भेंडा र बाख्राहरु !! (कथा)
सूर्यको प्रकास मलिन हुदै गैरहेको थियो । मानिसहरु, पशुपछीं र जनावरहरुका बिरह लाग्दा मिश्रित स्वरहरु सुनिदै थिए । वातावरण कलुषित थियो । क्षितिज वारीपट्टी बिस्तारै अन्धकारले नग्रां गाड्दै थियो । थाहा थिएन कतिका मनहरु हतासिएका थिए । कतिका मनहरु निसासिदै रोइरहेका थिए अनि कतिमा मनहरु चुलबुलाउदै थिए । थरीथरी पशुहरु जो चरन चर्न खर्कहरुतिर गएका थिए, तिनीहररु आ-आफ्नो गोठ भकारामा फर्कने बेला भएको थियो । तिनीहरुको मन मष्तिस्क र शरीरको अबस्था त कसले जान्न सक्थ्यो होला र ? तर त्यो दृश्यबाट, केवल मुढे बुद्धि र तर्कद्धारा अनुमान मात्र गर्न सकिन्थ्यो । त्यो समयको फक्ल्याटोलाई चारैकुनाबाट हेर्न मात्र सकिन्थ्यो । कतै गाईका खुट्टाबाट गोधुली पुत्ताइरहेको थियो त कतै भेँडा बाख्रा र घोडा खच्चरहरुको खुरधुली पुत्ताइरहेको थियो । तिनीहरु सबै े आफ्नो बासस्थान तर्फ फर्किरहेका थिए । तिनीहरु कसैलाई पनि आफु बस्ने गोठ भकारोहरुमा के हुदैछ वा भैरहेछ भन्ने कुनै कुरा पनि थाहा थिएन तापनि सबै आफु बाँधिने दाम्लोको निम्ति अत्तालिदै थिए । कोही हतार हतार लम्कदै थिए त कोही लर्यागंबर्यागं गर्दै थिए । हुलमुलमा किचिंदै थिचिंदै र मिचिंदै सबै आफ्नो अन्तिम गन्तव्यतर्फ लम्किरहेका थिए ।
एकैछिनमा दृश्य बदलियो । तिनीहरु आफ्ना आफ्ना खर्क गोठ नजिक पुगिसकेका थिए । सबैको आफ्नो आफ्नो बिश्रामस्थलमा लेट्ने बेला हुन लागेको थियो । गोठालाले सुुसेली मार्दै तिनीहरु सबैलाई सचेत गराउन थाल्यो । खबरदार ! कोही पनि मेरो अनुमतिबिना तगारो छिचोलेर आफ्नो भकारो रोज्न जान पाउने छैन । मैले तिमीहरु सबैको लागि आफ्नो आफ्नो भकारो पहिल्यै तयार पारिराखेको छु । म जसलाई चाहान्छु त्यसले मात्र छुट्याएर राखेको भकारोमा गएर बस्न पाउनेछ । जसले जबर्जस्ती गर्न खोज्छ, त्यसलाई खेदिनेछ र कसाईको हातमा सुम्पिइनेछ ।
यस्तो थर्कमान पार्ने आवाज सुनेपछि सबैले कान ठाडा ठाडा पारेर पल्याक र पुलुक गर्दै टाउको उचाल्दै र जिव्रो लपलपाउदै कौतुहलताकासाथ हेर्न थाले।
ओहो ! मेरो छिर्ने पालो कहिले आउने होला त ? मेरो भकारो कस्तो होला ? चवाउनलाई मीठो मीठो घास पराल होला कि नहोला ? पानी चुहिने छाना होला कि न्यानो छाना होला ? अथवा तिरिमिरी आकासमुनी सुताउने पो हो कि ? टाट्नु होला कि चिसै भुइमा घाँस खानु पर्ने हो ? मेरो छेउमा डक्ने साथी पर्ने हो कि, मन नपर्ने डांग्रो पर्ने होला ? घच्याईरहने तिखे पर्ने हो कि घुस्रिरहने लिखे पर्ने होला ? फलामको सांगलाले बाँध्ने होला कि दाम्लाले बाँध्ने होला ? किलोमा उन्ने होला कि घोचामा ? खुट्टामा उन्ने होला कि घाटीमा बाँध्ने होला ? न सिंग या नाकमा पो नथ्थी लगाउने हो ? पेटभरि खान दिने होकि जिव्रो मात्र चटाइदिने होला ? यस्तै यस्तै प्रश्नहरुले तिनीहरु सबैको मन मुटु र आँखाहरु सल्वलाईरहेका थिए । तर जति नै मन सल्वलाए पनि जवाफ थाहा पाउन गोठालोको प्रतीक्षा गर्नै पर्ने भएको थियो ।
