• HOME
  • About Me
  • Articles
  • Story
  • Essays
  • Poem
  • Songs
  • Spiritual Manna
  • Videos
  • Photos
  • Contact
Essays » संसार !
संसार !

-लालु पौडेल । 
मानिसहरु भन्ने गर्छन संसार बिचित्र छ । बिचित्र भन्नाले यो संसार बिभिन्न, बिबिध, थरीथरी, फरक फरक चित्रहरु वा कुराहरुले भरिएको छ भनिएको त होला । त्यसैले संसारमा जे जस्तो कुराको खोजी गरे पनि भेट्टाउन सकिन्छ । तपाईले नपाइने चिजको सूची बनाउनुभयो भने कतिसम्म बन्ला ? शायद नपाइने चिजको मानिससँग नाम नै छैन । पत्तो पाएकै छैन । अनि कसरी नाम थाहा पाएर सूची बनाउँनु हैन त ? 

संसारमा जीवनदेखि मरण, मृत्युदेखि तरण, शरणदेखि हरण, हन्तुुदेखि जन्तु, धनदेखि मन, इश्वरदेखि परमेश्वर सबै कुराहरु छन । डर, घर, खर, मर, थर, भर, गर, चर, दर, पर, बर, छर, तर जस्ता हर कुराहरु संसारमा छन । खोजेर खोजिसाध्य अनि बर्णन गरेर वर्णन गरिसाध्य नै छैन । दिमाख खाने देखि पचाउने सबै कुरा यही छन् । तर एउटा यथार्थ के हो भने यदि मानिससँग जीवन र चेतना छ भने यी सबै थोक छन । जीवन र चेतना छैन भने केही पनि छैन । लोक्रो बोक्रो टोक्रो केही पनि छैन । केही नभएको अवस्थालाई के भन्ने के नभन्ने खै ? न शव्द न बोली न भाषा न भोली, बबुझ्ने शक्ति केही रहदैन । किनभने त्याहा ज्ञान, समझ, विवेक, बुद्धि, प्रकास, चेतना, ध्यान, अन्तरमन, अन्तष्करण केही पनि हुदैन । त्यसो भए के संसार एउटा चेतना मात्रै हो त ? संसारलाई अलिकति उधिनेर हेर्ने कोशिस गरौ ।

उधिन्न त उधिन्ने तर काहाँबाट, कहिले, कसरी, किन, कुनबेला, कुन कुरा, कुन ठाउँमा, केका लागि, कति समय, कसले, कसलाई, कसको अनुमति या कसको आदेशमा उधिन्ने ? बित्यासै पो प¥यो त गााठे याहा त । अब बाइबलको कुरालाई अगाडी ल्याएर उधिनौ भने बाइवल नपढ्नेहरुले यो निबन्धको संसारै ङ्याँकेर हिँड्छन कि भन्ने डर । अबाइबलका कुराहर उधिनौ भने फेरी यो बाइबल मान्ने मुन्छे भएर किन फेरी अबाइबले कुरा लेखेछ भनेर संसारै ङ्ँयाकेर हिड्छन कि भन्ने डर । जाहाँ जाउँ जे गर्न खोजौ संसारमा डरै मात्र आउँदोरहेछ । डर किन आउँछ ? जव भर हुदैन । भर नहुँदा डर आउँछ । भरको लागि कर चाहिन्छ । करको लागि बर चाहिन्छ । बरचाँही परमेश्वरबाट आउँछ । बर पाएको व्यक्तिसँग चेतना हुन्छ । चेतनाले मात्रै मेरो अस्थायी बेतना त संसार रहेछ अनि स्थाई वेतना चाँही स्वर्ग रहेछ भनेर थाहा पाउँछ । 

लौ अब संसारभन्दा माथि फेरी परमेश्वरको अर्कै संसार रहेछ भन्ने कुरा पनि आयो । त्यो संसारलाई पनि अ‍ैले आँखीझ्यालबाट अलिकति चिहाउँला तर अहिले एकछिनलाई यही संसारको लहरो पक्रेर बिस्तार बिस्तार तान्दै जाउँ है त । भन्दछन् लहरो तान्दा पहरो घर्किन्छ । पहरो धर्के पछि ढुंगाको छाती पनि चर्किन्छ । छाती चर्केपछि मन सर्किन्छ । मन सर्केपछि दिल फर्किन्छ । दिल फर्केपछि जीवन लर्किन्छ । जीवन लर्केपछि मात्र संसार सुन्दर बन्दछ । 

