाड गर्दै दौडिरहेको देख्छु । कराउने काग कराउदै गर्छ, पिना पनि सुक्दै गर्छ नि, के नै पो खोस्याउला र ? तिनीहरुले जतिसुकै टाउको ठोकाई र बूढो कुकुर भुकाई गरेपनि कुनै लछारपाटो लाग्ने छैन । न त कुनै छ्याइपाटो पार्नेछ । 
मलाई याद छ एकदिन बजारको चिया पसलनेर मैले उसलाई भेटेको थिए । अनि त भेटघाट बाक्लिएपछि ऊ मेरै लख्खुपुच्छर बनेको थियो । यसो टाइम पायो कि मलाई भेट्न आईहाल्थ्यो । तर त्यस्ता दिन पनि धेरै रहेनछन् । रहेका छन त केवल अब संझनामा मात्रै रहेका छन् । अनि त्यै संझनाले जब मन भरिन्छ त्यसै त्यसै आँखा पग्लेर चुहुन थालिहाल्छ । म पनि ऊ जस्तै कमलो मन भएको मान्छे छु । जव कष्टै कष्ट र दुखका बोझहरुले मनको थैलो भरिन्छ, यो क्षण भरमै फूटेर परेलिका डिलबाट फराल्न थालिहाल्छ ।
हैन ए मण्डी ओढेर चण्डी भट्याउनु पर्ने बेलामा भटट गर्दै यो भटभटेमा कता ह ? ठण्डी यामको एकदिन थियो । बिहानै उसको घर छेउको बाटोबाट कतै जाँदै गर्दा उसलाई देखेपछि मैले भटभटे रोकेँ । त्यसपछि उसले तेर्साएको प्रश्न थियो त्यो ।
त्यैँ माथि बजारतिर जानु पर्ने थ्यो अनि निस्केको भनेर मैले जवाफ दिन नपाउदै उसले किन र ? के काम परो त्यस्तो ? भन्दै मुखलाई काम दिइहालेको थियो ।
ल ल अब काम गरेपछि गाँठ त दरो आउछ होला क्यारे । 
आउछ नि, अहिले सम्म त भाग्यले पनि साथ दिएकै छ । तर के गर्ने आफु त जाँडको घैटो परे एक जर्किन घरमा छैन भने निद्रै लाग्दैन, के गर्ने ।
त्यै त खराब बानी छ नी तेरो । होस गर है बुढा । फेरि थाहै नपाई खुसुक्कै टाइमै नपुगी लैजाला फेरी तेरो त्यै घ्याम्पे बानीले ।
भो भो त्यो थोत्रो अर्ती धेरै नखोक । आँफु त कमाउ अनि रमाउ हो थाछैन तँलाई ? अनि तलाई चै के गाँठ कामाउने रहर छैन र ? भर्खर बिहा गरेको मान्छे, भात खान पनि नपुग्ने जागिर खाएर कति बस्छस गाँउमा ? मसँग हिड काम गर्न । एउटै काम भयो भने पनि त कम्तिमा तैले छ महिना स्कूलाँ पढाको भन्दा बढी पैसा कमाउन सक्छस् । अनि के खोज्छस् त अरु ? खै कति भन्ने तँलाई ! कानमा बतास लागेको हैन ।
साँच्चै यार मलाई पनि अब त केही न केही गरु जस्तो लाग्दैछ । सगैका साथीहरु कोही बिदेश गएर कोही व्यापार गरेर लखपति र करोडपति भैसके, आँफु भुईको भुईमै छु । क्वै पार लागेको हैन । म त बिदेश जाँउ की जस्तो लाग्दैछ हौ ।
आ त्यो बिदेश जाने कुरो चै नगर है मेरो अघि । मलाई भन न जे काम गर्छु भनेपनि म सयोग गर्छु भनेकै छु अनि किन यसरी सधै घोत्लिन्छस ?