अब, के गर्नु र ! जतिसुकै बल ताकत भए पनि उसको अगाडि त लुुत्रुक्क परेर चुपचाप उभिनुपर्छ । अलिकति दाया बाँया गर्न थाल्यो कि नथ्थी लगाएर टट्न्याईहाल्छ । त्यतिले पनि पुगेन भने खुट्टामा टाट्ने डोरी हालेर पछारिदिन्छ । त्यहीमाथि गोर्खे लौरी उचाल्न बेर लाग्दैन । अझ त्यतिले पनि नभए अटसमटस् पार्ने कान्जीघरमा लगेर सेल्ट्याईदिन्छ । तव पनि सुध्रन भने त कसाईको किलामा लगेर ठोकिदिन्छ । त्यसकारण अहिलेलाई भलाई यतिमै छ कि चुपचाप उभिरहनु र उसले भनेको मान्न तयार हुनु । अझ डर यस्तो पनि छ कि लुत्रुक्क परेर बसुँ त भने अब तँ रयालेको पाइन सकिएछ, अब काम लाग्दैनस भनेर भीर तिर लघारीदिने डर थियो । अव फेरी अलिकति न यसो चल्ती फूर्ती गरुँ न त भने, अब तँ डांगनो पनि शेखीबाज गर्ने भइछस् भनेर चुटिचुटि बोसो चुहाइदिने डर थियो । त्यसकारण तिनीहरु सबै याकुल र व्याकुल पनि परिहेका थिए । गोठालाको अगाडि उभिरहन पनि निकै दकस पसिररहेको थियो । तर के गर्ने त खै ? कतै गएर लुकुँ भने पनि खोज्दै खोज्दै आउँछ र पत्तो पाईहाल्छ । झन त्यसरी भाग्न खोज्यो भने त कम पो बित्यास पार्दैन त गाठे ! तिनीहरुलाई पर्नु आपत परिरहेको थियो ।
अब जम्मा हुनुपर्ने जति सबै जम्मा भइसकेका थिए । वनपाखा र खेतबारीतिर कोही पनि छोडिएको थिएन । न त कोही अक्कर कुक्करहरुतिर अल्झिएर हराएका थिए । न त कोही बाटोघाटो तिर या कतै घाइते भएर लडिरहेका थिए । तर एक एक जम्मा भैसकेका थिए । किनभने अब तिनीहरुको अन्तिम बासस्थानको टुंगो लगाउने बेला भैसकेको थियो । गोठालाले सबै तयारी गरिसकोको थियो । अब तिनीहरुको आकार प्रकार र बानी व्यहोरा सबै हेरेर बाँकी जीवनभरि रहने खर्क तोक्ने काम मात्र बाँकी यियो । सबै त्यसकै प्रतिक्षामा थिए । कुनै कुराले भाँजो हालेन वा कतै केही अनौठो भएन भने अब केवल केही पलको समय मात्र बाँकी यियो ।
लौ घाम पनि डुविसकेछ । जुन पनि उदाएको छैन । ताराहरु पनि देखिदैनन् । यताउती हेर्दा कुनै पनि ठाउँ देखिदैन । यस्तो लाग्दथ्यो तिनीहरु उभिइरहेको ठाउँ बाहेक अरु कुनै ठाउँ नै छैन । अचम्म चाँही यो थियो कि कुनै प्रकास दिने थोक नभए पनि त्याहा उज्यालै थियो । उनीहरु एकअर्का सबैलाई देख्न सक्दथे । गोठालाले सबैलाई चिन्न सक्दथ्यो । ऐनामा झैं छर्लगैं देखिरहेको थियो । त्याहा भएका सबै पशुपंछीहरुले पनि गोठालोलाई स्पष्टै देखिरहेका थिए । एक अर्कालाई नदेख्ने र नचिन्ने कोही पनि थिएन ।
