• HOME
  • About Me
  • Articles
  • Story
  • Essays
  • Poem
  • Songs
  • Spiritual Manna
  • Videos
  • Photos
  • Contact
Essays » जीवन एक प्रयोगशाला !!
जीवन एक प्रयोगशाला !!

-लालु पौडेल । 
हैन ग्यास्टिक नहुने त नेपाली नै हुदैनन कि क्या हो ? भन्ने बाक्य मानिसहरुको मुखमा धेरै सुनिन्छ । यो त पेटको कुरो भो, तर आज म पहिला अलिकति ओठको कुरा गर्छु है त । गाली पिच्छे साला नभन्ने कति जना नेपाली होलान् ? हिजो र आज अनि भर्खर फूल फूटेका लालाबालादेखि ठूला बडावाला सबैको मुखमा खाली साला साला भन्ने शव्द झुण्डिरहन्छ भन्दा शायद अन्याय नहोला । कम्ति गाली गर्नेहरु देखि दिएर झम्टी झम्टी गर्ने प्राय नेपाली मान्छेहरुको मुखमा साला साला भन्ने थेगो आईरहेको सुन्न सकिन्छ । जस्तै, साला भाते, साला खाते, साला बाँदर, साला ढेंडू, साला हरामी, साला पापी, साला गधा, साला सुँगुर, साला कुत्ता, साला ट्यापे, साला चोर, साला ठग साला धोती, साला बाहुन, साला कामी, साला जाँडे, साला मूलाको साग.... आदि कति हो कति । तर आजको खास बिषय चाहि साला होइन तर शाला चाँहि हो । त्यसकारण म साला बारे धेरै गन्थन गर्नेवाला छैन तर शाला बारे अलिकति गर्नुपर्छ कि ? 
यो शालाको बारेमा पनि अब कसरी कुरा जस्तो लागिरहेको छ । के भन्नु, कति कुरा गर्नु खै संझेर त्याउँदा पनि भालाले मुटु रोपे झै धरर्र चित्त फाट्छ । हेरिरहुँ, बसिरहुँ र आनन्द मानिरहुँ जस्ता शालाहरु हाम्रो देशमा काहाँ छन् र खै ? यताउती जता हेरौ,  खाली पेलपाल र ठेलठाल गर्ने तर हेर्दामा चाँही धर्म कर्म गरेको जस्ता देखिने कर्म शालाहरु छन् । याहाँ जिउँदा मरेका सबै प्रकारका मासु बेचबिखन गर्ने बधशालाहरु छन । ठोक्ने, ठग्ने, टोक्ने भुक्ने, खोक्नेदेखि लिएर निउने र पिउने मद्शालाहरु छन् । बरु पहिलाका बूढापाकाहरुले धर्मशालाहरु बनाएका थिए । 
तर आज त यो देश राजनीतिदेखी काजनीतिसम्म तानातान, हानाहान ठानाठान गर्ने मर्मशाला भएको छ । यसको साटो यही देशको माटोलाई कर्मशाला बनाएको भए यो देशमा आशिषको उज्यालोले  हेर्न योग्य हुने थियो होला । जे होस आज यस्ता शालाहरुको बारेमा खोजतलास र उधिन नाधिन गरेर धेरै छारो उडाउने प्रयास पनि गर्नेवाला छैन । आफ्नै जिउको छारो उडाएर किन अरुको आँखा धमिलो पारिदिनु । आज मलाई अरु कुनै पनि शालाको कुरा नगरेर केवल प्रयोगशालाको बिषयमा कुरा गर्न मन लागेको छ । 
अब प्रयोगशाला भन्ने बित्तिकै धेरैको मनमा बिज्ञानको प्रयोगशाला भन्ने मानचित्र मनमा आउँछ होला । बरु बिज्ञानकै प्रयोगशाला अथवा पाठशालाको बिकास भएको भए पनि देशमा केही संझन लायक कुराहरु बन्थे होलान् तर के गर्नु नेपाल त साला र शाला को मात्रै प्रयोगशाला भए जस्तो लाग्छ । यसकारण सरम नै सरमले मुख छोप्नुपर्ने भएको छ । यसैले यहा बिज्ञान प्रयोगशालाको बारेमा पनि मलाई त्यति चासो लागेन । अन्तमा मैले आफैले एउटा नयाँ प्रयोगशाला बनाउने बिचार गरे । 