भनिन्छ, संसार जीवन हुनेहरुको घर हो । तिनीहरुको आश्रयस्थल हो । शरण, मरण र तरणस्थल हो । सजीवहरुको लागि संसार सजीवै छ । निर्जीवहरुको लागि संसार निर्जीवै छ । यी दुई सजीव र निर्जीव कुराहरु भएको कारण पनि संसार बिचित्र भएको होला । यसको एक छेउको भेउ पाउन पनि यति गाह्रो परेको होला । यो रहस्यहरुले भरिएको, अथाह कुराहरु छरिएको ठाउँ हो । हुन त अहिले चुरिफुरी गर्नेहरुले भन्लान संसार एउटा गाउँ जस्तै भैसक्यो । एकैछिनमा जाहाँ भन्यो त्यही पुगिन्छ । आँखा र मन त पार होला तर तन चाँही कसरी होला ? गोलो भएपनि धोलो भएपनि यो संभव छैन । संसार सानो छैन ठूलो छ । तर नबबुझ्नेलाई त केवल छारो र धूलो छ । वास्ता नराख्नेलाई घर छेउमै नरकतिर जाने ठूलै नहर कुलो पनि छ । 

एकछिन माया गर्नेहरुको संसारको कुरा गरौ । कसैले आफुँले मन परेको माया पायो भने मेरो संसार तिमी नै हौ भन्छ । आफुँलाई सानो ठान्छ । अनि पाएन भने मेरो संसारै खत्तम भो भन्छ । बाँच्नै मन छैन भन्छ । यही संसारको मायाले कति हिरो बनेका छन भने कति जिरो । संसारमा अचम्म र उपद्रका काम भएका छन । ताजमहल र राजमहल बनेका छन । कतिले अरुलाई नास्ने र आफूँ मात्र हास्ने प्रयास पनि गरेका छन । त्यसको लागि लोभ्याउने चारो पनि छरेका छन । अनि जर्वजस्ती आफ्नो भकारी भरेका छन । मान्छेले े आफ्नोइच्ँछा पूरा गर्न संसारमा के के गरेको छ के के भनिसाध्य छैन ।  

संसार सर्वश्रेष्ठ छ किनभने संसारमा सर्वश्रेष्ठ प्राणी बस्छन रे । याहाँ थरिथरिका मानिसहरु र यिनीहरुको चालचलन देख्न सकिन्छ । नायकदेखि खलनायक, गाएकदेखि धाएक, लाएक देखि परिचायक, शिक्षा देखि दीाक्षा, बकम्फुसे नेता देखि फेता बाँध्ने अध्यता, मान देखि अपमान, माया देखि छाँया, जालन्धरे, पिलन्धरे देखि खैरे, गोफ्ले, काले, जगल्टे, टङ्गारे, लङ्घारे, च्यान्टे, भ्यान्टे, ग्यान्टे अनि मरन्च्याँसे देखि बाउन्न बीर र त्रिपन तीर यही नै छन । बिचित्र छ । अनि याहा सेल, मेल, जेल, हेल, फेल, ठेल जस्ता अनेकौ खेलहरु पनि छन । कहिले जेल र कहिले मेलको लागि तेल निकाल्ने खेल यही संसारमा खेलिदोरहेछ । अनि संसारमा अनेकौ झेलहरुमा मानिस झेलिँदोहरेछ । आँधी बेहेरी, हुरी बतास र भुवँरीमा पेलिदोरहेछ । अर्कातिर धन, पैसा, बल, बुद्धि, सुन्दर सुन्दरी भई टोपल्नेहरु सुख सयल मोज मजा र आनन्दको लागि यो संसारमा मनलागि छेलिदोरहेछ । 

जल्ने मानिसहरु जल्दै गरुन । बल्नेहरु बल्दै गरुन । दीन दुखीहरुको लागि पनि कतै आश होला । यो संसारमा रहेसम्म कतै बास होला । तर संसारै रहेन भने यी थोकहरुको खास के होला ? कसैलाई यस बारेमा सोच बिचार गरिरहने फुर्सद छैन । जाहाँ जाउँ मन लागेको चिज पाउँ भन्छ । आफ्नो स्वार्थी इच्छा पुरा गर्न आफ्नआमा बाबुलाई पनि बेचिदिनछ । यस्तै हुनुपर्ने होला त यो संसारको सर्वश्रेष्ठ प्राणीको हालचाल ?