अब गोठालोलाई साहायता गर्नेहरु पनि त्याहा आए । गोठालो चाहि अघि नै सेतो ढुंगामाथि आसन जमाएर बसिसकेको थियो । तिनीहरुले जात जात र बथान बथान अनुसार समुह समुहमा तिनीहरुलाई छुट्याउन थाले । यो चाहि सजिलोको लागि थियो । यसरी तिनीहरुलाई पंङतीमा राख्ने काम सकियो | तव गोठालोले एक एक गरि तिनीहरुको जाँजबुझ गरी प्रत्यकलाई कुन भकारो कुन खोर या कुन घर भनेर निर्क्योल गर्ने काम सुरु गर्न थाल्यो । सबैभन्दा पहिला भेंडा र बाख्राको समुहलाई तयार रहन भनियो । तव गोठालो उभिएर नामै काढेर एकएकलाई बोलाउदै तिनीहरुको आनीबानी काम व्यवहार अनुसार खर्कहरु निर्धारण गर्ने काम सुरु गर्न थाल्यो।
“बोके दाह्री याहा आइजा” !
आफ्नो नाम सुन्ने बित्तिकै लत्र्याक्क परेर थचारिइरहेको बोके दाह्री तनक्क कान तन्काएर जुरुक्क उठ्यो । अनि थरर्र जीउ थर्थर्याएर धूलो मैलो टकटक्यायो । तव फटफट फटफट दुईचोटि मुन्टो फट्कारेर आफैंलाई फूर्तीफार्ती पार्यो । अनि रवाफसगँ टाउको उठाउँदै गोठालाको अगाडि गएर उभियो ।
तव गोठालाले त्यसको टाउकोमाथि हात राखेर थुम्थुम्याउदै भन्न लाग्यो, हेर बोके दाह्री तेरो अलि लामो लामो दाह्री भएको हुनाले तेरो नाम बोके दाह्री राखिएको थियो । ज्यान पनि परेको र दिमाख पनि भएकोले दाह्रीको इज्जत राख्ने नै छस् भन्ने थियो । त्यसकारण तेरो लागि खोला वारीेदेखि पारीसम्मै चरिचरन गर्न ठाउँ दिइएको थियो । तर तैले त त्यही दाह्रीकै बलमा चर्न नहुने अर्काको बारी बारी चरिस् । त्यतिले नपुगेर कुनाकानी तिर जुतोले पनि भरिस् । ल भन त दाह्री किन यस्तो गरिस् ? तँ चर्नको लागि तलाई दिइएको बारी कम थियो र ? जिव्रोको लागि फरक फरक स्वाद भएका घाँसपात त्याहा उमारिएको थिएन र ? अर्काको बारीमा उम्रेका चरन किन राम्रो देखिस् ? तिनलाई चर्ने कोहि थिएनन र ? आफ्नो भाग हुदा हुदै किन लोभ गरिस् ? चारैतिर र्याल्लव्याल्ल पारेर आफ्नो भुँडी मात्र भरिस् र भ्यात्त पारिस् ? तर तँ अझै भन्छस् म अघाएकै छैन । मीठो मीठो खान पाएकै छैन । उता उताको बारी डुल्न भ्याएकै छैन । मेरो चित्त बुझेकै छैन । यसरी काहा हुन्छ र बोके दाह्री ?
यति मात्र काहा हो बोके दाह्री ! तैले त आफुभन्दा साना र बल नभएका पाठापाठी र बाख्राबाख्री आए भने भुत्ते सिंगले डसेर तर्साएर लघार्थिस । अर्काले नुगाएर खान लागेको डालीको घाँसपात पनि तैले नै चवाईदिन्थिस् र तिनलाई जिल्लै पारिदिन्थिस् । अरु ओवानो ठाउँमा बसेको देख्दा तलाई रिस उठथ्यो र तिनीहरलाई लखेटेर तँ आफै सुत्तिस् । पेटारी र मुडुलीहरुको पछि लाग्ने बोकाहरुलाई पनि मुढे बलले लघारेर आफै नै ओगड्थिइस । अब आजबाट तेरा यी सकै कर्तुतहरु बन्द हुनेछन, सुनिस बोके दाह्री ?