यो अरु भन्दा बेग्ले प्रकारको प्रयोगशाला हो । यस्तो प्रयोगशाला शायद संसारका धेरै कममात्र मानिसहरुले बनाएका होलान् भन्ने मेरो अड्कल छ । मेरो प्रयोशाला चाँही आँखाले देख्न सकिने, बिशाल स्वरुपको, जटील नमुनाको कुनै भौतिक शाला होईन । न त यो अमूर्त शाला नै हो । यो मूर्त शाला नै हो । जुन प्रयोगशालामा सुर्तित, चिन्तित, दुखितहरुको जीवनदेखि, माया प्रेम घृणाहरु, रिस राग आवेग उद्धवेग सबै प्रकारमा जीवनरुपी अवयवहरुको प्रयोग हुन्छ । मैले पहिला यस प्रयोगशालामा आफ्नो जीवनलाई जाँचेर हेरे । कतिवटा जाँच यसमा प्रयोग पनि गर्दैछु । किनभने यो प्रयोगशालामा केवल जीवनका कुराहरुको मात्रै प्रयोग हुन्छ । त्यसैकारण मैले यो प्रयोशालाको नाम जीवन प्रयोगशाला भनेर राखिदिएँ । 
म कुनै समय भर्खर स्कूलको पढाई सकर बसेको ठिटो थिए । मलाई एक जना गाउँ समाजको गन्यमान्य व्यक्तिले भने, ल तिमी राम्रो मान्छे बन्नुपर्छ । ठूलाबडाको इज्जत मान गर्नुपर्छ । सबैप्रति सहयोगी हुनुपर्छ । सकेसम्म असल काम गर्नुपर्छ । आफ्नो धर्मकर्म सँस्कार र रीति रिवाज पनि छोड्नु हुदैन, इत्यादी इत्यादी । म जवान नै भएको भएपनि ती कुराहरु मेरो दिमाखमा याद आइरहन थाले । त्यस कुराले मेरो सोचाई नै परिवर्तन गर्न थाल्यो । म सोच्ने गर्दथे कि साच्चै उसले भने जस्तै राम्रो मान्छे बन्न पाए ? अनि अरुले मलाई असल मान्छे भनिदिए कस्तो हुन्थ्यो होला आदि ? त्यसपछि मैले बिचार गरें म अब सधै असल काम गर्ने कोशिस गर्नेछु । कसैलाई ढाँटछल गर्दिन । नराम्रो बोल्दिन । मानिसहरुले जे गरेको चाहान्छन् वा जे जे गर भन्छन् त्यस्तै कामहरु मात्र गर्छु । अनि अरुको इच्छा अनुसार जिउदा जिन्दगी कस्तो हुदोरहेछ म हेर्नेर्छु । 
त्यसपछि म जवान अवस्था देखी नै हरेक काम होसियार भएर गर्न थाँले । अरुले जस्तो प्रकारको काम अह्राए पनि इमान्दार भएर खुरुखुरु गर्न थालेँ । मुखबाट फोहोरी बोली पनि निकालिन । घरमा पनि बाबा आमा वा दाजु भाईले जे भन्छन् त्यस्तै काम गरिरहे । तर केही बर्षपछि यसो नियाल्दा त समय धेरै परिवर्तन भैसकेको रहेछ । आफुभन्दा साना र ठूलाहरु प्राय देश बिदेश पुगिसकेका र नाना थरी उद्यम गरिसकेका रहेछन् । उनीहरुको जीवनको शैली, बोलीबचन, रवाफ जस्ता कुराहरु बदलिसकेको रहेछ । तर पनि भित्र भित्र मैले आफैलाइै सम्हाले अनि आफ्नो बल अनुसार परिश्रम गरिरहे । तर तिनीहरुमा प्रगतीका कुराहरुमा त्यति ध्यान दिइन । मेरो पनि समय आउँछ कि भनेर बाटो हेरिरहे । तर मैले मानिसहरुको इच्छामा आफुलाई हिँडाउदा जीवन कस्तो हुदोेरहेछ भनेर हेर्ने रहरको नतिजा थाहा पाउदै थिए । अरुको इच्छा अनुसार खुरुखुरु हिँडिदिदा पनि कुरा काट्नेको कमि नहुँदोरहेछ । जीवन सोचे झै सलसल नबग्दोरहेछ भन्ने थाह भयो ।  
यसै समयमा मेरो जवानीलाई देखेर एउटीले मलाई पछ्याउन थाली । तिमीले जसरी पनि माया गर्नुपर्छ भन्न थाली । माया पनि जर्वजस्ती गर्नु पर्ने रे ! अब खुृले आम माया गरौ भने त बिहे नै गर्नुप¥यो । बिहे गरौ भने कतिलाई ? किनभने मन पराउनेहरु अरु पनि थिए । सबैको इच्छा पुरा गर्न संभव नै भएन । त्याहा कति गोलमाल र लफडा हुन सक्थ्यो भन्ने कुरा त अनुमानै गर्न नसकिने कुरा भयो । किनभने लुकिछिपी सबैलाई माया गर्दा व्यभिचारी हुने भईयो । मुस्लिम देशमा जस्तो धेरैलाई श्रीमती बनाउन पाउने छुट यहा थिएन । आर्थिक, परिवारिक, सामाजिक जस्ता कुराहरु पनि यस्तो कुराको बिरुद्ध आउने नै भए । आफ़्ना रहर इच्छाहरुलाई मारेर केही फाइदा नरहेछ । अरुको मानिसको इच्छा अनुसार जिउन खोज्नु सारै खतराको कुरा रहेछ । याहा त समय मात्रै बर्वाद भएछ । उनीहरुले चाहे अनुसार म प्रयोग भएँ भने पनि यो व्यर्थ हुने भयो । आखिरमा उपलव्धी शुन्य नै हुने रहेछ । यसले त जिन्दगीलाई एउटा बेइज्जत बनाईदिने रहेछ । केवल धूजा धूजा पारेर एउटा तमासा बनाएर छोडिदिने रहेछ । आधा बाटोमा नै ढालिदिने रहेछ । अलपत्र पारिदिने रहेछ । 