ठिकै छन्त, म बिचार गरौला ।
ए साची बेलुका मेरो घरतिर आईजा है, एक ठाउमा जानु छ क्या । के गर्ने एक्लै त्यति हिड्न मन लाग्दैन ।
काँ जाने ? हेर है त्यो ठर्रा खाने र थाई हेर्ने ठाउँमा चै म जान्न नी । बिस्तारै बिस्तारै तैले पनि मलाई पनि बिगार्न थालिसकिस् । हैन तेरी बुढीले चाल पाई भने भुत्ल्याउन्न भन्या ?
आ, फुस्ल्याउन जान्नुपर्छ के ! केही हुन्न । ल म गए है त भन्दै म अचानक हुँईकिए ।

त्यो त्यही दिन थियो, जुन दिन उसले फिटु भएर तरुनी छेउ बस्ने आँट गरेको थियो । अनि घर फर्कन ढिला हुँदा उसकी बुढीले उसलाई दाई रिगांए झै रिंगाएर चिसो भुँइमा सुताई दिएकी थिई । धन्न बिचरो, जे भए पनि चुप लाग्न जानेको छ र त बुढीको रिसको आगो छिट्टै निभेको थियो । नत्रभने कपाल र जगल्टाले डसबिन भरिन्थ्यो होला । ऊ पनि सारै बेकुफ मान्छे छ । मनभित्र जति पिडा, दुख र छटपटि भएपनि चुपचाप बसिदिन सक्छ । तर जब फुटनै खोज्छ र रुनै पर्छ अनि ओछ्यानमा कोल्टे परेर बुढीले थाहै नपाउने गरी धुरुरु रुन्छ रे । भन्ने गर्छ बेदनाका राशीहरुलाई पोको पारी लुकाईराख्न नसक्दा छचल्किएर आँखाबाट पोखिन थाल्छन् । आजकल यो दिनहुँ कै नियती भएको छ । कुन दिन होला र खै ती दुई नानी ढुक्कले निदाउने ? धत् ! म पनि त बाहियात मान्छे, त्यस्तो घोचो जस्तो सोझो जता हल्लायो उतै हल्लिने मान्छेलाई बिगार्नु बिगारे । थुक्क मलाई । आज पनि जव झल्झल यी कुराहरुले सताउन खोज्छन्, यी आँखाहरु रन्थनिन थाल्छन् ।

एकदिन जव म उसको कोठामा पुगे, उ केही लेख्दै थियो ।
हैन ए के गर्दैछस् ? मेरो औपचारिकता थियो यो ।
जव मनमा केही कुरा आउन थाल्छ यसो लेख्न थाल्छु । मलाई नाटक र उपन्यास लेख्न मन पर्छ ।
के ताइ न तुइसँग दिमाख घोट्छस तँ पनि ।
कुनै दिन त काम लाग्ला नि भनेर । कुनै पुस्तक नै प्रकासित गर्ने मेरो ताकत त छैन तर पनि मनलाई शान्ती मिल्छ । समय घुमि घुमि आउछ भन्छन, कतै ठाउँ पाइहाल्छ कि भन्ने पनि लाग्छ ।

हैन यसो मूला रोप्ने बारीको चौटो खन्दिन्थ्यो कि भनेको याहा पो मुन्टेको रैछ यो मान्छे त । के को काम न काजसँग कसैले नगरेको उपती गर्न परो ? भन्दै फन्फनिएर उसकी बुढी त्यही आइपुगि । तर उसले चुपचाप केही नबोली सुनिरहयो । माया गर्ने बूढो भापो केही भनेको टेरपुछर लाग्थ्यो । एकैछिनमा उसकी बुढी फत्फताउदै बाहिर लागी । अनि केहीबेर सन्नटा लाग्यो । अनि बिस्तारै उसलाई धच्याउदै मैले सोधे, हैन तँ लेख्दा खेरी त तेरी प्रेमिकालाई कति माया गर्छस्, अनि तेरी प्रेमिकाले पनि तलाई उस्तै माया गर्छे । तर यो के हो ? सधै यस्तो सुन्दा सुन्दा तलाई रिस उठदैन ?