अब आजबाट तेरो जीवन उल्टो चल्नेछ । तैले पेटारी र मुडुलीहरुलाई जे गरिस् बाघ र भालुहरुले तलाई त्यसै गर्नेछन् । तैले खान लागेको भाग अर्कैले खोसेर खाईदिनेछ । तेरो भुँडी सुकेर चाउरी पर्नेछ । ओवानो खर्कको साटो गन्हाउने र पोल्ने हिलैहिलोको ओछ्यान हुनेछ । एकपलट डसेको साटो चालिस पल्ट अरुले तँलाई डस्नेछन् । अर्काको बारी चरेको साटो तेरो नाच्ने बारी अब अरुले नै सखाप पार्नेछन । तैले खानको लागि भुत्लो पनि पाउने छैनस् । तैले सय बोकामथि शाशन गरिस् अब तँमाथि हजारले शाशन गर्नेछन् । तेरो ठाउँ उ त्यता हो, ल अब तँ गईहाल ।
“अब लाम्काने हाजिर हो” !
तुर्लुङ्ग कान झुण्याएर बसिरहेको लाम्काने आफ्नो नाम बोलाएको सुन्ने बित्तिकै पुलुक्क आँखा उघारेर हेरयो । लामो लामो कान ठड्याएर मलाई नै बोलाएको हो कि होइन भनेर एकछिन गौर गरेर ठम्याँएपछि मात्र अल्छ्याइलो पाराले उठ्यो र हाई काढदै, जिउ मर्काउदै आफैलाई तयार पार्न थाल्यो । अनि जुम्सो अनुहार लिएर गोठालो मालिकको अगाडि गएर उभिदै पुलुक्क हेरयो ।
गोठाले लाम्कानेको लामो लामो कान समाउदै भन्न लाग्यो, तेरो कान लामो र गहिरो छ सबैको आँतका गहिरा गहिरा बात पनि बुझ्न सक्छस् भनेर तलाई थाने बनाएको हो नि त लाम्काने ! तर के गर्ने तैले त कसैका आँतका बात खाने कुरा गरिनस् तर व्यर्थमा हम्कने कान मात्र गरिस् । नचाहिने ठाउँमा मात्र जाने मन गरिस् । कान पनि सफा नगरेर कानमा कानेगुजी मात्र भरिस् । त्यै कानेगुजीले गर्दा तेरो आँखा पनि धमिलो भएर गयो । तव पो तँ छिल्लिदा आफनै दिदीबहिनी र आमाहरुलाई पनि त चिन्न सकिनस् ।
अरुको त के कुरा तँ आफैं बाँधिने दाम्लो र टाट्नु पनि चिन्न सकिनस् । त्यसलाई तेरो माया भएन । तिनको जतन गर्न सकिनस् । सबै लथालिगं र भताभुंग पारिस् । लामो कान भनेर अरुले दिएको मान सम्मान पनि तैले ख्याल गर्न सकिनस् । कसैले मीठा मीठा र असल असल अर्ती उपदेश अनि धर्म कर्मका कुरा गर्दा छेस्काले कान कोट्याएर मात्र बस्ने गर्थिस् । त्यसलाई सुनेको नसुन्यै गरि कानमा तेल हालेर बस्थिस् । गहिरा कुरामा तेरो चाखै भएन । खाली अल्छी मात्र भै बसिरहिस् । तर पेट भर्न पाउने ठाउँ छ भने जाँहा पनि चारखुट्टा टेकेर पुग्ने गर्थिस् । तँ कस्तो बानी भएको भन त । बस्न चाहिं अल्छी मानेर बस्ने तर खान चाहिं बल्छी हानेकै चाहिने ? यसरी त के हुन्थ्यो र लाम्काने ?