तर यसो बिचार गरेर हेरे, सृष्टि त चलाउनै परयो । सबैले घरजम गरेका छन् । तर पनि किन हो मेरो मनमा घण्टी नै बजेन । मेरो मनको यो घण्टी पनि कस्तो ! एकछिन त जतापनि बज्छ । अनि केही समयपछि सुनिदैन । जवानीमा सबैलाई यस्तै लक्षण हुने रैछ र हो कि कुन्नी ? म रनभूलमा परिरहेको थिए । तर एउटी उखरमाउली बन्दै ज्यान दिन्छु भन्न आएकी थिई । उसलाई चाँहि मलाई देखेर पूरै घण्टी बजेको रहेछ । तर मेरो घण्टी बजेको मैलै त्यति मेसो पाईन । यसो बिचार गरें, अब उसको इन्छा अनुसार म हिँडिदिँए भने यो घण्टी त पछि पछि पनि बज्न सक्छ होला नि ? मेरा घण्टीे विस्तारै बिस्तारै पो बज्ने हो की ?  ठीकै छ, घण्टी बजे बजोस्, जबजे जबाजोस् तर अब मेरो होइन तर उसको इच्छा अनुसार अब जिन्दगी जिउनु प¥यो । माया देखेर हुने रहेछ कि भोगेर थाहा पाईएला नि ! मेरो यस्तै सोचाई आयो । 
अनि बिहे भयो । सुरु सुरुको जोशमा त जिन्दगी रमाईलै बित्ने भयो । समय बित्तै गएपछि जवानीको मायाप्रेम भन्दा बढी प्रौढता, निष्कपटता र आदरणीयतामा वा अझ भनौ खास मायामा जीवनका पलहरु बढ्नुपर्ने हो । तर आफैलाई त्यसरी मायामा बढ्न सकेको अनुभव भएन । स्वार्थी माया मात्र भएछ कि जस्तो लाग्यो । शरीर देखेर मात्र माया प्रेममा पर्नु दीगो नहुने कुरा रहेछ । खास प्रेम त हृदय र शरीरसँग जोडिएको हुन्छ भन्ने कुरा ठीकै हो भन्ने बल्ल अनुभव हुन थाल्यो । यस प्रेममा हेर्ने आँखा र बुझ्ने मन हुनु आवस्यक हुन्छ । जोडीमा मात्र होइन हरेक कुरा जाहा पे्रमको सवाल आउँछ, त्याहा हृदय जोडिएको हुनुपर्छ । नत्र त्याहा खास माया प्रेम रहन सक्दोरहेनछ । शारीरिक वा हृदयको भावनामा मात्र जोडिएको माया अस्थिर हुन सक्छ । 
अब फेरि परिवार र बालबच्चा भएपछि घरको आवास्यकता पनि प¥यो । गाउँमा बस्ने र आर्थिक रुपमा कमजोर भएपछि शहरमा घरवास गर्ने इच्छा हुने नै भयो । प्राय युवा साथीहरु बिदेसिएका थिए । अनि सानो सानो घर वा जगाजमिन जोडका थिए । शहरमा हुनेहरु चाँहि यूरोप अमेरिका हानिएका थिए । अनि तिनीहरुको फुर्ती नै बेग्लै थियो । साथीभाई भेटिन्छन्, देश बिदेशका कुरा गर्छन । जगाजमीन घरका कुरा गर्छन । घुमघाम मोजमस्तीका कुरा गर्छन । आफुँ चाँहि टुलुटुलु हेर्नु र थुक निल्दै सुन्नु बाहेक केही गर्न नसकिने अवस्थामा थिएँ। 
अब भएन, केही त गर्नै परयो ।  केही त व्यवस्था गर्नु पर्यो नि । अनि त मेरो पनि बेग्लै फुर्ती आउँछ होला । यसकारण एउटा बाध्यता र अर्को फुर्ती गर्न मिल्ने भएकोले बिदेश हानिइयो । तर कस्तो बिबशतामा परिदो रहेछ ? चारपाँच बर्ष खाडीमा काम गर्दा पनि शहराँ एउटा भिटा किन्न सकिएन । महगी त्यस्तै बढेको बढ्यै छ । सपनामा पनि घटेको देखिने होइन । गाह्रो रहेछ । सोचे जस्तो हुदैन रहेछ । फुले जस्तो फल्दैन भन्थे, ठीकै रहेछ । 