एक तुर्को महको लोभमा याहा मन मुटु माया र आफनै नाँउ पनि बेचिन्छ । तर अचम्म छ संसारमा जसलाई जे चाहिए पनि छेलोखेलो पुगेकै छ । छेलोखेलो नपुग्नेहरुको मुटु दुखेकै छ । अन्तर बेदना र पीरहरु लुकेकै छ । काग कराउँदै गरोस, पीना सुकेकै छ । कुकुर भुकेकै छ । फ्याउँरो, स्याल ढुकेकै छ । सिंह ओढारमा लुकेकै छ । शिकारी पनि चुकेकै छ । खेल्नेले बलमा हावा फुकेकै छ । घोट्नेले घोटेकै छ । ठोक्नेले ठोकेकै छ । तोक्नेले तोकेकै छ । बोक्नेले बोकेकै छ । सबै कुरा चल्दैछ निरन्तर उस्तै र सधैं झैं सधै जस्तै । तर यो काहाँ र कहिले सम्म होला भनेर कतै कसैले सोचेको छ कि छैन कुन्नी ? संसार आआफैमा यसै यसै व्यस्त अनि मस्त छ । 

यो संसारमा अनेक थोक हुँदोरहेछ । जसको शक्ति उसको भक्ति यही चन्छ । सर्प देख्दा पाखामा हात माछा देख्दा कुरमा हात गर्नेहरु यहीँ छन । नमच्चिने पिङ्ले सय झट्का पनि हान्छ । एउटाले बिराउने र शाखा पिराउनेहरु पनि यहीँ छन । कसैलाई काखा कसैलाई पाखा यहीँ हुन्छ । बाख्रीको पुच्छर काटे बोकालाई सजिको भन्नेहरु पनि छदैछन् । बाह्र बर्ष ढुंग्राका हाल्दा पनि पुछर नसोझिने कुकुरहरु पनि यही छन । सित्तैमा पाए अलकत्र खाने पनि यही छन । कानमा तेल हालेर कोकलेले मकै खादै गरोस भन्ने पनि यही मान्छेको जात हो । औलो दिदा हातै निल्ने देखि अर्काको भलोमा भतभती जल्नेहरु पनि यही छन । तिललाई पाहाड बनाउने देखि मूसो पोल्न घर जलाउनेहरु पनि यही छन । बाघको छाला ओढेर स्यालहरुले पनि तसार्एउन खोज्ने अनि पाहुना बनेर दूधभात रोज्नेहरु पनि यही छन । धेरै कति खोतल्नु ? खोतल्दै गयो भने आफै आएको ठाउँ पनि देखिन्छ भन्छन । कति आङ् कन्याउँदै धूलो झार्दै गर्नु ? पाप गरेर उन्नती गर्नेहरुलाई यस संसारमा धाप मारिन्छ तर आफ्नो हलो जोतेर आफ़नै मानो खानेहरुलाई रयाफरुयाफ  पारिन्छ । यसै गरि फनफनी गुडिरहेछ यो संसार । 

संसार क्षणिक छ भन्छन । तर संसार क्षणिक होइन, संसारमा रहने हाम्रो जीवनचाँहि क्षणिक छ । अबको बीस तिस बर्षपछि हेर्नुहोस त के हुन्छ ? नयाँ जवान पुस्ताहरुको हूल हामीले देख्नेछौ । हामी पनि कुप्री पर्दैै लठ्ठी टेक्दै धमिलो आखाले मृत्यु पर्खदै गरेका हुनेछौ । हाम्रा अग्रज बाचिँहालेछन भने पनि औंलामा गन्न मिल्ने मात्र बाँकी रहनेछन । अब हामीबाट अरुले के आशा राख्ने ? बरु अब त हामीले नयाँहरुबाट पो आशा राख्नु पर्ला । उनीहरुले संझन योग्य केही काम गरियो भने त हाम्रो स्मृति संसारमा केही समय रहला । तर यो पनि मेटिजान सक्छ । त्यसो भए कहिल्यै नमेटिने चिज के होला त ? के यो संसार मात्र हो ? 