उठदैन, बानी परिसक्यो नि । शेक्सपियर र टल्सटयका नाटक र कथाका प्रेमी पे्रमीकाहरुले एक अर्कालाई अगाध अगाध मायाप्रेम गर्छन्, एकछिन भेटन र देख्न नपाउदा उनीहरु बिरक्त हुन्छन र प्रेम पिडामा छटपटाउन थाल्छन् । उनीहरुको भोक प्यास र निद्रा सबै हराउछ । त्यसकारण उनीहरु एक अर्काका लागी ज्यान बाजी थाप्न पनि तयार हुन्छन । उनीहरुको प्रेमलाई कुनै पनि दुख कष्ट वा बिछोडले अलग गन सक्दैन । म पनि मेरी प्रेमीकालाई त्यस्तै माया देखाउन मेरा नाटक र उपन्यासका नायक र नायिकालाई पनि त्यस्तै प्रेम गर्न लगाउछु । बास्तवमा म यी सबै मायाका कुरा मेरै प्रेमिकालाई संझेर नै लेखिरहको हुन्छु । तर जव यो बुढी यसरी नै बौलाउन थाल्छे मेरो मायाको ताजमहल भत्किन थालिहाल्छ । के गर्नु ! जव ऊ भित्र पस्छे, उसका मायाका कुरा सबै बिर्सिन्छु । अनि टोलाउन थाल्छु । त्यसपछि त हो नि, यी आँखाहरुको कष्ट पाउने मेसो सुरु हुन्छ । 
यस्तै हो लेखाई र भोगाईमा माया फरक हुन्छ । कसैले भन्ने गथ्र्यो नपाउन्जेल कस्तो पाएपछि सस्तो । यो माया पनि यस्तै हो । खयर छोड यी कुरा । म तँसग छुटटै कुरा गर्नुछ भरे जसरी पनि मेरो घरतिर आइजा है।

त्यो दिन ऊ मेरो घरमा आएपछि कुरा मैले नै सुरु गरे । हिजो म तेरो घर आएदेखि मेरो मनमा एकदमै एकतमासको भइरह्यो । तेरी श्रीमती त्यसरी नगर्जनु पनि किन र ? म तेरो सबै हालत बुझ्छु । तैले आखिर त्यही श्रीमती र छोराछोरीको लागि भन्दा त आज यो गति भएको छ । तेरो छदा खाँदाको जागिर पनि चट भयो । छोर्छोरीको गास काटेर बचाको पैसाले नपुगेर बिदेशको भूत चढेर अझै रिण थपेको छस् । अब तँ सग न जागिर छ, न केही आम्दानीको बाटो नै छ । यसरी बेचैनी भएर मगन्ते बनी भौतारिदै कहिलेसम्म हिड्ने होस् थाछैन । मलाई थाहा छ, तँ भित्र भित्रै रोएर थाकेको छस् । एक छाक टार्न पनि तलाई फलामको चिउरा चपाउन जस्तै भएको छ । हेर अब तलाई पनि थाहै छ, म पनि अब अधमरो भएको छु । मैले चाहेर पनि केही मदत गर्न नसक्ने भएको छु । तैले त भन्ने गर्थिस नि ध्याम्पे बानीले मार्ला भनेर, आज म र एउटा मरेको मान्छेमा केही फरक छैन । कतिखेर जिउ बर्टाछ र अररो भएर मरुला झै हुन्छ थाहै हुदैन । एउटा धरालो घरमा नभै हुदैन । यसो बेला छदा कमाएको पैसा पनि यी यै रोगले स्वाहा पार्यो । अब टिप्रिक्क यही एउटा घर बाँकी छ । यो पनि कहिले भूस हुने हो र झुप्रोबास हुने हो थाहा छैन ।