वापस घर आएपछि यसो बरिपरि हेरें र बिचार गरेँ । पहिला जुन इच्छा थियो, त्यो पूरा हुने कुनै छाँटकाँट देखिएन । यूरोपतिर गएकाहरुले त ठूलै घर बनाएका रहेछन् । खाडीतिर जानेहरुले पनि पहिला पहिला जानेहरुले केही गर्न सकेका रहेछन् । तर अहिले त त्यति सजिलो रहेनछ नि । रिण धनले एउटा भिटा त आयो तर अब घर बनाउन फेरी उस्तै सास्ती । फेरी बिदश जाँउ, घर बनाउँ र पछिको लागि केही बचाँउ भन्दा भन्दै बूढेसकाले छुने भैहाल्यो । 
बरु गाउँमै ठीक रहेछ क्यारे । धूलो मैलो छैन । मिसावटका थोक किनेर खानु पर्दैन । हल्ला खल्ला छैन । काम गर्दा शरीरलाई पनि कसरत पुग्ने । आखिर ठूलो इच्छा गर्दा पनि समस्या हुदोरहेछ । प्रयास गर्दा पनि नचाहिने दुख मात्रै र अन्त्यमा व्यर्थ । शहरमा व्यापार व्यवसाय गरे पनि के ग्यारेन्टी ? तर जती नै देखिने प्रकारका ठूला काम गरे पनि आखिर बूढेसकालमा रोगी भएर बाच्नु पर्ने, प्रेसर छ, सुगर छ, यो छ त्यो छ भनेर दुख्दै बाँच्नु पर्दोरहेछ । अनि दुखजेलो गरेर बचाएकोले पनि नपुग्ने डर छदैछ । जाने बेलामा एउटा सियो पनि लिएर जान सकिने होइन । यहा चाँहि साइकल भए मोटरसाइकल, मोटरसाइकल भए कार, कार भए संसार पाउने रहरले छोड्दै छोड्दैन । तर यती रहर पुरा गरेर जाँदा न त यमराजले यार तैले त ठूलो परिश्रम गरेर संम्पती जोडेको रैछस् भनेर खुरुक्क सिधै स्वर्ग पठाईदिने हो । बरु तैले त ज्यादै ढाँटछल बेइमान र दलाली गरेको रैछस भनेर दोवर दण्ड दिन बेर लाग्दैन । अहँ केही गरेपनि सुख छैन । त्यसकारण भएका थोक र गर्न सकिएका कामकुराहरुमा इमान्दार भएर लागिरहनु र सन्तोषी रहनु हरेकको लागि उचित रहेछ । अरुले गरेका कुराका पछि आँखा चिम्लेर आफैलाई प्रयोग गर्नु कहिल्यै संतुष्टी नपाउने कुरा रहेछ । 
अब त सकिन्न है । उमेर पनि जान लाग्यो । सोचेँ, मेरो जिन्दगी यस्तै रहेछ । तव प्रयोगको अब अर्को भूत चढ्यो । यसै न उसै अब त बरु समाजसेवा तिर पो लाग्नु पर्छ क्यारे । नाम पनि हुने मेसो परे दाम पनि टिप्न पाईने । मह काढ्नेले हात चाट्छ भन्ने त उखानै छ । यसकै निहुँमा दुनिया दिवाना काहाँ काहाँसम्मको पहुँचमा पुगेका छन । आखिर जसको शक्ति उसकै भक्ति त हुँदोरहेछ । अनि भनसुन नगरी यो देशमा मनसुन नचल्दो रहेछ क्यारे । आफुँलाई नभए पनि छोरा नातीलाई त केही गर्न सकिन्थ्यो कि ? यसो भनसुन गर्ने ठाउँ भए मनसुन लाग्थ्यो कि भनेर सुरु भयो समाज सेवाको दौड । 
खै ! तर, यो कस्तो अप्ठेरो औडाह दौड रहेछ ? खाई न पाईको टेन्सन धेरै बोक्नुपर्ने । च्या पानी नपिलाई कामै बनाउन गाह्रो । निस्वार्थ सेवा गर्न चाहानेहरुलाई पनि स्वार्थीहरुको भीडले लुटुमुटु पारिदिँदा रहेछन् त गाँठे । न त उम्कले ठाउँ छ । न त चम्कने मेसो छ । सब मान्छेको आ–आफ्नो धून छ । सबैलाइै आफ्नो आफ्नो प्यारो डम्फू बजाउने रहर छ । डम्फू हान्न नपाए चाइनिज कम्फू पनि हानिदिन बेर नलाग्ने रहेछ । तव सिधासादा लम्फूहरुले यो सब बेथितिलाई थितीमा ल्याउँछु भन्नु चाहिँ फलामको चिउरा खानु जस्तै रहेछ । यो पनि नदुखेको टाउको डोरी लाएर दुखाउने काम जस्तै रहेछ । 
यिनीहरु त आफ्नै इच्छा अनुसार प्रयोग भएको जीवनको केही उदाहरण भए । तर संसारमा यता उता जतासुकै हेरौ मानिसले मानिसलाई नै आफ्नो स्वार्थ पूर्ती गर्ने प्रयोगशाला बनाएको छ । काजीदेखी हाँ, जी, जीवन जिउनेहरु । राजा देखी अर्काको बाजा बजाएर खाजा खाने जीवनहरु, को चाँहि प्रयोग भएका रैनछन् र यो संसारमा ?