धेरैले भन्दछन संसार हाम्रो घर हो । तर धेरै जनालाई यो संसार सधैभरी रहिरहन्छ कि रहदैन भनेर चाही निश्चित थाहा छैन । किनभने मानिस प्राय खोक्रा दर्शन र बिचारधाराहरुमै अल्झिरहेका छन । एकछिन बिचार गरौ, यो संसार काहाँबाट आयो होला वा कसैले बनायो होला कि आफै बन्यो होला त ? हेर्नुहोस त संसारबाट उक्लने वा ओर्लने कुनै बाटो देखिदैन । धेरै समय पछि यो संसार हिँउ असिना पग्ले झै पग्लिएर जाने हो कि वा हावा झै बिलाईजाने पो हो कि ? न त नष्ट नै नभै सधैभरि यस्तै रहिरहने हो ? कसले राम्रोसँग जान्या छ र यस्ता कुरा ? 

मानिसहरु यो ससारमा सधैभरी अश्तित्वमा रहिरहलान् कि यो ससारको हावापानी मौसम वातावरण बिग्रेर मानिसै मेटिएलान् ? या त मानिसले तँ तँ र म म भन्दा भन्दै थाहै नपाउने गरी कुनै तारा ग्रह या उल्का बजारिएर संसार धूलोपीठो पो बन्ने हो कि ? न गुरुत्वशक्तिको संतुलन बिग्रेर सूर्यतिर हुँइकिएर खरानी पो बन्ने हो, न अनन्ततिर अनन्तसम्मै सुईकिएर चिसैचिसोले मानिस सोत्तरै पो बन्ने हो ? या त कोही सन्कीले हाईड्रोजन र परमाणु बमको बटन थिचिदिएर संसारै मरुभूमी पारिदिने हो ? ए आम्मै यो संसार त ज्यादै डरलाग्दो पनि पो छ त । सधै डरै डर र काहालिलाग्दो परिस्थितिमा बाँचिरहनु पर्ने  । के यो संसारमा कुनै डर र भय रहित अवस्था छ त ? डर र भयबाट उम्कने कुनै उपाए छ ? छ भने काहाँ छ भनिदिनोस । कसरी बाच्न सकिन्छ ढुक्क र शान्तिसँग ? आनन्द  र शान्ति नै नभएको संसार नत्र किन बन्यो वा बनाईयो होला त ? अलिकति यस्ता कुराहरुलाई बिचार गर्यौ भने चाँही संसारबाट आनन्द शान्ति र अनन्त मुक्ति नपाईने कुरै छैन । तर संसारलाई चिन्नु र बबुझ्नुपर्छ ।

वास्तवमा भन्ने हो भने संसार एउटा खास समय हो । यो समयको चक्रमा घुमिरहन्छ । यसलाई कसैले नियन्त्रण गरेको छ भनेर बिश्वास नगरि मान्छेलाई धरै छैन । यसलाई बनाउने र नियन्त्रण गर्ने कुनै माहाशक्ति वा माहाज्ञानी कोही छ भने त्यो परमेश्वर नै हुनुहुन्छ । यसमा सुष्टि भएका यावत थोक र प्राणीले उहाँकै ज्ञान बुद्धि र कलाको प्रर्दशन गर्दछन । मानिसको सृष्टि अथवा शरीरको रचना त भूमीको माटोबाट भयो । त्यस रचनामा परमेश्वरले े आफ्नोश्वास हालिदिएपछि मात्र ऊ जीवित प्राणी भई कहलियो, उत्पती २ः७ । मानिसमा परमेश्वरको स्वरुपको एउटा गुण विवेक थियो, उत्पती १ः३७ । तर उसको शरीरको अन्त पनि माटोमा पुगेर हुन्छ, उत्पती ३ः१९, हितो ५ः१५ । परमेश्वरले मानिसलाई उसका सबै इच्छाहरुमाथि नियन्त्रण गरेर चलाउने रोवोट जस्तो बनाउनुभएन । उसलाई आफनै इच्छामा संसारमाथि अधिकार गर्ने सामथ्र्य दिनुभएको थियो । तर उसको हृदयको हरेक बिचार भावना निरन्तर खरावै मात्र हुदै गइरह्यो । परमेश्वर आफ्नसुष्ट्रिकर्तालाई बिर्सने र वास्ता नगर्ने मानिस जाति अन्तत प्रलयमा पर्न गयो । किनकि ज्ञानी र विवेकी भएर पनि उसले सृष्टि गरिनुको प्रयोजनलाई ध्यान दिएन, वास्ता गरेन, यसैया ४३ः७ । यही खरावै र पापी स्वभावको कारण उत्तम संसारको अवस्था बिग्रेर अहिले खरावभन्दा खराव हुदै गइरहेको छ । अनि एकदिन यो संसारको पनि अन्त्य हुनेछ अनि यो अन्त्य दुखद प्रकारले हुनेछ । 