अब चाहिं तेरो कान किरैकिराले कोपरेर बुच्चै पारिदिनेछ । कानेगुजी पनि खाएर ट्वांगै बनाईदिनेछ । तलाई मन नपर्ने किरा र झ्ँयाउकिरीका कर्कष आवाज आउने ठाउँमा तँ रातदिन बस्नुपर्नेछ । तिनीहरुको आवाजे तलाई सधै वाक्क दिक्क र प्याक्क प्याक्क पार्नेछ । अनि तलाई काँटी काँटीको शुद्ध बिस्तारा हुनेछ । तेरो जाने ठाउँचाहि उ त्यता हो, ल लाम्काने गइहाल त ।
अब पेटारी हाजिर भएस् !
जव आफनो नाम आयो चार पाउ फालेर सुतिरहेकी पेटारी आँखँ चिमचिम गर्दै हतपत हात खुट्टा थुतुनाले सुम्सुम्याउदै सलक्क उठेर आफ्नो जीउलाई अगाडि र पछाडिबाट हेरी । भुँईमा पल्टदा उठेका र चुच्चा परेका भुत्लाहरुलाई यसो चुच्चे चिँउडो र थुतुनाले थिचिमिचि र चाटचुट गरि सामसुम पारेर आँफैलाई ट्याक्क र टिलिक्क पारी । अनि अगाडिका दुई दाँत देखाउदै मुसुमुसु हाँसेर गोठालाका अगाडि गएर उभिई ।
तव गोठालाले डडाल्नामा हात राखेर मुसार्दै भन्न लाग्यो, हेर पेटारी तेरो पेटमा टारी खेतको गह्रा जस्तो धर्सा धर्सा परेको हुनाले पेटारी नाम राखेको हो । तलाई बारी खेतबारी र टारीकै बरिपरि मात्र चरिचरन गर्नु, बटारीई बटारिई खोला पारी पारीतिर नजानु भनेको हो । तर किन त्यो आज्ञा ख्वात्तै बिर्सिस् ? आफ्नो बारी र टारीको बारबाट घुस्रेर किन पारी पारी पुगिस पेटारी ? तँलाई उतातिरको भाले फूलहरुको मुन्टा मात्र किन मीठो लाग्यो ? तँ त्यसरी घुस्रेर छिरेको देखेर तेरा अरु साथीहरु पनि बटारिएर त्यतै छिरे । खोलापारीतिरको पानी खाँदा नाम्ले किरा र जुकाहरुका फूल पनि खाईस् । यता आँउदा नाना थरिका रोगहरु पनि ल्याइस् । त्यसकारण तेरा पाठापाठीहरु पनि ख्याउटे र्याउटे चकचके र गिदी नै नभाका जस्ता भए । तेरा पाठाहरुले बेला न कुबेला पठ्याक्क्रीहरुलाई र्याकरयाक्ती पारे । तैले तेरो घर बरिपरि भएका पाठपाठीहरुलाई ठीक ठीक बात सिकाएर निरोगी राख्नुपर्ने थियो । तर तैले आफ्नदिमाख भुटिस् र रोग सल्काईस् । वारीपारी जताततै माहामारी फैलाईस । मियो नै कच्चा थियो काँहाबाट दाँई गतिलो हुन्थ्यो त । जवान ठिटा छेरौटे पिरौटे सबैलाई बेलामा दाम्लामा बाधेर अल्झाईराख्नु पर्नेमा तँ आफैं पो दाम्लो टोकेर बुर्कुसी मारिस् । अनि अरुलाई पनि छिरलिस् ।
यसकारण तँ पेटारीलाई त बेटारीको झट्का दिनु पर्ने थियो तर के गर्ने समय आएको थिएन । आज बल्ल टाट्नामा उभिन आईपुगिस् । अब तेरो मन खुशीले हिँडेर चर्ने र चराउने दिन गए । अब तैले कलिला मुन्टा कोपरेको ठाउँमा फलाम कोपर्नुपर्छ । तेरो जीउ बारको दुलोभन्दा बिस गुना सानो दुलोबाट हरदिन कोचारी कोचारी छिराईनेछ । तेरो नाकमा सधैं कुहिएको सिनाको गन्ध पर्नेछ । जिव्रोमा सबैभन्दा कोक्याउने पिँडालु लेस्नु पर्नेछ । दुइतिर काँढा भएको भुत्लाले तेरो जिउ ढाकिनेछ । किरा र जुकाको साटो सर्प र बिच्छीहरुले तँलाई गाल्नेछन् । तेरो नयाँ बसोबासको लागि तयार गरेको खोर उ त्यता छ ल तँ गइहाल र सधेभरी त्यही बस।
अब मुडुली खडा भएर तयार भएस् !