तर रहस्यमय र अनौठो कुरा त यो छ, कि धेरैले आफु अरुको निम्ती प्रयोग भएको छु भन्ने अनुभव नै गर्दैनन् । कतिलाई यो थाहा भएपनि यो प्रयोगशाला भत्काउन चाहादैनन् । प्रयोग भई नै रहन चाहान्छन् । कतिले त्यस प्रयोगबाट उक्कने चाहाना पनि गरेका होलान् । तर ति बिचराहरु अब कसबाट प्रयोग हुने कस्तो प्रयोग हुने त भनेर थाहा नपाई अन्योलमा परेर रुमलिदै पनि होलान् । कस्तो रुपमा प्रयोग गरिदा जीवनमा उचित हुदो हो भन्ने चैतन्य नभएकैले फगत शून्यको लागि उनीहरु प्रायोजित भैरहेकै छन् । के यसरी नै जीवनलाई प्रयोग गरिरहनकै लागि हरेकले जीवन पाएक हुन त ? 
माथिका कुरा याद गरौ है । आफ्नो इच्छा, रहर वा बाध्यतामा जीवनलाई प्रयोग गर्नु, गराउनु या प्रयोग हुनु सबै व्यर्थ रहेछ । मेरो जीवनको सानो प्रयोगले यही सिकायो । यो जहिले पनि सन्तुष्टी नपाउने प्रकारको हुदोरहेछ । तर पनि के यो जीवन एक प्रयोगशाला मात्रै हो त ?  प्रयोगशाला नै हुने हो भने यसलाई प्रयोग गर्ने अधिकार कसलाई छ ? 
तर, अब प्रश्न आउछ, कि जीवनको उत्तम प्रयोग कसले गर्न सक्छ ? एउटा मेशिनको जीवनलाई बिचार गरौ । त्यसलाई सञ्चालन गर्ने तरिका (म्यानुवल) अनुसार प्रयोग गरे मात्र त्यो राम्रोसँग चल्दछ । त्यसको आयु अनुसार टिक्छ । तर त्यसको म्यानुवल अनुसार होइन तर चलाउनेले आफ्नो म्यानुवल अनुसार चलाउने प्रयत्न गरयो भने के हुन्छ ? अब त्यसमा समस्या आउन सक्छ अनि मर्मत गर्नूपर्ने अवस्था आउन सक्छ । यदि यसो भयो भने त्यसलाई ठीकसँग चल्ने बनाउन त्यसको सबै पाटपूर्जा बारे सम्पूर्ण ज्ञान भएको मेकानिक चाहिन्छ । मेशिनको सम्पूर्ण पूर्जाहरुबारे सबै कुरा थाहा नपाएको मेकानिकले मेशिन सपार्नुको साटो अझ बिगारीदिन पनि त सक्छ ।   
मानिसको जीवन पनि यही मेशिन र मेकानिक जस्तै हो । त्यसकारण यो जीवनरुपी मेशिन पनि बनिएको उदेश्य अनुसार नै प्रयोग हुनुपर्छ । यदी त्यसरी प्रयोग भएन, वा सहि प्रकारले प्रयोग गर्न जान्ने मेकानिकको हातमा परेन भने समस्याहरु जन्माउँछ । 
याहा बुझ्नुपर्ने कुरा यो छ कि मानिस आफ्नो जीवनको त्यो मेकानिक ऊ आफै पनि हुन सक्छ, र अरु पनि हुन सक्छन् । तर त्याहा प्रयोग भएको जीवनमा संतुष्टि रहदैन । त्यहा खोट हुन्छ र इच्छाहरु पुरा हुदैनन् । चैन रहदैन । बिग्रेको पाटपूर्जाबाट आवाज आए जस्तै हुन्छ । त्यसकारण हरेक जीवनलाई एउटा अशल प्रयोगशाला बनाउने हो भने, जीवनको सबै अबयवहरु देखी हृदय सम्मका हर बिचार र उदेश्यहरु समेत जानेको व्यक्तिलाई प्रयोग गर्न दिनुपर्छ । अब यस्तो कुरा यसको हरेक पार्ट बनाउने व्यक्ति बाहेक अरु कसले यी सबै कुरा जान्दछ र ? अब तपाईले अनुमान गरे जस्तै त्यो व्यक्ति निश्चय नै परमेश्वर बाहेक अरु कुनै पनि कुरा हुन सक्दैन ।यदि तपाईले मेहनत गरेर काम धन्दाबाट पैसा कमाउनुहुन्छ भने के त्यो पैसालाई तपाईं आफैले प्रयोग गर्न चाहानुहुन्न र ?  कि तपाईंले त्यसलाई अरुले नै उसकै इच्छा अनुसार प्रयोग गरिदियोस् भन्ने चाहानुहुन्छ ? मानौ तपाईले घर बनाउनभयो । अब के त्यस घर कसैलाई सजिलै राजिनामन गरेर कसैलाई दिन सक्नुहुन्छ ? त्याहा तपाई आफै बस्ने इच्छा हुदैन र ? आफैलाई प्रयोग गर्ने या चलाउने इच्छा हुदैन र ? त्यसकारण तपाईले कुनै चीज कुनै उदेश्यले बनाउनुभयो भने त्यसलाई आफैं नै प्रयोग गर्न चाहानुहुन्छ । अरुले तिनीहरुलाई प्रयोग गरेर बिगारीदिएको वा उदेश्य बिपरित गएको देख्न चाहानुहुन्न । परमेश्वरको इच्छा पनि यस्तै हो । उहाँले नै एउटा उदेश्य राखेर यावत थोक सृष्टि गर्नुभयो र अन्त्यमा मानिसलाई बनाउनुभयो । त्यसकारण मानिस आफै या अरुद्धारा प्रयोग हुदा उहाँ दुखित बन्नुहुन्छ । 