यसरी म बोल्दै थिए, तर उ त आफै पो सोचमग्न हुन थालिसकेको रहेछ । साच्चै म अब के गँरु ? काहा जाउँ ? यी बच्चाहरु र परिवारको लागि भनेर गाँउ छाँडे । बिदेशको चक्करले यस्तो ठक्कर दियो कि न उठ्न नै सक्छु न मर्न नै सक्छु । दुई बर्ष भइसक्यो काम नभएको पनि । आफुँसग जोगाड भएको पैसा त गयो गयो, बिदेशको नशाले उल्टो रिण पियायो । केटाकेटीहरुलाई पढाउन अनि खान दिनै यस्तो सास्ती छ । सापटी र मागीमागी कति दिन थेग्नु । किन होला यो जिन्दगीमा यस्तो ? सुख र खुशी भन्ने मेरो भागमा नै छैन रहेछ र हो कि । सानैदेखि दुखै पाएर बढें । बल्ल बल्ल एउटा जागिर पाएपछि बिहे गरेको थिए । अनि जिन्दगी ठिकै त चलेको थियो । अचानक किन बुद्धि बिग्रेर आयो मेरो खै ! अरु मान्छेहरुले त्यही काम गर्दा राम्रो हुने, सफल हुने, मलाई किन बिग्रनु पर्ने ? कैले त लाग्छ आत्मदाह गरुँ । तर सास छउँन्ज्याल आश हुन्छ भन्छन् । तर वरिपरिका मान्छेलाई मुख देखाएर हिँडन पनि नसक्ने भैसके । तिनीकहरुलाई आँखा उठाएर हेर्न पनि सक्दिन । मन खोलेर बोल्न पनि सक्दिन । सबैले मलाई हिस्सि र खिस्सि गरे जस्तो लाग्छ । सबैको लागि केवल म गिल्ला अपमान र हाँसोको पात्र भएको छु । अरुको लागि एउटा कुरा काट्ने र दिन बिताउने बिषय भएको छु । यी आँखाले पनि नपाउनु दुख पाए । यो मनले पनि असाध्य कष्ट पायो । अझै त शरीरमा बल थियो । मौका पाए चौका हान्न सक्थ्यो, तर खै । 

एै,  किन टोलाको  ह ? मेरो कुराले ऊ झसगं भयो, तर चुपचापै बसिरह्यो । तैले मेरो कुरा सुन्दैछस के ?
अँ, सुन्दैछु, के गर्नु यार, जब म बिगत र बर्तमाको सबै यथार्थमा आउछु अनि मन व्याकुल बन्छ । आँखाहरु भरिएर आउछन् । कस्तो थियो जिन्दगी के भयो यस्तो जस्तो लाग्छ । न त कसैलाई मेरा सबै कुरा भन्न सक्छु । न कसैले मेरो दर्दहरुलार्ई बुझिदिन सक्छ । अनि भन न त, केही कुरा छ भन्थिस् त तैले ?
एउटा कुरा भन्छु मान्छस् ?
के ? भन्न त पहिला । तैले भनेको मानिन भने मलाई खाएको पनि के पच्दो होर खै !