हयाकुलोमुनी टाउको लुकाएर फ्यास फ्यास निदाउन थालेकी मुडुली आफ्नो नाम सुनेपछि झसगं हुदैं व्यूझींएर लरखराउँदै उठी अनि बुच्चे सिगं र चिण्डे टाउको मसादै गोठालो छेउ पुगेर उभिई ।
अनि उसको टाउकोमा हात राख्दै गोठालाले भन्न लाग्यो, हेर मुडुली जति नै मीठो कुँडुली दिए पनि हुँडुली हुँडुली झाम्टो झाम्टो खोजेर खाने तेरो बानी थियो । झोल जति हुत्याएर पोखाईदिन्थिस् । अल्छी तिघ्रो स्वादे जिव्रो भएर काहा हुन्छ र मुडुली । चरिचरन गर्ने ठाउँमा गइस भने झोक्र्याएरै मात्र बस्ने गर्थिस् । कसले डाली नुघाएर खान दिन्छ की भनेर बोकाहरुको मुखमा मात्र घोरिएर हेर्ने गर्थिस् । उनीहरुले तँलाई जता घच्याए उतै घच्चिन्थिस् । अरुको मेहनतले मात्र े आफ्नो ज्यान पाल्न सकिन्छ झैं गर्थिस् । काम गर्ने कालु मकै खाने भालु कसरी हुन्छ र ? जसले तेरो मुडुलो टाउको छामे पनि फिसिक्क हाँसेर सबैलाई मर्नु बनाईदिन्थिस् । त्यै भएर बास्ना आए झैं सबै तेरो पछि पछि पछि लागे । त्यै भएर तँ गजक मजक गर्दा गर्दै मोटाउदै गइस् । खोरमा भएका अरुहरुका पाठापाठीहरुलाई मसार मुसुर पार्दै दुध ख्वाउदै स्याहार सुसार गर्न पटक्कै मन गरिनस् । बरु आफै र अरु पाठा पठ्याक्राहरुलाई पठाएर मोटे ढाक्रे र चाक्रे बोकाहरुको इच्छा मात्र पुरा गराईदिइस् ।
त्यसकारण बोकेदाह्री र लाम्कानेहरुले समेत बैला भएकोमा कुनै पश्चाताप नगरी तँलाई उचाले । मोटीघाटी पनि भएकीले त्यै अनुसारको ठाउँ र भाउ दिलाए । माउ बनाईदिए । तर तैले त खाली दाउ मात्र हेरिस् । तेरा छरछिमेकी र रोगी, ल्याइते, व्याइते, ख्याउटे, र्याउटेहरुले एक पाउको कुँडो पनि खान नपाउदा तँ चाहिं सोर पाउको कुँडुली पनि हुँडुली हुँडुली झाम्टो खोज्ने गर्थिस् । अझ मीठो मीठो र बाक्लो खोले खोज्ने गर्थिस् । कसैले केही आँट गरेर मुख खोल्ने आँट गरिहाले भने पनि त्यसको मुख नै सिएर बन्द गर्ने गर्थिस् । त्यै भएर पो तँ कुम्लदै गएकी थिइस् । त्यसैकारण बोकेदाह्रीहरुले पनि तेरो बोसो झार्ने आँट हतपत गर्न सकेनन । अझ उल्टै तेरै इसारामा बोसो नै नभएकाहरु तिर चोसो घुमाउन लगाईस् । बोसो झार्न नमान्नेहरलाई डाँडा पाखै कटाईस् । यसरी ढाँटी ढाँटी र छाँटी छाँटी काम कुरो गर्ने भएकीले तलाइ अब तीन करोड काँटीले बनेको ओछ्यानमा सुताईनेछ । सुँगुर र चीलको लासलाई उधिनेर भोक मेटाउने प्रयत्न गर्लिस तर त्याहा दुर्गन्धित मोसो बाहेक केही मिल्ने छैन । जता कोल्टे परे पनि तैले आराम पाउने छैनस् । तैले नै हुल्मुल्याएका पाठापाठी र बोकाहरुले दाह्रा उध्याउदै कोपरी कोपरी तेरो भएभरको बोसो झार्नेछन् । कहिल्यै आसुँ नओवाउने पार्नेछन् । अब सदाको लागि बन्दोबस्त गरिएको तेरो घर उ त्यता छ ल तँ गइहाल् ।