जीवनमा अरुद्धारा प्रयोग हुनु, आफ्नो इच्छामा प्रयोग हुन चाहानु अनि जीवनको सृष्टिकर्ता अर्थात परमेश्वरद्धारा प्रयोग गरिनु फरक फरक कुराहरु हुन् । उहाँले मानिस जातिलाई उहाँको महिमाको निम्ति प्रयोग गर्नलाई सुष्टि गर्नुभएको यियो । पृथ्वीमा भएका हरेक प्रधानता र शक्तिहरुको प्रयोजन पनि यसकै कारण थियो । तर अहिलेको मानिस उहाँद्धारा प्रयोग हुने खास इच्छा राख्दैन । पहिला त उनीहरु परमेश्वर को हुनुहुन्छ भनेर जान्न नै चाहादैनन् । यो उनीहरुको मूर्खता हो । 
दोश्रो उहाँका कुुरा वा योजनाहरुमाथि बिश्वास नै गर्न मान्दैनन । यसको अर्थ उनीहरु आफ्नै इच्छामा प्रयोग भएर सबै थोक पाउन खोज्छन् । तर अन्तमा ती सबै व्यर्थ हुने कुरामा तिनीहरुको ध्यान जादैन । तर पनि उहाँद्धारा जीवन प्रयोग हुनु किन सबैभन्दा उत्तम प्रयोग हो, र उक्त व्यक्तिको लागि कति ठूलो सौभाग्य हो भन्ने कुरा सिकाउन परमेश्वरले कैयौ व्यक्तिलाई प्रयोग गरेर उदाहरण देखाउनुहुन्छ । मानिसहरु परमेश्वरको बाटोमा हिँडेर प्रयोग हुन नचाहेर ढीट बनेपछि कतिपय व्यक्तिसँग उहाँ बोल्नुहुन्छ र अरुलाई यसरी प्रयोग हुनु नै उसको जीवनमा सबैभन्दा असल कुरा हो भनेर सिकाउनुहुन्छ । 
अब १ सामुयल १६ अध्याय हेर्नुहोस् । (समय छ भने दश अध्यायदेखी सत्र अध्याय वा त्यो भन्दा अगाडी बढ्नुहोस) । पद १- मैले त्यसका छोराहरुमध्यको एक जनालाई राजा चुनेको छु  । अब दाउदलाई परमेश्वरले प्रयोग गर्न चाहानुभएको छ । उसको बाहिरी स्वरुप अग्लो, गोरो, कपाल पालेको वीर, असल पेशा भएको, शिक्षित, ज्ञानी, बीर, जेठोबाठो वा मानिसको आँखामा परेको आदि कारणले भएकोले होइन । तर यहा त ऊ परमेश्वरको सार्वभौव इच्छा अनुसार प्रयोग हुन लागेको थियो, पद ७ । अथवा दाउदसँग बाजा बजाएर आराधाना गर्ने, घुयत्रो हान्ने जस्तो क्षमता भएको कारण पनि होइन । अनि उसको आफ्नै इच्छा अनुसार पनि होइन । उसको इच्छा अनुसार भएको भए त शायद उ भेडांहरुको मालिक वा एउट धनी व्यक्ति बन्ने संभावना थियो । या त फौजी बन्ने थियो । संसारका मानिसले त उसलाई राजा बनाउन चाहादैनथे । त ऊ प्रयोग गरिन लागेको एउटा कारण चाँहि उसको हृदय भित्र परमेश्वरप्रति भएको अनुराग, तृष्णा भावना वा प्रेम, नम्रता, भय जस्ता कुराहरु पनि हुन सक्छन् । 
पद ७- अझै कान्छो पनि छ, तर त्यो त भेंडा चराउँदै छ । उसको काम सानो थियो । तर काम प्रति इमान्दार थियो । तर त्यो काममा पनि बाघ भालू जस्ता समस्याको सामना गर्नु पर्दथ्यो र त्यो चाँहि गोल्यत वा समस्याको प्रतिछाँया थियो । अर्थात त्यो एउटा भबिष्यको असली लडाई र बिजयको संकेत थियो । त्यो बिजयमा पनि परमेश्वरको हात थियो अर्थात ऊ प्रयोग हुदै थियो । जो उहाँ द्धारा प्रयोग हुन्छ, त्यसले भविष्यका बाटाहरु खतरनाक हुन सक्छन् तर त्यसको हर बाटोका खताराहरुलाई उहाँले नै डिल गर्नुहुन्छ अर्थात सम्हाल्नुहुन्छ ।  
त्यसकारण परमेश्वरलाई उहाँ को हुनुहुन्छ भनेर चिनेपछि र उहाँद्धारा प्रयोग हुन थालेपछि किन डराउनु पथ्र्यो र ? ऊ साहासी बनेको थियो, १७ः३३–३७ । उसलाई परमेश्वरमाथि पूर्ण बिश्वास थियो । तर फरक तरिकाले होइन उसलाई परमेश्वरले उसमा बिकसित भएकै क्षमता वा कामको निपूर्णता अनुसार चलाउनु भयो, १७ः३८ । फलत, उनी मानिसद्धारा अस्वीकृत भए पनि परमेश्वरद्धारा स्वीकृत भए । धन, मान सम्मान खुशी, संतुष्टी, बिजय उसको जीवनको पछि लागेको थियो । किनकि दाउद उहाँद्धारा प्रयोग हुन भएको थियो । उहाँदारा प्रयोग हुुनु र उहाँको हृदयको मानिस बनेको थियो । 