हेर, तँ जस्तो व्याकुल छस् म पनि त्यस्तै त भएको छु । तर तलाई थाहा छैन होला, एक महिना जति भयो म चर्च जान थालेको छु । यसो बुझदा यो रोगबाट पनि छुटकारा पाईएला कि जस्तो पनि लागेको छ । कता कता मनभित्र एउटा आसा पलाएको छ । बरु तँ पनि आइजा मसँग । पर्सि शनिबार हो, मेरो घरतिर पस्न आइजा अनि सगै जाउँला ।
ए तँ पनि चर्च जान थालेको ? मलाई पनि याद छ, मैले एक दुईजना खिष्टियनसँग धेरै पहिले केही कुराहरु गरेको थिए । उनीहरुको कुरा र बोलीचाली सुन्दा एक प्रकारको शान्ति र आनन्द आउथ्यो । मनमा कता कता उनीहरुसँगै जाउँ कि जस्तो पनि लाग्थ्यो । तर अझ धेरै कुरा बुझ्ने र जान्ने मौका भएन भनुँ कि र समय भएन भनुँ, यो जिन्दगीले त्यसै अल्झायो । मलाई लाग्छ त्याँहा गए पनि ठिकै छ । थाहा छ तलाई ? त्यो एकजना खिष्टियनलाई म राम्रैसँग चिन्छु नि ।
ए लल तैंले पनि कतै मलाई झाँको झार्ने त होइनस् भन्ठानेके थेँ । तर तँ त उल्टै खुशी पो भाको ? त्यसो भए मैले पनि चर्च जाने एउटा साथी पाउने भए । कि कसो हो ?
होला पनि । थाहा छ ? अलि महिना पहिला मैले त्यो मान्छेलाई भेटन गएको थिए, तर भेटिन के गर्ने । मनभित्र अथाह पिडा थियो । पिरै पिरले मन भित्र भित्रै जलेर म सबै खोक्रो भएको थियो । छटपटिएर भौतारिदै गर्दा अचानक त्यो मान्छेको याद आयो । उसले यताउती ठाउँमा मान्छेहरुलाई पनि चिनेको थियो । त्यसकारण केही कामको लागि मदत गर्न सक्थ्यो कि भनेर आशा राखेको थिए तर व्यर्थ भयो ।
जे होस, अँ मैले पनि त सबै कुरा कहा बुझिसकेको छु र ? त्यति थाहा छैन । मसँग जाउँ न त बिस्तारै सबै थाहा होला नि ।
भैहाल्छनी । मलाई नजा भन्ने कुन माईका लाल नै पो आउला र ? दुख पर्दा नदेख्ने समाजले जे भनोस् मतलव छैन । इष्टमित्र प्राय जसो गाउँ तिरै छन् । वास्तवमा मलाई पनि जान मन त थियो नि ! तर चर्चमा कोही साथी नै भएनन । न त कसैले यतिका समयसम्म जाँऊ नै भन्यो ।
ल त यस्ता दुख सुखका कुराहरु गर्दै गरौला । बेलुकातिर आइजा न मेरो घरतिर पनि । आजकल त त्यति आउदैनस् । तेरो भाउ बढेछ कि क्या हो ?
ल ल बाटो खन्दैछस् क्यारे हिड्नै पर्ने होला नि तेरो बाटो पनि, भन्दै ऊ हिड्यो ।

केही बर्षपछि फेरी एकदिन म आफनो अतितमा तैरीन थाले । ओेहो पाँच बषैभन्दा बढी भैसकेछ नयाँ जीवन पाएको पनि । जीवनको पुरानो र बूढो रुख गल्र्याम गुर्लुम्मै ढलेछ । नयाँ उम्रेको पनि गतिलो भएर उम्रन सकेन खै किन होला । यो जिन्दगी देखेर पनि वाक्क र प्याक्क पर्छु । किन किन म प्रभुमा त्यति अगाडि बढ्न सकिन । पुराना पापहरु त्यागिसके । आजकल त ति कुराहरु संझदा पनि घिन लागेर आँउछ । जिन्दगी व्यर्थमा पापमै खेर गएछ । जे होस प्रभुलाई चिन्ने मौका पाए । उहाँले मेरो त्यस्तो रोगबाट पनि चंगा पार्नुभयो । अहिले त हातमुख जोर्नलाई सानोतिने काम गर्न पनि सक्ने भएको छु । मानिसहरुलाई सुसमचार दिन, मण्डलीमा पनि अगुबा भएर सिकाउन सक्ने भएको छु । म जस्तो जाँडको घैंटो अनि ढ्याके बुद्धि भएको मानिसलाई प्रभुले आज यसरी बदल्नु भएको छ । तर प्रभुमा बढ्न पनि त्यति सजिलो चैँ रहेनछ । 