त्यसकारण बोकेदाह्री र लाम्कानेहरुले समेत बैला भएकोमा कुनै पश्चाताप नगरी तँलाई उचाले । मोटीघाटी पनि भएकीले त्यै अनुसारको ठाउँ र भाउ दिलाए । माउ बनाईदिए । तर तैले त खाली दाउ मात्र हेरिस् । तेरा छरछिमेकी र रोगी, ल्याइते, व्याइते, ख्याउटे, र्याउटेहरुले एक पाउको कुँडो पनि खान नपाउदा तँ चाहिं सोर पाउको कुँडुली पनि हुँडुली हुँडुली झाम्टो खोज्ने गर्थिस् । अझ मीठो मीठो र बाक्लो खोले खोज्ने गर्थिस् । कसैले केही आँट गरेर मुख खोल्ने आँट गरिहाले भने पनि त्यसको मुख नै सिएर बन्द गर्ने गर्थिस् । त्यै भएर पो तँ कुम्लदै गएकी थिइस् । त्यसैकारण बोकेदाह्रीहरुले पनि तेरो बोसो झार्ने आँट हतपत गर्न सकेनन । अझ उल्टै तेरै इसारामा बोसो नै नभएकाहरु तिर चोसो घुमाउन लगाईस् । बोसो झार्न नमान्नेहरलाई डाँडा पाखै कटाईस् । यसरी ढाँटी ढाँटी र छाँटी छाँटी काम कुरो गर्ने भएकीले तलाइ अब तीन करोड काँटीले बनेको ओछ्यानमा सुताईनेछ । सुँगुर र चीलको लासलाई उधिनेर भोक मेटाउने प्रयत्न गर्लिस तर त्याहा दुर्गन्धित मोसो बाहेक केही मिल्ने छैन । जता कोल्टे परे पनि तैले आराम पाउने छैनस् । तैले नै हुल्मुल्याएका पाठापाठी र बोकाहरुले दाह्रा उध्याउदै कोपरी कोपरी तेरो भएभरको बोसो झार्नेछन् । कहिल्यै आसुँ नओवाउने पार्नेछन् । अब सदाको लागि बन्दोबस्त गरिएको तेरो घर उ त्यता छ ल तँ गइहाल् ।
अब खैरे भेंडो हाजिर हो !
जव खैरो खैरो चिल्लो लपक्क भुत्ला, चम्किलो आँखा र गम्किलो छाँट भएको खैरे भेडों सलक्क उठेर लमक्क लम्किलो खुट्टाले हिँडेर ढमम्क गोठालेको अगाडि हाँजिर भयो, तव खैरे भेडांको चिउडो उचालेर गोठालेले भन्न लाग्यो, हेर खैरे अैरे, गैरे, नेप्टे, चेप्टे, थेप्चे र हाँडी घोप्टेहरुले जति नै खैरे खैरे भनेर तँलाई जिस्क्याएर घच्याए पनि तैले कैल्यै तिनलाई आँखा तैरेर हेरिनस् । बरु उल्टै तिनक भूडींमा मुसा दगुर्दा, अनि रन्थनिदै र हक्कानिदै तेरो खोरतिर आईपुग्दा खुरुक्क तैले आफु बसेको ठाउँबाट उठेर टाट्नाको घाँस खान दिन्थिस् । तिनले तेरो खोरमा छेरुवा जुतो बक्याउँदा पनि कहिल्यै उता जा फोहोरी भनेर गाली गरिनस् । बरु आफ्नै चारपाउ लगाएर सफा गरिस् । तीखो र घुम्रिएको सीगं भएता पनि कहिल्यै कसैलाई घोचघाच र पेचपाच पार्ने काम गरिनस् । तँ मोटोघाटो भए पनि पिलन्धरे, लिखुरे, अन्तरे, जन्तरे र पानी मन्तरेहरुसँग कहिल्यै टाउको जुधाईनस् । बरु कहिले काहि तिनीहरुको पारो चढेर खुरले माटो खोस्रदै, सींग उध्याउदै टाउको ठोक्न लाग्दा तैले आफ्नो आँङ फुलाएर, नाकाको श्वास फुलाएर हम्केरै डराउन दिइस् ।