मानिसको संसार त एकैछिन देखा परेर हराईहाल्ने बाफ जस्तै त हो, याकुव ४ः१४ । तर परमेश्वरको संसार अर्थात स्वर्ग त कहिल्यै नासिँने छैन । मानिस आफु आफ्नो विवेकको बाटोमा हिँड्दा त्यो सोझो देखिएता पनि अन्तमा त्यसले मृत्युमा पुर्याउँने हुन्छ, हितोपदेश १४ः१२ । अल्फा र ओमेगा, सुरु र अन्त्य, पहिलो र पछिल्लो उहाँ परमेश्वर नै हुनुहुन्छ । त्यसकारण यो संसार र ब्रम्हाण्ड बनाउनुहुने परमेश्वरले नै यसको आदि र अन्त्य जान्नुहुन्छ, प्रकास २२ः१३, यसैया ४२ः५, ४५ः५८ । जान्ने मात्र होइन यसलाई नियन्त्रण गर्ने, रेखदेख गर्ने र अन्त्य गर्ने अधिकार पनि उहाँमा नै छ । के तपाईले बनाउनुभएको घरमा तपाईंको अधिकार हुदैन न र ? त्यसकारण मानिस लगाएत यो संसार र यावत थोक उहाँ द्धारै उहाँकै उदेश्यको निम्ति बनिएका र उहाँकै इच्छा वा योजना अनुसार रहने वा अन्त्य हुने कुरा हो भनेर नमानी हामीलाई कुनै सुखै छैन, यसैया ४०ः२८ । यसलाई नबबुझ्नेहरु मूर्ख हुन । तिनीहरु अनन्त कष्टको लागि तयार भएका छन । संसारमथि उहाँले स्थापित गर्नुभएको नियमलाई अनुकरण गर्नु नै मानिसको लागि उचित हुनेछ । आफैमा अभिमान गर्ने हो भने त बिनास मात्र त्याउँछ । 

अब अन्तमा संसारका सबैभन्दा बुद्धिमान भनिएका एक व्यक्ति सुलेमानको अनुभवलाई बिचार गरौ र यस संसारमा उनकै निचोडमा जिउने प्रयास गरौ । माथि भनिएका सबै कुराहरु र यी बुद्धिमान राजाको निक्र्योललाई बिचार गरौ । सबै मानिसको लागि यो संसारमा यहि नै उत्तम हुनेछ भन्ने मेरो पनि निश्चय छ । 

“मैले आफ्नो मनमा बिचार गरे “आऊ, असल कुरोचाँहि के हो भनी पत्ता लाउन म सुखबिलाससित तिम्रो जाचँ गर्नेछु ।” तर त्यो पनि व्यर्थै रहेछ भनी प्रमाणित भयो । मैले भने हाँसो मूर्खता हो । अनि सुख बिलासले के फाइदा गर्छ ? दाखमद्य पिएर तथा मूर्खतालाई अँगालेर मैले आफैलाई प्रफुल्ल तुल्याउन कोशिस गरे मेरो मनले अझै मलाई बुद्धिद्धारा डो¥याउँदै थियो । आकासमुनि यस छोटो जीवनमा मानिसहरुका निम्ति असल काम के हो सो जान्न मैले इच्छा गरें । 

मैले ठूला योजनाहरु थाले । मैले मेरो निम्ति घरहरु बनाएँ । मैले दाखको खेत स्थापना गरें । मैले बगैचाहरु र उद्यानहरु बनाएँ र तिनमा सवै प्रकारका फलफुलका रुखहरु रोपें । लहलह बढ्दै गरेका वृक्षहरुका उद्यानहरुलाई सिँचाइ गर्न मैले पानीका ठूला ठूला जलाशयहरु बनाएँ । मैले कमारा कमारीहरु किनें र मेरो घरमा जन्मेका अरु कमारा कमारीहरु पनि थिए । अघि यरुशलेममा हुने अरु कुनैका पनि मेरोभन्दा धेरै गाईबस्तुका बथान र भेंडाबाख्राहरुका बगाल थिएनन । मैले मेरो निम्ति सुन र चाँदी तथा राजाहरु र देश देशबाट धन सम्पत्ती थुपारें । मैले गायक र गायिकाहरु र एउटा स्त्रीगृह पनि मानिसको मनोरञ्जनको लागि प्राप्त गरें । यरुशलेममा मेरो अघिका सबैभन्दा म धेरै माहान भएँ यी सवमा मेरो बुद्धि मसँगै थियो । 