जव म प्रभुलाई बिश्वास गर्न थाले बाउ आमा सासु ससुराले आगनमा खुट्टै हाल्न दिएनन् । चार बर्षभन्दा बढी समयसम्म त काम न काजको भएर बसे । आफन्त जति यसै यसै सबै बटारिए । खै उनीहरुले पनि नयाँ जीवन कहिले पाउने होलान् । सबै जना आफन्त पराई भए पनि एउटा सबैभन्दा नजिको साथी भएर सुख दुखमा डोरयाई हिडने कस्तो अनौठो अनि गहिरो अनन्तको प्रेम रहेछ प्रभु येशूको । दिन रात रुदै छटपटिदै हिड्दा पनिै येसुमा आशा भरोषा र स्वान्त्वना पाएर त शान्तिमा बाँच्न सकेको छु । त्यस्तो अबस्थामा प्रभुलाई नचिनेको भए म त मर्थे कि के हुन्थ्यो होला म कल्पनै गर्न सक्दिन ।

ऊ पनि जव समस्याले घेरेर छट्पटिन्छ, लरखरिदै कुरा गर्न अनि प्रार्थना गर्न म भको ठाउँतिर आई हाल्छ । यसै त सोझो मान्छे, झन प्रभुमा नम्र बनेर हिँड्दा त झन अझै दुखित अबस्थामा पुगेका ेछ । रात दिनको प्रतिकूल व्याबहारको पिरालोले छाडेको छैन । न त गतिलो काम नै पाएको छ । एकातिर असहैय घरको अबस्था अर्को तिर मण्डलीमा पनि जिम्वेबारी । प्रत्यक दिन कष्ट र परिक्षाहरुले जाँचिरहेको छ । कामहरुको निम्ति कति प्रयास गर्दा पनि सफल भएको होइन । तर शिक्षक भएको हुनाले उसमा धर्मशाश्त्र बाइबलको ज्ञान चाहि गहिरै छ ।  सिक्ने र सिकाउने क्षमता उसमा अलिक बढि नै छ । हुन सक्छ, उसलाई प्रभुको यस्तै कामको निम्ति बोलावट भएको होस् । तर थाहा छैन यति नम्रलाई अझ किन यती बिध्न सहनै गाह्रो र लामो कष्टमा अल्झिरहन दिनुभएको होला । मनभित्र रोएर सबैको लागि हाँसेर बाँच्न सिकाउन कति गारो छ भन्ने कुरा उसले भन्दा बढि राम्ररी कसले सिकाउन सक्ला र ? बिचरा मनभित्र आँसु लुकाएर बाहिरतिर भने सबैसँग हाँस्दै हिड्नु परेको छ । जव मसँग दुख पोखाउन थाल्छ, पिलपिलाएका आखालाई जर्वजस्ती लुकाउन खोज्छ । अनि गला अबरुद्ध बन्छ र स्वर धर्मराउन थाल्छ, । उसले साँच्चिकै अभिनय मात्र गरेको होइन भन्ने कुरा म मात्र बुझ्छु । के गर्नु ? उसलाई हेर्छु मन थाम्नै सक्दिन, मन भित्र भित्रै मुल फुट्न थाल्छ । अनि फेरी आएर जब आफ्नो धरातलामा लम्पसार पर्दछु, आसु त्यसै त्यसै वग्न थाल्दोरहेछ ।