परमेश्वरद्धारा प्रयोग हुनलाई आवस्यक अर्को एउटा गुण नम्रता हो । आफैलाई सानो बनाउनु र फेदमा राख्नु हो । दाउदले सफलताको शिखरमा पुग्दा भयानक गल्ती गरे । उनले बातसेवासँग व्यभिचार गरे । तर जव उनले यो गल्ती पाप रहेछ भन्ने थाहा पाए, तव उनले त्यो स्वीकार र पश्चाताप गर्दै प्रार्थना गरे, भजन ५१ः१० । सफलतामा पनि मानिसले खराव काम गर्न सक्छ तरपनि परमेश्वरले त्यसलाई स्वीकार गर्न सक्नुहुन्छ, हृदयमा राख्नुहुन्छ । यद्यपी भूल स्वीकार गर्नु र हृदयबाटै पश्चातापी हुन सक्नुपर्छ । यस्तो व्यक्तिलाई परमेशवरले निरन्तर चलाई नै रहनुहुन्छ ।  
परमेश्वरलाई मन पर्ने अर्को गुण बदला नलिने काम हो । जसले छिमेकी प्रति हृदयमा प्रेम राख्छ, उसलाई त्यसले कहिल्यै हानी गर्ने काम गर्नै सक्दैन । शाउलले दाउदलाई मार्ने कति दाउ गरे, तर दाउदले मौका पाउँदा पनि शाउललाई हानी गर्ने मन गरेनन । किनकिा उनले जस्तो स्वभाव धारण गरेका भएपनि परमेश्वरद्धारा नियुक्त भएका व्यक्ति थिए । उनी बिरुद्ध जानु परमेश्वरकै बिरुद्ध जानु थियो । परमेश्वरद्धारा प्रयोग भएको मानिसले उहाँद्धारा प्रयुक्त अरु कसैको पनि हानी गर्नै सक्दैन । तर आजकल मानिसहरु अरुलाई हानी पुर्याएरै भएपनि माथि जाने बानी परेका जस्तो व्यवहार देख्न सकिन्छ । त्यसकारण पद प्रतिष्ठाको लागि कसैलाई हानी पुरयाउने, खसाल्ने, वा नष्ट पार्ने काम, प्रयोग भएको वा हुन चाहाने कुनै पनि बिश्वासीले गर्ने नसक्ने कुरा हुन् । 
परमेश्वरद्धारा प्रयोग हुन चाहाने व्यक्ति बाधिँएको हुुनुहुदैन । उ त फुक्का गधा जस्तो हुनुपर्छ । यरुशलेमको गघा जसले येशूलाई अर्थात आदि र अन्त्य, म हुँ जो म हुँ भन्ने व्यक्ति अनि बचनलाई बोकेर हिँड्ने सौभाग्य पाएको थियो । अर्थात गधा उहाको निम्ति प्रयोग भयो । तर उसलाई त खासमा गधाको मालिकले प्रयोग गर्नलाई बाँधेर पालिराखेको थियो । अनुमान गरौ कि गधाले बचनरुपी शरीरलाई बोक्दा कहिलोकाही बोझिलो अनुभव गर्न पनि सक्छ । उसले दायाँ बायाँबाट गाली खान सक्थ्यो । थुकिन र चुटिन सक्थ्यो । ठीकसँग नहिँडेको, भार नधानेको आरोप आउन सक्थ्यो होला  । अनि भोक लागेको बेला दानापानी र थाकेको बेला आराम पाएन पनि पाएन होला । 
त्यस गधाको जस्तै उहाँद्धारा प्रयोग गरिने व्यक्तिले अनुभव गरेको हुन सक्छ । तर सत्य यही हो कि ऊ फुक्का भएको अवस्थामा मात्र त्यसले बचनलाई बोकेर हिँड्न सक्छ । अथवा उसलाई प्रयोग गरिइन्छ । अगमबक्ताहरुको जीवनलाई हेर्दा पनि यस्तै कुरा देखिन्छ । धाँदोमा उभिनु सजिलो कुरा होइन । तर उहाँको बलले सबै संभव बनाउँछ । दुख कष्टमा परे पनि त्यो महिमाको निम्ति हुन्छ । तर बाधिँएको अवस्थामा गधा सधै केवल अरुद्धारा मात्र प्रयोग संभावना थियो । त्यसबेला त्यो स्वतन्त्र भएर हिँड्न सक्ने थिएन । 
यसरी नै आफुँलाई बाध्ने मालिकद्धारा स्वतन्त्र हुन चाहाने व्यक्तिलाई परमेश्वरले आज प्रयोग गर्न चाहानु भएको छ । संसारका कुराहरुमा बाँधिएर सेवा गर्न चाहानेहरुलाई भन्दा बढी संसारका लोभ र स्वार्थलाई त्याग्न तयार हुने, संसारको मोहलाई भन्दा परमेश्वरको आवाजलाई ठूलो महत्व र प्राथमिकता दिने र उहाँको काम गर्न अत्यन्त रुची राख्ने जो कोहीलाई पनि उहाँले उपयोग गर्नुहन्छ । तर आज धेरै मानिसलाई संसारको मालिकले गधालाई झै बाधेर राखेको छ । यस संसारमा त्यसरी बाँधेर राख्ने एउटा प्रमुख मालिक चाँहि पैसा पैसा र पैसा हो। 
आज पर्यन्त त्यो यरुशलेमको गधा उदाहरणीय बनेको छ । यसो हुनुमा उहाँद्धारा प्रयोग हुने अबसर हो । हामीलाई पहिला नै केही अभिप्राय राखेर परमेश्वरले सृष्टि गरे जस्तै त्यो गधाको लागि पनि परमेश्वरले चारसय बर्ष पहिल्यै योजना गर्नुभएको थियो, जक ९ः९ । के कोही यहा गधा बन्न र बचनलाई बोक्न तयार छ त ? उहाँको निम्ती प्रयोगशाला हुन तयार छ त ?