मेरो आँखाले अभिलाषा गरेको केही प्राप्त गर्न मैले आफैलाई इन्कार गरिनँ । मेरा सारा कामहरुमा मेरो हृदय आनन्दित भयो, र यो चाँहि मेरो सबै परिश्रममो फल थियो । तापनि मेरा हातहरुले गरेका सबै कार्यहरु र प्राप्त गर्नलाई मैले गरेका परिश्रम गरेका सबै कुरा जव मैले निरीक्षण गरें, तव प्रत्यक कुरा व्यर्थ थियो । बतासलाई खेदेको जस्तो मात्र रहेछ  सूर्यमुनि केही उपलव्धी रहेन, उपदेशक २ः१–११ । 

अब सबै कुरा सुनिएका छन, कुराको निष्कर्ष यही हो । परमेश्वरको भय राख र उहाँँका आज्ञाहरु पालन गर । किनभने मानिसले गर्नुपर्ने सारा कर्तव्य यही नै हो । किनकी हामीले गरेको हरेक काम असल होस या खराव होस्, प्रत्यक गुप्त कुरासमेत सबैको न्याय परमेश्वरले गर्नुहुनेछ, उपदेशक १२ः१३, १४ । 

संसार त परमेश्वरको बचनद्धारा सृष्टि भयो । यसको अन्त्य पनि लेखिएको बचन अनुसार हुने नै छ । मानिसका सारा कल्पना, बिचार वा दर्शनहरु व्यर्थ छन । यसको बारेमा चिन्ता गरेर केही फाईदा छैन । बरु आत्मिक संसारको चिन्ता गरौ । संसारको शारीरिक बासस्थानको र वातावरणको चिन्ता गरौ ।  हामीले अब संसारको केही सत्यतालाई हामीले बुझेका छौ । यसलाई हेक्का राख्दै जीउने कोशिश गर्यौ भने मात्र संसार बास्तविक संसार जस्तो हुन सक्ला । नत्रता संसार बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बीँड भने जस्तै हुनेछ । नबुझ्नेहरुलाई त नरकको दुर्गन्धले पनि घेर्नेछ । विवेकमा चेतना भया ।
'मेरा आत्मिकी छालहरू '  निबध तथा  कथा संग्रह  बाट  |

Labels: Essays

0 comments

Write Down Your Responses

Newer Post Older Post Home

======Popular Posts======

  • हिन्दु धर्मशास्त्रमा पाप, मुक्ति र येशू !
    By: लालु पौडेल ।   आदरणीय दर्शक तथा श्रोताबृन्, यहाहरु सबैलाई ख्रीष्टिय अभिवादन जयमसिह भन्दै आजको बिषेश बिषयको लागि स्वागत गर्न चाहान्छु।...
  • चित्त चिन्तन (ज्यादै रमाइलो निबन्ध)
    - लालु पौडेल ।   मानिसहरु भन्ने गर्छन्, मान्छेको चित्त त माखाको पित्त जत्रो हुन्छ रे । अब यो मान्छेको चित्त माखाको पित्त जत्रो हुन्छ भने...
  • That lonely Street ( English Poem)
    That lonely Street  -the street of Dogs . When it becomes night… Forsaken, Driven out and bully; And uninhabited and skinny dogs ...
  • अन्तिम पलहरु- भजन गीत नं ११२-१३४ सम्म
    -लालु पौडेल  |  यस 'अन्तिम पलहरु' भजन पुस्तकमा समावेस भएका भजनहरु कपिराइट भएको हुनाले कुनै पनि भजन, भजनको खण्ड वा अंशलाई बिना अनुमत...
  • कुकुरहरुको सडक (कविता)
    -लालु पौडेल |    जव रात पर्दछ भुस्याहा र घुस्याहा छाडा र साँढा खेदिएका र लखेटिएका घाइते ,  व्याइते ,  ल्याइते                  ...
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Lalu Paudel