जुन उदाउँदा जुनेली र घाम उदाउँदा धमाईलो हुन्छ, तर उसको जीवनमा काहाँ छ र जुनेली ? काहाँ छ र घमाइलो ? कष्टै कष्ट र पिरहरुले जिन्दगीलाई रुवाई रहेको बेला प्रभुमा शान्ति र नया जीवन पाए पनि निरन्तर सताबटको बादलले जीवन अध्यारो बनाएको छ । यस्तो अध्यारोको सामना गर्नुपर्दा कस्तो हुन्छ, कति दयनीय भएर र आत्मामा कतिसम्म दीन भएर हिड्नुपर्छ भन्ने कुरा उसको जीवनबाट अरुले पानि पाठ सिक्न सके असल हुन्थेन र ? शायद यी सबै परिस्थितिहरुबाट उसलाई खारेर आत्मामा अति नै नम्र र दीन बनाई प्रभु येशूकै जस्तो ज्योति चम्काउनलाई यो सबै भएको हुन सक्छ । उहाँको अनन्त योजना कसले पो बुझ्न सक्छ र ? हामी अगाडिको भाग मात्र हेर्छौ तर उहाँले त्यसरी बिचार गर्नुहुन्न ।

आज एक हप्ता पनि भएको छैन । मसगै प्रार्थना गर्दा उसले कति हृदय उरालेको थियो । अन्य भाषामा रोएको थियो । यस्तो डरलाग्दो दुःख सागरको भुमरीमा फँसिरहदा कहिले काहि यस्तो लाग्छ, परमेश्वर किन मौन हुनुहुन्छ ? के हाम्रो आर्तनादलाई उहाँले हटाउन चाहानुहुन्न ? धैर्यताको बाँधले सागरलाई कतिन्जेल थाम्ने होला । निश्चय यो सजिलो छैन तर रातपछि दिन, झरीपछि घाम अवस्य देखा पर्नेछ । तर जब म नरकको दुखलाई याद गर्छु, मेरो यो दुख त के दुख हो र ? जब येसुले पाउनुएको कष्टलाई हेर्छु यो कष्ट त के हो र ? दुख पाएको छु, निन्दित भएको छु भन्न पनि लाज लाग्छ । मानिसहरु नरकमा कहिल्यै अन्त नहुने कष्टमा परेपछि मात्र फेरी पृथ्वीमा फर्कन पाए जस्तै दुखकष्ट पाउनु परे पनि र जुनसुकै मूल्य तिर्नु परेपनि येशूलाई बिश्वास गर्ने थिएँ, भन्छन् । अनि फेरी यो मन किन दुखै दुख भो भनेर किन जर्किन्छन् त ? 
परेली किन तप्किन्छ ? शायद यही कुरा याद नआउदा होला नि । हामीले महत्व नदिने कति साना साना प्रभुका कामहरु पनि उहाँका आँखामा कति महत्वपूर्ण हुन्छन् । हामीले सुसन्देश सुनाउदा मानिसहरु जीवन बचाउन नआएका पनि होइनन्, हाम्रो प्रार्थनाद्धारा रोगी बिरामी निको हुनेजस्ता काम नभएका पनि होइनन् । के हामीलाई उहाँले साहायता र प्रेम नगर्नुभएको भए यी सबै हुने थिए र ?
म जति जति हाम्रो बिगत र बर्तमानलाइ नियाल्छु यसले अथाह चोट दिदोरहेछ । आशुँ त्यसै त्यसै बग्दोरहेछ । यथार्थको जिन्दगीमा आँसु नटुटेको दिन कहिले नै थियो र ? तर बिश्वासको बाटोमा यस्ता आशुँहरु छिट्टै पुछिदारहेछन् । तर प्रभु म जतिसुकै कष्टित र निन्दित भएपनि मेरो बिश्वासलाई तोड्ने छैन । त्यसै त्यसै बग्ने यो आशुँलाई म तपाईले प्रेम गरी दिनुभएको उपहार संझने छु । ( सावन २०६८, मलेसिया )
७ कार्तिक २०७३ || जुलाई २, २०१४,  नेपाली क्रिस्टियनस् डट कममा प्रकासित ||
|| प्रकसंन्मोख कथा र निबन्ध संग्रह कृति "मेरा आत्मिकी छालहरू" मा समाबेस ||
Older Posts Home

======Popular Posts======

Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Lalu Paudel