त्यसकारण तिनीहरुको सिंग भाँचिएर कीरा पर्न पाएन। यसरी तेरै कारणले टाउको ठोक्न नरुचाउनेहरले पनि ढुक्क र शान्तिसँग चरिचरन गरेर आफ्नो पेट भर्न पाए । यसरी तेरो बर्कतले भ्याएसम्म सहायता र सुरक्षा दिएको र रनबन डुलेर चरिचरनमा खाएको कुनै पनि बिषालु कुराहरु अरुले देख्ने गरि उल्टी नगरेको, नउघ्राएको कारण तैले तेरा समाजमा इज्जत पाउन योग्य काम गरेको छस् । त्यसैले मैले पनि तँलाई अन्यन्त सुन्दर र सफा खोरमा सधैभरिलाई राख्ने निश्चय गरेको छु । त्याहा सबैको माया तैले पाउँनेछस् । टाउको जुधाउने र सिंङ्ग उध्याउनेहरु त्याहा कोही पनि हुनेछैनन् । तेरो भाग कसैले खोस्ने छैन । तैले चपाउदै गरेको मुखको बुजो थुत्न कोही आउने छैन । तेरो मनले चाहेको कुरा प्रशस्तै त्याहा हुनेछ । तलाई माया नै माया र आरामै आराम अनि खुशी नै खुशी हुनेछ । तँ बस्ने ठाउँ उ त्यता छ तँ उतातिर जा ।
त्यसकारण तिनीहरुको सिंग भाँचिएर कीरा पर्न पाएन। यसरी तेरै कारणले टाउको ठोक्न नरुचाउनेहरले पनि ढुक्क र शान्तिसँग चरिचरन गरेर आफ्नो पेट भर्न पाए । यसरी तेरो बर्कतले भ्याएसम्म सहायता र सुरक्षा दिएको र रनबन डुलेर चरिचरनमा खाएको कुनै पनि बिषालु कुराहरु अरुले देख्ने गरि उल्टी नगरेको, नउघ्राएको कारण तैले तेरा समाजमा इज्जत पाउन योग्य काम गरेको छस् । त्यसैले मैले पनि तँलाई अन्यन्त सुन्दर र सफा खोरमा सधैभरिलाई राख्ने निश्चय गरेको छु । त्याहा सबैको माया तैले पाउँनेछस् । टाउको जुधाउने र सिंङ्ग उध्याउनेहरु त्याहा कोही पनि हुनेछैनन् । तेरो भाग कसैले खोस्ने छैन । तैले चपाउदै गरेको मुखको बुजो थुत्न कोही आउने छैन । तेरो मनले चाहेको कुरा प्रशस्तै त्याहा हुनेछ । तलाई माया नै माया र आरामै आराम अनि खुशी नै खुशी हुनेछ । तँ बस्ने ठाउँ उ त्यता छ तँ उतातिर जा ।
यसरी नै गोठालाले हरेक भेँडा र बाख्राहरुलाई एकएक गर्दै केलाएर अनन्त रहने बासस्थान निर्धारण गरिरहेको थियो । भेंडा र बाख्राहरु वासस्थान निर्धारणको लागि ओ आफ्नो पालो पर्खदै छन् । असल काम गर्ने, गोठालाको स्वर सुन्ने र गोठालाको आज्ञा पालन गर्नेहरु निर्धक्क र खुशी देखिन्छन् । तर अरुहरु चाँहि हतास निरास र चिन्तित देखिन्छन् । किनभने तिनीहरु गोठालोद्वारा फैसला गरिने ठाउँमा पुगिसकेका थिए, अनि त्याहा पुगिसकेपछि जति नै इच्छा गरे पनि कसैलाई सच्चिने मौका थिएन ।
0 comments
Write Down Your Responses