अब, भन्नै पर्ने जीवनको सत्य यही हो कि हाम्रो जीवन आफैंद्धारा होस या अरुद्धारा कुनै न कुनै रुपले प्रयोग गरिने एक प्रयोगशाला जस्तै हो । हो, आखिर कुनै न कुनै रुपमा जीवनमा प्रयोग त हुनैपर्छ । मेशिन किनेपछि त्यसलाई कसले प्रयोग गर्दैन र ? प्रयोग उसकै मालिकले त गर्छ । कार किनेपछि को चढ्दैन ? लाइसेन्स पाएपछि कार हाँक्ने रहर हुदैन र ? तर आफैं या अरुद्धारा कहिल्यै पनि ठीक र न्यायोचित प्रकारले यो जीवन प्रयोग हुन नसक्दोरहेछ । परमेश्वरसँग मात्र यसलाई ठीकसँग प्रयोग गर्ने ज्ञान र अभिप्राय छ । चावी उहाँकै हातमा छ । 
त्यसो भए अब के ? किन यो जीवनलाई उहाँकै प्रयोगशालामा प्रयोग नगर्ने त ? बिस्वासीहरु भजन त गाउँछन्, म मेरै होइन, म मेरै होइन, किनिएको रगतले....., येशूकै हौ... भनेर, तर प्रयोग गर्नको लागि येशूलाई जीवन किन दिन सक्दैनन् ? हरेकको जीवनमा सबैभन्दा ठूलो चुनौती यही नै छ । किनभने जीवन एक प्रयोगशाला हो । अब आजै जीवनमा आफ्नो भलाईको लागि हरेकले एक उत्तम निर्णय गर्न सक्नु पर्छ । जुन निर्णयले कोही पनि कहिल्यै पनि पछुताउनु पर्दैन । किनकि परमेश्वरद्धारा मात्र जीवनको सार्थक प्रयोग हुन्छ, र यो जीवन अनन्त महिमामा निरन्तर महिमित भईरहनेछ । मानिस उहाँकै प्रयोगशाला हो । हामीहरुको जीवन उहाँकै एक प्रयोगशाला हो ।
'मेरा आत्मिकी छालहरू '  निबध तथा  कथा संग्रह  बाट 

Labels: Essays

0 comments

Write Down Your Responses

Newer Post Older Post Home

======Popular Posts======

  • हिन्दु धर्मशास्त्रमा पाप, मुक्ति र येशू !
    By: लालु पौडेल ।   आदरणीय दर्शक तथा श्रोताबृन्, यहाहरु सबैलाई ख्रीष्टिय अभिवादन जयमसिह भन्दै आजको बिषेश बिषयको लागि स्वागत गर्न चाहान्छु।...
  • चित्त चिन्तन (ज्यादै रमाइलो निबन्ध)
    - लालु पौडेल ।   मानिसहरु भन्ने गर्छन्, मान्छेको चित्त त माखाको पित्त जत्रो हुन्छ रे । अब यो मान्छेको चित्त माखाको पित्त जत्रो हुन्छ भने...
  • That lonely Street ( English Poem)
    That lonely Street  -the street of Dogs . When it becomes night… Forsaken, Driven out and bully; And uninhabited and skinny dogs ...
  • अन्तिम पलहरु- भजन गीत नं ११२-१३४ सम्म
    -लालु पौडेल  |  यस 'अन्तिम पलहरु' भजन पुस्तकमा समावेस भएका भजनहरु कपिराइट भएको हुनाले कुनै पनि भजन, भजनको खण्ड वा अंशलाई बिना अनुमत...
  • कुकुरहरुको सडक (कविता)
    -लालु पौडेल |    जव रात पर्दछ भुस्याहा र घुस्याहा छाडा र साँढा खेदिएका र लखेटिएका घाइते ,  व्याइते ,  ल्याइते                  ...
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Lalu Paudel